(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
हामी आमाबाबु
बच्चा हुर्काउनु बच्चाको खेल होइन। यो आफैमा पूर्णकालीन काम हो, जसको निम्ति ठूलो सुझबुझ, सम्झौता र समर्पणको खाँचो पर्छ।
सेतोपाटीको यो शृंखलामा हामी त्यस्ता व्यक्ति वा दम्पतीसँग कुरा गर्नेछौं; जसले यो जिम्मेवारी बखुबी निर्वाह गरे र बच्चा हुर्काउने पूर्णकालीन कामलाई पार लगाए वा लगाउँदै छन्। उनीहरूको यही अनुभव हामी तपाईंहरूसँग बाँड्ने छौं।
शृंखलाको पहिलो अंकमा हामी कुरा गर्दैछौं, नेपालय पब्लिकेसन्सका प्रकाशक किरणकृष्ण श्रेष्ठ र उनकी पत्नी अल्का श्रेष्ठसँग।
किरण र अल्काका दुई छोरी छन् — २६ वर्षीया अक्षता र २३ वर्षीया अबिरा।
अक्षता दाँतका डाक्टर छिन् भने अबिराले हालै अस्ट्रेलियाको विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक पूरा गरेकी छन्। दुई छोरी हुर्काउने क्रममा किरण र अल्काले बाबुआमाका रूपमा के-कस्ता तयारी गरे? के-कस्ता अड्चन आए? र, ती अड्चनलाई उनीहरूले कसरी पार लगाए?
हामीले यिनै विषयमा ललितपुरको भैंसेपाटीस्थित विनायक कोलोनीको घरमा श्रेष्ठ दम्पतीसँग लामो कुराकानी गरेका छौं।
सुनौं उनीहरूको अनुभव —
किरणकृष्णले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा सन् २०१७ फेब्रुअरी १६ को एउटा ट्विट पिन गरेर राखेका छन्, जसमा उनी लेख्छन् — 'त्यस्तो व्यापार कहिल्यै नगर्नू, जसको ग्राहक आफ्नो सन्तान होस् भन्ने चाहँदैनौं, मेरा बाले सिकाएका...!'
किरणको यो ट्विट बुबाबाट उनको पुस्तामा हस्तान्तरण भएको सिकाइसँग सम्बन्धित छ।
एउटा भनाइ छ, मान्छेको व्यवहार भनेको उसको सिकाइको ऐना हो। सामान्यतया मान्छेले अरूलाई त्यस्तै व्यवहार गर्छ, जस्तो व्यवहार उसले अरूबाट पाएको छ। वा भनौं, मान्छेले आफ्ना सन्तानसँग त्यस्तै व्यवहार गर्छ, जस्तो व्यवहार उसले सन्तानका रूपमा आफ्ना आमाबाबुबाट पाएको छ।
भन्नुको मतलब, सन्तान हुर्काउने सीपको जननी ऊ आफू कसरी हुर्कियो भन्नेमा निर्भर गर्छ। त्यसैले हामीले कुराकानीको सुरूआत किरणको त्यही ट्विटबाट गर्यौं, जसलाई उनको बाल्यकालीन सिकाइको एउटा सानो झलक मान्न सकिन्छ।
उनी कस्ता छन्? जस्ता छन्, त्यस्ता किन छन्? यसको कारण त्यही ट्विटभित्र पो लुकेको छ कि!
किरण मुसुक्क हाँसे। अल्कातिर हेरे। अनि एउटा कथा सुनाए —
उनका बुबा नेपालकृष्ण श्रेष्ठले कुनै समय ककनीको तारागाउँ होटल लिजमा चलाएका थिए। होटल व्यवस्थापन क्रममा उनी त्यहाँ गइरहन्थे। आफ्ना साथीभाइसँग भेटघाट गर्नुपर्यो भने पनि त्यहीँ बोलाउँथे। तर आफ्नै होटल भए पनि उनी त्यहाँको माहोलसँग अभ्यस्त हुन सकेनन्। त्यहाँ खासगरी सप्ताहन्त मनाउन र कहिलेकाहीँ अरू दिन पनि जस्ता मान्छे आउँथे र आएर जे-जे गर्थे, त्यो देखेर उनी वाक्क भएका थिए।
ग्राहकलाई भगवान मान्ने संस्कारमा हुर्केका भए पनि नेपालकृष्णलाई सप्ताहन्तका ती ग्राहकको चालढाल र जीवनशैली कसैगरी चित्त बुझेन।
एकदिन उनले सोचे — मेरा छोराछोरी वा नातागोताका सन्तान कुनै दिन यसरी नै होटलमा आए र यस्तै व्यवहार गरे के म उनीहरूलाई रोक्न सकूँला!
आफै होटल सञ्चालक भएर आफ्ना सन्तानलाई यस्तो ठाउँमा नआऊ भन्न के मेरो नैतिकताले देला!
उनले फेरि सोचे — जुन ठाउँमा म आफ्ना सन्तान आओस् भन्ने चाहँदिनँ, त्यस्तो ठाउँमा अरूका सन्तानलाई ल्याउने मलाई के हक!
यस्तायस्तै तर्कना मनमा आएपछि एकदिन नेपालकृष्णले एक व्यवसायीका रूपमा कठोर निर्णय गरे। उनले राम्रोसँग चल्दाचल्दैको त्यो होटल चटक्कै छाडदिए र त्यही सिकाइ किरणकृष्ण लगायत आफ्ना छोराहरूलाई हस्तान्तरण गर्दै भने, 'तिमीहरू जिन्दगीमा त्यस्तो व्यापार कहिल्यै नगर्नू, जसको ग्राहक आफ्नै सन्तान होस् भन्ने चाहँदैनौ।'
'त्यो सायद प्यारेन्टिङ (अभिभावकत्व) का रूपमा मेरो जिन्दगीको पहिलो महत्त्वपूर्ण सिकाइ थियो,' किरणकृष्णले हामीसँगको कुराकानीमा भने, 'त्यसलाई मैले मनमा यस्तरी गाँठो बाँधेँ, आजपर्यन्त अमल गर्दैछु। म आज पनि त्यस्तो कामबाट टाढै रहन्छु, जुन काम मेरा छोरीहरूले गरून् भन्ने म चाहँदिनँ।'
उदाहरणका लागि —
धेरैअघि किरण चुरोट पिउँथे। धूमपान खराब लत हो भन्ने उनलाई थाहा थियो, तर छाड्न सकेका थिएनन्। एकदिन यस्तो आयो, जब उनले बिना कसैको दबाब चुरोट चटक्कै छाडे।
उनलाई चुरोट छाड्न प्रेरित गर्ने चिज अरू केही थिएन, बाबुका रूपमा उनले महसुस गरेको जिम्मेवारी थियो।
'जब मेरा दुवै छोरी ठूला भए, उनीहरूले पनि मेरो देखासिकी चुरोट तान्न थाल्लान् भन्ने मलाई ठूलो चिन्ता भयो। उनीहरूले बुङबुङ चुरोटको धुवाँ उडाउँदै हिँडेको दृश्य मेरो लागि अकल्पनीय थियो,' किरणले भने, 'मैले बुबाको सिकाइ सम्झेँ। सोचेँ, मैले त्यस्तो काम गर्नु हुँदैन, जुन काम मेरा छोरीहरूले नगरोस् भन्ने म चाहन्छु। त्यसपछि मैले चुरोटको लत त्यागिदिएँ।'
'हामीले छोराछोरीका लागि आफ्नो खराब लत छाड्यौं भने छोराछोरीले कुनै हालतमा त्यो लत पाल्दैनन् भन्ने मेरो सोचाइ हो,' उनले अगाडि भने, 'तपाईं छोराछोरीले मोबाइल कम चलाओस्; परिवार, समाज र आफन्तसँग घुलमिल होस् भन्ने चाहनुहुन्छ भने सबभन्दा पहिला आफै त्यस्तो बनेर बाटो देखाउनुपर्छ। तपाईं आफै रातदिन मोबाइलमा झुन्डिरहनुहुन्छ, परिवार र आफन्तको कुनै मतलब राख्नुहुन्न भने छोराछोरीले त्यस्तो नगरोस् भनेर कसरी अपेक्षा गर्न सक्नुहुन्छ? उनीहरूले त जे देख्छन्, त्यही सिक्छन्।'
'त्यसैले बच्चा हुर्काउन सबभन्दा पहिला आमाबाबु आफू हुर्किनुपर्छ। आमाबाबुले नै त्यस्तो मान्छे बनेर देखाउनुपर्छ, जस्तो उनीहरू छोराछोरीलाई बनाउन चाहन्छन्। मेरो प्यारेन्टिङको मूलभूत तरिका यही हो। र, मैले यो तरिका बुबाबाट सिकेको हुँ,' किरणले भने।
किरण र अल्कासँगको कुराकानीबाट हामीले के थाहा पायौं भने, उनीहरूको प्यारेन्टिङ तयारी बच्चा जन्मिनुअघि नै सुरू भइसकेको थियो।
बच्चा जन्मिनुअघिसम्म किरण र अल्का प्रायः हरेक शुक्रबार साथीभाइको जमघटमा सरिक हुन्थे, रमाइलो गर्थे। अल्का गर्भवती भएको ६-७ महिनापछि उनले पार्टीहरूमा जान छाडिन्। त्यसपछि किरणले पनि पार्टी जान बन्द गरे।
'मैले नजाऊ भनेको थिइनँ, ऊ आफै जान मानेन,' अल्काले भनिन्, 'हामीले प्यारेन्टिङको निम्ति लिएको पहिलो निर्णय सायद त्यही थियो।'
यति मात्र होइन, पहिलो छोरी जन्मिएपछि अल्काले आफूले गर्दै आएको काम छाडिन् र घरमै बसेर बच्चा हुर्काउने निर्णय गरिन्। बच्चालाई आमाकै दूध खुवाउनुपर्छ भन्नेमा उनी सचेत थिइन्। दुवै छोरीलाई लगभग चार वर्षसम्म नछुटाई आफ्नै दूध खुवाएको उनी बताउँछिन्। कहिलेकाहीँ बच्चा छाडेर बाहिर जानुपर्दा पनि आफ्नो दूध निकालेर बरफजस्तै फ्रिजमा राखेर जान्थिन्। घरकाले त्यही दूध तताएर बच्चालाई खुवाउँथे।
'मैले अस्पतालमा हुँदा एकचोटि ल्याक्टोजिन ल्याएको थिएँ, त्यसबाहेक जहिले पनि आफ्नै दूध खुवाएँ,' अल्काले भनिन्।
कतिपय आमाबाबु केटाकेटी स्कुल जान थालेपछि अलि निस्फिक्री हुन्छन्। बच्चालाई स्कुलकै भरमा छाड्छन् र आफूहरू अफिसको काममा भुल्छन्। किरण र अल्काको धारणा भने फरक छ। जतिसुकै व्यस्त भए पनि आमाबाबुले आफ्ना छोराछोरीको हुर्काइको साक्षी बस्नुपर्ने उनीहरू बताउँछन्।
भैंसेपाटी सर्नुअघि किरण र अल्का ललितपुरको कुमारीपाटी बस्थे। उनीहरूले अक्षतालाई करिब तीन वर्षको उमेरमा घरसँगै प्ले-ग्रुप स्कुल भर्ना गरिदिएका थिए।
अक्षता स्कुल जान थालेपछि अल्का पनि पुरानो काममा फर्केकी थिइन्। तर अफिसमा उनलाई दिनैभरि छोरीको चिन्ताले खटपट भइरहन्थ्यो। त्यसैले केही समयमै उनले जागिर छाडिन् र पूर्णकालीन छोरीको हेरचाहमा बिताउने निधो गरिन्। त्यो समय किरणले पनि अफिसबाहेकका अरू कामबाट सकभर आफूलाई टाढै राखे र जतिसक्दो छोरीलाई समय दिए। यही कुरा दोस्रो छोरी अबिराका हकमा पनि लागू हुन्छ।
'बच्चाहरू बिस्तारै हुर्कन्छन्। हरेक उमेरको हुर्काइ आफैमा सुन्दर हुन्छ। एउटा समय बितेपछि फेरि फर्केर आउँदैन,' अल्काले भनिन्, 'आमाबाबुले छोराछोरी हुर्कँदा हरेक उमेरको साक्षी बस्नुजत्तिको ठूलो कुरा अरू हुँदैन।'
किरणले सही थापे, 'समय भनेको खोलाको पानीजस्तै हो, एकचोटि बगेर गएपछि गइगयो! अलि बेरमा अञ्जुली थाप्दा पानी त आउँछ, तर बगेर गइसकेको पानी र नयाँ पानीको स्वाद अलग हुन सक्छ, तिनको विशेषतै अलग हुन सक्छ। हरेक उमेरको आफ्नै महत्त्व हुन्छ, आफ्नै विशेषता हुन्छ।'
'मैले अल्काले जस्तो जागिर त छाडिनँ, तर छोरीहरूको जिन्दगीका महत्त्वपूर्ण समयमा सकभर उनीहरूसँगै हुने कोसिस गरेँ। त्यो कोसिस आज पनि जारी छ,' उनले केही उदाहरण दिँदै भने, 'खोप दिने बेला बच्चाहरू रून्छन्। हरेक बच्चाको रूने शैली फरक हुन्छ। पोलियो थोपा खुवाउँदा मुख बिगार्छन्। हरेक बच्चाको मुख बिगार्ने शैली फरक हुन्छ। उनीहरू पहिलोपटक बामे सर्दाको अनुभव र पहिलोपटक आफ्नै खुट्टामा उभिँदाको अनुभव फरक हुन्छ। पहिलो दाँत निकाल्दाको डर र हाउभाउ फरक हुन्छ। ती कुनै पनि क्षण एकचोटि गएपछि फर्किएर आउँदैन। बरू तपाईंको बढुवा दुई वर्ष ढिला होस्, तपाईंको तलब दुई वर्ष ढिला बढोस्, तर छोराछोरी हुर्कंदा-बढ्दाको हरेक क्षण आफ्नै आँखाले हेर्न पाउनु आमाबाबुको निम्ति सबभन्दा ठूलो सम्पत्ति हो।'
'मैले ती कुनै पनि क्षण मिस गरेको छैन,' किरणले भने।
यसो भन्दै गर्दा उनी अल्कातिर हेरेर केही बेर गम्भीर भए।
एकछिनको मौनपछि भने, 'हरेक क्षणको साक्षी बस्दा छोराछोरीमा आउने सानोतिनो समस्या पनि बेलैमा पहिचान हुन्छ र हल खोज्न सकिन्छ।'
उनले उदाहरण दिए —
ठूली छोरी अक्षता करिब चार वर्षकी थिइन्। किरण र अल्काले उनलाई नियमित स्वास्थ्य जाँच गराउन लगेका थिए। जाँच्दा रक्तचाप बढेको देखियो। सानो बच्चामा उच्च रक्तचाप हुनु जोखिमपूर्ण हुनसक्थ्यो। उनीहरूले टिचिङ, केएमसी, पाटन लगायत थुप्रै अस्पतालमा जचाए। सबैतिर रक्तचाप बढी देखियो। रोग भने पत्ता लागेन।
किरणले आफ्नी एक काकीलाई सम्झिए, जो बालरोग विशेषज्ञ थिइन्। उनी घरिघरि भनिरहन्थिन्, 'बच्चाको पहिलो डाक्टर भनेका आमाबुबा नै हुन्। तिम्रो बच्चाको ठिक-बेठिक सबभन्दा पहिला तिमीले नै विचार गर्न सक्छौ।'
यही सम्झेर किरणले अक्षताको आनीबानी र दैनिकी नियाल्न थाले।
एकदिन अफिसबाट घर फर्किँदा उनले देखे — अल्का सानी छोरीलाई स्कुलको होमवर्क गराउँदै थिइन्। अक्षतालाई होमवर्कमा कुनै रूचि थिएन। उनी पढाइबाट भाग्दै थिइन्, अल्का जबर्जस्ती गर्दै थिइन्। उनलाई होमवर्क गर्न दबाब दिँदै थिइन्।
किरण झल्याँस्स भए।
ओहो! अहिलेदेखि नै आमाछोरीको उद्देश्य होमवर्क कसरी पूरा गर्ने भन्ने भएछ!
उनले अक्षताको पढाइ सम्झे।
अक्षता जुन स्कुल जान्थिन्, त्यहाँ अनुशासन र पढाइ एकदमै कडा थियो। साना बालखाहरू पनि स्कुले-पोसाक लगाएर जानुपर्थ्यो। अर्कातिर ए फर एप्पल मात्र होइन, ए फर एरोप्लेनदेखि ए फर एल्बम, ए फर एनिमल गरी लगभग आधा दर्जन शब्द कन्ठ पार्नुपर्थ्यो। अक्षर पनि सिधादेखि घुमाउरोसम्म लेख्न लगाइन्थ्यो। सानै उमेरमा पढाइको यति ठूलो बोझले अक्षता हायलकायल थिइन्।
किरणले सोचे — कतै छोरीको रक्तचाप बढ्नुको कारण स्कुलको होमवर्क र पढाइको प्रेसर त होइन!
यही सोचेर उनले अक्षतालाई त्यो स्कुलबाट निकाल्ने निर्णय गरे र अर्कोमा भर्ना गरिदिए जहाँ पढाइ कम, खेल्ने वातावरण ज्यादा थियो।
करिब दुई महिनामै अक्षताले अघिल्लो स्कुलमा पढेका सबथोक बिर्सिइन्। पहिले अन्तर्मुखी स्वभावकी थिइन्, नयाँ स्कुल जान थालेपछि खुल्दै गइन्।
उनको रक्तचाप पनि सामान्य भयो।
डाक्टरले पत्ता लगाउन नसकेको रोगको जड बच्चाको निगरानी गर्ने आमाबुबाले नै पत्ता लगाए।
'अक्षताले त्यहाँ जे पढिन्; मनले होइन, करले पढेकी रहिछन्। उनको काँधमा हामीले धान्न सक्नेभन्दा गह्रुंगो भारी बोकाइदिएका रहेछौं,' किरणले भने, 'पढाइको भार कम भएपछि रक्तचापको भार पनि घट्यो।'
'यो सबै केटाकेटीमा लागू हुन्छ भन्ने छैन। कुनै केटाकेटी जतिसुकै भार बोक्न सक्छन्, कसैमा त्यो क्षमता हुँदैन। तर केटाकेटीको क्षमता थाहा पाउने कसले त? घर, स्कुल वा अन्य वातावरणले उनीहरूलाई समस्या पारिरहेको छ भनेर बुझ्ने कसले त? त्यो भनेको आमाबाबुले नै हो। यसका लागि हामीले हुर्कँदो उमेरका सन्तानसँग जतिसक्दो धेरै समय बिताउनुपर्छ। उनीहरूको आनीबानी चिन्नुपर्छ। उनीहरूको चालचलनमा आएको सानोभन्दा सानो परिवर्तन केलाउनुपर्छ। समस्या पहिचान गरेपछि मात्र त्यसको हल खोज्न सकिन्छ,' किरणले भने।
उनीहरूले कान्छी छोरी अबिरालाई पनि त्यही स्कुल भर्ना गरिदिए। दुई दिदीबहिनी हाँस्दै-खेल्दै-नाच्दै-रमाउँदै स्कुल आउजाउ गर्न थाले।
किरणकृष्ण र अल्काको प्यारेन्टिङका धेरै गुण उनीहरूको आफ्नै बाल्यकालीन अनुभवसँग जोडिएका छन्।
किरणले कक्षा १ देखि ६ सम्म गोदावरीको सेन्ट जेभियर्स होस्टलमा बसेर पढेका थिए। यस हिसाबले उनी लगभग ६ देखि १२ वर्षको उमेरसम्म घरपरिवारबाट टाढा रहे। उनले घर आएर परिवारसँग भेट्ने भनेको वर्षको करिब तीन महिना मात्र थियो — दसैं-तिहार र मीनपचासको छुट्टि।
होस्टलको बसाइले उनलाई एउटा पाठ सिकायो — त्यहाँ बस्दा बच्चाहरूले जुनसुकै बेला आमाबुबालाई भेट्न पाउँदैनन्। भावनात्मक रूपमा आमाबुबाको खाँचो पर्दा पनि मनको कुरा खुलेर भन्न पाउँदैनन्। सामान्यतया १२–१३ वर्षको उमेरपछि बच्चाहरू किशोरावस्थामा प्रवेश गर्छन्। त्यो बेलासम्म परिवारबाट टाढिएको व्यक्तिलाई त्यसपछि पनि परिवारसँग भावनात्मक रूपले नजिकिन गाह्रो पर्छ। उनीहरूमा एक किसिमको लाज वा अहंकार विकास भइसकेको हुन्छ। सानोमा त आमाबुबा चाहिएन भने ठूलो भएपछि किन चाहियो भन्ने भावना उनीहरूमा पलाउन सक्छ। सानोमा त रेखदेख गर्नुपरेन भने ठूलो भएपछि किन गर्नुपर्यो भन्ने उनीहरू सोच्न सक्छन्।
बाल्यावस्थाको त्यही भोगाइ सम्झेर किरणले आफ्ना छोरीहरूलाई होस्टल नपठाउने र उनीहरूको भावनात्मक खाँचोमा आफू सधैं उपलब्ध रहने निधो गरेका थिए। उनको यो निधोमा अल्का सहमत भइन् र सधैं साथ दिइन्।
'हामी बच्चा हुँदा जुन-जुन घडीमा आमाबुबाको साथ खट्किन्थ्यो, त्यो सकस छोरीहरूलाई कहिल्यै नदिऊँ भन्नेमा हामी सचेत थियौं,' किरण र अल्काले एक स्वरमा भने, 'रूनैपर्ने अवस्था आए पनि कोठामा एक्लै नरोऊन्, आफ्नो मनका सबै उकुसमुकुस हामीसँग खोलेर हाम्रै साथमा रून आऊन् भन्ने हामी चाहन्थ्यौं।'
यसो भन्दै गर्दा किरण स्कुलमा मनाइने 'अभिभावक दिवस' सम्झन्छन्।
होस्टलमा बस्दा उनलाई अभिभावक दिवसको दिन सधैं मन भारी हुन्थ्यो। स्कुल आएका अभिभावकको भिडमा उनका आँखा आफ्ना आमाबुबालाई खोजिरहेका हुन्थे। कहिले देखिन्थे, कहिले देखिन्थेनन्। देख्दा उनका आँखामा पूर्णेको जून चम्किन्थ्यो, नदेख्दा औंसी लाग्थ्यो। त्यस्तै आँखा आफ्ना छोरीहरूको नहोस् भनेर उनी र अल्काले अक्षता र अबिराको कुनै पनि अभिभावक दिवस छुटाएनन्। दुवै जना जान नसके पनि कम्तिमा एक जना सधैं उपस्थित रहे।
आज फर्केर हेर्दा आफ्ना आमाबुबा अभिभावक दिवसमा गयल हुनुलाई पनि किरण नराम्रो भने मान्दैनन्।
'उहाँहरू हामीलाई भेट्ने चाहना नभएर नआउनुभएको पक्कै होइन,' उनले भने, 'कुनै पनि अभिभावकत्व नराम्रो हुँदैन। कसैले पनि आफ्नो बच्चालाई हानि पुगोस् भन्ने चाहँदैन। समय र क्षमताले भ्याएसम्म सबैले आफ्ना बच्चाहरूको भलाइ नै चाहन्छन्, कुभलो कसैले चिताउँदैनन्।'
'कसैले आफ्ना बच्चालाई ललिपप दिन्छन्, चाउचाउ खुवाउँछन् वा हिजोआज जस्तो मोबाइल दिइरहेका छन् भने त्यो पनि उनीहरूले बच्चाको खुसीकै लागि गरेका हुन्। आफ्ना छोराछोरीले सजिलै खाना खाओस्, उनीहरूको पेट भरियोस् भनेर नै मोबाइल देखाउँदै भात खुवाउने बानी लगाएका हुन्। तर कहिलेकाहीँ राम्रो गर्न चाहँदा चाहँदै नजानेर गल्ती भइरहेको हुनसक्छ,' किरणले भने।
यहाँनिर हामीले प्रश्न गर्यौं, 'बच्चाहरूले भनेको वा चाहेको सबथोक पूरा गर्नु नै राम्रो अभिभावकत्व हो त? कतिखेर उनीहरूको इच्छा पूरा गर्ने, कतिखेर हुन्न भन्ने?'
जबाफमा किरणले भने, 'यसमा हरेक अभिभावकको बुझाइ फरक हुनसक्छ। मेरो विचारमा बच्चाहरूले मागेको कुरा नपाउँदा निरीह महसुस गर्न दिनुहुन्न। उनीहरूमा लघुताभाष नजन्मोस् भन्ने विचार पुर्याउनुपर्छ। सँगसँगै, मैले चाहेको हरेक चिज पाउँछु भन्ने अहम् पनि विकास हुन दिनुहुन्न। उनीहरूमा मै हुँ भन्ने भावना आउन दिनुहुन्न। उनीहरूका इच्छा पूरा गर्ने क्रममा व्यवहारिक धरातलबाट धेरै माथि उठ्ने वातावरण बनाउनु हुन्न।'
'हामीले छोरीहरूको कुन इच्छा पूरा गर्ने र कुन नगर्ने भन्नेमा राम्ररी ध्यान पुर्याएका छौं भन्ने लाग्छ,' अल्काले थपिन्।
यसमा सबभन्दा पहिला आउँछ भ्रमणको कुरा।
किरण र अल्कालाई आफ्ना बच्चाहरू देश-विदेश घुमून् भन्ने चाहना थियो। विदेशभन्दा पहिला देशै घुमून् भन्ने उनीहरू चाहन्थे। यसमा सांगीतिक समूह 'नेपथ्य' को कन्सर्ट यात्रा सहायक बन्यो। किरणकृष्ण नेपथ्य ब्यान्डका व्यवस्थापक पनि हुन्। व्यवस्थापकका हैसियतले देशका विभिन्न ठाउँमा नेपथ्यको कन्सर्ट हुँदा उनी अल्का, अक्षता र अबिरालाई भ्याएसम्म आफूसँग लिएर जान्थे। त्यस क्रममा दुवै छोरी सानै उमेरदेखि नेपालका कुनाकाप्चा पुगेको उनी बताउँछन्।
'कक्षा ६-७ मा पढ्दा नै हाम्रा दुवै छोरीले नेपालका करिब ४० जिल्ला घुमिसकेका थिए,' किरणले भने, 'त्यो सँगसँगै हामीले उनीहरूलाई विदेश पनि लगेका छौं। उनीहरू थाइल्यान्डको राजधानी बैंकक गएका छन् भने नेपालको बाग्लुङ पनि पुगेका छन्। पाँचतारे होटलमा बसेका छन् भने गाउँमा गुन्द्रीमाथि बसेर गुन्द्रुक-भात पनि खाएका छन्।'
'हामीले उनीहरूलाई केही नजान्ने र केही नपाउने निरीह बन्न दिएनौं, सँगसँगै अहम भरिएको मान्छे पनि बनाएनौं,' अल्काले भनिन्।
यसै प्रसंगमा किरणले एउटा घटना सुनाए —
कान्छी छोरी अबिरालाई सुपरमार्केट घुमाउन लैजाँदा कुनै सामान मन पर्यो भने भुइँमा थुचुक्क बस्ने र लडिबुडी गर्ने बानी थियो। मन परेको सामान हात नपरेसम्म उनी डेग चल्न मान्थिनन्।
एकपटक विशालबजार जाँदा उनी त्यसैगरी एउटा सामान चाहियो भन्दै भुइँमा लडिबुडी गर्न थालिन्।
तर किरणले उनको कुरा मानेनन्।
अबिरालाई जुरूक्क बोकेर ल्याए र गाडीभित्र हुलिदिए।
आफ्नो त्यो व्यवहारले छोरीलाई लाज भयो कि भन्ने उनलाई चिन्ता त थियो, तर चिताएको सबथोक पूरा हुँदैन भनेर बुझाउनैपर्छ भन्नेमा पनि उनी सचेत थिए।
के उनी आफ्नो उद्देश्यमा सफल भए त?
केही समयअघि किरण, अल्का र ठूली छोरी अक्षता कान्छी अबिरालाई भेट्न अस्ट्रेलिया गएका थिए। त्यति बेला कुरैकुरामा किरणले छोरीहरूलाई सोधे, 'तिमीहरूलाई सानो बेलाको के कुरा याद छ?'
अबिराले फ्याट्टै विशालबजारको त्यो घटना सम्झिइन्। सानो बेलाको त्यो घटना उनको मनमा गढेर बसेको रहेछ।
छोरीले जबाफ दिनेबित्तिकै किरणले अर्को प्रश्न सोधे, 'त्यति बेला मैले जे गरेँ, त्यो ठिक थियो कि थिएन? के लाग्छ तिमीहरूलाई?'
दुवै छोरीले 'ठिक थियो' भन्नेमा सहमति जनाए।
निकै वर्षदेखि मनमा गाँठो परेर बसेको किरणको चिन्ता दूर भयो।
'त्यो दिन मलाई आफ्नो प्यारेन्टिङ सफल भएछ भन्ने लाग्यो,' उनले भने, 'हामी बूढाबूढी दुवै खुसी भयौं।'
सानैदेखि छोरीहरूले इच्छाएका कुराको परख राख्दै आएका किरण र अल्काले आवश्यक पर्दा उनीहरूको जीवनका महत्त्वपूर्ण निर्णयमा मार्गदर्शन पनि गरेका छन्। यसरी मार्गदर्शन गर्दा छोरीहरूको इच्छाविरूद्ध जानेभन्दा उनीहरूको इच्छा कतिसम्म ठिक छ भनेर तौलिन्छन् र बाटो देखाउँछन्। यसले छोरीहरू जीवनका निर्णय आफै गर्न काबिल भएको उनीहरूको अनुभव छ।
यसको सबभन्दा ठूलो उदाहरण उनीहरू अक्षता र अबिराको उच्चशिक्षालाई मान्छन्।
ठूली छोरी अक्षताले ए लेभल पढिन्। उनी त्यही पढ्न चाहन्थिन्। जबकि, कान्छी छोरी अबिराले आइबी गरिन्। दुवैको इच्छामा किरण र अल्का अवरोध बनेनन्।
अक्षतालाई नेपालमै मेडिकल पढ्ने इच्छा थियो। अबिरा भने विदेश जान चाहन्थिन्। यसमा पनि किरण र अल्का अवरोध बनेनन्।
छोरीहरूको पढाइका सम्बन्धमा रोचक अनुभव उनीहरूले सुनाए।
अक्षताले एमबिबिएसका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रवेश परीक्षा दिएकी थिइन्। उनको नाम निस्कियो। तर नाम निस्किएको भोलिपल्टै गलत नतिजा प्रकाशित भयो भनेर संशोधन गरियो।
नयाँ सूचीमा अक्षताको नाम थिएन।
त्यति बेला रातारात सूची फेरिएको विरोधमा आन्दोलन भएको थियो। तर किरणले अक्षतालाई आन्दोलनमा सहभागी हुन दिएनन्।
'जुन कलेज पढ्ने हो, त्यहाँ झगडा गरेर, मुद्दामामिला गरेर जान हुन्न भन्ने मेरो धारणा थियो,' उनले भने, 'सुरूको नतिजा गलत थियो होला, तर रातारात संशोधन गर्दा विद्यार्थीको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ भन्ने पाटन प्रतिष्ठानले वास्ता गरेन। मैले यही भनेर छोरीलाई सम्झाएँ र आफ्नो मनोबल दह्रो पारेर अर्को ठाउँमा प्रयास गर्न हौसला दिएँ।'
लगत्तै अक्षताले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिडिएस (दन्त चिकित्सा) को प्रवेश परीक्षा दिइन्। उनको नाम निस्कियो।
त्यति बेलासम्म काठमाडौं विश्वविद्यालयमा प्रवेश परीक्षा दिन बाँकी थियो। अक्षताको पहिलो रोजाइ पनि त्यही थियो। तर काठमाडौं विश्वविद्यालयको नतिजा कुर्दासम्म धरानमा भर्ना हुने म्याद सकिन्थ्यो। न उता, न यता होला भन्ने डर थियो।
उनीहरूले पारिवारिक सल्लाह गरे र धरानमै भर्ना गरे। पछि काठमाडौं विश्वविद्यालयमा नाम निस्किए धरानको भर्ना खर्च माया मारेर यतै पढ्ने उनीहरूको निष्कर्ष थियो। तर मेरिटका आधारमा एमबिबिएस भर्ना हुन अक्षताको अंक पुगेन। यति हुँदा पनि एक जना परिचितले भर्ना मिलाइदिने आश्वासन दिए।
त्यो समय किरण र अक्षता दुवैका लागि निकै कठिन गुज्रियो।
किरणले भने, 'बिडिएसभन्दा एमबिबिस नै तिम्रो पहिलो रोजाइ हो। तिमीले यहाँ पनि भर्ना पाउने भइसक्यौ, बाँकी निर्णय आफै गर।'
अक्षताले निर्णय गर्न एक रातको समय मागिन्।
त्यो बेला चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीको आन्दोलन उत्कर्षमा थियो। अक्षता आफै पनि किरणको हात समातेर धेरैपटक आन्दोलनमा गएकी थिइन्। जुलुसमा हिँडेकी थिइन्। डा. केसीप्रति ऐक्यबद्धता जनाउँदै मैनबत्ती बालेकी थिइन्।
भोलिपल्ट आफ्नो निर्णय सुनाउँदै उनले भनिन्, 'मेरो पहिलो रोजाइ एमबिबिएस भए पनि अब म बिडिएस नै पढ्छु।'
'किन?' किरणले छक्क पर्दै सोधे।
जबाफमा अक्षताले भनिन्, 'धरानमा मैले आफ्नै क्षमतामा नाम निकालेको हुँ। काठमाडौं विश्वविद्यालयमा एमबिबिएस पढ्न भने मेरो योग्यताले पुगेन। मेरो चासो बिडिएसमा पनि छ। मैले आफ्नो क्षमताले जे पाएको हो, त्यसैमा खुसी हुनुपर्छ।'
किरणले छोरीलाई सम्झाउन खोजे।
'म तपाईंलाई दुइटा कुरा भन्छु, त्यसपछि जे भन्नुहुन्छ, त्यही मान्छु,' अक्षताले भनिन्।
किरण राजी भए।
'मेरिटमा नाम ननिस्किएको भए पनि तपाईंको साथीले एमबिबिएस भर्ना गराएर फेबर गर्न खोजेका हुन्। त्यो फेबर लियौं भने हामी जिन्दगीभरि उनीप्रति कृतज्ञ हुनुपर्छ। के तपाईं त्यसको निम्ति तयार हुनुहुन्छ?' उनले भनिन्, 'अर्को कुरा, तपाईं र म आज हात समातेर डा. गोविन्द केसीको आन्दोलनमा गइरहेका छौं। केसीले सधैं नै मेडिकल शिक्षामा योग्यताको वकालत गर्नुभयो। भोलि तपाईंकी छोरी योग्यताबिनै एमबिबिएस पढ्न थाली भने हामी त्यसरी नै हात समातेर गोविन्द केसीको आन्दोलनमा जान सक्छौं? त्यो बेला हामी आजजस्तै गोविन्द केसीको पक्षमा नारा लगाउन सक्छौं? योग्यताको कुरा उठाउन सक्छौं?'
अक्षताका यी दुई कुराले किरण अवाक् भए।
सँगसँगै खुसी पनि भए, 'हामीले १७-१८ वर्षकी बच्चीलाई यत्तिको सोच्न सक्ने बनाएछौं।'
'त्यो हाम्रो प्यारेन्टिङको परीक्षा नै थियो। हामीले उनमा जस्तो विचार भरियोस् भन्ने सोचेका थियौं, त्यो उनले साँच्चिकै ग्रहण गरेकी रहिछन्,' किरणले भने, 'यत्तिको विचार गर्ने भएपछि हामीले उनकै निर्णय मान्यौं।'
त्यो समय धरानमा करिब ४० जना विद्यार्थी थिए। सुरूमा अन्तिम श्रेणीतिर रहेकी अक्षता पढाइको आखिरीसम्म पुग्दा तेस्रो स्थानमा उक्लेकी थिइन्।
'मान्छेले चाहेको गर्न पायो भने सफलता पनि हासिल गर्दो रहेछ,' अल्काले भनिन्, 'पढाइबाहेक उनी बास्केटबल टिमकी क्याप्टेन रहिन्। धरानमा पनि टिम बनाएर बास्केटबल खेलिन्। सामाजिक काममा पनि उत्तिकै सक्रिय थिइन्।'
अक्षता अहिले दन्त चिकित्सकका रूपमा बानेश्वरको एक क्लिनिकमा काम गर्छिन्। सँगसँगै मेहेन्दी कलाको सोखिन छिन्। उनलाई साथीभाइ र चिनजानका मान्छेले मेहेन्दी लगाइदिन बोलाउँछन्। एकपटक साउनमा आफ्नै कोलोनीका महिलालाई मेहेन्दी लगाइदिएकी थिइन्। त्यसबाट उठेको पैसा सामाजिक संस्थालाई दान दिइन्।
यति मात्र होइन, अक्षताले धरानमा केही समय पढेपछि दन्त चिकित्सकको इन्टर्नसिप गरेकी थिइन्। त्यसबाट १८-२० हजार रूपैयाँ कमाइ भएको थियो। उनले त्यो पैसा आफै खर्च गर्न सक्थिन्, तर गरिनन्। खाममा हालेर साथीमार्फत् घर पठाइदिइन्। साथमा एउटा चिठी थियो, जसमा लेखिएको थियो, 'यो मेरो पहिलो तलब हो। तपाईंहरूले मेरो निम्ति जे गर्नुभयो, त्यसका लागि धेरै धन्यवाद। तपाईंहरूलाई सधैं गौरव अनुभूति गराउने र जिन्दगीको सारा खुसी दिने प्रयत्न गर्नेछु, जसको तपाईंहरू हकदार हुनुहुन्छ।'
'चिठीमा अक्षताले व्यक्त गरेको भाव हाम्रो हुर्काइ-बढाइकै नतिजा हो, हाम्रो प्यारेन्टिङकै नतिजा हो भन्ने लाग्छ,' अल्काले भनिन्, 'अहिले पनि उनी मामु पैसा लिनुस् भनेर दिइरहेकी हुन्छिन्। हामी त्यो पैसा उनकै खातामा जम्मा गरिदिन्छौं।'
उता कान्छी छोरी अबिराले आइबी सकेर विदेश जाने मन बनाएकी थिइन्। विदेश नै जाने भए युरोप जाओस् भन्ने किरणको चाहना थियो। त्यसमा पनि नेदरल्यान्ड्स किरणलाई सबभन्दा मन परेको ठाउँ थियो। त्यसैले एसइई जाँच दिएपछि उनले दुवै छोरीलाई नेदरल्यान्ड्स घुमाउन लगेका थिए। त्यहाँ एक आफन्तकहाँ केही समय अबिरालाई छाडेका पनि थिए, ताकि उनले त्यो देश र त्यहाँको समाज बुझून्।
तर त्यो छोटो बसाइले अबिरालाई उल्टो युरोपप्रति नै वितृष्णा जगायो। उनले भनिन्, 'म भाषा नबुझ्ने देश जान्नँ।'
किरणलाई अमेरिकाप्रति खासै मोह थिएन। अंग्रेजी बोल्ने ठाउँ नै जाने भए अस्ट्रेलिया राम्रो हुन्छ भनेर किरणले सुझाव दिए। त्यसका लागि अस्ट्रेलियाका उत्कृष्ट आठ कलेजमध्ये कुनैमा नाम निकाल्नुपर्छ, नत्र नेपालमै स्नातक पढ्ने भनेर सर्त पनि राखिदिए।
खासमा कान्छी छोरी विदेश नजाऊन्, नेपालमै आफूहरूबीच बसेर पढून् भन्ने उनको चाहना थियो। नेपालमै पढ्ने भए गाडी किनिदिन्छु भनेर लोभ्याएका पनि थिए।
अबिरा भने विदेश जाने निर्णयमा अडिग थिइन्।
उनले प्रवेश परीक्षाका लागि रातदिन मिहिनेत गरिन् र अस्ट्रेलियाको उत्कृष्ट आठभित्रै पर्ने मेलबर्न र मोनास विश्वविद्यालयमा व्यवस्थापन संकायतर्फ नाम निकालिन्।
तीमध्ये उनको छनौट मोनास विश्वविद्यालय रह्यो।
छोरीलाई कलेज छाड्न किरण र अल्का दुवै अस्ट्रेलिया गएका थिए। त्यहाँको नियमअनुसार साताको २० घन्टा मात्र कलेज गएर पढ्नुपर्थ्यो। खाली समय धेरै देखेपछि किरणले छोरीलाई अर्को पनि विषयमा स्नातक पढ्न सुझाए। व्यवस्थापनसँग मिल्ने विषय छान्दा कानुन, सूचना प्रविधि र जनसञ्चार प्रमुख थिए। व्यवस्थापनमा जनसञ्चारको ठूलो भूमिका हुने देखेर अक्षताले त्यही छानिन्।
अबिरा अस्ट्रेलियामा पढ्दै गर्दा संसारभरि कोरोना महामारी फैलियो। ती दिनहरूमा उनीहरू दिनैजसो छोरीसँग कुराकानी गरिरहन्थे। किरण उनलाई पढाइका विषयमा सोध्थे। आफूले धेरै पहिले स्नातक गरेकाले छोरीको पढाइ र आफ्नो शैक्षिक स्तरबीच धेरै फासला आइसकेको उनलाई महसुस भयो। छोरीले सुनाएका वा सोधेका धेरै कुरा उनको दिमागले ठम्याउनै सकेनन्।
यहाँनिर किरणको जीवनमा एउटा नयाँ मोड आयो।
उनी त्यो बेला कोरोना महामारीले फुर्सदिला बनेका थिए। त्यही फुर्सद उपयोग गर्न र छोरीहरूको शैक्षिक हाराहारी आफूलाई उभ्याउन उनले काठमाडौंको किंग्स कलेजमा एमबिए पढ्न थाले।
कोरोनाकालभरि जुममार्फत् पढाइ भयो। पछि पूर्णकालीन विद्यार्थी बनेर कलेज पनि गए।
'त्यो मेरो जिन्दगीको नयाँ अध्याय थियो,' उनले भने, 'त्यहाँ सबै विद्यार्थी मेरा छोरीहरूको उमेरका थिए भने कतिपय प्राध्यापक नै मभन्दा कान्छा थिए।'
त्योभन्दा ठूलो कुरा त, कान्छी छोरी अबिराको अन्तिम वर्षको पढाइसँग उनको कोर्स मिल्दोजुल्दो थियो।
'त्यसपछि त के चाहियो, हामी बाबुछोरी नै एकअर्कासँग कम्बाइन-स्टडी गर्न थाल्यौं। म उसको साथी भएँ, ऊ मेरो,' उनले भने, 'म आफूले नबुझेको कुरा छोरीसँग सोध्थेँ, छोरीले नबुझेको कुरा म सिकाउँथेँ।'
'बुढेसकालको पढाइले मलाई छोरीहरूसँग थप नजिक मात्र ल्याएन, नयाँ पुस्ताको सोचाइसँग भिज्न र पछिल्लो समयको शिक्षा प्रणाली र ज्ञानसँग अभ्यस्त हुन पनि सिकायो,' हालै किंग्स कलेजबाट एमबिए पास गरेका किरणले भने।
अबिरा अब नेपाल आउने वा अस्ट्रेलियामै स्नातकोत्तर गर्ने भन्ने दुबिधामा छिन्। किरणका अनुसार अस्ट्रेलियामा पढ्ने विद्यार्थीलाई तीनवटा विकल्प हुन्छ। पहिलो, स्नातक सकेपछि अस्थायी बसोबास निम्ति आवेदन भर्ने र पिआर लिने। दोस्रो, स्नातकोत्तर गर्ने र विद्यार्थी भएर बस्ने। र तेस्रो, नेपाल फर्किने।
किरणले यी तीनै विकल्प अबिरालाई बुझाइसके।
यसबीच अबिराले उताकै विश्वविद्यालयमा स्नातकोत्तर पढ्न आवेदन दिएकी थिइन्। छनौट पनि भइसकिन्। तर त्यहीँ पढ्ने वा फर्कने टुंगो गरिसकेकी छैनन्।
'नेपाल फर्किने हो भने ठिक समय यही हो। मास्टर्स पढ्नुअघि दुई वर्षजति काम गरेर व्यावसायिक अनुभव लिएको राम्रो,' किरणले छोरीलाई सम्झाएको कुरा हामीलाई सुनाए, 'यहाँ आएर अलि समय काम गरेपछि फेरि उतै जाने वा यतै पढ्ने भन्ने उसकै हातमा छाडेको छु।'
छोरीहरू लोभी नहोऊन्, पापी नहोऊन्; उनीहरू सहृदयी बनून्, समभाव राखून् भन्ने किरणकृष्ण र अल्काको एकसूत्रीय चाहना थियो।
आज छोरीहरूको आनीबानी र व्यक्तित्व हेर्दा त्यो एकसूत्रीय चाहना पूरा भयो भन्ने उनीहरूलाई लाग्छ।
यसको निम्ति छोरीहरूलाई अभावमा नपिल्साएको, सँगसँगै अभाव भनेको के हो भनेर साक्षात् अनुभव पनि गराएको किरण बताउँछन्।
'बालबच्चालाई पैसामा बढी केन्द्रित गरायो र छैन छैन मात्र भनिरह्यो भने उनीहरू कञ्जुस हुन्छन्,' उनले भने, 'उनीहरूलाई सक्दो गर्नुपर्छ, तर जे पनि वालछ्याल पार्नु हुँदैन। अभाव र असीमितता दुवैको पाठ पढाउनुपर्छ। दुवै वातावरण बुझाउनुपर्छ।'
किरण र अल्कालाई यो पनि लाग्छ, बच्चाहरूका लागि सबभन्दा ठूलो आदर्श र प्रेरणा भनेका आमाबुबा नै हुन्। आमाबुबाले जति मिहिनेत गर्छन्, छोराछोरी पनि त्यत्तिकै मिहिनेती हुन्छन्। सानैदेखि आमाबुबालाई श्रम गरेको देखेका सन्तान श्रमबाट पन्छिँदैनन्। सानैदेखि आमाबुबालाई साहसी देखेका सन्तान जस्तोसुकै संकटमा पनि खुट्टा कमाउँदैनन्। उनीहरू आत्मविश्वासी हुन्छन्, आफ्नो निर्णय आफै गर्न सक्छन्।
'बच्चाहरूका लागि प्रेरणा बनूँ भनेर नै मैले उनीहरू दुवैले स्नातक सकेपछि त्योभन्दा एक तह माथिको पढाइ पूरा गरेँ र आफूलाई अपडेट गराएँ,' किरणले भने, 'भविष्यमा कुनै दिन मैले पिएचडी गरेँ भने तपाईंहरूले अचम्म नमाने हुन्छ। तर यत्ति कुरा बुझ्नुस्, त्यो पनि छोरीहरूकै निम्ति हुनेछ।'
त्यसो त छोरीहरूकै लागि भनेर किरण र अल्काले आफ्नो बसोबास पनि बदले। उनीहरू कुमारीपाटीबाट भैंसेपाटीको विनायक कोलोनीमा सरे।
यसको कारण खुलाउँदै अल्काले भनिन्, 'हाम्रो पालामा छरछिमेकमा साथीहरू थुप्रै हुन्थे। हामी साथीहरूसँग गट्टा खेल्थ्यौं, लुकामारी खेल्थ्यौं। दसैं-तिहारमा देउसी-भैलो पनि खेल्थ्यौं। अहिले धेरै बालबालिका खेल्ने साथी नभएर मोबाइलमा झुम्मिन्छन्। उनीहरू एक्लिएका छन्। त्यसैले छोरीहरूलाई समुदाय चाहिन्छ भनेर हामी यहाँ आएका हौं।'
कोलोनीमा अक्षता र अबिराका दुई-चार जना मन मिल्ने साथी छन्। साथीहरूसँग भेट्ने र वरपर घुम्ने हुँदा उनीहरू एक्लो महसुस गर्दैनन्।
यसै प्रसंगमा किरणले कम्तिमा दुई जना बच्चा पाउनुपर्ने सल्लाह पनि दिए।
'कम्तिमा दुई जना भयो भने उनीहरू नै एकअर्काका साथी हुन्छन्। सँगै बदमासी गर्छन्, झगडा गर्छन् र सँगसँगै माया पनि गर्छन्,' उनले भने, 'समयक्रममा आमाबाबुको साथ छुट्छ। परिवारका अरू सदस्यको साथ पनि छुट्छ। हामी कोही पनि सधैं सँगै रहन सक्दैनौं। त्यसैले उनीहरूको लामो समयको साथी भनेकै दाजुभाइ वा दिदीबहिनी नै हुन्। आफ्नो सुविधाका लागि एउटा मात्र सन्तान जन्माएर भविष्यमा उनीहरूलाई एक्लो बनाउन हुन्न भन्ने मलाई लाग्छ।'
यतिका वर्ष छोरीहरूलाई निर्देशन दिइरहँदा वा उनीहरूलाई बाटो देखाउँदा कहिलेकाहीँ 'ओभर-प्यारेन्टिङ' गरियो वा उनीहरूलाई बाँधेजस्तो महसुस भयो कि भएन?
हाम्रो यो प्रश्नको जबाफमा किरणले साइकलको उदाहरण दिए र भने, 'साना बच्चाहरूलाई सुरूमा चारपाङ्ग्रे साइकल चलाउन सिकाइन्छ। कुन बेला छेउछाउका साना दुइटा पाङ्ग्रा झिक्ने हो भन्ने अभिभावकले नै विचार गर्नुपर्छ। कसैलाई कुन समय ठिक लाग्छ, कसैलाई कुन समय। सबैले आफ्नो विचारअनुसार निर्णय गर्ने हो। हाम्रै कुरा सही हो भनेर हामी भन्दैनौं।'
'छोराछोरीले जाँड, रक्सी, चुरोट कहिल्यै नखाओस्; ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड कहिल्यै नबनाओस् भनेर सोच्नुहुन्न। समय र उमेरअनुसार उनीहरूमा परिपक्वता आउँदै जान्छ र उनीहरू स्वतन्त्र ढंगले आफ्नो निर्णय आफै लिन्छन्,' उनले अगाडि भने, 'चुरोटको मामलामा मैले आफैले छाडेर उदाहरण देखाइसकेको थिएँ। रक्सीको मामलामा पनि १८ वर्ष उमेर कटेपछि घरमै खान छुट दियौं। दुवै छोरीको १८औं जन्मदिनमा सपरिवार बसेर 'चियर्स' गर्दै उत्सव मनाएका थियौं। त्यति गरेपछि उनीहरूले घरबाट लुकेर खान जरूरी भएन।'
उनका अनुसार, आमाबाबुका रूपमा हाम्रो जिम्मेवारी छोराछोरीलाई असल बाटो देखाउनु हो, गल्ती गर्न लागे सच्चिन लगाउनु हो। परिपक्व भइसकेपछि पनि मैले भनेजस्तै गर्नुपर्छ भनेर कर गर्नुहुन्न। बच्चाहरूलाई धेरै खटन र दबाबमा राखियो भने उनीहरूलाई निस्सासिएको महसुस हुन्छ। यस्तो अवस्थामा आफ्नो स्वतन्त्रता निम्ति जे पनि गर्न सक्ने उनको भनाइ छ।
'अञ्जुलीमा पानी लिँदा हत्केला खुला राख्नुपर्छ, तब मात्र पानी अडिन्छ। मुठ्ठी कस्न खोज्यो भने पानी चुहिएर जान्छ,' किरणले आफ्नो प्यारेन्टिङको सार सुनाए, 'सन्तान हुर्कँदै जाँदा आमाबाबुले आफ्नो भूमिका पनि बदल्दै जानुपर्छ। सानोमा डाक्टरको भूमिका निर्वाह गर्नुपर्छ भने त्यसपछि साथी, सल्लाहकार र प्रेरकको भूमिका गर्नुपर्छ। बच्चाहरूसँगै आफूलाई अपडेट गर्दै लग्न सकियो भने झनै राम्रो।'
आज पनि किरणकृष्ण र अल्काको धेरैजसो समय दुई छोरीहरूकै इर्दगिर्द घुम्छ। काठमाडौंमै काम गर्न थालेकी डेन्टिस्ट छोरी अक्षता त उनीहरूसँगै छन्, अस्ट्रेलियामा रहेकी अबिरासँग पनि ह्वाट्सएप, मेसेन्जर लगायत सामाजिक सञ्जालमार्फत् नियमित सम्पर्कमै रहन्छन्। र, मौका पाउनासाथ छोरीलाई भेट्न अस्ट्रेलिया गइरहन्छन्। त्यस्तो बेला प्राय: ठूली छोरी अक्षता पनि सँगै हुन्छिन्।
'हाम्रा दुवै छोरी व्यक्तिगत वा पेसागत रूपमा आइपर्ने हरेक कुरा हामीसँग बाँड्छन्। उनीहरूलाई कुनै पनि कुरा हामीसँग बाँड्न अप्ठ्यारो छैन। त्यति खुला वातावरण हामीले दिएका छौं,' अल्काले भनिन्, 'उनीहरूले कुनै पनि कुरामा अलमलिएर बस्नुपर्दैन। रूनैपर्ने अवस्था आए पनि धक फुकाएर हाम्रोसामु रून आउन सक्छन्। आफ्नो कुरा नलुकाई र नधकाई भन्न सक्ने बनाउनु नै हामीले हाम्रो प्यारेन्टिङमा पाएको सबभन्दा ठूलो उपलब्धि हो।'
उनले यो पनि भनिन्, 'छोरीहरू हुर्किँदै गएपछि हामीले के बुझ्यौं भने, जति जति समय बित्दै जान्छ हामी चारै जना सँगसँगै भेट्ने र भेला हुने अवसर अब दुर्लभ बन्दै जानेछ। कहिले एउटा छोरी नहोला, कहिले अर्को छोरी नहोला। पछि त हामी नै नरहौंला। त्यसैले चार जना सँगै भेट्ने मौका जुर्नासाथ हामी त्यसलाई छोपिहाल्छौं। सानोभन्दा सानो अवसरमा पनि हामी जुट्छौं। फुर्सत पाउनासाथ छोरीहरूलाई भेट्न जान्छौं।'
अल्काको यो भनाइ उनीहरूको अहिलेको जीवनचर्यासँग ठ्याक्कै मेल खान्छ।
'छोराछोरीको बालापन भनेको फिल्म रिवाइन्ड गरेजस्तो रिवाइन्ड गर्न मिल्दैन,' किरणले आखिरीमा भने, 'जिन्दगीको दृश्य छुटेपछि छुटेर गइहाल्यो। त्यसैले समयमै उनीहरूलाई समय दिनुस्। नत्र समय घर्केपछि गुनासो गर्नु बेकार छ।'
***
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी