पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका २१ वर्षीय वशिष्ठकुमार कलवाल अध्यक्ष निर्वाचित भएका छन्।
कलवाल ३ हजार ७४३ मत पाएर निर्वाचित हुँदा कांग्रेसका ४१ वर्षीय अजयकुमारले ३ हजार ६२६ मत पाएर पराजित भए।
चुनावपछि मतगणना सुरू हुँदा अजयकुमारले अग्रता लिएका थिए। उनी र वशिष्ठकुमारबीच चार सय मतको अन्तर थियो।
जसले गर्दा आफू हार्न सक्ने भन्दै वशिष्ठकुमार चिन्तित थिए। सबै मत गन्दा उनले जिते।
नतिजापछि आफू धेरै खुसी भएको र अब जनताको लागि काम गर्ने बताउँछन्। उनी राजनीतिक परिवारको पृष्ठभूमिबाट हुर्किएका हुन्।
उनी जनता समाजवादी पार्टीका नेता दिनेशकुमार कलवालका भतिजा हुन्।
उनले पढाइ भारतमा गरेका थिए। प्लस टुसम्म देहरादुनको एक विद्यालयमा पढेका थिए भने बिबिए पटना आएर गरे।
बिबिए सकाएपछि उनी आठ महिना अघि मात्रै घर फर्किएका थिए। घर फर्किएर आफूले राजनीति गर्न चाहेको कुरा सुनाएपछि उनले गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका हुन्।
‘घर परिवारमा पहिल्यैदेखि राजनीति गर्नुहुन्थ्यो। मेरो पनि पहिल्यैदेखि राजनीति गर्ने इच्छा थियो। पढाइ सकेर नेपाल आएपछि जनताको सेवा गर्ने मेरो मनोकामना थियो,’ उनले भने, ‘यी कुरा मैले मेरो बुवा, काकालाई सुनाएँ।’
उनले थपे, ‘गाउँ-समाजले पनि मलाई नयाँ फेस हो भनेर सहयोग गरे, युवाहरूले पनि समर्थन गरे।’
आफूलाई खान लगाउन कुनै कमी नभएको र जनताकै सेवा गर्नको लागि आफू लागि परेको उनले बताए।
यसअघि २०७४ मा यो पालिकामा नेपाली जनता दलका नाथुनीप्रसादले अध्यक्ष जितेको थिए। तत्कालिन संघीय समाजवादी फोरम(अहिलेको जसपा)ले उपाध्यक्ष जितेको थियो।
अध्यक्ष नाथुनीप्रसादको कोरोनाका कारण निधन भएको थियो।
गाउँपालिकामा हुनुपर्ने कामहरू नभएको हुँदा अब आफूले गर्ने उनी बताउँछन्। आफ्नै वडामा २५ वर्षदेखि नेपाली कांग्रेसले नेतृत्व गरेको र केही गर्न नसकेको उनले बताए।
‘कालिकामाईको मेरो वडा १ मा २५ वर्षदेखि कांग्रेसको सरकार छ। अहिले भर्खरै टुटेको छ,’ उनले भने,‘तर काम गरेन। त्यही भएर परिवर्तन आयो।’
गाउँमा किसानहरूको सिँचाइ, स्वास्थ्य, शिक्षा, खेल लगायत क्षेत्रमा काम गर्ने उनले बताए।
‘मेरा धेरै योजनाहरू छन्। पहिलो काम म यहाँका किसानका लागि गर्छु। यहाँ धेरै दु:ख छ,’ उनले भने, ‘गाउँमा प्रमुख काम भनेकै किसानी हो। त्यसैले म सुरूमा सिँचाइको काम गर्छु। त्यसपछि स्वास्थ्यको लागि काम गर्छु। अस्पताल त छ तर डाक्टर छैन। मैले हाम्रो गाउँमा एमबिबिएसको डाक्टर राख्ने सोचेको छु।’
अर्को काम उनले विद्यालयहरू व्यवस्थित बनाउने बताए। गाउँमा विद्यालयहरू भए पनि विद्यार्थीहरू वीरगन्ज गएर पढ्न जाने गरेको उनले बताए।
‘गाउँका मान्छेहरू वीरगन्जमा घर भाडामा लिएर पढ्न जान्छन्। त्यसैले मैले यहाँको शिक्षा सुधार्ने सोचेको छु,’ उनले भने, ‘यहाँ विद्यालयहरू छन् तर राम्रो छैन। शिक्षकहरू पनि छैनन्। मैले बाहिर पढेर आएको भएर थाहा छ। अर्को सडक नालाहरू पनि राम्रा छैनन्। धेरै नै समस्या छन्। त्यसको पनि समाधान गर्छु।’
आफ्ना कामहरू गर्न गाउँ समाजले नै सहयोग गर्ने र आफ्ना काका समेतले सहयोग गर्ने हुँदा कठिन नहुने उनी बताउँछन्।
गाउँमा मुसहर समुदायलाई यसअघि पनि बनाइसकेको हुँदा फेरि पनि बनाउने उनी बताउँछन्। मुसहर समुदायका १८० मतदाता भएको उनले बताए।
‘काकाले प्रदेश सरकारबाट बजेट ल्याएर मुसहर बस्तीमा १८ वटा घर बनाएका छौं,’ उनले भने, ‘सबैको लागि पुगेको छैन। त्यसैले म फेरि पनि बनाउनेछु। हामीलाई त भोट कमाउनुछ नि। जनताको सेवा नगरी कसरी पाइन्छ। घर बनाएर दिएँ भने उनीहरू पनि पक्की घरमा बस्छन्। विचार सबैको लागि घर बनाउने छ।’
आफू राजनीतिमा नयाँ भए पनि आफ्ना परिवारका सदस्यहरू राजनीतिमा लागेको हुँदा कसैले पनि होच्याउने नगरेको उनले बताए।
उनी सम्भवत: देशकै सबैभन्दा कान्छा अध्यक्ष हुन्।
यसअघि सर्लाहीको रामनगरमा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादवले गाउँपालिका अध्यक्ष जितेका थिए।
यो पनि: गाउँपालिका अध्यक्ष जिते २१ वर्षका वशिष्ठकुमारले