भोलि शुक्रबार देशभर एकै पटक स्थानीय तहको चुनाव हुँदैछ। बिहान ७ देखि साँझ ५ बजेसम्म देशभरै मतदान गर्न समय तोकिएको छ।
निर्वाचन आयोगले १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकेको छ।
मतदान सकिएसँगै बुथहरूबाट मतपेटिका संकलन गरी मतगणना सुरू हुनेछ। मतगणना गर्ने सबै अधिकार निर्वाचन अधिकृत कार्यालयको जिम्मामा भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनका अनुसार आयोगले मतगणना छिटोभन्दा छिटो सकाउन भनिएको छ। त्यसको लागि निर्वाचन अधिकृतले आवश्यकताअनुसार टोली गठन गर्न पाउने उनले बताए।
‘मतगणना गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन अधिकृतको हो। यसको सबै व्यवस्थापन त्यहीँबाट हुन्छ,’ उनले भने, ‘उहाँहरूलाई के चाहिन्छ। लजिस्टिक सपोर्ट, पैसा, अरू के चाहिन्छ त्यो उपलब्ध गराउने आयोगले हो। व्यवस्थापनको पक्ष उहाँहरूको हो।’
मतगणना गर्न विशेषगरी ६ वटा महानगरपालिकामा बढी समय लाग्छ। उम्मेदवार धेरै भएका कारण महानगरपालिका, उपमहानगरपालिकाहरूमा अरूको तुलनामा मतगणना गर्न धेरै समय लाग्ने हो।
आयोगले यसपालि छिटो एक सातामै सक्ने गरी तयारी गर्न भनेको छ।
‘मतगणनाको लागि निर्वाचन अधिकृतहरूलाई एउटै मात्र निर्देशन छ। छिटोभन्दा छिटो मत गणना गरी सक्नू,’ उनले भने, ‘विगतमा १२-१५ दिन नै लागेको अनुभव छ। त्यो नहोस् कम्तिमा पनि तपाईंहरूले एक हप्ता भित्र टुंग्याउनू भन्ने हो।’
यसअघि २०७४ मा पहिलो चरणको स्थानीय तह निर्वाचनमा वैशाख ३१ गते भएको थियो। काठमाडौंको मतगणना भने जेठ १४ गतेमात्रै सकिएको थियो।
आयोगले धेरै समय लाग्ने भन्दै केन्द्र वा अरू महानगरपालिकामा मात्रै सहयोग नगरिने पौडेलले बताए।
‘आयोगले केन्द्रमा मात्रै सपोर्ट गर्यौं। आयोगले हस्तक्षेप गरेर गणना गर्न एक्स्ट्रा मान्छे पठायो भने त अरू पालिकाहरूको पनि अब्जेक्सन रहन सक्छ,’ उनले भने, ‘हामीलाई पनि सहयोग चाहियो भन्ने कुरा होला। त्यसैले त्यो उहाँहरूले नै गर्ने हो अरू के चाहिने हो त्यसमा आयोगले सहयोग गर्छ।’
आयोगले स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ समेत जारी गरेको छ। निर्देशिकाको धारा ४ मा मतगणनाको लागि टोली गठन गर्ने व्यवस्था छ।
त्यसमा भनिएको छ, ‘निर्वाचन अधिकृतको मतगणना कार्यको लागि प्रति सिफ्टको लागि २२ लहर सम्मको मतपत्र दुई हजार थान, २२ देखि ३० हजारसम्मको मतपत्र एक हजार सात सय ५० थान, ३१ देखि ४० लहरसम्मको मतपत्र एक हजार पाँच सय थान र ४० भन्दा बढीको मतपत्र एक हजार दुई सय २५ थान गणना गर्ने गरी टोली गणन गर्नुपर्नेछ।’
टोलीमा एक जना प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत), मतगणना अधिकारी, मतगणना सहायक, गणक (कम्प्युटर अपरेटर) उनका दुई सहायक कर्मचारी, कार्यालय सहयोगी र निजी सुरक्षा अधिकारीसहितको टोली हुनुपर्नेछ।
त्यही धाराको उपदफा (२)ले निर्वाचन अधिकृतले गणना गर्नुपर्ने मतपत्र, उपलब्ध स्थान र सुरक्षा व्यवस्था समेतको आधारमा एकैपटक दुई वा सोभन्दा बढी मतगणना टोली गठन गरी मतगणना गर्न सक्ने उल्लेख छ।
मतगणनाको समयमा प्रमुख मतगणना अधिकारी सबै सिफ्ट र टोलीको मतगणना कार्यमा संलग्न रहनुपर्ने व्यवस्था छ।
जसकारण काठमाडौं महानगरपालिकाको मतगणना लम्बिन सक्ने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सेतोपाटीलाई जानकारी दिए।
उनले काठमाडौं महानगरपालिकाको मतगणना अरू ठाउँको भन्दा पनि स्वभाविक रूपमै जटिल भएको बताए।
‘हामीले छिटो सकाउनको लागि ४-५ ठाउँ अलिकति बढाउने विचार गरेका छौं,’ उनले भने, ‘मतपत्रको प्रकृतिले पनि ढिलो हुन्छ। पाँच सय मतपत्र भएको ठाउँमा पनि त्यही, पाँच हजार मतपत्र भएको ठाउँमा पनि त्यहीबेला रिजल्ट खोजेरचाहिँ हुन्न।’
थोरै ठाउँमा मतपत्र गनेको कारण ढिलो भयो भन्ने गुनासो हुने गरे पनि गणना गर्न ठाउँ बढाउन पनि कठिन भएको उनले बताए।
‘बाहिर कुराहरू जाँदा थोरै ठाउँमा गन्यो भन्छन्। ३२ वटै वडामा गन्न सकिएला तर त्यसको व्यवस्थापनको पक्ष पनि छ। मनिटरिङ गर्ने कुरा पनि होला,’ उनले भने, ‘एउटै निर्वाचन अधिकृत हरेक मतगणना गर्ने ठाउँमा बस्नुपर्छ। त्यही हुँदा मतपत्रको ढाँचा र ठाउँको उपलब्धताले गर्दा पनि धेरै ठाउँमा गर्न सकिँदैन।’
उनले थपे, ‘ठूलो मतपत्र र सात छाप लगाउन पर्छ। त्यसले गर्दा पनि स्वभाविक रूपमै ढिलो हुन्छ। तै पनि हामीले गर्नुपर्ने काममा सचेत त छौं। ठाउँ बढाउने र कर्मचारी बढाएर छिटो सक्ने प्रयासमा छौं। ५ गतेभित्र सकाऔं भनेरचाहिँ भन्न सक्दैनौं।’
काठमाडौं महानगरपालिकाको मतपत्र ६४ लहरको बनेको छ। त्यस्तै मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिहरूमात्रै ५०-६० भन्दा बढी राख्नुपर्ने हुँदा पनि कठिन भएको उनले बताए।
काठमाडौंको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृह भवनमै गर्ने तयारी छ। शुक्रबार मतदान सकिएपछि मतपेटिका आएसँगै गणना गर्ने तयारी गरिने उनले बताए।
‘मतपेटिका आएपछि हामी सूचना जारी गर्छौं,’ उनले भने।
यस्तै भरतपुर महानगरपालिकाको मतगणना भने निर्वाचन आयोगले दिएको समयअनुसार नै सकाउने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले बताए।
‘मतगणना टोलीलाई र जनशक्तिलाई बढाउने हो। तर जतिवटा टोली बनाए पनि विवाद आउँदा निर्णय एक जना मान्छेले नै गर्नपर्छ। हाम्रो जेठ ५ गतेभित्र नै मतपरिणाम घोषणा गर्ने लक्ष्य रहन्छ,’ उनले भने, ‘सुरूवाती चरणमा हामी कम टोली बनाउँछौं। पछि आवश्यकताअनुसार बढाउँछौं। ८-१० वटासम्म बनाउन सक्छौं।’
भरतपुरमा पनि निर्वाचन सकिएपछि भोलिदेखि नै गणना गरिने उनले बताए।
‘सुरूमा तीन वटा जति बनाउँछौं,’ उनले भने।
भरतपुर महानगरपालिकाको मतगणना भरतपुर-१० मा रहेको चितवन प्रदर्शनी केन्द्रको हलमा गर्ने तयारी छ।
त्यसका लागि आवश्यक प्रबन्धहरू पनि मिलाइसकेको छ। मतगणना स्थललाई फलामका डण्डी गाडेर जालीले घेरिएको छ। गणनास्थलमा सिसिटिभी जडान गरिएको छ।
ललितपुर महानगरपालिकाको पनि छिटै सक्ने गरी तयारी गरिरहेको मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले जानकारी दिए।
‘तयारी गरिरहेका छौं। केही कामहरू बाँकी छन् भोलि दिनभरिमा सक्छौं,’ उनले भने, ‘स्थानीय प्रशिक्षण केन्द्रको अफिसमै हामी मतगणना गर्छौं। जति सक्दो चाँडो सक्ने प्रत्यत्न हुन्छ अब कति छिटो सकिन्छ भन्ने भन्न सकिन्न। टोली पनि आवश्यकताअनुसार बनाउँछौं।’
ललितपुरमा मतगणना पर्सिबाट मात्रै गन्ने तयारी रहेको पनि उनले बताए।
विराटनगर महानगरपालिकाको मत पनि पर्सिबाट मात्रै गन्न सकिने मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।
‘सबै कर्मचारीहरू मतदान केन्द्रमा खटिनुभएको छ। उहाँहरू दिनभरि घाममा खाइनखाई खटिनुहुन्छ,’ उनले भने, ‘त्यहाँबाट आउनबित्तिकै हामीले मतगणना गर्न बसम् पनि भन्न सक्दैनौं। सबैकुरालाई विचार गर्दा भोलि नै मतगणना गर्न सम्भव नहोला, प्रयास गर्छौं। जति छिटो सकिन्छ मतगणना सक्ने प्रयास गर्छौं।’
विराटनगरमा ६ वटा गणनास्थल बनाइएको छ। ती सबै ठाउँबाट ३१ गते बिहानदेखि प्रारम्भ गर्ने तयारी छ। सबै कोठाहरूमा सिसी क्यामरा पनि जडान भइसकेको छ।
वीरगन्ज महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले महानगरपालिकाको हकमा छिटो मतगणना सक्न कठिन हुने बताउँछन्।
‘चुनौतीहरूको सगरमाथा जस्तो चाङ छ। माथिबाट भन्न त सजिलै होला तर फिल्डमा काम गर्न गाह्रो छ। धेरै चुनौतीहरू छन्,’ उनले भने,‘तर पनि हामीले आफ्नो ड्युटी इमानदारीपूर्वक पालना गरेका छौं।’
वीरगन्जमा मतगणना गर्न सुरूमा दुई वटा बनाएर पछि चार वटासम्म बढाइने उनले बताए।
पोखरा महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई आयोगले जारी गरेको निर्देशिकाकै कारणले पनि मतगणनामा लम्बिने बताउँछन्।
‘निर्वाचन आयोगले भनेको समयमै गन्न सकाउन पाए राम्रै हुन्थ्यो। तर आयोगले त्यो भन्नुको साथसाथै प्राविधिक समस्याहरू पनि उत्पन्न भएका छन्। एउटा भनेको सिफ्टको छ। पहिले पाँच सय मत गन्दा एक सिफ्ट भनिएको थियो भने अहिले दुई हजार मत गन्दा एक सिफ्ट भनिएको छ,’ उनले भने, ‘संसदीय चुनावमा हुँदा मत पत्र सहज हुने तर यसमा मतपत्र पनि कम्प्लेक्स छ त्यही भएर भ्याउँदैनन्। हामीले धेरै कर्मचारीलाई काममा लगाएर, धेरै ठाउँमा गरेर, गर्न सकिएको भए सम्भावना हुन्थ्यो।’
धेरै वटा टोली बनाए पनि सिफ्टका कारण पछि पैसा दिनेबेलामा समस्या आउने उनले बताए। त्यसैले पनि नियमावली पनि संशोधन गर्न आयोगलाई अनुरोध गरेको उनले बताए। त्यसको सम्बोधन भइनसकेको उनले जानकारी दिए। धेरै टोली बनाए पनि एक जनामात्रै निर्वाचन अधिकृत हुँदा पनि समस्या हुने उनको धारणा छ। पोखरामा भने १० वटा सम्म टोली बनाएर मत गन्ने तयारी रहेको उनले बताए।