जनकपुरधाम मधेस प्रदेशको राजधानी हो। प्रदेशको प्रशासनिक केन्द्र बन्नुअघि नै जनकपुर साँस्कृतिक र पौराणिक सहरको रूपमा परिचित थियो। राजनीतिक, साँस्कृतिक र पौराणिक रूपले मधेस प्रदेशको केन्द्र बनेको जनकपुर उपमहानगरको बागडोर आउने पाँच वर्षसम्म सम्हाल्नका लागि अहिले जनकपुरमा उम्मेदवारबीच दौड छ।
सत्तारूढ पाँच दलीय गठबन्धनले जनकपुरको मेयर जनता समाजवादी पार्टीलाई दिएको छ। यसअघि उपमेयर र मेयर बनिसकेका लालकिशोर साह गठबन्धनका साझा उम्मेदवार बनेका छन्।
गठबन्धनमै रहेको नेपाली कांग्रेसका नगर सभापति रहेका मनोज साहले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७४ को चुनावमा दोस्रो भएका साहले यसपालि केन्द्रको निर्णय अवज्ञा गर्दै पार्टी नै छोडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
रमण कन्स्ट्रक्सनका सञ्चालक ठेकेदार बलराम महतो पनि मेयर बन्ने दौडमा छन्।
जनकपुरमा परम्परागत मत नभएको एमालेले शिवशंकर साहलाई मेयर उम्मेदवार बनाएको छ।
यी उम्मेदवारबीचको प्रतिष्पर्धाका आयामलाई बुझ्न सेतोपाटीले जनकपुरधामका २५ मध्ये २२ वडामा पुगेर १३२ मतदातासँग कुराकानी गरेको थियो। हामीसँग कुरा गरेका मतदाताको जवाफलाई आधार मान्दा यसपालि जनकपुरमा दलका भन्दा स्वतन्त्र उम्मेदवार प्रभावशाली देखिएका छन्।
केही दिनअघि हामी पुग्दा जनकपुरधाम-४ शान्तिनगरका ६ जना महिला गर्मी छल्न सडक पेटीमा रूखको छहारीमा बसेका थिए। मालती राय आफ्ना छिमेकी दिदीबहिनीलाई मतदान गर्ने तरिका सिकाउँदै थिइन्।
मधेस केन्द्रित दलकी समर्थक मालतीले यसपालि स्वतन्त्र उम्मेदवार बलराम महतोलाई भोट दिने बताइन्।
अघिल्लो पटक उनले लालकिशोर साहलाई भोट दिएकी थिइन्।
‘त्यतिबेला मधेसी पार्टीलाई जिताउने लहर थियो, त्यसैले उनलाई भोट दिएँ। जितेर गएपछि हाम्रो टोलमा उनी कहिल्यै फर्केर आएनन्। केही काम पनि गरेनन्। जताततै फोहोर छ, मच्छरले टोकेर खुट्टा सुनिन्छ,’ उनले भनिन्,‘यसपालि नयाँ मान्छेलाई मौका दिनुपर्यो। बलराम पैसावाल पनि छ। उनले जनताको स्वार्थ मात्र हेरेर काम गर्छ जस्तो लाग्छ।’
मालतीसँगै बसेकी अर्की महिलाले पनि बलरामलाई नै मत हाल्ने बताइन्। उनी पैसावाल भएकाले भ्रष्टाचार नगर्ने र जनताको काम गर्नेमा उनी ढुक्क देखिइन्।
पछिल्लो निर्वाचनमा ती महिलाले निवर्तमान मेयर लालकिशोरलाई भोट दिएकी थिइन्। पहिला लालकिशोरलाई भोट दिएका तर यसपालि मन फेरेर स्वतन्त्रलाई मत दिने सोच बनाउने उनी एक्ली मतदाता होइनन्।
हामीले कुराकानी गरेका १ सय ३२ मध्ये ४४ जनाले बलरामलाई भोट हाल्ने बताए। ४२ जनाले भने मनोज साहलाई मत दिने भने। त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीलाई मत हाल्ने ७, निवर्तमान मेयर लालकिशोरलाई ६, अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई ५, एमालेका शिवशंकरलाई ५ र सिके राउत नेतृत्वको जनमत पार्टीकी उम्मेदवार अनितादेवी साहलाई २ जनाले भोट हाल्ने बताए। १७ जनाले भने अहिले निर्णय नलिएको बताए।
पाँच वर्षअघि स्थानीय चुनाव हुँदा जनकपुरमा लहर लालकिशोर साहका पक्षमा थियो। त्यतिबेला उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका थिए। चुनावअघि सेतोपाटीले मतदातासँग कुराकानी गर्दा उनको पल्ला निकै भारी थियो।
मतपरिणाम पनि त्यस्तै आयो। लालकिशोर भारी मतान्तरले विजयी भए।
उनले २१ हजार ९ सय ३ मत ल्याउँदा दोस्रो भएका कांग्रेसका मनोज साहले ११ हजार १६४ मत पाएका थिए। एमालेका लक्ष्मीनारायण भगतले ४ हजार ८ सय ६४ मत ल्याएका थिए।
त्यो बेला मधेस आन्दोलनको रापताप थियो। मधेस आन्दोलनको सेन्टिमेन्ट थियो। लालकिशोर आन्दोलनको नेतृत्व गरेको तत्कालीन मधेसी मोर्चाका ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार थिए।
त्यसैले राजपाका वडाध्यक्षका उम्मेदवारको कूल मतभन्दा धेरै मत उनले पाएका थिए। राजपाका वडाध्यक्षहरूले पाएको मत जोड्दा १३ हजार ११ पुग्थ्यो, लालकिशोरले त्योभन्दा ८ हजार बढी मत पाएका थिए। उनले सबै दलबाट सहानुभूतिको मत पाएका थिए। कांग्रेस मेयर उम्मेदवार मनोजले भने पार्टीका वडाध्यक्ष उम्मेदवारले पाएको भन्दा कम पाएका थिए। कांग्रेसका वडाध्यक्षहरूको कूल मत १२ हजार ५५७ थियो।
हामीले कुराकानी गरेका १ सय ३२ जनामध्ये अघिल्लो स्थानीय तहको निर्वाचनमा १०६ जनाले लालकिशोरलाई नै मत दिएका थिए।
यसपालि भने लालकिशोरले पाएको त्यो भोट स्वतन्त्र उम्मेदवार बलराम महतो र मनोज साहबीच बाँडिने देखिएको छ।
पहिला कुरा गरौं, बलराम महतोबारे। उनी राष्ट्रिय स्तरमा 'क' वर्गका ठेकेदार हुन्।
रमण कन्स्ट्रक्सन र महतोमाथि राजश्व अनुसन्धान विभागले झूटा तथा नक्कली भ्याट बिल प्रकरणमा मुद्दा चलाएको छ।
एक वर्षअघि विभागले उक्त प्रालि तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।
बलराम भने कम्पनीको जिम्मा छोरालाई सुम्पेर मेयर बन्ने दौडमा लागेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग निकट सम्बन्ध रहेका महतोले दुबै पार्टीमा टिकटका लागि अनुरोध गरेका थिए। दुबैतिरबाट टिकट पाउने छाँटकाँट नदेखेपछि उनले गत चैतमै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
सबैभन्दा पहिला उम्मेदवारी घोषणासँगै उनले चुनावी प्रचारलाई तीव्र बनाएका थिए। उनले गरेको चुनावी प्रचार अहिले मतदातासम्म पुगेको देखिन्छ। उनको चुनाव चिन्ह 'आँप' हो।
जनकपुर-१७ मनहरपुरका ६५ वर्षीय माथवर मुखिया खेतमा काम गरिरहेको अवस्थामा भेटिए। अघिल्लो निर्वाचनमा लालकिशोरलाई मत दिएका उनले यसपालि बलराम महतोलाई भोट दिने बताए। गाउँको माहोल हेर्दा उनको जीत पक्कापक्की रहेको माथवरले दाबी गरे।
‘बलराम करोड होइन, अर्बौंका मालिक छन्। हामीलाई उसको पैसा चाहिएन। ऊ जितेर आयो भने गाउँमा वर्षामा हिलैहिलो हुने रोड, नाला बनाउन लगाउँछु। नहर बनाएर सिँचाइ गर्न लगाउँछु,’ उनले भने।
उनीप्रति मतदाता आकर्षित हुनुको सबभन्दा ठूलो कारण नै यही हो।
जनकपुर-२ का कविन्द्र यादवले अघिल्लो पटक लालकिशोरलाई भोट दिएका थिए। यसपालि आफूले बलरामलाई मत दिने उनले बताए।
‘उहाँ (लालकिशोर)सँग धेरै अपेक्षा थियो। तर केही गर्नुभएन। शिक्षकलाई पनि निरन्तर प्रहार गरियो। आफ्नो घर बचाउन रोड खुम्चाइदिनुभयो,’ उनले भने, ‘न्यूनतम सेवासुविधा जनतालाई दिइएन। मनोज साह पनि राजनीतिक फिल्डबाट आएका छन्। राजनीतिक व्यक्ति अधिकांश खराबै प्रवृत्तिका हुन्छन्। त्यसैले बलरामलाई मत हाल्छौं।’
बलरामको घोषणापत्रबाट आफू निकै प्रभावित भएको पनि उनले सुनाए।
‘गाडी, तलब सुविधा नलिने भनेका छन्। पढलेख गरेका व्यक्ति पनि छन्। इन्जिनियरबाट राजीनामा दिएर कन्ट्रयाक्टर बनेका छन्। उनी आए भने जनकपुरको कायापलट हुन्छ,’ उनले भने।
बलरामले सबभन्दा पहिले उम्मेदावारी घोषणा गरेर धेरैभन्दा धेरै जनतामाझ पुग्न सकेका छन्। उनले आफ्नो प्रतिबद्धतापत्र पनि धेरै मतदातालाई बुझाउन सकेका छन्।
जमुनियाका वृजमोहन यादव भन्छ्न्, ‘बलरामले सेवासुविधा लिँदैनन्। तलब लिन्न भनेका छन्। लालकिशोरले दुई करोडको गाडी चढ्थे अब त्यो पैसा विकासमा खर्च हुन्छ। करारमा लालकिशोरले आफ्ना मान्छेलाई राखेका थिए। बलरामसँग आफ्नै कम्पनीमा आफ्नो मान्छेलाई जागिर दिने क्षमता छ।’
बलरामसँग कडा टक्कर छ, कांग्रेसबाट बागी बनेका मनोज साहको।
अघिल्लो चुनावमा पराजित भएदेखि नै मनोजले फेरि मेयर लड्ने तयारी गरेका थिए। जनतामाझ जाने, उनीहरूका समस्या सुन्ने र सकेसम्म समाधानका लागि पहल गर्ने छवि उनले बनाएका छन्।
जनकपुरको कांग्रेसको उर्वरभूमि भएकाले यहाँको मेयरमा कांग्रेसको उम्मेदवार हुनुपर्ने अड्डी उनले अन्तिमसम्म लिएका थिए। गठबन्धनको केन्द्रको निर्णयअनुसार मेयर जसपाको भागमा परेपछि उनले कांग्रेस नगर सभापति परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनको पक्षमा अहिले कांग्रेसको गठबन्धनविरोधी मत र लालकिशोरप्रतिको असन्तुष्ट मत आउने देखिएको छ। उनले 'घन्टाघर' चुनाव चिन्ह पाएका छन्।
जनकपुर-२० रुपैठाका सहदेव मुखियाले यसपालि मनोज साहलाई मत हाल्ने बताए। अघिल्लो पटक लालकिशोरलाई भोट दिएकोमा अहिले पछुतो लागेको उनले बताए।
‘टोलको सडकमा हिलैहिलो छ। एक ठाउँमा हामी आफैं १० घर मिलेर पैसा उठायौं र मर्मत गर्यौं तर सबै ठाउँमा आफैंले गर्न सम्भव छैन नि,’ उनले भने,‘मनोजले मेयर नहुँदा पनि नोचा ठाकुर पोखरीमा विकास गरेको हामीले देखेका छौं। टोलमा कहिलेकाहीँ घुम्न पनि आउँछन्। तर लालकिशोर कहिल्यै आएनन्।’
जनकपुर-१७ कनकपट्टीका ६४ वर्षीय राजेन्द्र साहले पनि मनोजलाई भोट दिने मन बनाएका छन्।
‘लालकिशोरले गाउँमा केही काम गरिदिएनन्। तर मनोज चुनाव हारे पनि हाम्रो दुःख बुझ्न आइरहे। केही काम पर्दा कसैले एक कल फोन गर्नासाथ आउँछन्। त्यसैले उनलाई नै भोट दिन्छु,’ उनले थपे।
जनकपुर-२२ बसबिटीका उदितनारायण मिश्र आइतबार दिउँसो गाउँको कुल देउताको मन्दिरको बरण्डामा आराम गरिरहेका भेटिए। उनी लोसपा समर्थक हुन्। अघिल्लो निर्वाचनमा लालकिशोरलाई भोट दिएका उनी निकै आक्रोशित देखिए।
उनका अनुसार दुई वर्षअघि सडक फराकिलो गरी पिच गर्न नगरपालिकाले धेरैको घर भत्काइदियो। तर काम भने कही भएन। तीन बिघाभन्दा बढी जग्गा भएका उनले वर्षेनी ६ हजार बढी रुपैयाँ जग्गा कर तिरेको सुनाए।
‘साउन-भदौमा सडकमा हिँड्ने अवस्था हुँदैन। हामीले झेलेको दुःख कति छ कति नसोध्नु। लामखुट्टेको आतंक छ तर मार्ने दबाई कहिल्यै छर्केन। १० वर्षअघि १ सय रुपैयाँ कर तिर्दा पुग्थ्यो, अहिले ६ हजार तिर्नुपर्छ। ५ वर्षमा लालकिशोरले तीन पुस्तालाई पुग्नेगरी कमाए, जनतासँग मतलब गरेनन्,’ उनले भने।
लोसपा समर्थक भएकाले यसपालि मनोज चौधरीलाई भोट दिने उनले बताए।
नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, माओवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भए पनि जसपाबाहेक गठबन्धनका दलका अधिकांश मत स्वतन्त्र उम्मेदवारतर्फ नै गइरहेको देखिन्छ।
कांग्रेसका अधिकांश मत मनोज साहतर्फ गइरहेको देखिन्छ भने लालकिशोरबाट असन्तुष्ट, माओवादी, एकीकृत समाजवादी, केही कांग्रेस र एमालेको मत बलरामले तान्ने सम्भावना देखिएको छ।
जानकी मन्दिरदेखि दक्षिण र पूर्वतर्फका मतदाता बढी मनोजतर्फ देखिए भने पश्चिमी र उत्तरतर्फका मतदाता बलरामको पक्षमा देखिए। किनकी मनोज वडा नम्बर १५ स्थित रामपुरका हुन्। उनका गाउँ क्षेत्रका मतदाता बढी उनैतर्फ देखिए। बलरामको घर भने पिडारी चोकमा छन्।
जनकपुरमा जातीय समीकरणले समेत निर्वाचनमा ठूलो अर्थ राख्छ। यहाँ ८६ हजार ७६९ मतदाता छन्। तीमध्ये यहाँ साहुजी सबभन्दा धेरै छन्।
प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू बलराम, मनोज साह, मनोज चौधरी, जानकीराम, शिवशंकर साहुजी समुदायका छन्। तीमध्ये पनि यहाँ सबभन्दा धेरै तेली मतदाता छन्। करिब १९ हजार तेली, १६ हजार सुडी, १४ हजार ब्राह्मण, ९ हजार मुस्लिम र बाँकीमा अन्य मतदाता छन्। साहुजी समुदायमध्येका जानकीराम एकमात्र तेली उम्मेदवार छन्। त्यसैले आंकडा जे बताए पनि अन्तिममा जातका आधारमा जानकीराम प्रतिस्पर्धामा आउने उनी निकटस्थहरूको दाबी छ।
सबैजना साहुजी समुदायकै रहेकाले आ-आफ्नो विवेक प्रयोग गरेर विगत, व्यवहार र अनुहार हेरी मतदाताले भोट दिने वडा नम्बर ७ का महेशकुमार महतोले बताए। उनी कांग्रेस समर्थक हुन्।
‘अघिल्लो पटक मधेसको इज्जत बचाउनु थियो। काठमाडौंलाई बताउनु थियो मधेस एकजुट छ। तर अब जनताले पाँच सालमा विकास गर्यो कि गरेन त्यो हेरेर मात्र भोट दिनेछ। शिक्षाले जातपात कम भएको छ। तेली हुँदैमा जानकीरामलाई भोट दिने सम्भावना अहिले छैन,’ उनले भने।
अहिले स्वतन्त्र उम्मेदवारप्रति देखिएको ‘क्रेज’ जनकपुरका लागि भने नौलो होइन।
बहुदल आएपछिका दुई स्थानीय चुनावमा जनकपुरका मतदाताले स्वतन्त्र उम्मेदवारलाई जिताएका छन्। २०४६ को जनआन्दोलनपछि पहिलो पटक २०४९ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट बागी भएर चुनाव लडेका वृषेशचन्द्र लाल मेयरमा विजयी भएका थिए। त्यतिबेला कांग्रेसबाट दिगम्बर राय र लालकिशोर मेयरका आकांक्षी दिए। कांग्रेसले रायलाई टिकट दियो। असन्तुष्ट बनेका लालले बागी उम्मेदवारी दिएर जितेका थिए।
२०५४ को निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्याय र बजरंगप्रसाद साह आकांक्षी थिए। उपाध्यायले टिकट पाएपछि साहले बागी उम्मेदवारी दिए। पञ्चायतकालमा दुई पटक प्रधानपञ्च बनिसकेका उपाध्यायलाई पराजित गरी बागी बजरंग मेयर बनेका थिए।
जनकपुरमा अहिले स्वतन्त्र उम्मेदवारप्रति देखिएको ‘क्रेज’ ३० गतेको चुनावमा मतमा परिणत भयो भने २०७४ मा तोडिएको स्वतन्त्रको जीत यात्राले यसपालि निरन्तरता पाउन सक्छ।
सबै तस्बिर: रोहित महतो