ऊनी भाडामा बस्ने घरअगाडिको सडकमा अचेल रंगीबिरंगी झन्डा लगाएका अटो, सफारी र गाडी गुडिरहन्छन्।
तीमध्ये कुनैमा चर्को स्वरमा फलानो उम्मेदवारलाई फलानो छापमा भोट दिनुहोला भन्ने अपिल बजिरहेका हुन्छन्।
विराटनगर-१५ रानी बस्तीकी ३५ वर्षीया रजिला खातुनलाई ती रंगीचंगी झन्डा र थरिथरिका अपिलसँग कुनै मतलब छैन।
उनको मनमा जहिले पनि एउटै कुरा खेलिरहन्छ, गत कात्तिकमा १६ वर्ष पुगेको छोराले कसरी नागरिकता पाउला? यसपालि चुनावमा भोट माग्न आउने नेतामध्ये कसैले 'छोराको नागरिकता बनाइदिन्छु' भन्छन् कि भन्ने झिनो आशा बोकेर उनी सडकमा दौडिने चुनावी गाडी हेर्छिन्।
नयाँ मान्छे आए कुरा गर्न अघि सर्छिन्। वैशाख ३० गते हुने स्थानीय चुनावबारे विराटनगरका मतदातासँग कुराकानी गरिरहेका हामीले शुक्रबार साँझ रजिलालाई भेट्यौं। हामीले सोधेका प्रश्नको जवाफ दिइसकेपछि उनले आफ्ना कुरा सुनाइन्।
'मलाई एउटा कुरा भन्नु छ,' उनले भनिन्, 'मेरो वंशजको नेपाली नागरिकता छ तर त्यसको आधारमा मेरो छोरालाई नागरिकता दिन मान्दैन।' छोराको नागरिकता बनाउने सिफारिस लिन उनी वडा कार्यालय गएकी थिइन्।
'त्यहाँको मुखिया (वडाध्यक्ष) भन्छ- तिम्रो नागरिकताले हुँदैन। उसको बाबुको नागरिकता ल्याएर आऊ,' उनले भनिन्। मुखियाको त्यो बोली रजिलालाई निकै बिझाउँछ किनकी उनको छोराको बाबु कहाँ छन् उनलाई थाहै छैन।
रजिलाका बुवा विराटनगरमा ठेला चलाउँथे। उनी घरकी जेठी छोरी थिइन्। पछाडि चार जना भाइ-बहिनी थिए। स्कुल जाने उमेर उनले अरूका गाई-बाख्रा चराएर बिताउनु पर्यो। १५ वर्ष नपुग्दै उनको विवाहको कुरा आयो।
'मामा, माइजुले केटा हेर्नुभएको थियो। ऊ सिलाइको काम गर्थ्यो। उसको बुवा-आमा र परिवार कोही थिएन,' रजिलाले भनिन्,'दु:ख पाएको केटा छ। काम गरेर राम्ररी पाल्छ भनेपछि मैले नाइँ भन्ने कुरा भएन।'
रजिलाको विवाह भयो। केटाकेटी भए। पछि उनका श्रीमान कपडा सिलाउने काम गर्न काठमाडौं गए।
'म पनि गएकी छु काठमाडौं। केही वर्ष हामी पेप्सीकोलामा बसेका थियौं,' रजिलाले भनिन्,'पछि उता राम्रो काम नभएपछि फेरि विराटनगर आयौं।' पाँच वर्षअघि रजिला दुई जिउकी थिइन्। घरमा अरू चार वटा खाने मुख थपिएका थिए। एकदिन उनका श्रीमानले भने- म कमाउन भारत जान्छु। उनले सल्लाह मागेका थिएनन्, निर्णय सुनाएका थिए।
'महिना, महिना पैसा पठाउँछु भनेर ऊ गयो। सुरूमा त मैले आश मानेर बाटो हेरें तर २-३ वर्षसम्म केही खबर आएन,' रजिलाले भनिन्,'अब त आउँदैन होला।'
अहिले पाँच छोराछोरीको लालनपालनको जिम्मा रजिलाको काँधमा छ। जेठी छोरीको विवाह भयो तर श्रीमानले छोडेपछि उनी पनि अहिले आमासँगै आएर बसिरहेकी छन्। रानी बस्तीमा उनीहरूले टायलले छाएको एउटा पुरानो घरमा कोठा भाडामा लिएकी छन्। दाउरामा खाना पकाउँछन्। बर्खामा घरको आँगनभरि पानी भरिन्छ। अरूका घरमा भाँडा माझ्ने र सफा गर्ने काम गरेर गुजारा गरिरहेकी रजिलालाई छोरालाई विदेश पठाउन मन छ। छोराले कमायो भने आफ्नै पक्की घर बनाएर बस्ने सपना छ।
१७ वर्ष लागेका उनका छोरा मोहम्मद असिफले पलम्बरको काम सिकेका छन्। 'नागरिकता भयो भने त यो विदेश जान पाउँछ। पैसा कमायो भने यस्तो घरमा बस्नुपर्दैन नि!,' उनले भनिन्,'आफ्नै थोरै जग्गा किनेर घर बनाउँछु।'
उनको त्यो सपना पूरा हुँदैन कि भन्ने उनलाई डर छ। 'मुखियाले म फेरि चुनाव उठेको छु, चुनाव जितेपछि कुरा गरौंला भनेको छ,' उनले भनिन्,'चुनाव सकिएपछि पनि गरिदिन्छ कि गरिदिन्न।' आफूले जन्माएको सन्तानलाई नागरिकता दिलाउन नसके पछि उनीहरू बेवारिसे हुने हुन् कि भन्ने पीरले पनि उनलाई सताउँछ।
'म बाँचुन्जेल त यिनीहरू मेरा छोराछोरी भएकाले नेपाली हुने भए। म मरेपछि उनीहरूको कोही छैन। यिनीहरू यहाँका मान्छे नै हुँदैनन्,' रजिलाले भनिन्। आफूसँग नेपाली नागरिकता हुँदाहुँदै पनि सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन नमान्ने राज्यसँग उनलाई बेला बेलामा झोंक पनि चल्छ।
'छोराछोरी जन्मिएपछि उनीहरूको बाबु भागेर गयो त त्यसमा मेरो के गल्ती छ,' रजिलाले भनिन्,'कि महिलालाई नागरिकता नै नदिनुपर्यो नत्र भने उसले पनि आफ्ना सन्तानको नागरिकता बनाउन सक्ने हुनुपर्यो।'