धरानबाट भेडेटार जाने बाटो छेउमा छ, मीना राईको पसल। ३१ वर्षीया मीना पसलमा चिया-नास्ता पकाउँछिन्, कपडा सिलाइकटाइको काम गर्छिन्। सँगै उनको ग्यारेज पनि छ। मोटरसाइकल मर्मत गर्ने तालिम लिएपछि उनले ग्यारेज खोलेकी हुन्।
'मलाई मोटरसाइकलको इन्जिन खोलेर फिट गर्न पनि आउँछ,' मीनाले सेतोपाटीसँग भनिन्, 'राष्ट्रिय जनमोर्चाको सांस्कृतिक विभागमा पनि छु।'
जनमोर्चाको सांस्कृतिक विभागमै रहेका उनका श्रीमान र उनी कार्यक्रम हुँदा देशका विभिन्न ठाउँमा पुग्छन्। व्यवसायसँगै राजनीतिमा जोडिएकी मीनालाई वैशाख ३० गते हुने स्थानीय चुनावले छोएको छ। उनको पार्टी जनमोर्चा केन्द्रमा सत्तारूढ गठबन्धनमा छ, धरानमा भने उसले कुनै भाग पाएको छैन।
मेयरमा आफ्नो पार्टीको उम्मेदवार नभएपछि भोट गठबन्धनलाई हाल्नुहुन्छ कि अरू कसैलाई भन्ने प्रश्नमा मीनाले भनिन्, 'हामी त यसपालि हर्क दाइ (हर्क साम्पाङ) लाई भोट हाल्ने सल्लाह पो गर्दै छौं त!'
भेडेटार उक्लिनुअघि हामीले धरानमा हर्क साम्पाङको चर्चा सुनेका थियौं। स्वतन्त्र उम्मेदवारी दिएका उनले लौरो चुनाव चिह्न पाएका छन्। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा रहेका र्यापर बालेन शाहको चुनाव चिह्नसँग धरानका हर्कको पनि चुनाव चिह्न मिलेकाले उनीहरूबीच कुनै सम्बन्ध र सम्पर्क छ कि जस्तो लाग्यो।
हामी उनलाई भेट्न गयौं। सोमबार साँझ धरान उपमहानगरपालिका-७ स्थित शान्तिपथ टोलमा उनी घरदैलो कार्यक्रममा व्यस्त थिए। कुराकानी क्रममा उनले काठमाडौंमा बालेनसँग चुनाव चिह्न मिल्नु संयोग मात्र भएको बताए। अनि आफूले यसपालि धरानको मेयरमा जित्ने दाबी गरे।
२०७६ मंसिरको उपनिर्वाचन अघिसम्म धरानलाई 'वामपन्थी किल्ला' भनिन्थ्यो। धरानले यो राजनीतिक उपनाम पाउनुका आधार थिए। बहुदलीय व्यवस्था पुनर्स्थापना भएयता धरानमा संघ र स्थानीय तहका सबै चुनाव कम्युनिस्ट पार्टीले जितेका थिए। सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरानमा २०४८ सालमा नेकपा (एमाले) का नेता मनमोहन अधिकारी निर्वाचित भए। यो क्षेत्रमा २०६४ को संविधानसभा निर्वाचनबाहेक हरेक संघीय चुनाव एमालेले नै जित्यो। २०७४ सम्म मेयर पनि उसैले हात पारेको थियो।
सधैंभरि कम्युनिस्टलाई जनप्रतिनिधि बनाउने धरानेले साढे दुई वर्षअघि भने पहिलोपटक गैरकम्युनिस्टलाई मेयर चुने। २०७४ मा निर्वाचित मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले 'लालकिल्ला' भनिने धरानमा जितको खाता खोले।
२०७४ मा मेयर उठ्दा १६ हजार एक सय दुई मत ल्याएका राईले दुई वर्षपछि उपनिर्वाचनमा २६ हजार सात सय नौ मत पाए। राईको जित यस्तो बेला भएको थियो जति बेला एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेको थियो। विशाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई हराएर कांग्रेसका राई विजयी बनेपछि उनको जित राष्ट्रिय चर्चाको विषय भएको थियो।
धरानमा अहिले एमाले नेता/कार्यकर्ता २०७६ को तिलक राईको जितलाई पानीको फोका सावित गरेर आफ्नो जित यात्रालाई निरन्तरता दिन चाहन्छन्। त्यसका लागि एमालेले २०७४ मा उपमेयर जितेकी मञ्जु भण्डारीलाई मेयर उम्मेदवार बनाएको छ।
अर्कातिर पहिलो जितबाट हौसिएको कांग्रेस यसपालि गठबन्धनको समेत सहयोगमा धरानमा एमालेलाई पछार्छु भनेर लागेको छ। २०७४ मा माओवादीका मेयर उम्मेदवारलाई आएको ११ हजार मत, जनता समाजवादी पार्टीको केही मत र एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को मतले फेरि धरानको मेयर जित्ने लक्ष्यसहित कांग्रेसले किशोर राईलाई मेयर उम्मेदवार बनाएको छ।
वर्षौंदेखि ठूला संगठन र संरचना चलाएका यी पार्टीका नेता/कार्यकर्ताले मेयर जित्छु भन्ने हर्क साम्पाङको दाबीलाई हल्का रूपमा लिएका छन्। साम्पाङले केही हजार भोट ल्याए पनि मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै भएको उनीहरूको ठम्याइ छ।
सेतोपाटीले धरान उपमहानगरका २० वटै वडाका विभिन्न टोल पुगेर करिब सय जना मतदातासँग कुराकानी गर्दा यसपालि ४० वर्षीय हर्क साम्पाङप्रति धरानवासीमा अभूतपूर्व आकर्षण देखिएको छ।
कांग्रेस र एमालेले साम्पाङलाई जति हलुका रूपमा लिएका छन्, त्यसको ठीक उल्टो यहाँका मतदाताले उनलाई गम्भीरतापूर्वक लिएका छन्। धेरैले वैशाख ३० मा उनलाई मत दिने निधो गरेर बसेका छन्।
यसपालि पहिलोपटक मतदान गर्न लागेका युवादेखि ६०/७० वर्षका व्यक्तिमा साम्पाङप्रति आकर्षण र सहानुभूति छ। अघिल्लोपटक कांग्रेस र एमालेलाई मत दिएकाहरूले पनि यसपालि स्वतन्त्र उम्मेदवार साम्पाङलाई मत दिने बताएका छन्।
हामीले कुरा गरेकामध्ये झन्डै ३६ प्रतिशत मतदाताले यसपालि साम्पाङलाई मत दिने बताए।
कांग्रेसका उम्मेदवारलाई मत दिन्छु भन्नेको संख्या २२ प्रतिशत छ भने १८ प्रतिशतले एमालेलाई भोट हाल्ने बताए। कतिपयले अझै निर्णय गरिनसकेको बताए भने कतिपय खुल्न चाहेनन्।
साम्पाङलाई मत दिन्छु भन्नेहरूमा ७ प्रतिशत मतदाता पहिलोपटक मत हाल्न लागेका छन्। धरान-१४ का २१ वर्षीय विद्यार्थी सुरज खतिवडा तीमध्ये एक हुन्।
'यसपालि म पहिलोपटक भोट हाल्दैछु। मेरो पहिलो भोट लौरोलाई हुनेछ,' उनले भने।
साम्पाङप्रति अहिले देखिएको आकर्षण चुनाव हुने दिनसम्म कायम रहेमा धरानले यसपालि 'दोस्रो सरप्राइज' दिनेछ। साढे दुई वर्षअघि सदावहार वामपन्थी किल्ला तोडेर सरप्राइज दिएको धरानले यसपालि कांग्रेस-एमालेजस्ता प्रमुख दललाई हराउँदै स्वतन्त्र उम्मेदवार साम्पाङलाई जिताएर अर्को सरप्राइज दिन सक्नेछ।
सापाङले चुनाव जितेनन् भने पनि उनले यति धेरै मत ल्याउने छन्, त्यो धरानवासी र बाहिरका लागि पनि सरप्राइज नै हुनेछ।
सर्दु खोलापारि पर्ने विष्णुपादुका धरान बजारभन्दा बाहिर छ। पहिले यो छुट्टै गाविस थियो। २०७१ मा त्यो ठाउँ धरान उपमहानगरपालिकाको २० नम्बर वडा बन्यो। ग्राभेल बाटो मात्र पुगेको पहाडी भू-भागमा पनि साम्पाङका समर्थक भेटिए। विष्णुपादुकाकी २२ वर्षीया मनिता तामाङ निजी स्कुलमा पढाउँछिन्। उनलाई विकास भनेको सडक र बत्ती मात्रै होजस्तो लाग्दैन।
'मेरा लागि स्वास्थ्य र खेलकुद पनि महत्वपूर्ण कुरा हुन्,' मनिताले भनिन्, 'तर कुनै पनि दलले घोषणापत्रमा यी कुरालाई महत्व दिएको देखिँदैन।'
साम्पाङ युवा भएकाले उनले यी क्षेत्रमा नयाँ काम गर्ने विश्वास मनिताले लिएकी छन्।
'हाम्रो सरकारको नीति कस्तो छ भने कन्डमजस्तो ऐच्छिक वस्तु निःशुल्क बाँड्छ तर स्यानिटरी प्याडजस्तो अत्यावश्यक सामान पैसा तिरेर किन्नुपर्छ,' मनिताले भनिन्, 'यस्ता कुरा सुधार गर्नसक्ने मान्छेलाई भोट दिनुपर्छ। यसअघिका दललाई जिताएर यस्तो परिवर्तन सम्भव छैन।'
त्यसैले मनिताको रोजाइमा यसपालि साम्पाङ छन्।
राजनीतिशास्त्रमा स्नातक गरेका र वैदेशिक रोजगारी सिलसिलामा इराक र अफगानिस्तान पुगेका साम्पाङले केही वर्षदेखि धरानमा विभिन्न काम गर्दै आएका छन्। यसअघि पनि उनी धरानको मेयरमा उठेका थिए। २०७६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनले जम्मा ४२२ मत ल्याए।
'त्यति बेला मैले अहिलेजस्तो प्रचार-प्रसार गरेको थिइनँ,' साम्पाङले भने, 'त्यति बेला मलाई मतदाताले चिनेका पनि थिएनन्। मेरो पक्षमा अहिलेजस्तो माहोल पनि थिएन।'
साढे दुई वर्षअघिको चुनावमा बलियो उपस्थिति देखाउन नसकेका साम्पाङप्रति यसपालि समर्थन ह्वात्तै बढ्नुका पछि तीनवटा मुख्य कारण छन्।
सबभन्दा ठूलो कारण हो खानेपानी।
हामीले कुरा गरेका लगभग सबै मतदाताले धरानवासीले अहिले भोगिरहेको प्रमुख समस्या खानेपानी भएको बताए।
'एकदिन बिराएर पानी आउँछ। त्यो पनि आधा घन्टामा धारो सुकिसक्छ। अब कसरी चलाउने भन्नु त,' धरान-११ का ४७ वर्षीय ध्रुव राईले भने, 'कांग्रेस, एमाले सबैले हामीले जिते पानी ल्याउँछौं भनेर वाचा गरे। असफल भइसके। हर्क साम्पाङले कोसीदेखि पानी ल्याएर खुवाउँछु, नसके धरान छोडिदिन्छु भनेको छ। उसले अवसर पाए गरी पो हाल्छ कि!'
धरानमा खानेपानीको समस्या बल्झिएको वर्षौं भइसक्यो। जनसंख्या थोरै हुँदा धरानको वल्लो र पल्लो छेउमा बग्ने सर्दु र सेउती खोलाको जलाधार क्षेत्रबाट आउने पानीले पुग्थ्यो। तीव्र सहरीकरणपछि चुरेको फेदीबाट बग्ने यी दुई खोलाले धरानको तीर्खा मेटाउन नसक्ने भए।
धरानमा कसरी खानेपानी पुर्याउने भन्ने विभिन्न विकल्पमा छलफल भए। सन् २०१२ मा एसियाली विकास बैंक (एडिबी) सँग धरानमा खानेपानी पुर्याउनेबारे एउटा सम्झौता भयो। उक्त सम्झौताअनुसार एडिबीले धरानको दक्षिणमा रहेको जंगलमा डिप-बोरिङ गर्ने र त्यो पानी वितरण गर्न दुई अर्बभन्दा बढी ऋण/सहयोग दिने भयो। त्यो परियोजना लागू गर्न पहिलाको खानेपानी संस्थानलाई खारेज गरी धरान खानेपानी व्यवस्थापन बोर्ड गठन गर्ने र संस्थानको सम्पत्ति र संरचना बोर्डमा गाभ्ने निर्णय भयो।
साम्पाङले सुरूदेखि खानेपानी संस्थान खारेज गरी उसको सम्पत्ति बोर्डमा गाभ्नु हुँदैन भन्ने मत राखेका थिए। उनले भनेको कसैले सुनेनन्।
आयोजना अघि बढ्यो। सन् २०१९ डिसेम्बरमा एडिबीको परियोजनाको म्याद सकियो। आयोजना सम्पन्न भयो तर धरानेले चाहिने जति पानी पाउन सकेनन्। समस्या अहिलेसम्म ज्यूँकात्यूँ छ।
धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल अहिले एकातिर खानेपानी संस्थानको सम्पत्ति र संरचना आफूहरूले प्रयोग गर्न नपाएको र अर्कातिर केही डिप-बोरिङमा राखिएका मेसिन बिग्रिएकाले खानेपानी आपूर्ति गर्न नसकिएको बताउँछन्।
साम्पाङले आफूले जिते कोसीको पानी ल्याएर खुवाउने वाचा गरेका छन्। कतिलाई १९ किलोमिटर परको कोसीबाट पानी ल्याउने साम्पाङको योजना हावा लाग्छ। धेरैले भने उनको त्यो कुरा पत्याएका छन्। डिप-बोरिङ गरेर धरानको खानेपानी समस्या समाधान हुँदैन भन्ने साम्पाङको त्यति बेलाको तर्क अहिले जायज देखिएकाले पनि सायद मतदाताहरूमा उनको विश्वसनीयता बढेको छ।
साम्पाङ प्रति आकर्षणको दोस्रो कारण हो उनले बनाएको सामाजिक अभियन्ताको छवि।
अस्पतालमा सहयोग माग्नुपर्दा होस् वा सार्वजनिक सेवा क्षेत्रका केही समस्या आइपर्दा, धरानका धेरै सर्वसाधारणले गुहार्ने नाम भएको छ हर्क साम्पाङ।
दिनरात केही नभनी सर्वसाधारणलाई सहयोग गर्न पुग्ने र उनीहरूको समस्या तालुकवाला निकायमा पुर्याउन सामाजिक सञ्जालको उपयोग गर्ने कामले साम्पाङ धरानमा चिनिएका छन्।
'बिजुली, खानेपानी, बाटो जेको समस्या परे पनि हामीले भन्ने र सम्झिने उहाँलाई नै हो,' धरान-१३ का दिपेश घिमिरेले भने, 'दिनरात नभनी उहाँ आएर हाम्रो समस्या माथिल्लो निकायमा पुर्याउनु हुन्छ। उहाँको हार्डवर्क हेरेर नै धेरैले उहाँलाई मत दिने योजना बनाएका छन्।'
३१ वर्षे दिपेश आफूले पनि हर्कलाई नै मत दिने निश्चय गरिसकेको बताउँछन्।
धरान-१३ कै ४५ वर्षीय राजकुमार श्रेष्ठ आफू पहिलेदेखि एमाले समर्थक रहेको तर यसपटक स्वतन्त्र उम्मेदवार साम्पाङलाई रोज्ने तयारीमा रहेको निर्धक्क बताउँछन्।
'म र मेरो परिवारको सबै भोट उसैलाई जान्छ,' राजकुमारले भने, 'जनताका हरेक विषयमा जुनसुकै ठाउँमा उसैले लडेको छ, सहयोग गरेको छ। त्यसैले हारे पनि जिते पनि भोट लौरोमा दिन्छु।'
उनले यतिसम्म भन्न भ्याए, 'ल उसले जितेर पनि केही गरेन रे, यसअघिकाले चाहिँ के गरे?'
हामीले धरानका २० वटै वडा घुम्दा देख्यौं, एउटा मात्रै होइन धरानका धेरै वटा वडामा साम्पाङले 'जनताको काम गर्ने मान्छे' को पहिचान बनाएका छन्। भेडेटारदेखि विष्णुपादुकासम्मका सर्वसाधारणले भनेअनुसार उनी जनतासँग मीठो भाषामा बोल्छन्। जब जनताका गुनासो लिएर सरकारी निकायका प्रमुखहरूसँग बोल्नुपर्छ, खस्रो लवज प्रयोग गर्छन्।
चुनावका बेला मात्रै जनताको घरदैलोमा नेता पुग्ने भन्दै निरन्तर आलोचना भइरहेका बेला साम्पाङ भने चुनाव सुदूर भविष्यमा रहँदा पनि तिनका समस्याबारे बोल्दिने, सामाजिक सञ्जालमा भिडिओ बनाएर समस्या राखिदिने र सम्बद्ध निकायका अधिकारीलाई फोन गरेर सोधिदिने गरेका कारण उनी लोकप्रिय छन्।
धरानका मतदातामा साम्पाङप्रति देखिएको आकर्षणको तेस्रो कारण ठूला दलप्रतिको असन्तोष र वितृष्णा हो।
२०४९ देखि २०७४ सम्मको हरेक स्थानीय निर्वाचनमा एमालेले धरानमा प्रभावशाली जीत दर्ता गर्यो। तै पनि खानेपानी समस्या जस्ताको तस्तै रह्यो। सुकुम्बासी समस्या उही हालतमा छ। सर्दु र सेउती खोला किनारमा अहिले पनि साढे १३ हजार घरधुरी सुकुम्बासी छन्।
खानेपानी र सुकुम्बासी समस्यालाई भोट माग्ने बहाना मात्रै बनाएको भन्दै सर्वसाधारण एमालेसँग रोष प्रकट गर्छन्।
धरान-११ का ५५ वर्षीय कुमार राई आफू पूर्व एमाले कार्यकर्ता नै रहेको बताउँछन्। अहिले उनी 'कुनै हालतमा एमालेलाई भोट नदिने' भन्ने अवस्थामा पुगेका छन्।
'एमालेलाई संसददेखि नगरसम्म सधैं जिताइयो। तर खै उसले के गर्यो त यहाँ?,' उनले सोधे, 'ल एमालेले केही गरेन भनेर उपचुनावमा कांग्रेसलाई जिताएको, उसले पनि उही पारा देखायो। अनि यी ठूला भनिने दललाई किन दिनु भोट?'
हामीले भेटेका सर्वसाधारणमध्ये नवयुवा र पाका मतदाताहरूले सबभन्दा बढी ठूला दलप्रति आक्रोश पोखे। गर्छु भनेका काम केही नगरेको, भ्रष्टाचारमा रमाएको, जनताभन्दा आफन्तलाई अवसरमा रजाइँ गर्न दिएको भन्दै ठूला दल र तिनका नेतालाई उनीहरूले निशाना बनाएका थिए।
धरान ४ का १९ वर्षीय अनमोल राई यसपालि पहिलोचोटि मताधिकार प्रयोग गर्दैछन्। विश्वविद्यालयमा कानुन पढिरहेका यी तन्नेरीले अधिकांश ठूला दलहरू 'बेइमान भएको' आरोप लगाए।
'त्यसैले पनि मैले स्वतन्त्र उम्मेदवारलाई रोज्ने मन गरेको हुँ,' उनले भने, 'हर्क साम्पाङले जित्नुहोला/नहोला तर उहाँले पाएको प्रत्येक मतले यहाँ म्याटर गर्छ। जनता पार्टीहरूको कब्जाको वस्तु होइन नि!'
एक लाखभन्दा बढी मतदाता रहेको धरानमा हामीले कुरा गरेका मतदाताको संख्या निकै सानो भए पनि यो प्रतिनिधि आवाज हो। व्यवस्थित र बलियो संगठन भएका, राज्यस्रोतमा उस्तै दरिलो पहुँच स्थापित गरेका र चुनावी लडाइँ गर्न पोख्त भइसकेका ठूला दलहरूले हर्क साम्पाङलाई चुनौतीको विषय मानेका छैनन्।
एमालेको मजदुर संगठनका धरानका नेता रवीन्द्र अधिकारीले हामीसँगको कुराकानीमा त्यसको प्रस्ट छनक दिए।
'हर्कजीले तीन/चार हजार भोट ल्याउनुहोला,' उनले भने, 'त्यसमा पनि कांग्रेसकै मत बढी तान्ने हो। किनभने हाम्रो मत संगठित हुन्छ। धेरै चोरिने सम्भावना हुँदैन।'
अधिकारीले दाबी गरेजस्तो साम्पाङले कांग्रेसको मात्रै मत काट्ने भन्ने चाहिँ देखिँदैन। हामीसँगको कुराकानीमा हर्क साम्पाङलाई मत दिन्छु भन्नेमध्ये ३३ प्रतिशतले अघिल्लो चुनावमा कांग्रेसलाई भोट हालेको बताएका थिए भने २८ प्रतिशतले एमालेलाई मत दिएको बताएका थिए।
यसरी अघिल्लो पटक कांग्रेस-एमालेलाई मत दिएकाहरू जुन संख्यामा साम्पाङलाई यसपालि भोट दिन्छु भन्दैछन्, त्यसले यी दुई ठूला पार्टीका लागि ठूलो चुनौती खडा गर्नेछ। त्यसमाथि पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्नेहरूको साम्पाङ प्रति जुन आकर्षण छ, धरानमा मतदाताको ठूलो हिस्सा यसपालि साम्पाङको पक्षमा उभिने देखिन्छ।
त्यसले उनलाई जित दिलाउने छ वा जितको नजिक मात्र पुर्याउने छ?
साम्पाङकै कारण पनि यसपालि धरानले निर्वाचन परिणाम चासोका साथ पर्खिने छ।