बुटवलमा पनि अन्यत्रजस्तै स्थानीय चुनावको माहौल तातेको छ। दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन्।
यहाँ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेका छन्।
२०४९ पछिका निर्वाचनमा बुटवलमा कांग्रेसले जितेको छैन।
०७४ को स्थानीय चुनावमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भए पनि एमालेले जितेको थियो।
कांग्रेसले अहिले नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सँग तालमेल गर्दा एमालेले पनि राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको छ।
एमालेले बुटवल उपमहानगरपालिका मेयर पदमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाएको छ।
यस्तै कांग्रेसबाट मेयरमा खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन्।
०७४ को मत हेर्दा एमालेका शिवराज सुवेदीले सुवेदी २३ हजार दुई सय ४९ मत ल्याएका थिए।
कांग्रेसका खेलराज पाण्डेले २० हजार आठ सय ५१ मत ल्याएका थिए। एमालेका सुवेदीले कांग्रेसका पाण्डेले भन्दा दुई हजार तीन सय ९८ मत बढी ल्याएर मेयर जितेका थिए।
उपप्रमुखमा एमालेकी गुमादेवी आचार्यले २५ हजार तीन सय १ मत ल्याएकी थिइन्।
माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार सात सय ९२ मत ल्याएका थिए। उपमेयरमा आचार्य र पोखरेलको मत अन्तर १० हजारभन्दा बढी थियो।
१९ वडा रहेको बुटवलमा १६ वडा एमालेले जित्यो, कांग्रेसबाट तीन वडाध्यक्ष हुँदा माओवादीले कुनै पनि जित्न सकेन।
०७४ मा भन्दा यसपालि बुटवलमा १३ हजार तीन सय ४५ मतदाता थपिएका छन्। पहिले ७६ हजार सात सय २० मतदाता थिए। अहिले ९० हजार ६५ मतदाता पुगेका छन्।
थपिएका यी मतदाताले पहिलोपटक स्थानीय चुनावमा मतदान गर्दैछन्।
चुनाव नजिकिँदै गर्दा पाँचलदीय सत्तागठबन्धनका उम्मदेवार कि प्रतिपक्षी एमाले गठबन्धनका उमम्देवारको पल्ला भारी हुन्छ भन्ने अनुमान हुन थालेका छन्।
कांग्रेस पाँचदलीय गठबन्धन रहेकोले आफूहरूले जित्ने दाबी गर्दै आएको छ। तर एमाले भने कतिपय माओवादी कार्यकर्ता पार्टीमा आएकोले त्यो मत जित्न सहयोग पुग्नेमा विश्वस्त देखिन्छ। एकीकृत समाजवादीले खासै असर नपार्ने एमाले नेताहरू दाबी गर्छन्।
अघिल्लो निर्वाचनमा पाएको मतको आधारलाई मान्ने हो भने बुटवलमा माओवादीको मत सरदर तीन हजार पाँच सय थियो। यो अवधिमा माओवादी केन्द्रबाट एमालेमा आउने क्रम अहिले पनि जारी छ।
त्यस्तै आफ्नो दुई हजार मत रहेको दाबी गर्ने राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल रहेकोले एमाले चुनाव जित्नेमा ढुक्क देखिन्छ। एमालेले राष्ट्रिय जनमुक्तिको उपस्थिति बलियो रहेका वडामा सदस्य छाडेको छ। १९ वडामध्ये ११ जना सदस्य राष्ट्रिय जनमुक्तिले पाएको छ।
कांग्रेसभित्रबाटै संघर्ष गरेर मेयरको टिकट ल्याएका पाण्डेलाई एमाले किल्लाका रूपमा लिइने बुटवल हात पार्न सहज भने छैन। कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले यही बीचमा राजीनामा दिएका छन्। पाण्डे र लम्साल दुबै संस्थापन पक्षका थिए।
गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणनिकट रिता केसी पार्टी महाधिवेशनमा हारेकी थिइन्। केसी हारेपछि पाण्डे र खाणबीच सम्बन्ध सुमधुर नरहेको दाबीसमेत हुने गरेको छ। पाण्डे भने पार्टीका आन्तरिक निर्वाचनको प्रभाव दलीय चुनावमा नपर्ने बताउँछन्।
उनले निरन्तर पार्टीमा आफूले गर्दै आएको योगदानबाट उम्मेदवार बनेको र नगरवासीका लागि गरेको योगदानको कारण मतदाताले पनि आफूलाई भोट दिने बताए।
आफूले सरल राजनीति गर्दै आएको र अघिल्लो पटकको निर्वाचनमा पराजित भएकोले इमान्दार मतदाताले सहानुभूतिका लागि पनि आफूलाई रोज्ने उनको भनाइ छ।
एमाले उम्मेदवार भट्टराई पनि आफू निर्वाचित हुने बताउँछन्। उनले ४० वर्षदेखि बुटवललाई नियालेको र चुनाव जितेर परिवर्तन र विकास गर्ने दाबी गर्छन्। एमालेको संगठन बलियो भएकाले पनि आफूले चुनाव जित्ने दाबी उनको छ। उनले एमालेको भोट दायाँबायाँ नहुने बताए।
यो चुनावमा आमनेसामने हुने पाण्डे र भट्टराई भने एकै ठाउँका हुन्। स्याङजाको कालिगण्डकीमा जन्मिएका पाण्डे र भट्टराई दुबैले आफ्नो राजनीतिक र व्यवसायीक यात्रा बुटवलबाटै सुरू गरेका थिए।
कालीगण्डकी वडा नम्बर ४ बाट २०३६ सालमा बुटवल झरेका भट्टराईले राजनीति र व्यवसायलाई सँगसँगै अगाडि बढाए भने कालिगण्डकी वडा नम्बर २ बाट २०३५ सालतिर बुटवल झरेका पाण्डे राजनीतिमा मात्रै छन्।
लामो समयदेखि औषधि व्यवसाय गर्दै आएका भट्टराई एमालेको जिल्ला कमिटी हुँदै अहिले लुम्बिनी प्रदेश कमिटी सदस्य छन्। नेपाल औषधि व्यवसायी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत भएका भट्टराईसँग पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर काम गरेको अनुभव छ।
त्यस्तै उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरेका थिए। तत्कालिन लुम्बिनी अञ्चल अस्पताल विकास समितिको अध्यक्ष रहेर पनि अस्पतालको सुधारमा योगदान गरेका थिए।
सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु दाबी गर्छन्।
पाण्डेले पनि पछिल्लो पाँच वर्षमा स्थानीयको मन जितेका छन्। जनताका समस्या समाधानमै उनले समय बिताउने गरेको उनीनिकटको दाबीसमेत छ।