धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित दलित बस्तीमा अचेल चहलपहल बढेको छ। बस्तीमा पचास घरधुरी छन्, सबैले मजदुरी गरेर गुजारा चलाउँछन्। एक हप्ताअघिसम्म टोलका वयस्कहरू दिनभर मजदुरी गर्दै थिए। कोही चाहिँ काम खोज्दै हिँड्थे। दिउँसो घरमा महिलाहरू मात्र भेटिन्थे।
एक सातायता बस्तीको दृश्य केही फरक भएको छ। धेरैजसो व्यक्तिहरू टोलमै भेटिन्छन्। उनीहरू चुनाव प्रचारमा लागेका छन्। उम्मेदवारहरूका पर्चा–पम्पलेट टाँस्ने, झण्डा लगाउने र भोट माग्ने काममा लागेका छन्।
आफूले चुनेर पठाएका नेताहरूका गतिविधि र कामले उनीहरू असन्तुष्ट पनि छन्। तै पनि उनीहरूकै पछि लाग्नुको विकल्प छैन भन्ने उनीहरूलाई लागेको छ।
‘पाँच सालमा हामी कसरी बाँच्छौँ कोही सोध्न आएनन्। चुनाव आएपछि दिनको १० जना नेताहरू हालखबर सोध्दै भोट माग्न आउँछन्,’ स्थानीयबासी कोशिला सहनी भन्छिन्, ‘नेताहरूको दिमागमा दलितहरू मासु र रक्सीमै बिक्छन् भन्नेछ। अहिलदेखि नै उनीहरूले मासु, चिउरा र रक्सीको भोज सुरू गरेका छन्। हामीलाई काम जानु पर्दैन भन्छन्।’
नेताहरूले मासु र रक्सीको लोभ देखाएर दलितको भोट ठग्ने गरेको उनको गुनासो छ।
कोशिलाका अनुसार बस्तीमा धेरै व्यक्ति जन्मसिद्ध नागरिक छन्। उनीहरूका छोराछोरी र श्रीमतीले नागरिकता पाएका छैनन्। उनीहरूलाई नागरिकता दिलाउन नेताहरूले सहयोग गरेनन्। नागरिकता नभएका व्यक्तिहरू राज्यबाट प्राप्त हुने सेवासुविधा र रोजगारीबाट बन्चित छन्।
स्थानीयबासिन्दा मुनिया दासका अनुसार चुनावको समयमा मात्रै होइन, अरू बेला पनि कुनै ठूलो नेता आउँदा जनपुरसम्म जानुपर्छ।
उनी भन्छिन्, ‘अरू बेला पनि कुनै ठूलो नेता आयो भने सभामा, जुलुसमा हामीलाई जनकपुरम्म लान्छन्। चिया, बिस्कुट र खाजा खुवाएर पठाइदिन्छन्। केहीलाई रक्सी र मासु पनि खुवाइदिन्छन् तर काम कहिल्यै दिँदैनन्।’
सधैँ जसो सुनसान देखिने बटेश्वरकै वडा नम्बर ५, शान्तिपुरको मुसहर बस्तीमा यतिखेर नेताहरूको दौडधुप निकै बढेको छ। स्थानीयबासिन्दा मिना सदा भन्छिन्, ‘चार वर्षसम्म हामी मर्दा पनि जिउँदा पनि कुनै नेताले मतलब राखेनन्, अहिले चुनाव आयो, नेताहरू खुट्टै ढोग्न आएका छन्, रक्सी र मासु बाँड्दै हिँडेका छन्।’
मिनाको परिवारमा पाँच जना छन्, श्रीमान्-श्रीमती, छोरा-छोरी र बुहारी। छोरा भारतको पञ्जाबमा मजदुरी गर्छन्। श्रीमान् दिनहुँ मजदुरी गर्छन्। कहिले काम नपाएर खाली हुन्छन्। मजदुरीबाट आएको पैसाले जेनतेन घर चल्छ, बचत हुँदैन। पहिले मिना आफैँ पनि मजदुर गर्न जान्थिन् अचेल काम पाउन मुश्किल छ।
‘यहाँ पहिलेजस्तो उब्जिनी हुँदैन। मंसिरमा दुई दिन धान काट्ने र असारमा चार दिन रोपनी गर्ने। त्यो बेला मात्र हामी काम पाउँछौ,’ मीना भन्छिन्, ‘श्रीमान् महेन्द्रनगरमा काम गर्न जानुहुन्छ। त्यहाँ पनि सधैँ काम पाइँदैन। काम गरेको पैसा पनि आठ दिनमा दिन्छ, पैसा बच्दैन घर कसरी बनाउनु!’
यो विपन्न बस्तीको कोही बासिन्दा बिरामी पर्दा घरमा बज्रपातै परेजस्तो हुन्छ। ऋण लिएर उपचार गराउन पर्छ। ऋणको साँवाब्याज तिर्दातिर्दै हैरानी हुनछ।
‘कोही बिरामी पर्यो भने स्वास्थ्य चौकीमा जहिले पनि दबाई नै छैन भन्छ,’ मुनेसरी सदाले भनिन्, ‘क्लिनक र हस्पिटलमा उपचार धेरै महँगो हुन्छ। सौकडा तीन–चार रुपैयाँमा ब्याजमा पैसा लिएर दबाई गराउन जान्छौँ।’ पैसा नभएर कतिले त उपचार नै पाउँदैनन्।
मुसहर बस्तीमा बेरोजगारी सबैभन्दा ठूलो समस्या हो। घर बनाउन नसकेर सानो झुपडीमा बस्नु परेको छ। सुनिता देवी सदालाई याद छ, गएको चुनावमा नेताहरूले घर बनाइदिने आश्वसन दिएका थिए। घर बनाइदिन कोही पनि आएन। सुनिताको दुई कोठे घरको छानो निस्किन थालेको छ। नौ जनाको संयुक्त परिवार दुई कोठामै अटाउनु परेको छ। घरका पुरूषहरू मजदुरी गर्न जान्छन्। त्यही आम्दानीले घर चलाउनु पर्छ।
सुनिता भन्छिन्, ‘तेल लिटरको चार सय पुगिसक्यो। सबै खानेकुराको भाउ महँगो छ। मजदुरीको पैसाले परिवार पाल्नु कि घर बनाउनु!’
स्थानीय सरकारको पाँच वर्षको कार्यकालमा मुसहर बस्तीमा विकासको नाउँमा सडक ढलानबाहेक केही काम भएको छैन। सडक भए पनि बस्तीमा कम सास्ती छैन।
‘रोड (बाटो) बन्यो तर नाला छैन, वर्षामा पानी घरमै पस्छ। रोडको के फाइदा,’ मीना भन्छिन्, ‘हामीलाई खान र छोराछोरी पाल्न धौ धौ छ, माटो भर्न ट्याक्टरवालाले हाताहाती पैसा माग्छन्।’
यहाँ अधिकांशका घर सडकभन्दा होचो ठाउँमा छ। वर्षाको पानी निकास हुने व्यवस्था छैन। मुसहर र दलितलाई नेताले भोट बैँक मात्र सम्झिने भएकाले आफ्नो बस्तीको विकास नभएको बासिन्दाहरूको भनाइ छ।
स्थानीय बासिन्दा बिन्दा सदाका बस्तीमा कसैका छोराछोरीले १० कक्षासम्म पढेका छैनन्।
‘यहाँका मान्छे मरोस्, बाँचोस्, पढोस् नपढोस् कुनै नेताले मतलबै राख्दैन। उनीहरूको दिमागमा एउटै कुरा मात्र आउँछ, यिनीहरूलाई खान पुग्दैन। रक्सी, मासु र अलिअलि पैसा दियो भने भोट दिहाल्छन् नि, स्थानीबासिन्दा बिन्दा सदा भन्छन्, ‘एक-दुई जनाले यसो नगरौँ भन्दा धाकधम्की देखाउन थाल्छ। एक हप्ता खाएर त जिन्दगी चल्दैन भनेर बुझ्ने कोही छैन।’
धेरैजसो राजनीतिक दल र नेताहरूले दलितलाई हेपेरै जाने र चुनावमा उनीहरूको भोट किन्ने मानसिकता रहेको वडा नम्बर ४ मा उम्मेदवारी दिएका राममणि कुशवाहाको भनाइ छ।
‘दलित समुदायमा चेतनाको कमी छ। उनीहरूलाई पुराना नेताहरूले प्रयोग मात्र गर्छन्। धेरैजसो नेता अझै पनि उनीहरूलाई रक्सी, मासु र केही नोट दिएर भोट किन्न सकिन्छ भन्ने ठान्छन्,’ राममणि भन्छन्, सबै पार्टीका नेता एकै हुन्। अहिले चेतना बढ्दैछ। सबैले प्रलोभनमै परेर मत हाल्छन् भनेर सोच्नु गलत हो।’
दलित अधिकारकर्मी राजु पासवान दलित समुदायको भोट किन्न नेताहरू मासु, रक्सी र पैसाको प्रयोग गर्ने मुख्य दुई कारण देख्छन्।
‘उनीहरू (दलित) प्रायःजसो आर्थिकरूपमा विपन्न हुन्छन्, चेतनाको कमी हुन्छ । दैनिक काम गरेर खान्छन् चेतना नहुँदा खानपिनकै भरमा सहयोग गर्छन्,’ राजु भन्छन्, ‘यहाँ राज्यले सुरूदेखि नै दलितलाई विभेद गरेको छ । अहिले पनि प्रमुख र वडाध्यक्ष पदमा दलित समुदाय विरलै भेटिन्छ।’
आर्थिक समाजिक र सांस्कृतिक रूपमा विभेद र पछौटेपनका कारण भोट किन्ने लगायतका समस्या जकडिएर बसेको अधिकारकर्मी पासवानको बुझाइ छ।
‘दलित बस्तीका दुःखी बासिन्दाहरू यो चुनावमा पनि केके आश्वासनबाट ठगीनेछन्,’ उनले भने।