स्याङ्जा-२ बाहेक गण्डकीबाट प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक तर्फको मत परिणाम आइसकेको छ। प्रतिनिधि सभामा गण्डकीका ११ वटा जिल्लाबाट १८ वटा निर्वाचन क्षेत्र छन्। सार्वजनिक निर्वाचन परिणामअनुसार प्रतिनिधि सभामा सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ।
२०७४ को निर्वाचनमा गण्डकीबाट प्रतिनिधि सभामा नवलपुर-१ बाट कांग्रेस नेता शशांक कोइरालाले मात्र चुनाव जितेका थिए। एमालेले १३ सिट, माओवादी केन्द्रले ३ र कांग्रेसको समर्थनमा गोरखा-२ बाट जनता समाजवादी पार्टीका बाबुराम भट्टराईले चुनाव जितेका थिए।
त्यतिबेला एक सिटमा खुम्चिएको कांग्रेसले अहिले प्रतिनिधि सभामा ९ सिट जितेको छ। ५ दलीय गठबन्धन बनाएर चुनावमा होमिएको कांग्रेसले गण्डकीमा १२ सिटमा मात्र उम्मेदवारी दिएको थियो।
२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेले १४ सिटमा उम्मेदवारी दिएको थियो। नवलपुर-२ मा कांग्रेसका कोइरालाबाहेक १३ सिटमा त्यतिबेला एमालेले जितेको थियो। अहिले प्रतिनिधि सभातर्फ गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवारी दिएको एमाले ५ सिटमा सीमित हुन पुगेको छ।
यस्तै, माओवादी केन्द्रले प्रतिनिधि सभामा गण्डकीबाट पाएको ४ सिटमध्ये २ सिटमा मात्र जित निकालेको छ। २०७४ मा एमालेसँग तालमेल गर्दा पनि ४ सिटमा उम्मेदवारी दिएको माओवादीले त्यतिबेला ३ सिट जितेको थियो। त्यतिबेला कांग्रेससँग मिलेर बाबुरामले चुनाव जित्दा वाम गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ पराजित भएका थिए। अहिले गोरखा-२ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागलुङबाट माओवादीकै अर्का नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन्। अहिले ५ दलीय गठबन्धनबाट गण्डकीमा उम्मेदवारी पाएका २ वटा क्षेत्रमा भने माओवादी उम्मेदवार पराजित भइसकेका छन्।
गण्डकी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) भने शून्यमा झरेको छ। प्रतिनिधि सभामा समाजवादीले कास्की-२ बाट श्रीनाथ बराललाई उम्मेदवारी उठाएको थियो। ५ दलीय गठबन्धनको समर्थन पाउँदा पनि बराल दोस्रो स्थानमा आउन सकेनन्। उक्त क्षेत्रबाट एमालेका विद्या भट्टाई विजयी बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल दोस्रो भए।
एमालेको बाहुल्य ठानिएको पोखराको मेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य ६ हजार बढी मतान्तरले विजयी भएका थिए। उक्त नतिजाले समाजवादीका नेता कार्यकर्ता हौसिएका थिए। अहिले आएको निर्वाचन परिणामले भने उनीहरू निराश छन्।
सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले गण्डकीमा प्रतिनिधी सभा सदस्यमा १ सिट पाएको थियो। बागलुङ-१ मा उम्मेदवारी पाएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भइसकेका छन्।
गण्डकीमा कांग्रेस-माओवादीलाई आरामदायी बहुमत
प्रतिनिधि सभामा कांग्रेसले जसरी अघिल्लो परिणाम उल्ट्याउन सफल भएको छ, त्यसरी नै प्रदेश सभामा पनि कांग्रेसले सुधार गरेको छ। मतगणना हुन नसकेको स्याङ्जा-२ का दुइटा प्रदेश सभा निर्वाचन क्षेत्रबाहेक हालसम्म आएको नतिजामा कांग्रेस पहिलो पार्टी बनेको छ।
गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् भने समानुपातिकमा २४ सिट छन्। सत्ता गठबन्धनबाट गण्डकीमा कांग्रेसले २२ सिटमा उम्मेदवारी दिएको थियो। जसमा हालसम्म कांग्रेसले १६ सिट जित्न सफल भएको छ। जबकी, २०७४ को निर्वाचनमा गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ ६ सिट मात्र जित्न सकेको थियो।
यसअघि सबैभन्दा ठूलो दल एमाले अहिले खुम्चिएको छ। २०७४ को निर्वाचनमा वाम गठबन्धन गर्दा एमालेले १८ सिटमा उम्मेदवारी दिँदा १७ सिटमा जित निकालेको थियो। अहिले एमालेले गण्डकीका ३६ वटा क्षेत्रमध्ये ३४ क्षेत्रमा उम्मेदवारी दिँदा १२ सिटमा झरेको छ। २०७४ को निर्वाचनपश्चात ६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी २७ सिट पाएको एमालेको ठाउँ अब कांग्रेसले लिने निश्चित बनेको छ। तर एमाले त्यतिबेलाको कांग्रेसजस्तो कमजोर भने छैन। त्यतिबेला प्रत्यक्षमा ६ र समानुपातिकमा ९ गरी १५ सिट जितेको कांग्रेसभन्दा अहिले एमालेको सिट बढ्ने देखिन्छ।
यसअघिको एमालेको ठाउँ कांग्रेसले लिँदा पनि एमाले अझै बलियो देखिनुमा माओवादीले कम सिटमा जित हासिल गर्नु हो। माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा अहिले ५ सिटमा खुम्चिएको छ। जबकी २०७४ को निर्वाचनमा माओवादीले ९ जना प्रदेश सांसद जितेको थियो। माओवादीले पुरानो अंक कायम राख्न नसक्दा यसको फाइदा एमालेले उठाएको छ।
नेकपा एकीकृत समाजवादीले प्रदेश सभातर्फ नवलपुर-२ ख र स्याङ्जा-२ क पाएको थियो। नवलपुर-२ खमा एमाले उम्मेदवार लक्ष्मणबहादुर पाण्डेले समाजवादीका उम्मेदवार गोपालप्रसाद खनाललाई पराजित गरिसकेको छ। यस्तै, मतगणना हुन नसकेको स्याङ्जा-२ खमा समाजवादीका उम्मेदवार रामचन्द्र भट्टराईले निर्वाचनको अन्तिममा उम्मेदवारी निष्क्रिय गराएका छन्। उक्त क्षेत्रमा गठबन्धनबाट कांग्रेसका भोजराज अर्याल उम्मेदवार छन्।
यसरी प्रतिनिधि सभामा गण्डकीबाट समाजवादीले पाएको १ सिट र प्रदेशमा पाएको २ सिट गुमाइसकेको छ।
गण्डकी प्रदेश सभामा पहिलो दल कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी केन्द्र बनिसकेका छन्। समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ। स्याङ्जा-२ बाहेक गण्डकीका बाँकी क्षेत्रमा सम्पन्न मतगणनाअनुसार एमालेले ३ लाख ११ हजार ३८९ मत पाएको छ। यस्तै, नेपाली कांग्रेसले २ लाख ८८ हजार ३७३, माओवादी केन्द्रले १ लाख १२ हजार २२१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५४ हजार ७३६ मत पाएका छन्।
यस्तै, हाम्रो नेपाली पार्टीले १७ हजार ६३२ र राष्ट्रिय जनमोर्चाले १४ हजार ५४९ मत पाएका छन्। समानुपातिक मतका आधारमा राप्रपा पहिलो पटक गण्डकी प्रदेश सभामा प्रवेश गर्ने देखिएको छ। २०७४ को निर्वाचनमा समानुपातिकबाट प्रदेश सभामा १ सिट पाएको जनमोर्चा भने यसपालि थ्रेस होल्ड कटाउन सक्ने अवस्था देखिँदैन। जनमोर्चाले भन्दा धेरै मत लौरो चुनाव चिन्ह रहेको हाम्रो नेपाली पार्टीले प्राप्त गरेको छ।
२०७४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र जनमोर्चा र बाबुराम भट्टराई नेतृत्वको जसपाले १ सिट पाएका थिए। अहिले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र जनमोर्चाले समानुपातिकतर्फ सिट ल्याउने देखिँदैन। उक्त सिट राप्रपाले लैजाने देखिन्छ। एमाले र कांग्रेसले भने २०७४ कै हाराहारीमा समानुपातिक सिट पाउन सक्ने देखिन्छ।
यस हिसाबले गठबन्धनमा कांग्रेस र माओवादीलाई सहज बहुमत पुग्ने देखिन्छ। प्रत्यक्षतर्फ मात्र कांग्रेसको १६ र माओवादीको ५ सिट गरी २१ सिट हुन्छ भने यी दुई दलले पाउने समानुपातिक सिटले आरामदायी बहुमत पुग्छ।
गण्डकीमा कांग्रेस बाहेकको सरकार बनाउन अहिले बनेको गण्डकी सरकारजस्तै बन्न पुग्छ। २०७४ को निर्वाचनपश्चात एमाले र माओवादी मिल्दा दुई तिहाइ बहुमत पुग्थ्यो भने एमालेलाई बाहिर राख्दा कांग्रेस, माओवादी, जनमोर्चा, जसपा र स्वतन्त्र सांसद मिलाएर बहुमत पुर्याउन परेको थियो। त्यस्तै, अब एमालेले सरकार बनाउन माओवादी, राप्रपा र स्वतन्त्र सांसदको समर्थन लिनुपर्ने बाध्यतामा पुगेको छ।