दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेकपा माओवादीकी स्थायी कमिटी सदस्य रेखा शर्माले निकटतम् प्रतिस्पर्धी तथा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई घरमै गएर भेटेकी छन्।
रेखाले आफ्नो पहिलो राजनीतिक भेट प्रमुख प्रतिस्पर्धीसँग भेटेर सुरू गरेकी हुन्।
निर्वाचित भए लगत्तै शर्मा घोराहीबाट २५ किलोमिटर टाढाको तुलसीपुर उपमहानगरपालिका-१९ हाडिमे गाउँस्थित पोखरेलको निवासमा शुक्रबार बेलुकी पुगेकी थिइन्।
उक्त भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्य शर्माले एमाले महासचिव शंकरलाई दाङको नेतृत्व गर्ने दायित्व जनताले आफूलाई दिएको बताए। वरिष्ठ नेता भएकाले शर्मा घरमै भेट्न पुगेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए।
महासचिव पोखरेलले शर्मालाई अबिर र खादा लगाएर बधाइ दिएका थिए।
भेटमा रेखाले महासचिव पोखरेल राजनीतिक रूपमा अभिभावक सरह भएपनि चुनावमा आपसमा भिड्नुपरेको र अगामी दिनमा दाङको समृद्धिका लागि सहकार्य गर्नुपर्ने बताएकी थिइन्।
‘चुनावी परिणाम जे भए पनि दाङको समृद्धिको लागि तपाईको राय सुझाव र मार्ग निर्देशन निकै महत्वपूर्ण हुन्छ,’ रेखाको भनाइ उदृत गर्दै एमाले सचिव बुढाथोकीले भने, ‘जनादेशअनुसार म राजकीय पदमा पुगे पनि तपाई पनि सँगै हुनुहुन्छ भन्ने बुझेकी छु, तपाईका चुनावी एजेण्डा अब मेरा पनि हुनेछन्।’
यसमा शंकर पोखरेलले पनि आफ्नो पूर्ण साथ र समर्थन रहने बताए।
नेकपा माओवादी केन्द्रका जिल्ला सह-इञ्चार्ज हेमराज शर्मा (डायमण्ड)का अनुसार त्यसपछि एमाले महासचिव पोखरेलले चारलेन सडक निर्माण, एयरपोर्ट निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ संचालन, इञ्जिनियरिङ कक्षा संचालन जस्ता कुराहरू पूरा गर्न रणनीतिक रूपमा लाग्न रेखालाई सुझाव दिएका थिए।
‘एयरपोर्टको विषयमा शंकरजीले गलत रूपमा राजनीतिक एजेण्डा बनाइएको गुनासो पनि गर्नु भएको थियो,’ शर्माले भने, ‘तुलसीपुरको टरिगाउँ एयरपोर्ट विरोधीका रूपमा मलाई चित्रण गरियो र घोराहीको नारायणपुरमा एयरपोर्ट बनाउन खोजेको भनेर चुनावी ऐजेण्डा बनाउनु जिल्लाको समृद्धिको बाधक हुनेछ।’
शर्माका अनुसार उनीहरूबीच झन्डै आधा घन्टा कुराकानी भएको थियो।
महासचिव पोखरेलले रेखालाई चुनाव जितेपछि पहिलो भेटघाटका लागि आफू कहाँ आएकोमा धन्यवाद दिँदै रेखाको राजनीतिक संस्कारको प्रशंसा समेत गरेका थिए।
दाङको विकासका लागि आफ्नो सँधै सकारात्मक सहयोग रहने हुँदा आफूहरूको पालामा बुटवलबाट दाङमा ल्याएको लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनमा ध्यान दिन पनि शंकरले सुझाव दिएका थिए।