बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उमेदवारको जमानत जफत भएको छ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्रै पाएका छन्।
यो क्षेत्रमा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन्। उनले २९ हजार ५ सय ७७ मत ल्याएका छन्। राप्रपाका राणालाई एमालेको समर्थन थियो।
दोस्रोमा रहेका जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५ सय २० मत ल्याएका छन्। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो।
उसले यस क्षेत्रका वडाहरूमा १७ हजार १ सय ९५ मत ल्याएको थियो। समानुपातिक तर्फ भने कांग्रेसले १० हजार १ सय ९८ मत ल्याएको छ। यो क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा धेरै जसपाले २० हजार २ सय ५१ मत ल्याएको छ। दोस्रोमा रहेको राप्रपाले ११ हजार ३ सय ८० मत पाएको छ।