नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेता हुनका लागि चुनाव लड्ने तयारी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरसहित थापा सांसद चुनिएका थिए।
थापाले चुनावी तयारी गर्दादेखि नै अब आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताइरहेका छन्। अन्तिम चुनावी परिणाम नआइसक्दै थापाले संसदीय दलको नेता हुन चुनाव लड्ने बताएका हुन्।
प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेता चुनिनु आवश्यक हुन्छ। थापाले संसदीय दलको नेता बन्नका लागि आन्तरिक तयारी गरिरहेका छन्।
सुरूमा आफूले पार्टीभित्रका केही नेता तथा निर्वाचित सांसदहरूसँग कुराकानी गर्ने र संसदीय दलको नेता चुनिन सहयोगका लागि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासँग छलफल गर्ने उनको तयारी छ।
आफू संसदीय दलको नेताका लागि तयारी गरिरहेको र प्रधानमन्त्री बन्नका लागि अघि बढेको कुरा आज थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग बताए।
‘कांग्रेसले नयाँ सरकार दिँदै गर्दा नयाँ सोच, नेतृत्व र नयाँ शैली दिएन भने पार्टीले ठूलो क्षति बेहोर्नुपर्छ भन्ने कुरा मतपरिणामले देखाएको छ,’ थापाले भने, ‘म अनुकूलता र प्रतिकूलता हेरिरहेको छैन, मतपरिणामको सन्देश हेरिरहेको छु।’
पूर्ण रूपमा मतपरिणाम आइसकेपछि सभापति देउवा, नेता पौडेल र कोइरालाका घरमा पुगेर संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गर्ने उनले बताए। उनले अब कांग्रेसमा आफूहरू सरकार चलाउन तयार भइसकेकोले सभापतिलगायत नेतालाई बाध्यता नरहेको पनि थापाको दाबी छ।
‘कांग्रेसले सरकार चलाउँदै गर्दा उहाँहरू (सभापति देउवालगायत) ले नै सरकार चलाउनुपर्ने बाध्यता छैन किनकी हामीहरू तयार भइसक्यौं,’ थापाले भने, ‘उहाँहरू अब ढुक्क भएर बस्दा हुन्छ। म सभापति र वरिष्ठ नेतालाई भेटेर तपाईंहरू विश्राम गरिदिनुस् भन्छु।’
सभापति देउवा लगायतले पार्टी सञ्चालनमा भूमिका खेले पनि अब सरकार सञ्चालन गर्न नहुनेमा उनले जोड दिएका छन्। ‘उहाँहरूले अब सरकार मैले नै चलाउनुपर्छ भनेर जिद्दी गरिराख्नुपर्ने कुनै पनि कारण छैन, मार्गप्रशस्त गरिदिनुपर्छ,’ थापाले भने।
उनले पार्टीको आन्तरिक सन्तुलन मिलाउन नवनिर्वाचित सांसदहरू विभिन्न गुटमा लाग्न नहुने बताएका छन्।
‘मतपरिणामको सन्देशलाई साथीहरू (सांसद) ले बेवास्ता गर्नु हुन्न। संख्या गन्दा अहिले संसदीय दलको नेता चुनिन मलाई प्रतिकूल होला। तर कांग्रेसले अब सरकारमा नयाँ अनुहार दिन सकेन भने नयाँ पुस्तालाई आकर्षित गरिराख्न सक्छ?,’ उनले प्रश्न गरे, ‘संसदीय दलको नेताका लागि अहिले देखिएको प्रतिकूलता केही दिनमा अनुकूलतातर्फ अघि बढ्छ।’
उनले आफूलाई संसदीय दलको नेता बनाउन र प्रधानमन्त्रीका लागि अग्रसर गराउन पार्टीका सांसदहरूबाट सहयोगको अपेक्षा राखेको बताए।
‘प्रधानमन्त्रीका लागि म अघि बढेँ। को-को मसँग उभिने र साथ दिने भन्ने कुरा हो। सभापति र नेताहरूको आशीर्वाद म अवश्य नै खोज्छु,’ उनले भने, ‘पहिले त शेखर कोइरालासँग छलफल गर्छु। उहाँको सहयोग रहन्छ। सभापति र वरिष्ठ नेता तथा अरू साथीहरूसँग पनि सल्लाह गर्छु र साथ जुटाउँछु।’
उनले कांग्रेसको भविष्य र मतदाताले खोजेको परिवर्तनका लागि आफूले संसदीय दलको नेता चुनिँदै प्रधानमन्त्रीका लागि लडाइँ लड्ने बताए। सभापति देउवासहित नेताहरूलाई पछिल्लो सिटमा बसेर गाडी हाँक्ने सिटमा आफूहरूलाई पठाउन उनको आग्रह छ।