चुनावका क्रममा भएको घटनाबारे बुझ्न मानव अधिकार आयोगको टोली बाजुरा पुगेको छ।
आयोगको टोलीले जिल्लाको त्रिवेणी नगरपालिका–७ मा चुनावका दिन भएको घटनाबारे अनुसन्धानका गर्न प्रतिवेदन तयार पर्ने जनाइएको छ।
गत मंसिर ४ गते निर्वाचनको क्रममा त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्जिव ऐडीको मृत्यु भएको थियो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका थिए। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको थियो।
प्रहरीका अनुसार सोही मतदानस्थलमा विवादका कारण भएको झडपममा सोही ठाउँका चेतन ऐडी घाइते भएका थिए।
प्रहरी प्रशासनले उनको झडपमा घाइतेपश्चात् अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएको थियो। मृतक ऐडी अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय अध्यक्षसमेत थिए।
सुरक्षाकर्मी गोलीबाट आफ्ना निकटका मान्छेको मृत्यु र केही घाइते भएपछि कांग्रेसले एमाले निकटका उनको हत्या गरेको आरोप छ।
मृतकका आफन्त र एमाले निकट अनेरास्ववियुले कांग्रेसका कार्यकर्ताले घरमा आएर कुटपिट गरेर ऐडीको हत्या गरेको बताइरहेका छन्।
उनीहरूले प्रशासनबाट घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।
दोषीमाथि कारबाही गर्न सुरू नभएसम्म मृतक ऐडीको शव पनि नउठाउने अडानमा उनीहरू छन्।
आफन्तहरूले उनको हत्या गर्ने चार जनाको नाममा प्रहरी कार्यालयमा किटानी जाहेरी पनि दिएको छ।
उक्त घटनाको विषयमा बुझ्न मानव अधिकार आयोगको टोली बाजुरा पुगेकोले सोही अनुसार काम अगाडि बढ्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए।
‘विवादका विषयमा छानबिन भइरहेको छ, मानव अधिकारको टोली बाजुरा पुगेको छ। उहाँहरूले प्रतिवेदन तयार पार्नुहुन्छ उहाँहरूले प्रतिदेवन दिएपछि बाँकी कुरा अगाडि बढ्छ,’ विष्टले भने।
उनका अनुसार मृतक ऐडीको विषयमा दुई चार जना हत्यारा समात्नुपर्यो भन्ने आफन्तको माग छ।
प्रहरीकहाँ किटानी जाहेरी आएपछि सोही अनुसार अनुसन्धानको काम अगाडि बढ्ने विष्टले बताए।
जिल्लामा विवादका कारण बुढीनन्दा नगरपालिका –५ मा चुनाव स्थगित भएको थियो।
सो ठाउँमा शनिबार बिहान ७ बजेदेखि पुन: निर्वाचन हुने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।