रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना पुन: सुरू गर्न निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय रूपन्देहीलाई निर्देशन दिएको छ।
मतदानपछि उठाएको मुचुल्कामा उल्लेख गरिएको संख्या र मतपेटिकामा रहेको संख्या मेल खाए पनि निर्वाचन कार्यालयले कम्प्युटरमा प्रविष्ट गरेको मत संख्या फरक परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देही २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेको थियो।
सोही विषयलाई लिएर शुक्रबार बिहान साढे ५ बजेदेखि मतगणना रोकिएकोमा निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना पुन: सुरू गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।
मतगणनाको विषयमा भएको विवादबारे जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो।
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै- ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरून्त गणना गर्नू,’ भनेको छ।
गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ।
आयोगको निर्देशनपछि निर्वाचन कार्यालयले मतगणनाको तयारी गरेको छ।