रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा रहेको मतपत्र भन्दा मत गणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले विरोध गरेपछि शुक्रबार बिहानैदेखि मतगणना रोकिएको छ।
मतदान अधिकृतले मतदानपछि उठाएको मुचुल्का र निर्वाचन कार्यालयमा टिपाएको मत संख्यामा ५० वटा मतपत्र बढी देखिएको भन्दै रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरूले मतगणना स्थगित गर्न माग गर्दै विरोध जनाएका छन्।
उनीहरू मतगणना छाडेर बाहिरिएपछि बिहान साढे ५ बजेबाट रोकिएको मतगणना अहिलेसम्म सुरू भएको छैन।
निर्वाचन अधिकृत उदबीर नेपालीले मतदान पछि उठाएको तथ्यांक मुचुल्का मतपेटिका भित्र रहेको मतसंख्यामा कुनै फरक नरहेको तर कम्युटरमा प्रबिष्ट गर्ने क्रममा भुलवश ५० मत कम टिपोट हुनपुगेको बताए।
अधिकृत नेपालीका अनुसार मंसिर ४ गते सम्पन्न निर्वाचनको क्रममा क्षेत्र नम्बर २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर ११ काे लुम्बिनी बाणिज्य क्याम्पसको ‘ड’ बुथमा ६२९ खसेको थियो।
मुचुल्कामा समेत ३८८ जना महिला र २४१ पुरूष गरी जम्मा ६२९ मत खसेको उल्लेख गरिएको छ।
तर उक्त तथ्याङलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने क्रममा महिला मतदाताको वास्तविक सङ्ख्या ३८८ हुनुपर्नेमा टाइपिङ फरक परी ३३८ लेखिएपछि ५० मतको फरक देखिएको हो।
अधिकृत नेपालीले मुचुल्का र मतपेटिका भित्रको मतपत्र अनुसार मतदान गरेका महिला र पुरूष मतदाताको संख्या ६२९ नै रहे पनि कम्प्युटरमा प्रविष्ट गर्दा भूलवश ५० संख्या कम हुन गई ५७९ संख्या उल्लेख हुनपुगेको बताए।
‘कम्प्युटरमा प्रविष्ट गर्ने समयमा भूलवश ५० मत कम उल्लेख गरिए पनि मतपेटिका र मुचुल्कामा भएको ६२९ सङ्ख्या नै सही हो’, नेपालीले भने।
गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र प्रतिनिधिले भने पुन: मतदान गर्नुपर्ने माग गरेका छन्।