झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदातालाई धन्यबाद र्याली गरेका छन्।
झापा १ मा शर्मा ३९६२४ मतसहित विजयी भएका थिए। यहाँ नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले २५३४९ मत ल्याएर पराजित भएका थिए।
शर्माले झापा १ का विभिन्न ठाउँ पुगेर मतदातालाई सम्मान र्याली गरेका छन्।
उनले अपांगता भएका नागरिकलाई सम्मान गरेका छन्। आफूलाई लगाउन ल्याएको १५ किलोको माला उनले एक दृष्टिविहीन दिलकुमारी राईलाई लगाइदिएको उनको सचिवालयले जनाएको छ।
यस्तै चन्द्रगढीमा गोली लागेर गम्भीर घाइते भएका गोपाल श्रेष्ठ र उनको आमालाई घरमै पुगेर फूलमालासहित सम्मान गरिएको तथा महिला राष्ट्रिय क्रिकेट टिमको नेतृत्वमा रहेकी खेलाडी रूबिना क्षेत्रीको घरमै पुगेर उनलाई र आमालाई सम्मान गरिएको शर्माको सचिवालयले जनाएको छ।
३५ वर्षदेखि चामलको भक्का बेच्दै आएकी धनवती राजवंशीलाई पनि सम्मान गरिएको छ। ९० वर्ष नाघेका पशुपति भट्टराई र रामप्रसाद बाँस्तोलालाई तथा दुर्गादेवी कठेतलाई पनि सम्मान गरिएको थियो।
पहिलो पटक मत दिएका ६० जनालाई धुलाबारीमा सम्मान गरिएको शर्माको सचिवालयले जनाएको छ।