मंसिर ४ मा भएको चुनावमा प्रतिनिधि सभातर्फ मतगणना अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म नतिजा आएका ११८ क्षेत्रमध्ये ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन्।
बर्दिया २ मा लालवीर चौधरीले चुनाव जितेका छन्। चापाकल चुनाव चिन्ह भएका उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुरेश पन्थलाई हराएर निर्वाचित भएका हुन्।
स्वतन्त्र उम्मेदवारी दिएका चौधरी टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बुवा हुन्। यो क्षेत्रमा रेशमले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए। आफ्नो उम्मेदवारी आयोगले खारेज गरिदिने ठानेर रेशमले पहिला नै बुवालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए। नभन्दै रेशमको उम्मेदवारी खारेज भयो र उनका बुवा लालवीरले चुनाव जिते।
उनको नागरिक उन्मुक्ति पार्टीले कैलाली १ र ३ मा पनि जित हात पारेको छ भने कैलाली २ मा अग्रता लिइरहेको छ।
स्वतन्त्र उम्मेदवारी दिएर जित्ने अर्का चर्चित पात्र हुन्, प्रभु साह। माओवादीका पूर्वनेता साह एमाले र माओवादी केन्द्रको एकता खारेज हुँदा एमालेतिर लागेका थिए। एमालेले यसपालि उनलाई टिकट पनि दिएको थियो तर एमालेले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर उनले अन्तिममा रौतहट-३ मा स्वतन्त्र उम्मेदवारी दिए। उनी ३२ हजार ४ सय ६७ मत ल्याएर विजयी भएका हुन्। अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत ल्याएर दोस्रो भए। प्रभु साहलाई पछि सत्ता गठबन्धनले समर्थन गरेको थियो।
साहले रौतहट-२ मा पनि किरणकुमार साहलाई पनि स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए। उनले पनि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका साह पराजित भएका थिए।
यसपालि उनले कांग्रेसका फिरदोस आलमलाई हराएका हुन्।
सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। नेपाली कांग्रेसका नेता सिंह पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। माछा चुनाव चिन्ह भएका सिंहले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेन्द्रकुमारलाई पराजित गरेका छन्।
यस क्षेत्रबाट उनले लगतार तीन पटक चुनाव जितेका छन्। २०७४ मा उनी नै निर्वाचित भएका थिए। गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमै पराजित भएका थिए। सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यतामा धाँधली गरेर आफूलाई हराएको उनको आरोप थियो। गत वैशाखमा भएको स्थानीय चुनावमा अमरेशकुमारको भूमिकालाई लिएर पार्टीको जिल्ला समितिले उनलाई अनुशासनको कारबाही गरेको थियो। यसपालि उम्मेदवार सिफारिस गर्दा उनलाई नराखी सर्लाही कांग्रेसले उक्त क्षेत्रमा गगन थापाको नाम सिफारिस गरेको थियो।
यसपालिको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जित्ने अर्को व्यक्ति योगन्द्र मण्डल हुन्। उनी मोरङ ५ बाट निर्वाचित भएका छन्।
नेकपा एमालेबाट टिकट पाउने पक्का भइसकेका उनले अन्तिममा टिकट पाएनन्। उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन राती अबेरसम्म पनि पार्टीका नेताहरूले उनलाई टिकट आइसकेको बताइसकेका थिए।
मनोनयन दर्ताको दिन बिहान मोरङ ५ जसपाका लागि छाड्नु पर्ने भएपछि मण्डलले आफ्ना साथीहरूसँग सल्लाह गरे। एमाले वृत्तकै उनका साथीहरूले विद्रोह गर्न भने, उनले स्वतन्त्र उम्मेदवारी दिए।
अन्ततः पार्टीबाट विद्रोह गर्ने उनको कदमलाई मोरङ ५ का मतदाताले भने अनुमोदन गरिदिए। सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनका दुई जना उम्मेदवारलाई पछि पार्दै उनले संसद् यात्रा सुरू गरेका छन्।
मण्डलले २१ हजार ८ सय २० मत पाए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत पाए।