गण्डकी प्रदेशका जिल्लाहरूमा पर्ने प्रतिनिधि सभा क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सकिएको छैन।
कास्की क्षेत्र नम्बर १ मा मतगणना जारी छ। यहाँ नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरूङ अघि छन्। मनबहादुरले अहिलेसम्म २५ हजार सात सय ८ मत ल्याएका छन्।
कास्की १ मा कांग्रेसका किशोरदत्त बराल पछि परेका छन्। बरालले २३ हजार १ सय ८९ मत ल्याएका छन्।
यस्तै स्याङ्जा क्षेत्र नम्बर १ मा मतगणना जारी छ। कांग्रेसका उम्मेदवार राजु थापा अघि छन्। उनले २९ हजार २ सय ९२ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनी पछि परेका छन्। उनले २५ हजार ७ सय ७४ मत ल्याएका छन्।
स्याङ्जा क्षेत्र नम्बर २ मा भने विवादका कारण मतगणना नै सुरू हुन सकेको छैन। कांग्रेस उपसभापति धनराज गुरूङ र एमाले सचिव पद्मा अर्याल यो क्षेत्रबाट उम्मेदवार छन्।
कांग्रेसले मंसिर ४ को चुनावमा बुथ कब्जा गरेको आरोपसहित एमालेले केही मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरिरहेको छ भने कांग्रेसले मतगणना सुरू गर्न दिनहुँ धर्नालगायत कार्यक्रम गरिरहेका छन्।