धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका उमाशंकर अरगरियालाई डेढ सय मतले हराएका हुन्।
अन्तिम मत परिणामअनुसार यादवले २० हजार १ सय १२ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी अरगरियाले १९ हजार ९ सय ५५ मत पाएका छन्। उनीहरूको मतान्तर १५७ छ।
यादव दोस्रो संविधानसभा सदस्य थिए भने अरगरियाले २०७४ को चुनाव जनता समाजवादी पार्टी (जसपा) बाट यही क्षेत्रमा जितेका थिए। यसपालि चुनावअघि उनी जसपा छाडेर एमाले प्रवेश गरेका थिए।
यहाँ सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार उठाएको थियो। एकीकृत समाजवादीबाट चुनाव लडेका रामचन्द्र झा तेस्रो स्थानमा छन्। उनले १३ हजार ६ सय ५ मत ल्याएका छन्।
त्यस्तै जनता समाजवाली पार्टीका आनन्द यादवले १२ हजार ९ सय १ र जनमत पार्टीका जयनारायण साहले ९ हजार ९ सय ९२ मत ल्याएका छन्।