मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलबाट र स्वतन्त्र उम्मेदवारी दिएकाहरू मतदाता फकाउन घरघरमा पुग्न थालेका छन्।
मतदाताहरू दशैं मनाएर तिहारको तयारीसँगै खेतीपाती स्याहार्ने र लगाउने चटारोमा रहँदा उम्मेदवारहरूलाई भने उनीहरू फकाउन भ्याइनभ्याई छ। विगतका निर्वाचनमा दलका नेता कार्यकर्ताहरूलाई मात्र होइन मतदाताहरूलाई समेत एक/डेढ महिना पहिलेदेखि नै चुनावी चहलपहलले छुने गरे पनि यसपटक भने उनीहरूलाई चुनावी चहलपहलले छुन सकेको छैन।
विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिनाअघि नै पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रंगिचंगी हुने शहर र बस्तीका चोक र गल्लीहरूमा अहिले कुनै पोष्टर र पम्प्लेट देखिँदैन ।
निर्वाचनको लागि उम्मेदवारहरूको मनोनयन भएसँगै बुटवल यतिबेला देशभर चर्चामा छ। बैंकिङ कसुरमा कालोसूचीमा रहेको कारण सत्ता गठबन्धनका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेजीका कारण रूपन्देही क्षेत्र नं. २ मा पर्ने बुटवल यसपटक झनै चर्चामा रह्यो।
यसअघि नेपाली कांग्रेसका सुर्यप्रसाद प्रधान, युवराज गिरी तथा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार बाबुराम भट्टराईलाई पराजित गरेका पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल यसपटक पनि चुनावी मैदानमा छन्। पौडेल चौथो पटकको जितको लागि चुनावी मैदानमा उभिँदै गर्दा उनीसँगको प्रतिष्पर्धाका लागि दरिलो उम्मेदवार नभएको चर्चा हुन थालेको छ।
दैनिक ज्याला मजदुरी गरी खाने वर्गहरूलाई भने यसपटकको निर्वाचनले अझै छुन सकेको छैन। दलका नेता कार्यकर्ताहरू उम्मेदवारहरूको अघिपछि लागेर हिँडिरहँदा गरिखाने वर्गलाई भने मतदान गर्नेप्रति कुनै चासो समेत देखिँदैन।
गुल्मी अम्मरपुरका धनबहादुर कुमाल बुटवलमा बसोबास गर्न थालेको ५ वर्ष भयो। बुटवल ९ तिनकुनेस्थित एक होटलमा काम गर्ने उनी त्यही होटलबाटै कमाएको तलब भत्ताले चार जनाको परिवार पाल्छन्।
केहीदिन पहिले हामीले भेट्दा उनी होटल अगाडिको पेटीमा चुल्हो बाल्न कोइला फुटाल्दै थिए। ढुंगा माथि राखेको कोइला हतौडाले फुटालिरहेका उनको शरीरभरि कोइलाको कालो लागेको थियो।
घरको आर्थिक अवस्था कमजोर भएपछि सानो उमेरदेखि नै उनी रोजगारी खोज्दै भारत पुगे। आर्थिक अवस्था कमजोर भएकाले स्कुल जान नपाएका उनले भारतमा पनि राम्रो जागिर पाउन सकेनन्, मजदुरी गरेरै १५ वर्ष बिताए। अहिले ३८ वर्ष पुगेका उनी केही वर्ष भयो स्वदेश फर्किएको।
देशैभरि राजनीतिक दल र तिनका नेता कार्यकर्तालाई चुनावले छपक्कै छोप्दा उनी भने बिहानैदेखि आफ्नै काममा व्यस्त हुन्छन्। देशमा फेरि चुनाव आएको छ भन्ने मात्र थाहा पाएका उनलाई चुनावले भने छुन सकेको छैन। उनलाई न त राजनीतिक दलका सिद्धान्त, विचार र एजेण्डाप्रति विश्वास छ, न निर्वाचनको बेला हात जोड्दै भोट माग्न जाने नेता र उम्मेदवारहरूका बाचा र प्रतिबद्धताप्रति नै।
‘नेताहरूले जनताको लागि काम गरिदिएको भए अहिले हाम्रो अवस्था यस्तो हुने थियो? परिवार पाल्न देशमा कुनै काम नपाएर अर्काको देशमा भाँडा माझ्न जानुपर्थ्यो,’ उनी आक्रोश पोख्छन्।
यसअघिका निर्वाचनमा भारतमा रहेका कारण निर्वाचनमा भोट हाल्ने अवसर नपाएका धनबहादुरलाई नेपाल फर्किएपछि पनि भोट हाल्नेप्रति पनि चासो छैन।
‘हामीले भोट दिएर के पाउँछम्, भोट पाएका नेता मन्त्री, प्रधानमन्त्री भएर आफ्नै परिवार र आफन्तको मात्र भलो गर्छन्, भोट दिने जनता भने सधैँ गरिबको गरिब,’ उनी भन्छन्।
नेपालमा राजनीति गर्नेहरू जनताको लागि नभई आफ्नै परिवार र आफन्तको लागि राजनीति गर्दै आएको उनको बुझाइ छ। पछिल्ला वर्षहरूमा शहरमा मात्र नभई गाउँगाउँमा पनि ठूला बाटा, पुल र भवनहरू बनाए पनि गरिब जनतालाई भने त्यस्ता विकासभन्दा रोजगारीका अवसर खोलिदिनुपर्ने उनको सुझाव छ।
‘ठूला ठूला सडक, पुल र भवन बनाउने भनेको उनै नेता र धनी मानीहरूको लागि त हो नि, त्यो पैसाले उद्योग धन्दा खोलिदिएको भए हामीजस्ताले काम गर्न पाउँथ्यौं, नेताहरूले जनताको लागि काम गरें भन्नु बेकार हो, जति गरेका छन् सबै आफ्नै लागि गरेका छन्,’ धनबहादुर भन्छन्।
धनबहादुर मात्र होइन बुटवलका उद्योगी, व्यवसायी, शिक्षकलगायत आम मतदातासमेत अब भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारी चुनावका मुख्य एजेण्डा बनाइनु पर्ने बताउँछन्।
बुटवलका उद्योगी गोविन्द गैरे निर्वाचनको मैदानमा उत्रिएका राजनीतिक दल र उम्मेदवारहरूले जनतालाई पछि गएर पूरा गर्न नसक्ने आश्वासन नबाँड्न सुझाव दिन्छन्। विगतमा बाँडिएका धेरै आश्वासन पूरा गर्न नसक्दा अहिले राजनीतिक दल र तिनका नेताहरूप्रति वितृष्णा बढेको उल्लेख गर्दै ५ वर्षमा पूरा गर्न सक्ने आश्वासन बाँड्न र जनतालाई प्रत्यक्ष जोड्न सक्ने योजना बनाउन उनले सुझाव दिए।
‘शिक्षा, स्वास्थ्यको नि:शुल्क र सर्वसुलभ पहुँचसँगै युवाहरूलाई रोजगारीको ग्यारेन्टी अहिलेको प्रमुख मुद्दा बनाइनुपर्छ भन्ने लाग्छ, १०/१५ वर्ष पछि मेरो क्षेत्र यस्तो बनाउँछु, देश यस्तो बनाउँछु भनेर आश्वासन बाँड्नुभन्दा साँझ-बिहान कसरी गर्जो टार्ने भन्ने समस्यामा रहेका जनताको भोक कसरी मेटाउन सकिन्छ भन्ने योजना बनाउनुपर्छ भन्ने लाग्छ,’ गैरेले भने।
१० वर्षपछिका सपनाले भोको पेटको भोक मेट्न नसक्ने भएकोले रोजगारीका अवसर सिर्जना गरी गरिबी हटाउने खालको योजना बनाउन उनले सुझाव दिए।
यातायात व्यवसायी दधिराम खरेल पनि भौतिक पूर्वाधारका हिसाबले रूपन्देही अब्बल बन्दै गएकोले अबको प्रमुख मुद्दा नि:शुल्क शिक्षा र स्वास्थ्यसँगै भ्रष्टाचार अन्त्य गर्ने खालका हुनुपर्ने बताउँछन्।
‘भौतिक पूर्वाधारका हिसाबले रूपन्देही अगाडि नै रहेको छ, भ्रष्टाचार बढ्दै जाँदा जनतामा यो व्यवस्थाप्रति नै वितृष्णा जाग्न थालेको छ, अबको काम भनेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायमका लागि हुनुपर्छ,’ खरेल भन्छन्।
खरेलले लगानी गर्न चाहनेहरूलाई लगानीको वातावरण बनाइदिने र शिक्षा स्वास्थ्य नि:शुल्क गर्न सके जनताले धेरै आशा नगरेको बताए।
‘जनताले धेरै ठूलो आशा पनि गरेका छैनन्, सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस्, शिक्षा र स्वास्थ्य नि:शुल्क र सर्वसुलभ होस्, निर्धक्क लगानी गर्न सकियोस् भन्ने मात्रै जनताको चाहना छ। यो चाहना अबको नेतृत्वले पूरा गर्नुपर्छ,’ उनले भने।
शिक्षक प्रेमबहादुर बस्नेत पनि शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न सके मात्रै पनि रोजगारीका धेरै अवसर आफैं सिर्जना हुने बताउँछन्। भौतिक पूर्वाधारलाई मात्रै महत्व मानेर शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेण्डा बनाउन सकिएन भने अब मतदाताले नपत्याउने उनले बताए।
‘अहिलेका मतदाताले विकल्पको खोजी गरिरहेका छन्, शहरमा शिक्षा र स्वास्थ्यको पहुँच रहे पनि महंगो छ, गाउँमा त्यही पहुँच नै पुगेको छैन, गाउँगाउँमा स्तरिय शिक्षा र स्वास्थ्य सेवा पुर्याउने गरी योजना बनाईनुपर्छ,’ बस्नेतले भने।
अर्घाखाँचीको छत्रदेवका गोविन्दप्रसाद भुसाल पनि राजनितिक दल र तीनका उम्मेदवारहरूले युवाहरूलाई रोजगारी सिर्जना गर्ने विषय चुनावका मुख्य एजेण्डा बनाउनु पर्ने बताउँछन्। भुसाल पुराना र ठूला भनिएका दल र तिनका नेताहरूले गरेर खाने वर्गहरूलाई लगानी गर्ने र रोजगारीको वातावरण बनाउन नसक्दा स्वतन्त्रको लहर जागेको बताउँछन्।
‘सबै नेता त्यस्ता छन् भन्ने छैन तर अधिकांश पुराना नेताहरूमा रोजगारीको वातावरण कसरी सिर्जना गर्ने भन्ने कुनै पनि योजना छैन, काम गर्नेहरू निर्धक्क र शान्त वातावरणमा काम गरौं भन्ने खोजिरहेका छौं,’ उनले भने।
बुटवल देवीनगरमा कपडा पसल सञ्चालन गरेका सागर भट्टराई उम्मेदवारले वृद्ध-वृद्धालाई भत्ता दिनेभन्दा युवाहरूलाई रोजगारी दिने खालका योजना ल्याउन सुझाव दिन्छन्।
‘युवाहरूलाई विदेश पठाएर वृद्ध-वृद्धालाई भत्ता दिनुको कुनै अर्थ छैन, युवाहरूलाई देशमै रोजगारी दिएर राख्न सके वृद्धभत्ता नै दिन पर्दैन,’ उनी भन्छन्।
सबै दलका नेताहरू खराब नभए पनि सरकारले रोजगारी सिर्जना गर्न नसक्दा सबै दल र नेताहरूप्रति नै जनताको आक्रोश बढेको उनले बताए।
‘बहुदलपछिका सरकारले कहीँ उद्योग खोल्यो? हिजो भएका उद्योग कलकारखाना पनि बन्द भए, उद्योग कलकारखाना खोल्नेभन्दा दल र नेता कार्यकर्ता उत्पादन गर्ने उद्योग मात्रै खोलेका छन्,’ भट्टराई भन्छन्।
रूपन्देहीको नेतृत्वले अब पूर्वाधार विकास मात्र नभएर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको सुझाव छ। दल, नेता र उम्मेदवारहरूले जितेर गएपछि जनताको पक्षमा काम नगरेकै कारण जनतामा वितृष्णा पैदा भएको उनको बुझाइ छ।
देवीनगरका शंकर खत्री पनि उम्मेदवारहरूले पत्याउनै नसकिने आश्वासनभन्दा थोरै भए पनि गर्न सक्ने मात्रै आश्वासन लिएर भोट माग्न आउन सुझाव दिन्छन्। उनले विगतमा दिएका धेरै आश्वासन पूरा नहुँदा जनतालाई कुनै पनि दल र नेताहरूप्रति विश्वास नभएको बताए।
‘जनताले कसैलाई पनि भोट दिन जान्नँ भन्ने अवस्था आउनु पर्ने हो र? आफूले रोजेको काम गर्छ भन्ने विश्वास भएको उम्मेदवारलाई भोट दिएर जिताउँछु भन्नुपर्ने हो नि तर खोइ त!’ उनी भन्छन्।
ठूला दल र नेतृत्वले गरेको कमजोरीको कारण स्वतन्त्र उम्मेदवारहरूको लहर आएको भए पनि उनिहरूप्रति पनि विश्वस्त हुने अवस्था नभएको उनको बुझाइ छ।
‘दशकौंदेखिका दल र पार्टीका नेताहरूप्रति त विश्वास गर्न सकिएको छैन, अझै २५/३० वर्ष उमेरका एउटा व्यक्तिसँग कसरी विश्वास गर्न सकिन्छ, नेपालजस्तो वैदेशिक अनुदान र ऋणमा चल्ने देशमा दलको विकल्प दल नै हुन्छ,’ उनले भने।
स्थानीय तहमा मेयर नै कार्यकारी हुने भएकाले केही काम गर्न सके पनि संसदीय निर्वाचनमा भने एउटा क्षेत्रमा स्वतन्त्रले जितिहाले पनि कुनै काम गर्न नसक्ने उनी दाबी गर्छन्।