पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा प्रतिनिधिसभा सदस्यका लागि सरकारमा मन्त्री भइसकेका ८ जना चुवानी प्रतिस्पर्धामा छन्। एकजना हाल गृहमन्त्री छन्।
आफ्ना दलभित्र मात्र नभई पटक/पटक मन्त्रीसमेत भइसकेको र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने व्यक्तिहरू चुनावी मैदानमा आमनेसामने भएको कारण चुनावी माहोल तातिएसँगै रूपन्देही जिल्ला चर्चामा छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देहीबाट पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत भइसकेका एमालेका उपाध्यक्ष विष्णु पौडेल, बहालवाला गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, राप्रपाका नेता दीपक बोहोरा, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार छन्।
त्यस्तै, एमालेका सचिव छविलाल विश्वकर्मा, उम्मेदवारी दर्ताका अघिल्लो दिनमात्रै एमाले परित्याग गरेका बामपन्थी नेता घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता भरत शाह पनि चुनावी प्रतिस्पर्धामा छन्। यी सबै नाम पटक/पटक सत्तामा पुगेर मन्त्री भइसकेका छन्।
रूपन्देहीको क्षेत्र नं. १ मा सत्ता गठबन्धनको सहयोगमा हालैमात्र एमाले परित्याग गरेका घनश्याम भुसाल उम्मेदवार बनेका छन्। भुसाललाई राप्रपाको सहयोगमा एमालेका सचिव छविलाल विश्वकर्माले टक्कर दिइरहेका छन्। भुसाल र विश्वकर्मा दुवै पूर्व कृषि तथा सहकारी मन्त्री भइसकेका छन्।
नेकपा एमालेमा दलित समुदायबाट पहिलो पदाधिकारी बनेका विश्वकर्मा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद् बनेका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका अब्दुल रज्जाकसँग पराजित बनेका विश्वकर्मा २०७४ सालको निर्वाचनमा भने सोही क्षेत्रमा उनै रज्जाकलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भए।
उनी नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बनेका थिए।
भुसालको संसदीय यात्रा २०५१ सालबाट सुरू भएको हो। ०५१ सालमा भएको उपचुनावमा रूपन्देहीको अहिले क्षेत्र नं. ३ बाट विजयी भएका भुसाल ०५६ सालमा मालेबाट उम्मेदवार बन्दा भने पराजित भए।
त्यसपछि ०७० सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट पराजित बनेका भुसाल २०७४ सालमा भने राप्रपाका दीपक बोहोरालाई पराजित गर्दै विजयी बनेका थिए।
एमालेमा रहँदा पनि वाम विश्लेषक र बौद्धिक नेताको रूपमा चिनिने भुसाल झलनाथ खनाल नेतृत्वको सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मन्त्री थिए भने यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका थिए।
क्षेत्र नं. १ मा यसअघि एउटै मन्त्रालय सम्हालेका पूर्वमन्त्री मात्र होइन, एउटै पार्टी र संगठनमा ३० वर्ष बढी समय बिताएका सहयात्रीहरूका बीचमा प्रतिस्पर्धा हुँदैछ।
यता पछिल्ला दुई दशकयता रूपन्देहीको राजनीति र निर्वाचनमा सबभन्दा बढी चर्चामा रहने नाम हो विष्णु पौडेल।
२०५१ सालको मध्यावधि चुनावबाट संसदीय यात्रा सुरू गरेका एमाले उपाध्यक्ष पौडेल यसअघिका ५ वटा निर्वाचनमा उम्मेदवार बनिसकेका छन्। जसमा चार वटामा निर्वाचित हुँदा एकपटक पराजित भएका थिए।
२०५१ सालमा पाल्पाबाट निर्वाचित भएका पौडेल २०५६ सालमा बुटवलबाट लड्दा पराजित भए। त्यसयता भने उनी निरन्तर रूपन्देही क्षेत्र नं. २ बाट निर्वाचित हुँदै आएका छन्।
२०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजित गरेका पौडेलले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए।
२०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गर्दै पौडेल विजयी भएका थिए।
पार्टीमा वैकल्पिक केन्द्रीय सदस्य हुँदै संगठन विभाग प्रमुख, नेकपा एकीकरणको बेला पार्टीको महासचिव र हाल एमालेका उपाध्यक्ष रहेका पौडेल हालसम्म पाँच वटा सरकारमा मन्त्री बनिसकेका छन्।
२०५४ सालमा पहिलो पटक मन्त्री हुँदा युवा तथा खेलकुद मन्त्रालय सम्हालेका पौडेल २०६५ सालमा जलस्रोत मन्त्री र २०६७ सालमा रक्षा मन्त्री भएका थिए।
संविधान जारी भएपछि २०७२ सालमा बनेको केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका पौडेललाई ओलीले २०७८ सालमा पुनः उपप्रधान, अर्थ तथा गृहमन्त्री समेत बनाएका थिए।
तिनै पौडेल अहिले रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको मैदानमा छन्। राप्रपा र जसपाको सहयोगमा उम्मेदवार बनेका पौडेलको प्रतिस्पर्धामा सत्ता गठबन्धनले एकीकृत समाजवादीका राजु गुरूङलाई उम्मेदवार बनाएको छ।
यसअघि सरकारमा मन्त्री बनिसकेका र अघिल्लो निर्वाचनमा एकअर्काका सारथी बनेकाहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने भएपछि रूपन्देही क्षेत्र नं. ३ को प्रतिस्पर्धा झनै रोचक बनेको छ।
यसअघि नेपाली कांग्रेसको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहोरा र बहालवाला गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण क्षेत्र नं. ३ मा मुख्य प्रतिस्पर्धामा छन्।
२०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका खाण २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
२०७४ सालको निर्वाचनमा भने नेपाली कांग्रेसले सहयोग गरेपछि राप्रपाका दीपक बोहोरा उम्मेदवार बने। २०७४ सालमा खाण समानुपातिकबाट सांसद बने।
नेपाली कांग्रेसको सहयोगमा उम्मेदवार बने पनि २०७४ सालको निर्वाचनमा बोहोरालाई एमालेबाट उम्मेदवार बनेका घनश्याम भुसालले पराजित गरेका थिए।
अहिले भने सत्ता गठबन्धनबाट खाण उम्मेदवार बनिरहँदा नेकपा एमाले र जसपाको सहयोगमा राप्रपाका बोहोराले खाणलाई चुनौती दिइरहेका छन्।
नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाका विश्वास पात्र मानिने खाण सांसद मात्रै होइन, चार वटा सरकारमा मन्त्री समेत भइसकेका छन्।
पहिलो पटक २०६१ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका खाण २०६६ मा सिँचाइ मन्त्री २०७३ सालमा रक्षा मन्त्री रहेका थिए। हाल उनी गृहमन्त्री रहेका छन्।
पञ्चायती व्यवस्थादेखि निर्वाचनमा सहभागी हुँदै आएका बोहोराको यसपटकको सातौं उम्मेदवारी हो।
पञ्चायतकालमै मन्त्री भइसकेका बोहोरा २०७० सालमा रूपन्देहीमा सात वटा निर्वाचन क्षेत्र रहेको बखत उनी भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए।
२०३८ सालमा पर्यटन सहायकमन्त्री बनेका बोहोरा २०६६ सालमा वनमन्त्री, २०७२ सालमा श्रम तथा रोजगार र वाणिज्य, २०७३ सालमा आपूर्ति र २०७४ सालमा स्वास्थ्य मन्त्री भइसकेका छन्।
तीस वर्षयता निरन्तर संसदीय राजनीतिमा उम्मेदवार बन्दै आएका सत्तामा जमिरहेका खाण र बोहोराको एउटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धा भने यसपटक पहिलो पटक हुँदैछ।
यता रूपन्देही क्षेत्र नं. ४ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट पूर्वमन्त्री समेत रहेका सर्वेन्द्रनाथ शुक्ला र पूर्व राज्यमन्त्री भइसकेका जसपाका ओमप्रकाश यादव गुल्जारी उम्मेदवार छन्।
सो क्षेत्रमा नेपाली कांग्रेसले प्रमोदकुमार यादवले उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा शुक्लालाई पराजित गरेका यादवले यसपटक पनि सोही क्षेत्रबाट टक्कर दिँदैछन्।
शुक्ला २०५१ सालमा राप्रपाबाट विजयी भएका थिए भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका थिए।
२०७४ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका प्रमोदकुमार यादवबाट पराजित भएका शुक्ला २०५२ सालमा राज्यमन्त्री, २०६६ सालमा शिक्षा मन्त्री भइसकेका छन्।
त्यस्तै, २०६८ सालमा कृषि तथा सहकारी राज्यमन्त्री भएका ओमप्रकाश यादव ‘गुल्जारी’ एमालेको सहयोगमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन्।
रूपन्देहीको क्षेत्र नं. ५ उम्मेदवारी मनोनयनदेखि नै चर्चामा रह्यो। नेकपा एमालेले कहिले बासुदेव घिमिरे त कहिले खिमलाल भट्टराईलाई उम्मेदवार सिफारिस गरेपछि पार्टीभित्रै विवाद समेत सृजना भएको थियो। प्रतिनिधिसभा सदस्य उम्मेदवारकै लागि राष्ट्रिय सभामा एमालेले एउटा पद गुमाउन पुग्यो।
सो क्षेत्रमा एमालेबाट तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर समेत रहेका बासुदेव घिमिरे उम्मेदवार बनेका छन्।
घिमिरेका सामु सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भरतकुमार शाह उम्मेदवार बनेका छन्। २०५१ सालदेखि नै नेपाली कांग्रेसबाट क्षेत्र नं. ५ बाट उम्मेदवार बन्दै आएका शाह पनि यसअघि मन्त्री बनिसकेका छन्।