लगभग १० वर्ष खरदार सुब्बाको जागिरपछि जागिरले बल्ल गति, यति र लय मिलाउन सुरु गरेको थियो। आखिर अधिकृतभन्दा तल्लो दर्जाका कर्मचारीलाई हेर्दा आँखा खुम्च्याउने बानी न छ प्रशासनमा। लाग्थ्यो कहिले छिरूँ स्टाफ कलेज र खुलाऊँ ती खुम्चिएका आँखालाई। रायोका पातजस्ता आँखा खुलेर बहरका जस्ता भएका देख्न मन थियो, नमस्कार फर्काएका चिसा हातमा न्यानो भर्न मन थियो, गोजीमा झुन्डिइरहने कलमको बिर्को खोलेर बित्तामा नाप्न पर्ने लामो सिग्नेचर गर्न मन थियो। तर यी सबैलाई उत्तिकै लामो समय लाग्यो।
२०७६ सालमा परीक्षा दिएपछि मोबाइलमा लोक सेवाको बधाई लेखिएको म्यासेज पढ्न लगभग २ वर्ष लाग्यो। शाखा अधिकृतको अघिल्लो ब्याचका अग्रजहरूसँगको सर्वोच्चको लडाइँ पनि एक परीक्षा नै थियो। फरक यत्ति थियो– लोक सेवाले व्यक्ति व्यक्तिका कापी जाँचेर नम्बर दिन्थ्यो त सर्वोच्चले कर्मचारी समायोजनको बखेडामा हालिएको रिट जाँचेर। सर्वोच्चले त्यो रिट जाँच्न यति समय लगायो कि मानौँ त्यतिन्जेल पुष्कर शाह साइकल लिएर फेरि एक पटक संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्किसक्थे।
परीक्षा दिएका हामी हजारौँ परीक्षार्थी हरेक पेशीको दिन केही नयाँ खबर कुरेर बस्थ्यौँ। तर त्यो कुराई देउरालीमा पाती चढाउँदै घाँस काट्न जाने उही आइमाईको जस्तो भयो जसको लोग्ने मुगलानबाट आउने दिनको टुङ्गो त छैन तर मनमा आशाको भारी बोकिरहेकी छे। कतै आजै पो आइपुग्छ कि मेरो खसम मलाई सम्झँदै? तर अहँ! हामी भने लगभग हरेक पेशीको दिन एउटै समाचार पढ्थ्यौँ– निवेदक शिवहरि दाहाल समेत भएको मुद्दाको पेशी पुनः सरेको छ।
त्यही सराइले एक दिन थकाइ मारेछ क्यारे, टुप्लुक्क आइपुग्यो आँगनमै। त्यसैले खोलेको हो, स्टाफ कलेजमा रमाउने वर्षौं पुरानो सपनाको हाइवे। अलच्छिने हावा जसरी आएको कोरोना मथ्थरिएपछि स्टाफ कलेज छिरिएको थियो– लगभग ३ वर्ष पहिले।
प्रेयसीका केशजस्ता सल्लाका पातहरूले सुस्केरा हाल्दै थिए, फलफूलका बोटमा लटरम्म पाकेका मौसमी फलहरूले टिप्दिने हात खोजेका थिए, चिल्लो सडक मस्त घाम ताप्दै गरेको कालीनाग जस्तै थियो, हिरोइनको जिरो फिगर ज्यानजस्तै चटक्क मिलेका बगैँचा थिए, ढाकाको सेतो सारीमा निलो पारी राखेका पुराना दरबार र कलेजोजस्ता नयाँ भवनहरू उभिएका थिए। पहिलो चोटि स्टाफ कलेज छिर्दा मेरा आँखामा यस्तै चित्र नाचेका थिए। अझ कतै इँटा छापिएका बाटोमा हिँड्दै गर्दा, छेउमा रहेका काठका कलात्मक बेन्चमा बस्दा लाग्यो– म लखनउको क्ल्क टावर अगाडि कतै हराएको छु।
निजामती सेवामा ब्याट (बेसिक एडमिनिस्ट्रेटिभ ट्रेनिङ) आफैँमा एक ब्रान्ड हो। अधिकृत वा उपल्ला तहका कर्मचारीबिच परिचयको सिलसिलामा नछुट्ने प्रश्न हो– कुन ब्याट हो? एउटै ब्याटका साथीहरू एकै परिवारका सदस्य जस्ता लाग्छन्। स्कुल पढ्दा एउटै कक्षाका साथीभाइ बिचको जस्तै गुलियो बन्छ सम्बन्ध। माउरीजस्तै बन्छ एकता। दसैँको बेलामा झुलेका धानका गाँजको जस्तै बन्छ वासना। दाजुभाइ दिदीबहिनीजस्तै बन्छ ब्याचको परिवार।
हाम्रो ब्याच स्टाफ कलेजको ३५ औँ ब्याच बन्यो। निजामती सेवामा शाखा अधिकृतको सबैभन्दा ठुलो लट। ४८८ जनाको एउटै समूह।
३५ औँ ब्याट लक्की कि अनलक्की भनेर कसैले सोध्यो भने जवाफ निरपेक्ष छैन। अनलक्की भनूँ, कर्मचारी समायोजनको बखेडामा अल्झिएको रिजल्टको गाँठो अदालतले फुकाइदिएर स्टाफ कलेज छिर्न पाइएको थियो। लक्की भनूँ, लगभग दुई वर्ष लोक सेवाको म्यासेज कुर्नमै लागेको थियो त स्टाफ कलेजको छ महिने तालिम समेत रहरमै खुम्चिएको थियो।
पुराना ब्याटका दाइ दिदीहरूको स्टाफ कलेजको छ महिने तालिमको अनुभव सुन्दा मनभित्र काउकुती लाग्थ्यो, आँखाभरि रहरका सपना फुल्थे, ओठमा कल्पनाको संसारको फिक्का हाँसो मुस्काउँथ्यो, बसेरै ती कथा सुन्दा पनि यस्तो लाग्थ्यो मानौँ खुट्टा जावलाखेल तिर दौडिहाल्छन् उसेन बोल्टको गतिलाई सापटी लिएर। होस्टेलको बसाइँका कुनै नारायणी जस्ता सौम्य कथाहरू त कुनै दूधखोलाजस्ता बैँसालु कथाहरू उनेर सुनाउँथे। बिहानको पुलिस पिटी र योगा होस या दिनभरिका चाखलाग्दा कक्षाहरू, उनीहरूले रस मिसाइ मिसाइ सुनाउँथे– मानौँ महमा चिनी घोल्दै छन् उनीहरू र बाँड्दै छन् घाइते माहुरीलाई। डाँडातिर घुम्न जाँदाको घुमाइ होस वा नो योर कन्ट्री कार्यक्रममा देश घुम्न निस्केका भ्रमण हुन्, उनीहरू जिब्रो फड्कारी फड्कारी बखान गर्थे। मानौँ उनीहरू भर्खरै आएका हुन् अमिलिएको तामाको रस हालेको पानीपुरी खाएर।
तर ती कुनै पनि कथा आएनन् ब्याट– ३५ लाई भेट्न।
बल्लबल्ल छिर्न पाएको स्टाफ कलेजको होस्टेलको ढोकामा लागेको चाबीको ताल्चा कतै हराएछ। भेट्दै भेटिएन। काठमाडौँमै घर डेरा भएका साथीलाई त खासै केही भएन होला, तर म जस्तै खाल्डो बाहिरबाट थानकोट छिरेकाहरू भने अलमलियौँ। कतै शरणार्थी बनौँ त शरण दिनेलाई आपत्। कति दिन दिनु महँगो बजारमा थाल र सिरकको दान। सुन्धारा तिरका होटेलका साहुलाई अझै धनी बनाऊँ त गाउँको बारीको सुर्को हराउला भन्ने डर। अन्योलमै रोजियो– प्राइभेट होस्टेलको बसाइँ। पानीभन्दा पातलो दाल, दर्शनढुंगा जस्तै भात, घिरौँलाजस्तै केही तरकारी र थोत्रो बसको धुवाँजस्तै सिरक डसनालाई साथी बनाएर।
स्टाफ कलेजले बाँडेको थियो हामी ४८८ जनालाई १५ वटा कक्षामा। हरेक कक्षाको नाम थियो। कुन ग्रुपको भनेर चिन्नलाई सायद। म लुम्बिनी प्रदेशको मान्छे, स्टाफ कलेजले भने कर्णाली ग्रुपमा राखिदियो, अरू लगभग तीन दर्जन साथीसँगै।
बिहान बेलुकीको समय रसिलो थियो। डुल्यो, घुम्यो, रमायो। बारुलाका जस्ता गोला बनेका थिए साथीहरूका। एउटाको गोलामा अरू खासै नमिसिने। तर दिनमा स्टाफ कलेजभित्र भने हात मिलाउने, चिन्ने र चिनाउने क्रम चलिनै रह्यो। लगभग २० दिनको तालिममा सबैभन्दा मज्जा लाग्थ्यो दिउँसोको खाना खाने बेलाको समय। क्लासबाट खाना खाने छुट्टीमा चउरमा लामो लाइन लाग्थ्यो। निला लाइनहरू। निलो कोट, सेतो सर्ट, निलो पाइन्ट, काला जुत्ता। कसै कसैका सर्टका टाँकहरू टाईको लर्कोले छोपेका। धेरैका सैलुङ जस्ता।
कसरी बिते कुन्नि ती २० दिनहरू। सायद हावाको ठुलो झोक्का आएर हराएजस्तै गरी। त्यो झोक्काले सबैसँग हात मिलाउन दिएन। सबैसँग आँखा मिलाउन दिएन। एन्टेना मिलाउँदै रामायण हेर्ने बेलाको टिभीजस्तै भयो समय– भेटघाटको झल्याकझुलुकले। तैपनि आफ्नै ग्रुप र केही मात्रै अरू ग्रुपका साथीहरूसँगको चिनजानमै सकियो तालिमको झिल्को। कसले कसलाई कति ख्याल गर्न सक्यो कुन्नि! तैपनि छुटिने बेलातिरको सुकुटे बिचको साँझको बसाइँ, चित्लाङसम्मको ट्रेकिङ र पाइलट बाबा धामको ड्राइ पिकनिकले केही आत्मीयता कमाएको थियो।
रहर थियो ६ महिना स्टाफ कलेजमा बिताउने। होस्टेलको बसाइँको आशा त सुकिसकेको थियो र पनि देश चिन्ने नो योर कन्ट्रीमा गइन्छ भन्ने आशा हरियो नै थियो। त्यही हरियोलाई पनि सहेन सामान्य प्रशासन मन्त्रालयले। चुनावमा खटाउने निहुँमा बिचमै रोकिदियो तालिम। बिचमै काटिदियो हाम्रा रहरका पखेटालाई। चुनावपछि फेरि बोलाउने आशा देखाएर खटाइदियो ७७ जिल्लातिर, पदस्थापनको चिठी दिएर पठाइदियो अड्डातिर। सरकारको निर्णय न हो, गोङ्गबु बसपार्कबाट काठमाडौँलाई हात हल्लाएर निस्कियो नेपाल खाल्डोबाट।
आशा न देखाएको थियो सामान्यले, बलीको बोकालाई घाँस देखाएजस्तै गरी। किन फेरि बोलाउँथ्यो गाउँ चलाउन पठाएका हाकिमहरूलाई? लाग्यो, झुट बोल्यो सरकार। सरकार नै झुट बोलेपछि कसको के लाग्नु! बल्ल थाहा भयो, किन जनताले सरकारलाई गाली गर्छन्? घाँटीमा कर्मचारी परिचयपत्र झुन्ड्याएकाले नै त सरकारलाई विश्वास गर्न सकिएन।
यो लेख लेख्नुको अर्थ बल्ल सुरु भएको छ। त्यसरी नेपाल खाल्डो छोडेको लगभग तीन वर्षमा स्टाफ कलेजले ब्याट– ३५ लाई सम्झेर बोलाएपछि।
स्टाफ कलेजलाई लागेछ– ब्याट ३५ ले ब्याटको अनुभव गर्न पाएन। साथीभाइबिच आत्मीयता जोड्न सकेन। अनलक्की ब्याटलाई बोलाउनुपर्छ जावलाखेलमा र राख्नुपर्छ सल्लाघारीका बिचमा। फुल्नु पर्छ प्राज्ञिक बगैँचामा, खुल्नुपर्छ मनका बार्दलीमा। र, निम्ता गर्यो आफ्नो आँगनमा। भन्यो– आऊ साथीहरू, ५ दिन हामी सँगसँगै बसौँ, सँगै हाँसौँ, सँगै गाऔँ, सँगै रमाऔँ, केही सिकौँ र केही सिकेका कुरा अरूलाई सुनाऊँ। भेट्न, सुन्न, सुनाउन र फकाउन बोलायो हामी लगभग ५० जनालाई– साउनको अन्तिम हप्ताको साइत निकालेर।
साउनको २७ गते साँझ साढे पाँच बजे स्टाफ कलेजको गेटभित्र छिर्दा मेरो समय पुरानो पात्रोमा नाच्न थाल्यो। टाइम ट्राभल्ड टु पास्ट।
होस्टेलमा नाम दर्ता गर्ने बरन्डामा पुग्दा बेन्चमा देखेँ साथी जानकीलाई। दुवै जना पोखराबाट गए पनि छुट्टछुट्टै गएका थियौँ। उनी उडेर, म गुडेर। नाम रजिस्टरमा चढाउँदै गर्दा आइपुगिन् सुनिता। पहिलो भेट थियो सुनितासँगको तर नामले बोलाइहालेँ। आखिर अचेल मान्छे देखेर नाम चिन्न सकिने बाटो मार्क जुकरबर्गले बनाइदिएकै छन्। पहिलो भेटमै नामले बोलाउँदा ठुला आँखा भएकी सुनिताका आँखाको परिधि झनै फैलियो, आँखामा फुले कौतुहलताका फूलहरू। भनेँ– 'पहिले तालिममा भेट नभए पनि फेसबुकको लिस्टमा त हामी अटाएका छौँ नि।'
सुनिता प्रतिनिधि पात्र मात्र थिइन्। साठी जनाको समूहमा लगभग दुई तिहाइ साथीहरू हामी भौतिक रूपमा पहिलो पटक भेटेका थियौँ।
स्टाफ कलेजको क्यान्टिनको स्वाद कस्तो हुन्छ भन्ने प्रश्नको जवाफ त्यही साँझ भेटियो।
होस्टेलको बसाइँ। साना कोठा। एउटा कोठामा चाहेर पनि दुई जना बस्नै नमिल्ने। एउटा सानो खाट, खाटमा एउटा सिरक। खाटै छेउमा कुर्सी टेबल। टेबलमाथि ल्याम्प पोस्ट। कपडा झुन्डाउन मिल्ने खुला वार्डरोब। भुइँमा रातो कार्पेट। ढोकाको कुनामा एउटा डस्टबिन र कुचो। झ्यालमा बाक्लो पर्दा। कोठाभित्रको संसार यत्ति थियो।
२१३ नम्बर कोठाभित्र छिर्नासाथ मलाई लाग्यो– म यो कोठामा अटाउँछु? फेरि सम्झेँ, पुराना ब्याटका अग्रजहरू अटाएकै कोठा त हो। म बालक बबुरो किन नअटाउनु के? झ्यालको पर्दा सर्लक्क तानेँ। बाहिर देखिए ठुला रुखहरू र बगैँचा। बल्ल लाग्यो– आहा!
बिहान ८ बजेसम्म बिस्तरा छोड्न नसक्ने मेरो ज्यान, सिरक छोड्न नमान्ने मेरो मन। भोलिपल्टको बिहान मेरो ज्यान मेरो रहेन सायद, मेरो मन मसँग टाँसिरहेन सायद। रातभरि पानी पारेर आकाश थाकेपछि उज्यालो भएछ। उज्यालो भएको खबर कानसम्म पठाइदिए रुखका चराहरूले। मेरो मोबाइलको अलार्म त काम पाइनँ भनेर गुनासो गर्न थालेको वर्षौं भइसकेको थियो। चराको चिरबिर चिरबिर आवाजले परेलीलाई छुटाइदिए। धेरै वर्षपछि महसुस भयो– अहो! बिहान यति रमाइलो पनि हुँदो रहेछ है।
उठेँ, मोबाइलमा शिव ताण्डव स्तोत्र बजाउँदै झ्यालबाट बाहिर हेरिरहेँ। रुखबाट चराहरूले मेरै नाम लिएर गीत गाएजस्तै लाग्यो। बगैँचामा रातभरि रुझेका फूलका बिरुवा र साना पोथ्रा झारहरूले म उभिएको झ्याल तिरै हेरिरहेका थिए। सायद मनमनमै भन्दै थिए होलान्– चिनार तेरो रहर पूरा भएको हेर्न बाँचेका हौँ हामी। आहा! कति मिठो जीवन ती फूल र झारहरूको, मलाई कुरेर पो बाँचेका रहेछन्। अनि अर्को कुरा, ती फूल र झारले कसरी थाहा पाएछन् मैले चिनार नाम राखेको छु भन्ने?
पहिलो दिनको तालिकामा योगा कक्षा थिएन। म अल्छीलाई त्योभन्दा बढ्ता खुसीको कुरा अरू के हुनु? लाइन लागेर नित्यकर्म सकाएपछि झरेँ भुइँतला बाहिर। स्कुले जीवनमा सधैँ प्रथम हुने म, धेरैपछि केही कुरामा प्रथम भएछु। साथीहरूलाई कुराइमा परेँ।
चिया भनेकै दूध चिया हो भनेर बुझ्ने म, कालो चियामा परेँ। क्यान्टिनमा पसेर लाइन लाग्यौँ– कालो चियाले साना कप भर्नलाई। बाहिर इँटाको पटांगिनी जस्तोमा चिया सकियो। चिया पो सकियो, साथीहरूको भलाकुसारी र आत्मीयताको कप बल्ल सुरु हुँदै थियो।
दिनभरिको कक्षाको तालिका गज्जबको थियो। पढ्ने कक्षा हो तर स्कुले पढाइ थिएन। काम गर्दाका अनुभव सुनाउने, सफलताका कथा रसिलोसँग भन्ने र अप्ठ्यारा कहानी ल्वाङ खाएको जिब्रो परपराएजस्तै गरी बाँड्ने। हरेक दिनका छुटाछुटै शीर्षकका कथामा साथीहरूका कार्यालय छर्लङ्ग खुल्न लागे, झरी रोकिएपछि खुल्ने आकाशजस्तै गरी।
स्कुल पढ्दा दुई कक्षाको मेरो नेपाली किताबमा एउटा कविता पढ्नुपर्थ्यो, आइतबार बिहान घामसँग उठेँ म भन्ने। त्यही कविता जस्तैको दैनिकी बन्यो। समय तालिका एउटै तर क्रियाकलाप भिन्ना भिन्नै। दोस्रो दिनको बिहानी योगाबाट सुरु भयो। योगाको य भन्ने अक्षर नै पहिलो पटक छोयो मेरो ज्यानले। आखिर अल्छी प्रतियोगितामा स्वर्ण पदक पाउने योग्यता बोकेको न थिएँ। अघिल्लो साँझ साथीहरूलाई भन्दै थिएँ– भोली बिहान मलाई दुई घण्टा ज्वरो आउने योग छ भनेर।
खैर! मलाई त्यो ज्वरोले साथ दिएन। आउँदै आएन। हाजिर भएँ दीक्षा सदनको छतमा भएको सगरमाथा हलमा। निलो म्याटमा दुई घण्टा पसिनासँगै बित्यो। त्यसपछिका बिहान पनि उसै गरी बिते, ज्यानमा साँचेर राखेका पसिनाका थोपालाई मूल फुटाएर निकाल्दै। कति रिसाए होलान् ती पसिनाका बुँद मसँग! साथी मीनराजले खिचेका योगा कक्षाका भिडिओ हेर्दा अहिले लाग्छ– चल्न त ज्यान सजिलैसँग चलेछ निलो म्याटमाथि।
बिहानदेखि बेलुकासम्मको समय तालिका स्टाफ कलेजले नै बनाइदिएको थियो। कुन समयमा के गर्ने भनेर अरूले नै तोकिदिनु पर्ने कस्तो हाम्रो दैनिकी?
जीवनभरिकै मिठा भोगाइ मध्येको सूचीमा त्यो ५ दिनको होस्टेल बसाइँ पनि पर्ने भयो। दिनभरिको तोकिएको तालिका पूरा गरेर साँझ ७ बजे क्यान्टिनको लाइन लाग्थ्यौँ। क्यान्टिनको ड्युटी सकिएपछि सुरु हुन्थ्यो हाम्रो आफ्नो निजी रमाइलो समय। कमन हलमा जमघट हुने, दोहोरी गाउने, गीत बजाउने, नाच्ने। लगभग आठ बजे सुरु हुने हाम्रो भागको निजी समय त्यति सुन्दर हुन्छ जस्तो कहाँ अनुमान गर्न सक्नु? त्यो रमाइलोका प्रमुख पात्र बनेर रहे– दिपेश, सुनिता, नवीन, पूर्ण र प्रकाश।
दिपेश र पूर्णको दोहोरी, सुनिता र नवीनको नाच, प्रकाशको हाँसी मजाक नचलेको भए केही छुट्ने थियो सायद। आशिषको सेन्टिमेन्टल गीत नसुनेको भए सुन्न बाँकी केही छुट्थ्यो। त्यही ग्रुपकी कसैको कर्ली कपाल मन पराउन लागेको पवनको मन टुट्थ्यो। ब्याटको राष्ट्रिय भान्जा भनेर बोलाउने सन्दीपको त्यो कलिलो मुहार छुट्थ्यो। रिताका ठुला लाम्चा आँखाको चर्चा छुट्थ्यो। भिमाका आँखाको भाका हराउँथ्यो, रोशनीको रोशनी मलिन हुन्थ्यो। चित्राको भलाद्मी आँखाका भाषाले लिपी पाउँदैनथे। सुस्मिताको आवाज नसुनेरै बसाइँ सकिन्थ्यो। छुट्ने कुरा सबैका केही न केही थिए।
तालिम अनुभव पढ्न पाउनुपर्छ भनेर लेख्ने जिम्मा मलाई दिएका साथीहरूको फेसबुकको भित्तामा पनि केही छुट्थ्यो कि त!
एउटा सेसन थियो– फिल्म हेर्ने। हो, यस्तै रमाइला काम गराउँछ र त स्टाफ कलेज प्रिय लाग्छ। वृहस्पति सदनमा रहेको अडिटोरियम हल साँच्चिकै फिल्म हल जस्तै रहेछ। सिमसिम पानी परेको त्यो साँझ फिल्म देखाउने प्राविधिक जिम्मा अजित सरले मलाई नसुम्पेको भए त्यो हलको अँध्यारो अनुभव हुन्थ्यो कि हुन्थेन? प्रश्न अनुत्तरित नै छ। लाइट, साउन्ड, लोकेसन आदिको तालिम गराएर जिम्मेवारीको श्रीपेच मेरो टाउकोमाथि राखिदिने अजित सरलाई धन्यवाद।
साथीहरूका केही विकल्प थिए, कुन फिल्म हेर्ने भन्नेमा। केहीले भन्थे– राजकुमार रावले खेलेको मेरे सादीमें जरुर आना हेर्ने त केहीले भन्थे द गोट फिल्म हेर्ने। धेरैको मन द गोटमा भयो तर युट्युबको मन खाली देखियो। बोकेकै रहेनछ द गोटलाई। साथी मीनराजको नेटफ्लिक्स आइडी लग इन नै भएन। फिल्म प्ले गर्ने रुममा बसेको मैले झटपट विचार गरेँ– कुनै नेपाली फिल्म हेर्ने। अनि युट्युबमा चल्यो खगेन्द्र लामिछानेले खेलेको फिल्म– टलकजंग भर्सेस टुल्की।
फिल्म हेर्दे गर्दा कोही टलकजंग भए त कोही टुल्की। टलकजंगको एउटा डाइलग– म त तिम्रै मुन्चे हुम केरे भन्ने डाइलगले त्यसपछि त्यो ग्रुपमा एकछत्र राज गर्यो।
स्टाफ कलेजको याद गराउने अर्को पाटो हो– ब्याट लेखेको टिसर्ट र ट्र्याक सुट। ब्याट–३५ न पर्यो, हामीलाई त्यसले पनि त साथ दिएको थिएन अघिल्लो पटकको बसाइँमा। स्टाफ कलेजको लोगो र आफ्नो ब्याट नम्बर लेखेको टिसर्ट लगाएर खिचेका अघिल्ला ब्याटका र हामीभन्दा पछिल्ला ब्याटका फोटा फेसबुकमा देख्दा लाग्थ्यो– थर्टी फाइभ इज अनलक्की नम्बर। तर यो पटक त्यो नम्बरलाई लक्की बनाउँदै थियौँ। रवीन्द्र, राज र नवराजका नशामा त्यो टिसर्टको नशा नलागेको भए कहाँ पाउनु त्यसको आत्मीयता साँध्न? कहाँ पाउनु गाढा निलो रङ्गको त्यो टिसर्ट लगाएर फोटो खिच्न र फेसबुकबाट अरूलाई पनि देखाउन?
यसरी नै बिते साढे बहत्तर रोपनी जग्गाभित्रका केही दिन र रातहरू। गेटबाट बाहिर निस्कन अनुमति थिएन। अनुमति नभएको ब्यहोरालाई सदर नै गर्यौँ। त्यहीँभित्र चराका गीत सुन्दै, सल्लाका सुस्केरामा ताल मिलाउँदै, पाइतालालाई तालमा ताल र चालमा चाल मिलाउँदै, लता मंगेशकरको आवाजजस्तो बतासमा जुल्फी हल्लाउँदै, मोबाइलमा सेल्फी हान्दै बित्यो त्यो प्रेमिल समय।
धेरै छन् कथा कहानीका किस्साहरू। तर अटाउनु छ थोरै लाइनमा। लेख्नु छ शब्दकोशबाट थोरै शब्द सापटी मागेर।
कोर्स कोअर्डिनेटरको भूमिकामा रहेर हामीसँग साथीको व्यवहार गर्ने अजित सर र सहारा म्याडमको साथ नपाएको भए कस्तो हुन्थ्यो कुन्नि हाम्रो बसाइँ! सायद, मेरो जिब्रोलाई कालो चियाजस्तै पो हुन्थ्यो कि त!
ब्याट–३५ का साथीहरूलाई स्टाफ कलेजको स्वाद चखाउनुपर्छ भनेर बोलाउन लगाउने कार्यकारी प्रमुख राजन सरको अन्तिम दिनको सम्बोधनले सायद कहिले मन अघाउन्न होला। जति सुने पनि सुनौँ लाग्ने, जति चाखे पनि जिब्रो नथाक्ने, जति ताली बजाए पनि हात नरोकिने।
उहाँले त्यो बेला भनेको एउटा कुरा अहिले यो संस्मरण लेखिरहँदा रातीको साढे एक बजे पनि मेरो कानमा उस्तै ताजा छ, जति ताजा र कर्णप्रिय हुन्छ एकाबिहानै मन्दिरमा बजेको घण्टीको आवाज। भन्दै हुनुहुन्थ्यो– कुनै बेला ब्याट ३५ को कुनै साथीले ब्याटको अनुभव गर्न पाइएन भनेर लेखेको एउटा लेखको कारण मैले हजुरहरूलाई यो कम्पाउन्डमा बस्ने गरी बोलाउँछु भन्ने सोचेको हुँ। धन्यवाद साथी।
यो लेख लेखिरहँदा सबै साथीहरूको फेसबुक पेज एक सर्को तानेर हेरेँ। स्टाफ कलेजभित्रका तिनै निला कोट पाइन्टका पोज पोजका फोटा पोस्टाएछन्।
प्रिय स्टाफ कलेज, अब बाँकी साथीहरूले पनि त्यो चउरमा सेल्फी हानेर फेसबुकमा फोटा हालेको हेर्ने रहर छ।
यो रहर पनि पूरा हुन्छ नि है!