बेल्जियमको ल्युभेनमा भएको एउटा कार्यक्रमका सहभागीहरू बिच बेल्जियम छोडेर नेपाल फर्किएका केही व्यक्तित्व र उनीहरूले नेपालमा प्राप्त गरेको सफलता बारे चर्चा भएको थियो। उक्त चर्चा परिचर्चा सुन्दा मलाई रमाइलो अनुभूति भइरहेको थियो। युरोपमा सुन्दर भविष्यको खोजीमा भर्खर बेल्जियम पाइला टेकेको मलाई उनीहरूको बहस चाखलाग्दो त थियो नै, म आफू पनि कहिले स्वदेश फिर्ने अवस्थामा पुग्न सक्छु होला भनेर केही बेर सोचमग्न पनि बन्न पुगेँ।
एउटा जोडी पोर्चुगलको नागरिकता लिएर अर्को धेरै कमाइ हुने युरोपियन मुलुकतर्फ हानिए। उनीहरू दुवै जनाले धेरै मेहनत गरे र मनग्य पैसा पनि कमाए। नेपालमा घडेरी किने र एउटा आलिसान महल पनि बनाए। उनीहरूको योजना थियो कि अबको पाँच वर्षमा भएको एउटा सन्तान १८ वर्ष पुग्ने छ र उनीहरू नेपाल फर्किने छन्। अनि पचास वर्ष अगाडि नै सुन्दर रिटायर्ड जीवन जिउने छन्।
तर सबै साथीभाइको परिस्थिति देख्दा, घर-परिवार, इष्टमित्रको चाहना र दबाब, बुढेसकालमा एउटा मात्रै सन्तान हुँदा उसले हेर्ला नहेर्ला, भोलि भएको सन्तान पनि बिग्रियो वा भनेको नमानेर आफूहरूलाई वास्ता नगर्ने भयो भन्ने डर वा उसलाई छोडेर आफूहरू नेपाल फर्केपछि ऊ परदेशमा एक्लै हुने भयो, कमसेकम एउटा भाइ वा बहिनी भयो भने ऊ पनि एक्लो हुँदैन, चाडपर्व आउँदा जन्म दिने बाबुआमा र दाजुभाइ कोही पनि नहुँदा परदेशमा ऊ सधैँभरि एक्लै हुने भयो। यी अनि यस्तै कारणहरूले उनीहरूले दोस्रो सन्तान जन्माउने तर्फ लागे। अबको पाँच वर्ष भित्रमा नेपाल फिर्ने सोच भएका उनीहरू अब सायद अरू १८/२० वर्ष चाहेर पनि नेपाल फर्कन सक्ने छैनन्।
अर्का जोडीको कथा भने झनै पृथक् खालको छ। उनीहरूका दुई सन्तान नेपालमै जन्मेका थिए। श्रीमान् पहिला विदेश आए, यतैको कागज बनाएर केही वर्ष पछाडि श्रीमतीलाई पनि बोलाए। नेपालमा खानदानी परिवारका उनीहरूको मुख्य सहरमै घर भएका कारण नेपालमा रहेका दुई सन्तान हजुरबा/आमासँगै बसेर राम्रै बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका थिए।
एउटा चौध र अर्को आठ वर्षको सन्तान भएका उनीहरू तत्काल नेपाल फर्कने र विदेश आउनु अगाडि गरेको व्यवसाय र सिपलाई निरन्तरता दिँदै जीविकोपार्जन गर्ने र शान्तिपूर्ण जीवन जिउने अभिलासामा थिए। जब नेपाल फर्कने नै अवस्था आयो, नेपालका अभिभावक र आफन्त उनीहरूको फिर्ता हुने प्रक्रियामा सहमत हुन सकेनन्।
सिङ्गो देशका युवा स्वदेशमा रोजगारी र आधारभूत सुविधा पनि नभएको भन्दै आफ्नो अवस्था अनुसारका देश जान तयार भएको बेला युरोपको नागरिकता त्यागेर आफ्ना सन्तान जो बिना खर्च र बिना संघर्ष युरोपियन नागरिकताका हकदार छन् उनीहरूको मुखैमा आएको त्यो अवसर सदाका लागि बन्द गरिदिँदा भविष्यमा कस्तो असर पर्ला?
नेपाल फर्केर सोचे जस्तै भए त ठिकै छ, होइन भने आफूहरू नेपाल फर्केको केही वर्षमै फेरि भएका तिनै दुई सन्तान विदेश अध्ययन गर्न जान्छु भनेर नेपालमा बस्नै मानेनन् वा नेपालको अवस्था अहिलेको जस्तै रह्यो र तिनै सन्तानलाई पैसा खर्च गरेर पुनः विदेश पठाउनु पर्ने दिन आयो भने त्यो अवस्थाको सामना कसरी गर्न सकिएला? यी अनि यस्तै अनेकन् प्रश्न र आफन्तजनको असहमतिले उनीहरू बिलखबन्दमा परेका छन्।
एक जना महानुभावको अनुभव अझै फरक रहेछ। उहाँ आजभन्दा २० वर्षअगाडि युरोप आउनु भयो। यतैको कागज लिनुभयो। श्रीमती र सन्तान पनि ल्याउनु भएछ। नेपालबाट ल्याएका सन्तानको विदेशमै बिहेवारि पनि भइसकेको अवस्थामा उहाँ र उहाँकी श्रीमती नेपाल फर्कने योजना बुन्दै थिए। कहिले नेपाल त कहिलेकाहीँ विदेश आउजाउ गर्ने सर्तमा सन्तान पनि राजी थिए। तर एक्कासि उहाँको स्वास्थ्यमा समस्या देखियो। उहाँ हस्पिटल जानुभयो, उहाँलाई सधैँभरि औषधि सेवन गर्नु पर्ने दीर्घरोग देखियो। विशेषज्ञ डाक्टरसँग नियमित सम्पर्कमा रहिराख्नु पर्ने भयो। यदि उहाँ नेपाल फर्कनु भयो भने न त उहाँले यहाँको जस्तो निजी विशेषज्ञ डाक्टर पाउनु हुन्छ न यहाँको जस्तो सेवा सुविधा। नेपालमा त्यही उपचार गर्न धेरै खर्चिलो पनि पर्न जाने हुनाले उहाँको तत्काल नेपाल फर्कने अठोट अहिलेलाई तुहिएर गयो।
अहिले पोर्चुगलको नागरिकता जनबोलीको भाषामा रातो पासपोर्ट लिनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ भने युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता देशमा अध्ययन र अन्य भिसामा गएकाहरू पनि स्थायी रूपमा उतै बसोबास गर्न थालिसकेका छन्। देशको अवस्था हेर्दा र अहिलेका युवा पुस्ताको मनोविज्ञान बुझ्दा नेपालबाट अब अरब, कोरिया, जापान जस्ता मुलुकहरूभन्दा उतै स्थायी रूपमा बस्न मिल्ने देशमा जानेहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ।
जब नेपाली नागरिक पिआर, नागरिकता पाउने मुलुक पुग्दछन्, कागज बनाउँदछन् र लामो समय त्यही बिताउने चाहना राख्छन् भने सबैको पहिलो सपना हुन्छ आफ्नै घर किन्ने। त्यसपछि गाडी लगायत अन्य आधारभूत आवश्यकता पूरा गर्दै जान थाल्दछ। उनीहरू यतैको गुलियोमा लोभिन थाल्दछन् भनौँ या दलदलमा भासिन थाल्दछन्।
भारत, पाकिस्तान, बङ्गलादेश जस्ता मुलुकका नागरिकहरूको अहिले विदेशमा दोस्रो पुस्ता चल्दै छ भने नेपालीहरूको अहिलेसम्म पहिलो पुस्ता नै चल्दै छ। तर अब धेरै युवा अवस्थाका नेपाली दम्पतीहरूले विदेशमा नै सन्तान जन्माउन थालिसकेका छन्। जब सन्तान विदेशमा जन्मिन्छन्, लामो समय नेपाल लगेर राख्न मिल्दैन। बिस्तारै हुर्किँदै जाँदा सन्तानहरू यतैको रहनसहन र भेसभुसामा रमाउन थाल्दछन्। उनीहरूलाई नेपालप्रति त्यति सारो न जानकारी हुन्छ न त मोह नै। कतिपय अभिभावकको खोक्रो आडम्बरले गर्दा आफ्ना सन्तानलाई नेपाली भाषा समेत सिकाउन चाहँदैनन्।
युरोपका स्कुलको बिदा प्रायः जुलाई, अगस्ट (साउन, भदौ) मा पर्ने र त्यो बेला नेपालमा पानी र बाढी पहिरोको जोखिम हुने हुँदा नेपाल जानु उपयुक्त समय मानिँदैन। जब दसैँ-तिहार आउँछ त्यति बेला बालबालिकाको स्कुल चल्ने हुँदा नेपाल जान मिल्दै मिल्दैन। त्यस कारण विदेशका बालबालिका दसैँ-तिहार जस्ता चाडपर्व मनाउन नेपाल जान सम्भव नै हुँदैन जसले गर्दा विदेशमा जन्मिएका दोस्रो पुस्ता भौगोलिक दूरीसँगै सांस्कृतिक हिसाबले पनि धेरै टाढा पुगिसकेका हुन्छन्।
अर्को कुरा, विदेशमा घर-गाडी सबै चिज किन्ने किस्तामा नै हो। विदेशको जीवन मेसिन जस्तै हुन्छ; कमाऊ, खाऊ, काममा जाऊ, घर फर्क, महिनाको अन्तिममा तलब त नेपालीमा हिसाब गर्दा मोटै आउँदछ तर घर, गाडी, मोबाइलदेखि सबै तिरको किस्ता तिर्दा तिर्दै जिन्दगी सकिन्छ तर ऋण सकिँदैन।
यदि चार जनाको परिवार छ र सबै एकैसाथ नेपाल जानु पर्यो भने त्यो विदेशमा व्यवसाय नगरी काम गर्नेहरूका लागि असम्भव जस्तै हो। पहिलो कुरा सबैको एकैसाथ छुट्टी मिलाउन गाह्रो पर्छ, अर्को कुरा अबको समयमा पन्ध्र लाखभन्दा तल नेपालको पारिवारिक भ्रमण सम्भव नै हुँदैन। सपरिवार एकै पटक नेपाल जाँदा यताका विभिन्न शीर्षकका किस्ता तिर्न धेरै गाह्रो पर्न सक्दछ वा भनौँ असम्भव जस्तै हुने गर्दछ। त्यस कारण स-परिवार नेपाल जाने, घुम्ने अनि आफन्त भेटघाट जस्ता कुरा बिस्तारै ओझेलमा पर्न थाल्दछ।
केही दशक यता नेपाली समाज, त्यहाँको परिस्थिति, मूल्य मान्यताहरू तीव्र रूपमा परिवर्तन हुँदै गइरहेका छन्। तीव्र सहरीकरण र आधुनिकताले त्यहीँ रहेका व्यक्तिहरू बिचमा समेत भाइचारा र आपसी सद्भाव कम हुँदै गएको वर्तमान अवस्थामा विदेशबाट नेपाल फर्किँदा सुरुमा जस्तो रमाइलो, त्यो माहौल, त्यो आत्मीयता महसुस गर्न सकिँदैन। सबै आफ्नो आफ्नो धुनमा रमाइराखेका हुन्छन् भने अब पहिले जस्तो विदेशबाट आएको भनेर सारा आफन्त, छिमेकी र गाउँलेहरू सबै काम छोडेर पछाडि लाग्ने, भेट्न आउने र सुख दुःख बाँड्ने जस्ता कुराहरू अत्यन्त कम भइसकेका कारण पनि परदेशमा बसोबास गर्नेहरूलाई पहिला जस्तो देशप्रतिको आशक्ति र मोह नरहेको देख्न सकिन्छ।
समय क्रममा आफ्ना नेपालमा रहेका बुवा-आमाको देहावसानसँगै नेपाल जानै पर्ने बाध्यता पनि कम हुँदै जाने, विदेशमा आफ्नो काम, आफ्ना जिम्मेवारी, सन्तानको पढाइ र खर्चमा मितव्ययिता अपनाउनु पर्ने जस्ता बाध्यताले नेपाल आवतजावत पातलो हुँदै जान्छ। जब आफ्नै माटोबाट धेरै टाढा भइन्छ बिस्तारै सबै कुराहरू छुट्दै जाँदा रहेछन्।
के विदेश जानु नै गलत हो त?
एक थरी मान्छेहरू जवानीमा विदेश आए, कागज बनाए, यतै बसे, सन्तान यतै जन्मे। यतै स्कुल पढे, सन्तानहरू दुःख सुख यतै हुर्के अनि अब ठुला भए। आफूलाई जन्म दिने माता-पिता र आफ्नो जन्मभूमि त सबैलाई प्यारो हुन्छ नै तर पनि आफूलाई जन्म दिने माता-पिता कि आफूले जन्माएका सन्तान भन्ने प्रश्न आउँदा आफ्ना सन्तान नै रोज्नु पर्ने बाध्यता विदेशको नागरिकता हुनेहरूलाई आउने गर्दछ।
जुन ठाउँमा बसिन्छ, जहाँ कर्म गरिन्छ, जहाँ खुन पसिना बगाइन्छ अन्तमा त्यो माटो पनि आफ्नै जस्तो लाग्दो रहेछ। एउटा यस्तो अनजान देश जहाँ आफ्नो सात पुस्ता कोही पनि आएनन्, त्यस्तो ठाउँमा एक थान राहदानी लिएर खाली हात आएको व्यक्तिले रात दिन नभनी संघर्ष गरेर आर्जेको कुरा, सम्पत्ति, नाम, कागज सबै फगत त कसरी हुन सक्छन् र?
बसाइसराइ गरेर अन्त जाने सबै स्वार्थी कहाँ हुन् र? कोही अलिक पाई नजिक बनाउन गाउँबाट बेसी झरे होलान्, कोही अलिक चयन काट्न बेसीबाट सदरमुकाम सरे होलान्, कोही दुई छाक चामलको भात खाने अभिलाषामा पहाडबाट मदेश पसे होलान्। यो प्रक्रिया हो, यो प्रकृति हो चलिरहन्छ; युगौँ युगदेखि, पुस्तौँ पुस्तादेखि यो सृष्टि रहुन्जेल। एउटा चरो त आफ्नो अनुकूलतामा बसाइँ सर्ने गर्छ भने हामी त एक्काइसौँ शताब्दीका चलाख मानिस।
गाउँ फर्कन नचाहेर हो या बाटो नभेटेर हो, न बेसी झरेका गाउँ फर्किए, न सदरमुकाम पसेका गाउँ फर्किए न मधेस झरेका पहाड फर्किए। यहाँसम्म कि सुखी जीवन खोज्दै बर्मा पुगेकाहरू कर्मसँगै उतै हराए भने धेरै कलकत्ता गएकाहरू पनि उतै बेपत्ता बनेका छन् सदियौँदेखि, सदा-सदाका लागि मातृभूमिमा नामनिसान मेटिने गरेर।
कहिलेकाहीँ त एकान्तमा एक्लै हराउन मन लाग्छ, रुन मन लाग्छ कसैले नदेख्ने गरी। लाग्थ्यो हामी त काँतर भएर देश छाडेर हिँडेका पो हौँ। हजारौँ मजस्ता युवाहरू आफ्नै माटोमा गर्वका साथ पाखुरी बजारेर पौरख गर्दै छन्। तर पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाले गर्दा स्वदेशमा बसेकाहरू आफूसँगै पढेको साथी समयमै विदेश गएर परिवारसहित उतै स्थापित भएकोमा ठिकै गरेछ भन्ने निष्कर्षमा पुगेर चालिस वर्ष उमेर कटेकाहरूले पनि पलायनको बाटो रोज्न थालेका धेरै उदाहरण अहिले देख्न थालिएको छ जुन आफैँमा दुःखद कुरा हुन्।
सरकारले ध्यान दिनु पर्ने कुरा
युरोप, अमेरिका जानु भनेको उतै हराउनु रहेछ। सरकारसँग तथ्याङ्क छ वा छैन, कति जना रातो पासपोर्ट, पिआर ग्रीनकार्ड सहित विदेशमा सपरिवार जमेर बसेका नागरिक स्थायी रूपमा नेपाल फर्किए होलान्? विदेशी नागरिकता बुझाएर कतिले फेरि नेपाली नागरिकता लिए होलान्? मलाई लाग्दछ, सायद त्यस्ता सम्माननीय पात्रको सङ्ख्या अत्यन्त कम होला।
पैसा कमाउन, ज्ञान सीप आर्जन गरेर विदेशमा बटुलेको अनुभव प्रयोग गर्न सकिने बाहेकका देश नागरिक पठाउनु वा जानु भविष्यका लागि घातक हुँदो रहेछ। एउटा सानो बालकलाई हुर्काएर, पढाएर दक्ष जनशक्ति बनाउन राज्यले पनि ठुलै लगानी गरेको हुन्छ। जब एउटा युवा शारीरिक वा मानसिक श्रम गरेर देशलाई योगदान दिन सक्ने बन्दछ त्यो उमेरमा पलायन अझै उतै कागज बन्ने, नागरिकता बन्ने देशमा जानु भनेको राज्यलाई सबै हिसाबले उच्च क्षति पनि हो।
विज्ञानको विकाससँगै विकास क्रम संसारभरि तीव्र गतिमा हुँदै छ तर अबको २० वर्षमा नेपाल जहाँ पुग्ला युरोप अमेरिका त्योभन्दा माथि नै हुनेछ। त्यस कारण धेरै पैसा र भौतिक सुख खोज्दै अहिले पलायन भएका नागरिक फेरि फर्केलान् भन्ने कुरा कहिल्यै पनि निश्चित छैन।
समय यस्तो आयो कि अब विदेश जान भन्दा स्वदेश फर्कन कैयौँ गुणा गाह्रो साबित हुँदै जान थालेको छ। विदेश जानु, काम गर्नु, अनुभव बटुल्नु, घुम्नु डुल्नु र अन्त्यमा स्वदेश फर्कनु त संसारका हरेक देशका नागरिकमा चलिरहन्छ तर आफ्नो देश नफर्किने गरेर सदाका लागि बिदा हुनु न त परिवार, न समाज न देशको लागि उचित हुँदो रहेछ।
एकाध राष्ट्रवादीहरूले विदेश जानेहरूलाई भन्ने गर्दछन् 'नेपाल देश वृद्धाश्रम होइन' भनेर। तर यही अवस्था हो भने जीर्ण र अनेक रोगको घर बनिसकेको बुढो शरीर बोकेर आफ्ना छोरा नाति नै नभएको माटो सम्झेर को किन नै फर्किएला र? आफ्ना मातापिता यो धर्तीमा नरहेपछि, धेरै आफन्त र आफ्ना दौँतरी प्रायः सबै यो संसारबाट बिदा भइसकेको अवस्थामा आफ्ना बुढेसकालका सहारा छोराछोरी अनि नातिनातिना तथा आफूले जीवन सिद्ध्याएर गरेको सबै सृष्टि विदेशमै छोडेर फेरि आफू जन्मेको माटोमा फर्किन चाहेर पनि बाटो नै भेटिने छैन। त्यति बेलासम्म स्वदेश फर्कने बाटो पूर्णतया भत्किसकेको हुनाले कैयौँ नेपाली देशभक्तहरू विदेशमै अस्ताउने छन्, फेरि कहिल्यै जन्मभूमि नफर्किने गरेर।
युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता मुलुक पुगेर उतै स्थायी बसोबास गरेको पहिलो पुस्ता अपवाद बाहेक नेपाल फर्किने छैन भने प्रवासमै जन्मिएका दोस्रो पुस्ताको नेपालसँग कुनै साइनो नै रहने छैन। कमाइको अनुपातमा देशको रेमिटेन्समा योगदान हेर्ने हो भने पनि स्थायी बसोबास गर्न नमिल्ने मुलुकहरूको हिस्सा ज्यादा हुन्छ।
भविष्यमा रेमिटेन्स पनि कम हुँदै जाने र उतै पलायन भएर आफ्नो मुलुक पनि नफर्किने बाटोमा आफ्ना योग्य नागरिक र श्रम गर्न सक्ने युवा शक्ति पठाउनु भविष्यमा सरकारको लागि धेरै महँगो र आफ्नै लागि आत्मघाती साबित हुने निश्चित छ। यो विषयमा अब सरकार अनि राजनीतिक दलहरू बेलैमा गम्भीर हुनु जरुरी छ।