कुरा गएको दसैँको हो। मेरो माइती नजिकैको एकजना छिमेकी दाइ, उहाँ र म एउटै स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थियौँ। उहाँ मभन्दा दुई ब्याच पहिलेको हुनुहुन्थ्यो। त्यसैले म उहाँका सम्पूर्ण साथीहरूलाई चिन्थेँ र अहिले पनि चिन्छु।
दसैँको सप्तमीको दिन यसो फेसबुक हेर्दै जाँदा त्यही छिमेकी दाइका कक्षा १० पढ्दा बेलाका साथीहरूको फोटो देखेँ जसमा स्कुले साथीहरूको पुनर्मिलन भनेर स्ट्याटस राखिएको थियो।
त्यो फोटोमा मैले त्यो छिमेकी दाइलाई देखिनँ। एकछिन ध्यान दिएर हेरेपछि अरू तीन जना साथीहरू पनि छुट्नु भएको रहेछ। सायद दाइहरूलाई समय मिलेन होला भन्ने सोचेँ। त्यो फोटोमा भएका सबै दाइहरू कोही बेलायत, कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही जापान, कोही क्यानडामा बस्नुहुन्छ। यस पटकको दसैँ बिदामा भने सबै जनाले उतैबाट सल्लाह गरेर योजनासहित सँगसँगै नेपाल आउनु भएको कुरा पनि मैले थाहा पाएँ।
त्यसको तीन/चार दिनपछि मेरो भेट त्यो ग्रुप फोटोमा नभेटिनु भएका दाइसँग भयो। भेट पछिको मेरो पहिलो प्रश्न- 'दाइ, हजुर आफ्नो साथीहरूसँग किन नजानुभएको?'
दाइले दिनुभएको उक्त प्रश्नको जवाफले मेरो मथिङ्गल नै हल्लायो। उहाँको जवाफको सार चाहिँ उनीहरूसँग घुम्न, भेट्न आफ्नो तह नमिल्ने भन्ने थियो।
मैले प्रतिप्रश्न गरेँ कि 'दाइ, हजुर पनि उहाँहरू जत्तिकै उच्च शिक्षा हासिल गर्नुभएको छ, आफ्नै ठाउँमा कृषि व्यवसाय, पशुपालन गरेर ५/७ जनालाई रोजगार दिनुभएको छ। कसरी हजुरको तह उहाँहरूसँग मिल्दैन त?'
मैले प्रश्न गरिनसक्दै दाइले 'तिमीले त्यो फोटोमा मबाहेक अरू तीन जनालाई पनि देखिनौ होला होइन? उनीहरू पनि त यही नेपालमै छन् जो आफ्नै घरमा खेतिकिसानी गरेर बसिरहेका छन्। त्यसैले उनीहरू सो फोटोमा छैनन्।'
उहाँले आफ्ना विदेशमा बस्ने साथीहरूले आफूहरूलाई सो जमघटका बारेमा थाहा नै नदिएको र आएको यत्तिका दिन हुँदासम्म पनि भेट नगरेको कुरा गर्नुभयो। मैले पहिलेदेखि नै विभिन्न साहित्यकारहरूले आफ्ना लेख रचनाहरूमा मित्रताको कुनै वर्ग, उमेर, सिमाना हुँदैन भन्ने कुरा पढेकी थिएँ तर त्यो त सब साहित्यमा मात्र हुँदो रहेछ। वास्तविकतामा त फरक रहेछ भन्ने महसुस गरेँ।
चाडपर्वको बेलामा हामी पनि घरमै भए पनि रमाइलो गरौँ न भन्ने सोचेर मेरो पालोअनुसार मेरा साथीहरूलाई बोलाउन फोन गरेँ। सबै साथीहरूले सहर्षै मेरो अनुरोधलाई स्विकारे तर एकजनाले भने दुखी हुँदै आफू सहभागी हुन नसक्ने बताई। मैले अनेक अनुरोध गरेपछि मात्र उसले आफू सहभागी हुन नसक्नुको कारण बताई।
कुराकानीका क्रममा मैले क्यानडामा रहेका उसका श्रीमानका भाइ बुहारी दसैँ मनाउन घर आएको कुरा थाहा पाएँ। ऊ र उसका श्रीमान् घरमै बुढा भएका बुवा आमासँगै बस्थे। उसलाई अरू समयमा बिरामी सासू ससुरालाई घरमा एक्लै छोडेर घुम्न हिँड्ने वातावरण थिएन। अन्य समयमा हुने साथीहरूको जमघटमा उसलाई उपस्थित हुन एकदमै गाह्रो हुन्थ्यो, यदि आइहाले पनि छिट्टै निक्लिनुपर्ने बाध्यता थियो र त्यो कर्तव्य पनि थियो। तर घरमा अहिले त सासू ससुराको हेरविचार गर्न केही दिनका लागि कोही त छ भनेर ढुक्कसँग हिँड्न नमिल्ने उसको कुराको भाव थियो।
'बुवा आमाले पनि उनीहरूलाई घरको सदस्यभन्दा पनि पाहुनाको जस्तो व्यवहार गर्नुहुन्छ, कतिबेला चिया नास्ता, कति बेला खाना, कति बेला के कति बेला के सबै चिजहरू बनाएर खुवाउन मलाई भन्नुभएको छ। त्यसमाथि उनीहरूका साथीभाइको जमघटका लागि पनि सबै मैले नै तयार गर्नुपर्छ।'
त्यसैले ऊ हामीसँगको जमघटमा उपस्थित हुन नसक्ने भई। उसले मसँग कुरा गर्दागर्दै 'बुवालाई औषधि खुवाउन ढिला हुन्छ, म फोन राख्छु' भन्दै हतारिँदै गई। मेरी साथी ऊ त्यही बुहारी थिई जसका सासू ससुराले उसलाई र उसको श्रीमानलाई आफन्तहरूबीच कुरा गर्दा कहिल्यै पनि प्रशंसा गरेनन्। जहिले प्रत्येक पल आफ्ना बुवामाको स्याहारलाई कर्तव्य ठान्दछन् उनीहरूको तुलनामा आफ्ना विदेशमा बस्ने छोरा बुहारी जसले एक हप्तामा मुस्किलले १/२ पटक मात्र आफ्ना बुवा आमालाई फोन गर्न फुर्सद पाउँछन्, उनीहरूको बढी प्रशंसा गरिरहेका हुन्छन्।
विदेशमा बस्नेहरूले आफ्ना आमाबुवाका लागि सोच्दै सोच्दैनन् भन्न खोजेको होइन तर नेपालमा आफ्ना आमाबुवासँग बसेर काम गर्नेहरूले पनि सानो त्याग भने गरेका हुँदैनन्। त्यो त्यागलाई कम्तीमा सबैले कदर गर्न त सिकौँ जसले सबैलाई हौसला मिलोस्।
माथि उल्लेखित पात्र र घटना त प्रतिनिधि घटना र पात्र मात्र हुन्। हाम्रो समाजमा प्रत्येक जसो परिवारका सदस्यहरू, साथीभाइका बीचमा यो घटना सामान्य जस्तै भइसकेको छ। हैसियत समान भएकाहरू तर भिन्नताका रूपमा स्वदेशमै बस्ने र विदेशमा बस्नेहरूबिच गरिने विभेदको प्रत्यक्षदर्शी बनिरहेका हाम्रा सन्तानहरूलाई हामी आफैले विदेशप्रतिको मोह जागृत गराइरहेका छौँ।
आफ्नै गाउँघरमा बसेर आफ्नो व्यवसाय चलाएर बसेको मान्छेभन्दा जति नै विकसित देशमा बसेको मान्छे किन नहोस् गाउँघरमा समस्या पर्दा सजिलै र छिट्टै उपस्थित हुन सक्ने भनेको गाउँघरमै बसेको मानिस हो। उनीहरूबीच हुने मूल्याङ्कन, व्यवहार, भेदभावका कारण पनि हाम्रै परिवारमा हुर्किँदै गरेका स–साना नानीबाबुको दिमाग पनि नराम्रो असर परिरहेको हुन्छ। जसले गर्दा विदेशिनेको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ।
उनीहरूका अगाडि कुरा गर्दा नेपालका बारेमा जहिले पनि नकारात्मक कुराहरू मात्र गरिरहेका हुन्छौँ। हाम्रो देश बनाउने जिम्मेवारी हामी प्रत्येक नागरिकको होइन? केही नयाँ विषयका बारेमा सिप, ज्ञान हासिल गर्न विश्वका शक्तिशाली, विकसित राष्ट्र जाने र त्यहाँको सिकेको सिप र ज्ञानलाई स्वदेशमा आएर लगाउने हो भने हाम्रो देश पनि विकसित हुन कति पो समय लाग्ला र? तर यसका बारेमा हाम्रा सन्ततिहरूमा इच्छाशक्ति जागरूक गराउने जिम्मा कसको? उनीहरूको मस्तिष्कबाट विदेशप्रतिको मोह हटाउने कसले?
सभ्य हुनलाई, परिवार र समाजबाट सम्मान, माया र इज्जत पाउनलाई अमेरिका, क्यानडा, जापान, अस्ट्रेलिया, बेलायत लगायतका देश मात्रै जानुपर्दैन। समाजलाई सकारात्मक दिशातर्फ लैजान महत्त्वपूर्ण भूमिका निर्वाह गरी आफ्नो ज्ञान, सिप र क्षमतालाई स्वदेशमै लगानी लगाउन सकियो भने यहाँ पनि इज्जत, माया, सम्मान पाउन सकिन्छ भन्ने उदाहरणसहितको मानसिकताको विकास हाम्रा सन्ततिमा गराउनु आजको टड्कारो आवश्यकता हो।