लोग्नेसँग मुख नलाग्नू, सासूले भनेको सबै मान्नू, ससुराको स्याहारसुसार गर्नू, सानो भएर बस्नू , बिहान सबेरै उठ्नू , आदि इत्यादि अर्तिहरू दिमागभरी बोकेर आमा कलिलो उमेरमै दुलही बनेर घर भित्रिनु भो। अर्ति पनि के भन्नु पूरापूर निर्देशन नै भनौं या चेतावनी नै भने पनि हुन्छ।
बिहे भइ आएको तेस्रो साँझ रातिको खानापछि सासूले भन्नुभो, 'बुहारी, गाग्रीमा पानी सकिएको छ। भोलि सबेरै उठेर पँधेरी जानू है!' नवदुलही किशोरी मेरी आमाले आज्ञाकारी जवाफ दिइन्। 'हुन्छ आमा।'
सबै भान्साका धन्दाहरू गरिसकेर आमा भोलिको लागि तयारीमा जुट्नु भो। स्टिलको डबकामा एक दुई मुठी खरानी राख्नु भो। त्यसमा अलिकति पानी मिसाएर घोल बनाउनु भो। दुई चार पत्ता मकैका खोसेलाहरुू लिनुभो र त्यसलाई खरानीको उक्त घोलमा चोपेर त्यसैले गाग्री मस्काउनु भो। पखालेपछि गाग्री सफा चट्ट देखियो। सबै धन्दा सकिएपछि आमा सुत्न भनेर बुइगलतिर निस्कनु भो ।
भोलि बिहानै झिसमिसेमै उठ्नु थियो। 'निदाइ पठाए भने त बर्बाद हुन्छ। भुसुक्कै सुतिगएँ भने?' आमालाई छट्पटी भो।
रात कति बित्यो होला? उज्यालो खस्न कति बाँकी छ होला? पँधेरीमा कोही साथी भेट्छु भेट्दिनँ होला? एक्लै परेर भूतप्रेतसँग भेट भो भने? लगातार यही डर, सोच, चिन्ता र सचेतनाले गर्दा आमा पटक्कै निदाउन सक्नुभएन। कोल्टो फेरेको फेरेकै हुनुभो। निकै लामो तनावग्रस्त स्थितिपछि दिमाग र आँखा दुबै थाके होलान् आमालाई थोरै निद्रा पर्ला जस्तो भो।
आमा केहीबेर झोकाउनु के भएको थियो बिउँझिनु भो। हतार हतार गाग्री टिप्न पुग्नु भो र अन्धाधुन्ध आँखा मिच्दै जूनको उज्यालोमा पँधेरीतिर फटाफट लम्किनु भो। के कति बजेको हुँदो हो; उज्यालो भैसकेको हो कि हैन आमालाई केही अत्तोपत्तो भएन। कुनै अरू कुराको हेक्का रहेन। केवल पँधेरी जानु छ पानी भरेर ल्याउनु छ। त्यत्ति याद छ। गोडाहरू आफैं स्वत:स्फूर्त रूपमा पँधेरीतिर दौडिए।
घरबाट टाढै थियो पँधेरी। लगभग बीस/ बाइस मिनेट लाग्थ्यो। बीस/ बाइस मिनेट भनेको रित्तो ज्यान दिउँसो हिँड्नेहरूलाई त नजिक लाग्न सक्ला तर झिसमिसे अँध्यारोमा त्यो पनि भरिएको गाग्री बोकेर हिँड्ने गृहिणीहरूलाई पक्कै पनि टाढा हो। आमा हस्याङ्फस्याङ गर्दै डरसरी पँधेरी पुग्नुभो। पँधेरीमा कोही थिएनन्। आमा एक्लै पर्नुभो। आमाको हंसले ठाउँ छोड्यो। केवल जूनेली वातावरणमा पानी टिल्पिल टिल्पिल टल्किएको देखिन्थ्यो। सँगैको बिजुवा खोला स्वाँ... गरेर बग्दै थियो। आमाले दायाँ बायाँ तलमाथि कतै नहेरी एक सासमा पानी भर्नुभो। उहाँलाई सिर्फ जसोतसो एक गाग्री पानी भरेर त्यहाँबाट भाग्नु थियो र छिटोछिटो घर पुग्नु थियो। भरिएको गाग्री कम्मरमा बोकेर घरतिर लाग्नु भो। केही मिनेट उकालो चढेपछि पँधेरी र बिजुवा खोला तल छुटे। आमाको थोरै सास आयो। अब बाँचियो भनेर लामो सास लिनुभो।
खरबारी पाखैपाखा आमा उकालो चढ्दै हुनुहुन्थ्यो अचानक खुट्टा चिप्लियो। उहाँ लड्नु भो। गाग्री पाखैपाखा गुल्टिएर उही तलको बिजुवा खोलामा खस्यो। आफू लडेको होस भएन आमालाई। केवल गाग्री खोलामा लडिझरेको मात्रै होस रह्यो। अब आमाको सातो पुत्लो उड्यो। भूत प्रेतको डरभन्दा पनि हराएको गाग्री र घरका मान्छेहरूले मार्छन् भन्ने डरले आमा झनझन् ग्रसित हुनुभो। नयाँ बुहारी जो हुनुहुन्थ्यो। भूतले तर्साए पनि तर्सावस् मुर्कुटाले खाए पनि खावस् , आमा गाग्री खोज्न खोलातिर छिटोछिटो ओर्लनु भो। आमा अर्धचेत अवस्थामा अन्धाधुन्ध गाग्री खोज्न लाग्नु भो। गाग्री निकै तल बिजुवा खोलाको एउटा दहमा आधा डुबेको आधा तैरिएको अवस्थामा भेटियो। भुइँमा भेटिएको उत्तीसको हाँगाको सहायताले आमाले गाग्री दहबाट निकाल्नु भो। धन्न गाग्री खरबारी हुँदै दहमा गएर बजारिएकोले कुनै क्षति भएनछ। गाग्री नफुटेकोमा आमा खप्की खाने डरबाट मुक्त हुनुभो। नयाँ बुहारी पानी भर्न गई; गाग्री फुटाएर आई भन्ने कुराको डर।
गाग्री भेटिएपछि आमा बिजुलीको गतिमा फेरि दौडदै पँधेरी निस्कनु भो। हतारहतार गाग्री पखाल्नु भो। छिटोछिटो पानी भर्नु भो र बाटो लाग्नु भो। यो सब यति छिटो भयो कि मानौं आमा एक रोबट हुनु भो। मानौं कि रोबटलाई सबैभन्दा उच्च गतिमा 'सेट' गरियो। रोबट बनेकी आमाले यो सब एकै सासमा गर्नुभो। एकै झट्कामा भ्याउनु भो।
घर आइपुगेर पानी भान्सामा बिसाएपछि आमा चुपचाप सिरकभित्र घुस्रिनु भो। भर्खरै भएका सम्पूर्ण घटनाले आमा भित्रैदेखि काँपिरहनु भएको थियो। घर आएको धेरै बेरसम्म पनि कुनै चहलपहल भएन। आफ्ना श्रीमान मस्त निदाइरहेकै थिए। धेरैपछि मात्रै भालेको पहिलो डाँक सुनियो। आमालाई बल्ल थाहा भयो कि उज्यालो त भर्खर पो हुन लागेछ। डरले आमाको पूरै आङ सिरिङ्ग भो। टाउको फुलेर आयो।
भोलि भयो, पर्सि भयो, हप्ता, महिना, सालहरू भए आमाले यो कहालीलाग्दो कथा कसैलाई सुनाउनु भएन।
यसरी गाग्रीको त्यो कथा आमाको लागि जीवनभरी झस्काइरहने एउटा डरलाग्दो कथा हुन गयो जसलाई आमाले सपनामा समेत बेलाबेला देख्ने गर्नु हुन्थ्यो र ऎँठन पर्नु हुन्थ्यो। त्यो एउटा 'ट्रमा स्टोरी ' हुन पुग्यो। जबकी आफ्नो जिन्दगीमा भर्खरै जोडिन आइपुगेका आफ्नो पुरूष अर्थात् आफ्नो श्रीमानले पँधेरो जाँदा साथ दिएका थिए भने त्यसरी गाग्री खस्नु, त्यो जूनको उज्यालोमा गाग्री खोज्न जानु, फेरि पानी भरेर घर फर्कनु आमाको निमित्त एउटा रोमाञ्चक कथा हुन सक्ने थियो। तब त्यो मीठो सम्झना बनेर उहाँको मानसपटलमा जीवित हुन जाने थियो।
हो, त्यसरी त्यो कथा अलग हुन सक्थ्यो।अफशोच्! आफ्नी श्रीमतीलाई पानी भर्न जाँदा साथ दिने पुरूषलाई; घरधन्दामा श्रीमतीलाई हात दिने लोग्नेलाई उक्त समाजले स्वास्नीको फरियामा बेरिएको 'नामर्द' मानेको थियो।
अत: आफ्नी जीवनसङ्गिनीलाई सहायता गर्न हिच्किचाउने संस्कारको कुनै पनि सानो या ठूलो अवशेष यदि कसैमा आजको युगमा पनि जिउँदो छ भने उसले आफूले आफूलाई पुरूष नभनोस्। उसले कमसेकम आफूलाई कसैको लोग्ने हुँ चाहिँ ठान्दै नठानोस्।