माथिको शीर्षक पढ्दा सबैलाई लाग्न सक्छ, के मानिसले आफूले आफूलाई चिनेको छैन त?
के अहिले मानिस आफ्नो स्थितिमा छैनन् त ?
वास्तवमा अहिले अधिकांश मानिसले आफ्नो स्व–स्थिति (मानव स्थिति) बाट चिप्लिएर आफूलाई वास्तविक रूपमा नचिनी विभिन्न रूपमा चिन्ने र चिनाउने गरेको पाइन्छ।
कसैले आफूलाई जातिका रूपमा चिनाउने गर्छन् त कसैले संस्कारका रूपमा भने कसैले पेशाको रूपमा। जस्तै–म डाक्टर, म पत्रकार, म इन्जिनियर, म नेता आदि। चिन्ने व्यक्तिले पनि त्यही भनेर चिन्छन्। सबैको पहिलो स्थिति भनेको हामी मानिस हौं। डाक्टर, इन्जिनियर, पत्रकार, नेता भनेको त विषयज्ञान आर्जन गर्दै जाँदा, काम गर्दै जाँदा पाउने उपाधि न हुन्।
पहिला त हामी सच्चा मानव हौं भन्ने बुझ्न जरूरी छ। हामी त आफूले आफैंलाई नचिनेर आफ्नो स्व:स्थितिबाट चिप्लेर रोगी र दुःखी भएका छौं।
संसारका सबै मानिसलाई तपाईं के चाहनु हुन्छ भनेर सोधेमा एउटै उत्तर आउँछ 'निरोग, आनन्द र स्वतन्त्र।' अर्थात् शरीरमा कुनै पनि आइया... आत्था नभएको र मनमा कुनै पनि अप्ठ्यारो नभएको अवस्था। जे गरे पनि सबैले खोजेको एउटै हो निरोगआनन्द।
योगले मानिसलाई रोग र दुःखबाट मुक्त गराई म को हुँ? शरीर, मन र आफू के हो ? मानिसको कर्तव्य के हो? यो जगत के हो? भन्ने सत्य ज्ञानको बोध गराउँछ। मानिसलाई स्व–स्थितिमा कायम राखि शारीरिक रोग र मानसिक दुःखबाट मुक्त हुन र निरोग आनन्दमय जीवन जिउन सिकाउँछ।
त्यसैले आज संसारभर योगको चर्चा चलेको छ। योगलाई महत्व दिएर विश्वले जनवरी २१ मा योग दिवस मनाउने गरेको छ। त्यसैगरी हाम्रो देशमा पनि माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ।
अहिले योगलाई सही अर्थमा नबुझेर कतिले व्यायामका रूपमा त कतिले आसन, प्राणायाम र ध्यान मात्र योग हो भन्ने बुझेका छन्।
योगमा गरिने व्यायम–आसनले शरीरलाई लचिलो र बलियो बनाई शारीरिक स्वास्थ्य र योग शास्त्रले मनलाई लचिलो र दरिलो बनाई मानसिक रुपमा स्वस्थ बनाउँछ। यसका लागि कुनै ठूलो कुरा गर्नु पर्दैन, आफ्नो शरीरलाई ठेगानमा र मनलाई सफा राखे पुग्छ।
मनमा फोहोर कहाँबाट आउँछ?
मनको फोहोर के हो? मनको सफाइ कसरी गर्ने भन्ने बुझ्न योगको आधिकारिक शास्त्र पतञ्जली योग शुत्रलाई बुझ्नुपर्छ। महर्षी पतञ्जली, पतञ्जली योग शास्त्रका प्रस्तोता हुन्। उनले योगलाई सरल रूपमा पस्कने र बुझाउने काम गरेका छन्।
पतञ्जली योग शुत्रको अध्याय १ को शुत्र नं २ मा भनिएको छ–चित्तवृत्ति निरोग भएको अबस्था नै योग हो।
३ मा भनिएको छ–चित्तवृत्ति निरोध भएको अबस्थामा मान्छे आफ्नो स्वरुपमा अवस्थित हुन्छ।
र ४ मा भनिएको छ–अन्य अबस्थामा व्यक्ति वृत्ति जस्तै अर्थात् व्यक्तिको मनमा जस्तो विचार छ त्यस्तै देखिन्छ।
यी ३ शुत्रलाई राम्रोसँग बुझे मात्र पनि पूर्ण योगीको जीवन यापन गर्न सकिन्छ।
चित्त के हो–मन, विचार आउने ठाउँ।
वृत्ति के हो–मनमा आउने अनुचित विचार जुन सकारात्मक पनि हुन सक्छ नकारात्मक पनि हुन सक्छ।
मनपर्ने, मान्ने, मिठो, राम्रो सकारात्मक वृति, मन नपर्ने, नमान्ने, घृणा, नराम्रो नकारात्मक वृत्ति।
निरोध के हो–नभएको वा नाश भएको अवस्था।
यसरी महर्षी पतञ्जलीले चित्त अर्थात् मनमा आउने अनुचित विचारलाई मनमा रहेको फोहोर भनेका छन् भने मनमा यी विचार नभएको अवस्थामा व्यक्ति योगको अबस्थामा रहन्छ। अन्य अवस्थामा व्यक्तिको मनमा जस्तो अनुचित विचार रहन्छ, जुन फोहोर वा वृत्ति रहन्छ, व्यक्ति त्यही वृत्ति जस्तै देखिन्छ भनिएको छ।
उदाहरणका लागि व्यक्तिको मनमा चोरुँचोरुँ भन्ने फोहोर विचार रह्यो भने त्यो चोर जस्तो देखिन्छ। रिसाउँ, रिसाउँ जस्तो विचार रह्यो भने रिसाहा जस्तो देखिन्छ। पूजा गरुँगरुँ जस्तो विचार रह्यो भने धार्मिक जस्तो देखिन्छ। झुटो बोलुँबोलुँ जस्तो लाग्यो भने झूटो देखिन्छ।
तर्सथ मनमा विकार (मन यता उति नढल्किएको अवस्था) नभएको अर्थात् मन सफा रहेको अवस्था नै योगको अवस्था हो।
वृत्ति तथा मनोविकारलाई हटाउन के गर्नु पर्छ?
मनलाई सफा गर्न योग शास्त्रमा योगका आठ अंग प्रस्तुत गरिएको छ जसलाई अष्टाङ्ग योग भनिन्छ।
अष्टाङ्ग योग
मनलाई सफा गरी विवेकज्ञान जागरण गराउन अष्टाङ्ग योगमा ८ अंग छन्।
१. यम,
२. नियम,
३. आसन,
४. प्राणायाम,
५. प्रत्याहार,
६. धारण,
७. ध्यान र
८. समाधि।
१. यमः अष्टाङ योगको पहिलो अंग यम व्यक्तिले अरुको सम्बन्धमा अपनाउनुपर्ने आचार संहिता हो। यमका पनि पाँच अंग छन्:
क. अहिंसा–अहिले अहिंसा भन्ने वित्तिकै काटमार नगर्नु भन्ने बुझिन्छ। काटमार नगर्नु मात्र होइन, अहिंसाको पूर्ण अर्थ हो मन, वचन र कर्मले कसैको हानि नहुने काम गर्नु हो। मन भन्नाले विचार गरेर कसैलाई हानि होस् भन्ने कुविचार नगर्नु, वचन भन्नाले कसैलाई गाली गर्ने, नराम्रो बोल्ने, अपशब्द बोल्नु, कर्म भन्नाले शरीरका हातखुट्टा हल्लाएर अरुलाई पिट्ने, काटमार गर्नु हिंसा हो। यी तीनै किसिमले अरुलाई हानि नहुने काम गर्नु नै अहिंसा हो।
सरल भाषामा भन्नु पर्दा कुनै पनि प्राणीलाई नमार्नु, काटमार नगर्नु, अरुलाई अप्ठेरो नगराउनु अहिंसा हो।
ख.सत्य–ज्ञानको बोध हुनु। जे हो त्यो हो र जे होइन त्यो होइन भनेर बुझ्ने सत्य ज्ञान। कुनै पनि परिस्थितिमा निहित स्वार्थका लागि झुटो नबोल्नु, नभएको कुरा नबोल्नु नै सत्य ज्ञान हो।
ग. अस्तेय–चोरी नगर्नु। अर्थात् आफ्नो हक नहुने कुरा कुनै पनि माध्यमबाट नलिनू।
घ. ब्रम्हचर्य–ब्रम्हचर्यको शाब्दिक अर्थ हो आनन्दका लागि यौन संसर्ग नगर्नु, विवाह नगर्नू।
के योगले विवाह नगर्नु भनेको हो ?
अहिलेको संसारमा योगी भनेको दाह्री पालेर, घर त्याग गरेर, पहेंंलो वस्त्रमा जंगलमा एक्लो बस्नु हो कि भन्ने लाग्न सक्छ। योगी बन्न पहेंलो बस्त्र लगाएर, दाह्री पालेर, घर त्याग गरेर जंगलमा गएर एक्लो भई ध्यानमा लिन हुनुपर्दैन। गृहस्थ जीवनमै रहेर पनि सरल योगीको जीवन विताउन सकिन्छ।
ब्रम्हचर्यको पूर्ण अर्थ हो भोगका लागि, आनन्दका लागि, विलासिताका लागि यौन संसर्ग नगर्नु। यौन संसर्गबाट मज्जा आउँछ भनेर त्यसको धेरै भोग नगर्नु। ब्रम्हचर्यको शील भनेको सृष्टि अगाडि बढाउन, सन्तान उत्पादन गर्न आवश्यक यौन संसर्ग हो। यौन संसर्ग नगर्नु नै ब्रम्हचर्य हो भनेर बुझेमा संसारमा सृष्टि नै अगाडि बढ्न सक्दैन। तर्सथ गृहस्थ जीवनमा बसेर पनि पूर्ण रुपमा ब्रम्हचर्य पालना गर्न सकिन्छ।
ङ.अपरिग्रह–आफूलाई आवश्यकताभन्दा बढी केही पनि चिज भोग विलासिताका लागि नथुपार्नु।
आफू र परिवारका लागि चाहिएको भन्दा बढी संचय नगर्नु। कुनै पनि माध्यमबाट अरुको चोरी, डकैती, घुस आदि नलिनू। आवश्यकताभन्दा बढी भएको समाजबाटै आएको हो, त्यसैले समाज कल्याणमै प्रयोग गर्नु।
यमका यी सामाजिक मूल्यलाई पालना गरी सरल व्यक्तिका रुपमा रुपान्तरण गर्न सिकाउँछ।
२. नियमः यमले सामाजिक मूल्यलाई पालना गरी सरल व्यक्ति बनाउँछ भने नियमका पाँच अंगले आफैंप्रति अनुशासित हुन, आफ्नो भित्री र बाहिरी सफाई गराई सरल व्यक्तिका रुपमा रुपान्तरण हुन सिकाउँछ। नियम व्यक्तिले आफैं प्रति पालना गर्नुपर्ने आचर संहिता हो।
क. शौच–फोहोर त्याग गर्नु। हामी शौचालयमा मल त्याग गर्छौं। तसर्थ शौचको अर्थ हो विकार वा मल त्याग गर्नु।
के शौचको अर्थ दिसा/पिसाब मात्र त्याग गर्नु हो त ?
सबैले बुझेको यहि नै हो। तर योगमा शौचको पूर्ण अर्थ हो शरीरको भित्री, बाहिरी सफाई र मनको सफाई अर्थात शरीर र मनको विकार फाल्ने।
शरीरको भित्री सफाई अर्थात् पेटको सफाई–पेटको सफाई भन्नाले शरीरको विकार फाल्ने र शरीरलाई स्वस्थ राख्ने अभियान हो।
पेटको सफाइ हुन कस्तो आहार हुनुपर्छ ?
यसका लागि हरेक व्यक्तिले आफ्नो शरीरलाई मापदण्ड बनाएर के खाँदा, पिउँदा शरीरलाई ठिक हुन्छ, के गर्दा शरीरलाई बेठिक हुन्छ भन्ने सजिलै बुझ्न सकिन्छ। प्रकृति प्रेमी समूहले स्वस्थ रहन सबैले सजिलै खान सकिने ३ बराबर आहार शुत्र प्रस्तुत गरेको छ।
तीन बराबर आहार के हो ?
- हामीले लिने ठोस अंश एक दलिय अन्न (भात, रोटी, ढिडो, च्याख्ला आदि)बाट एक भाग(३३%)
- हरियो तरकारी वर्गबाट एक भाग(३३%)
- अन्तमा काँचो सलाद फलफूल वर्गबाट एक भाग(३३%)
यसरी सम्भव भएसम्म एकचोटिमा यी ३ चिजको बरोबर मात्रा मिलाएर खाएमा पाचन राम्रो भई पेट सफा हुन्छ।
तौल बढी छ भने तौल घटाउने हिसाबले ४ बराबर आहार लिइरहेको ठोस अंश अन्नबाट २५ प्रतिशत घटाएर हरियो तरकारी र सलाद बढाउने। यसरी मिलाएर लिंदा अनावश्यक तौल हप्तमा १ किलोका दरले सजिलै घट्छ।
पानीको नियम
पेट खलाँस गर्न हरेक व्यक्तिले विहान उठ्नेबित्तिकै करिब १ लिटर मनतातो पानी पिउने। यसले आन्द्रालाई फल्स गरेर शौच पूर्णरूपमा निष्कासन गर्न सहयोग गर्छ।
- दिनमा प्रति घण्टा एक एक गिलासका दरले पानी पिउने।
- कुनै पनि ठोस आहारसँग पानी नलिने, करिब १ घण्टाको फरक गर्ने।
- सुत्नु अगाडि १ गिलास पानी पिउने।
यसरी आहार र पानी मिलाएर बिहान सबेरै पेट सफा हुन्छ। पेट सफा भए दिमाग सफा हुन्छ, शरीर हल्का हुन्छ। र दैनिक गर्नुपर्ने काम गर्न सकिन्छ।
बाहिरी सफाइ–शरीर बाहिरको सफाई भन्नाले मिलेसम्म दिनहुँ शरीर नुहाउने। र सफा लुगा लगाउने। बाहिरी सफाई यतिमा मात्र सिमित नभई आफु बस्ने कोठा, घर, आँगन वरपरको सफाई पनि हो।
घर भित्रको सफाई–उठ्नेवित्तिकै ओच्छ्यान मिलाउनेदेखि सामानहरू ठिक ठाउँमा राख्ने, कोठा सफा गर्ने आदि। दिनको सुरुवात आफू सुतेको ओच्छ्यान मिलाएर गर्नुपर्छ।
घर बाहिरको सफाईः घरको भित्र सफाई संगै घर बाहिरको सफाई पनि अनिवार्य छ। फोहोर बाटोमा फाल्ने वा अरुतिर फाल्ने नगर्ने। सम्बन्धित ठाउँमा राख्ने, आँगन वरपर, आफू हिँड्ने बाटोसम्म पनि सफा राख्ने।
मनको सफाइ:
- सबैभन्दा महत्वपूर्ण मनको सफाई। मनको सफाई कसरी गर्ने त भन्दा बिहान उठ्नासाथ सबैलाई धन्यबाद दिने
- सबैको कल्याण होस् र सबैको कल्याण हुने काम गरौं भन्ने भाव राख्ने
- आज म रिसाउँदिन, चिन्ता गर्दिन, कसैप्रति बेइमानी र्गिर्दन। सबैलाई प्रेम सम्मान गर्छु भन्ने भाव राख्ने।
ख. सन्तोषः असन्तुष्ट नभएकोे अवस्था अर्थात् सन्तोष हुन खोजेर होइन कि आफूसंग भएको चिजमा असन्तुष्ट नहुने अवस्था नै सन्तोषको अवस्था हो। आफ्नो ५ इन्द्रियबाट केही गरेर, हेरेर, छोएर, खाएर, सुनेर, लिएर सन्तोष हुने काम नगर्नुर्।
ग. तपः तप भनेको जंगलमा वा एकान्त ठाउँमा बसेर आँखा चिम्लेर बस्नु हो भन्ने कतिपयको बुझाई छ। तपको मुख्य अर्थ हो गर्नुपर्ने काम निरन्तर गर्नु अर्थात् जुनसुकै गरेको काम टुङ्गोमा पुग्ने गरी गर्नु हो।
घ.स्वाध्यायः को अर्थ हो स्वअध्ययन। विवेक, ज्ञान जगाउन स्वाध्याय गरेमा विवेकज्ञा जागरण हुन्छ। सबैको भलाई हुने विषयमा चिन्तन, मनन र स्वअध्ययन गर्नू
ङ. ईश्वर प्रणिधानः ईश्वर जस्तै बन्नु।
ईश्वर को हो?
पतञ्जलि योग शुत्रमा भनिएको छ, क्लेश, कर्म, विपाक र आशयबाट मुक्त व्यक्ति नै ईश्वर हो।
क्लेश के होः मनमा कुनै पनि दुःखकारी भाव (तनाव, चिन्ता, रिस, मोह, डाहा, इश्र्या) नकारात्मक विचार नभएको अवस्था।
कर्म के होः सकाम कर्म नगर्ने निस्काम कर्म गर्ने व्यक्ति।
विपाकः प्रकृतिको नियमअनुसार हामीले जे काम गर्छौ त्यसको त्यहिअनुसार फल लाग्छ। फल लाग्ने वा नलाग्ने प्रकृतिको नियम हो तसर्थ फलको आशा नगरी गर्नुपर्ने काम गर्नु अर्थात फलको आधारमा खुसी वा दुःखी नुहुने र गर्नुपर्ने काम निरन्तर गर्ने।
आशयः काम, वासना, यो काम गरेर यसो गरौंला, मोजमज्जा गरौंला भन्ने भाव नभएको।
यी चार गुणबाट मुक्त व्यक्ति विशेष नै ईश्वर जस्तै मानिस हो।
तर अचेल यो सत्यलाई नबुझी ईश्वर प्रणिधान भनेको मन्दिरमा गएर पूजा गरेर भोग दिएर ईश्वरलाई खुसी पारेर ठिक होला कि भन्ने बुझाई छ। कामना गरेर होइन, कि ईश्वरले गरे जस्तै काम गर्ने, ईश्वरले जस्तै सही विचार गर्ने, कुनै पनि कर्ममा आशक्ति नुहने, कुनै पनि फलमा आशा नगर्ने, विषय भोगबाट खुसी हुन नखोज्ने यो इश्वरको गुण दैनिक व्यवहारमा गरेर परकल्याणकारी काम गर्ने अवस्था नै इश्वर प्रणिधान हो।
३. आसनः स्वास्थ्यलाई कायम राख्न र शरीरलाई बलियो र लचिलो बनाउन योगमा विभिन्न आसन छन्। योगमा गरिने व्यायाम आसनहरूले शरीरका सम्पूर्ण जोर्नीलाई सरल ढङ्गले संचालन गर्न सहयोग गर्छ, शरीरमा लचकता बढाई आनन्दसँग आसन गर्न सक्ने र स्वस्थ बनाउन सहयोग गर्छ।
४. प्राणायामः प्राण र आयाम दुई शव्द मिलेर बनेको प्राणको अर्थ जीवनीशक्ती र आयाम भनेको विस्तार। जीवनी शक्तिको विस्तारका लागि स्वास लामो बनाउने, नियन्त्रित स्वासप्रस्वास, आफ्नो इच्छाले स्वास तान्ने र छोड्ने विधी। प्राणायामको उदेश्य दुबै नाकलाई खोल्नु, श्वासको माध्यमबाट शरीरको विकार निष्काशन गर्नु हो।
५. प्रत्याहारः इन्द्रियहरूको बसमा होइन कि इन्द्रियहरू आफ्नो बसमा रहन्छ। इन्द्रियहरूले विवेक बुद्धि अनुशरण गर्न थाल्नु इन्द्रियलाई आफ्नो बसमा पार्नु प्रत्याहार हो।
६. धारणाः कुुनै पनि विषयमा एकाग्र हुुुनु धारण हो।
७. ध्यानः धारणको निरन्तरता नै ध्यान हो।
अहिले ध्यानको नाममा अनेक विधि चलेका छन्। ध्यान गरेपछि दुःखबाट मुक्ति मिल्छ, आनन्द मिल्छ भनेर ध्यान गरिन्छ। ध्यान गर्दा मन विचार शून्य बनाउनु पर्छ र मन शून्य भएपछि मात्र ध्यान प्राप्त भएको मानिन्छ।
वास्तवमा मन कहिल्यै विचार मुक्त हुँदैन, मन यस्तो स्थान हो जहाँ विचार आइरहन्छ। तसर्थ ध्यान भनेको विचार शून्य अवस्था होइन। ध्यान भनेको शान्त र सक्रिय पूर्वक विचार गर्नु हो। म को हुँ, दुःख कहाँबाट आउँछ, बन्धन भनेको के हो, मुक्ति के हो भन्ने बारेमा टुङ्गोमा पुग्ने गरी विचार गर्नु हो। ध्यानः आँखा चिम्लिएर लठ्ठिनु होइन, आँखा खुल्ला रहेर सचेततापुर्वक चिन्तनमनन गर्नु, आफूले गरेको काम टुङ्गोमा पुग्ने गरी गर्नु नै साँचो ध्यान हो। यो जो कोही व्यक्तिले गर्नुपर्ने विषय हो।
८. समाधिः न दुःख, न रोगको अवस्था। मन शान्त, आनन्द जस्तो हुनुपर्ने हो, त्यही स्थितिमा रहेको अवस्था। शब गाडेको ठाउँलाई समाधिस्थल भनिन्छ। लाश नचल्ने, चुपचाप बस्ने शान्त अवस्थाको हुन्छ। त्यहि लाश जस्तो मन शान्त, स्थिर रहने अवस्था, चित्त आफ्नो स्वभाविक अवस्थामा रहेको अवस्थ समाधि हो।
योगका यी आठ अंगले मानिसमा भएको मानसिक विकार र शारीरिक रोगबाट मुक्त गराई योगको मार्गमा हिँड्न प्रेरित गर्दछ। बुझ्नु पर्ने कुरा यम नियमको पालना नगरिकन आसन, प्राणायाम ध्यानले मात्र योग सिद्ध हुँदैन। यम नियमका अंगहरूलाई व्यवहारमा पालना गरेपछि इन्द्रियहरू बसमा भई प्रत्याहार सिद्ध हुन्छ र त्यसपछि ध्यान, समाधिसम्म पुग्न सकिन्छ।
योग शास्त्रको आधिकारिक शास्त्र भन्नाले पतञ्जली योग शास्त्रलाई बुझिन्छ तर योगको उल्लेख शिव संहिता, हठयोग, श्रीमदभागवद गीतालगायत शास्त्रमा भएको देखिन्छ।
हठ योग
‘ह’ को अर्थ हो दायाँ, सूर्य, इडा, प्राण (दायाँ नाथ्रोबाट स्वास चल्नु)
‘ठ’ को अर्थ हो बायाँ, चन्द्र, पिंगला, अमान (बायाँ नाथ्रोबाट स्वास चल्नु)
तसर्थ हठ योगकोे उदेश्य दायाँँ–बायाँ दुबै नाथ्रोबाट समान रुपमा स्वास चलाउनु हो। जब दुबै नाथ्रोबाट समान रुपमा स्वास चल्छ तब शुषुम्ना नाडी चल्छ, जब शुषुम्ना नाडी चल्छ तब मानिसको मन विकार मुक्त भई मन आफ्नो स्थितीमा रहन्छ, हठ योग सिद्धि हुन्छ।
गीता योगः
“योगः कर्मशु कौशलम्” अर्थात् कर्मलाई कुशलता पुर्वक गर्नु नै योग हो।
गीता योगमा योगलाई तीन भागमा विभाजन गरी बुझिन्छ।
ज्ञान योगः सत्य कुरा जान्नु।
भक्ती योगः जानेको सत्य प्रति अटल रहनु।
कर्म योगः जानेको सत्य प्रति अटल रहेर कर्म गर्नु।
यहाँ सबैले बुझ्नु पर्ने कुराः यी ३ (ज्ञान, भक्ती र कर्म) योगको समग्र रुप नै पूर्ण योग हो, खण्ड रुप योग होइन। भक्ति र कर्म विनाको ज्ञान अपूर्ण हुन्छ, ज्ञान र कर्म विनाको भक्ति अन्धविश्वास हुन्छ र ज्ञान र भक्ति विनाको कर्म सही कर्म हुँदैन।
तसर्थ माथि उल्लेख गरिएका सबै योग शास्त्रको एउटै उदेश्य हो मानिसलाई शारिरीक रोग र मानसिक समस्याबाट मुक्त गराई शारिरीक र मानसिक रुपमा निरोग–आनन्दित बनाउनु।
शरीर स्वस्थ नभई मन स्वस्थ हुन सक्दैन र मन विकार मुक्त नभई शरीर स्वस्थ हुँदैन। प्रकृतिमा स्वस्थ रहने सरल पद्धतिको छ, उचित आहार, विहार, विचारको। शरीरलाई स्वस्थ राख्न उचित आहार र विहार हुनुपर्छ भने मनलाई स्वस्थ राख्न उचित विचार। मनिस रोग र दुःखबाट मुक्त हुन उचित आहार, विहार र विचारको सत्य ज्ञान हुनुपर्छ। उचित आहार, विहार र विचारको सत्य ज्ञानयोग भएपछि त्यसमा अटल रहेर भक्ति योग गर्दै उचित आहार, विहार र विचारलाई आफ्नो दैनिक कर्ममा उतार्ने काम भएपछि मात्र मानिस शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा आनन्दित हुनसक्छ। त्यस अवस्थामा मात्र मोक्ष, दुःख मुक्त भई निरोग आनन्दमा कायम हुन्छ, योग सिद्ध हुुन्छ। सामान्य मानिसमा रुपान्तरण हुन्छ।
अहिले योगी त बन्नै नसक्ने हो कि? योगी त कोही कोही मात्र बन्न सक्छ। योगी बन्न धेरै गाह्रो विषय हो कि भनेर योगलाई रहस्यमय रुपमा बुझ्ने वा बुझाउने गरिएको पाइन्छ। वास्तवमा योगी हुन गाह्रो छैन, योगी बन्न धेरै सरल छ, हामीले गर्नुपर्ने काम गर्ने र नगर्नुपर्ने काम नगरेपछि यो स्वतः हुने कुरा हो।
हरेक व्यक्ति जन्मँदा विकाररहित जन्मन्छन्, तसर्थ हामी सबै जन्मसिद्ध योगी (निरोग, आनन्दित, स्वतन्त्रको अवस्था) हौं तर समाजको प्रशिक्षण, परिवारको प्रशिक्षणले मनमा संस्कार रहन्छ र योगीबाट वियोगी भइन्छ जसले गर्दा मनमा रोग र दुःख हुन्छ। योग मानिसलाई अफु स्वस्थ रहदै अरुसंग समानता, प्रेम, सम्मानको सम्बन्ध राख्न सिकाउने विज्ञान हो।
योगलाई कुनै पनि रहस्यमय विचित्रका रुपमा नबुझी जस्तो हो त्यस्तै रुपमा बुझेर योगका अंगहरूलाई दैनिक जीवनमा पालना गरेमा जीवन सरल हुन्छ। योगका अंगहरू कुनै जाति, काल वा कुनै एक ठाउँका लागि मात्र होइन। संसारका सबै मानिसले स्वस्थ रहन पालना गर्नुपर्ने सार्बभौम साश्वत सत्य हो, अनुशासनका नियम हुन्। यो हाम्रा पुर्खाहरूले आफूमा परीक्षण गरेर हाम्रो अगाडि पस्केर गएको सत्य हो।
तसर्थ योगी हुनु भनेको ठूलो मान्छे हुने, असाधारण मान्छे बन्ने वा महान मान्छे हुने होेइन, योग भनेको शरीर, आफू र मनलाई बुझ्ने विज्ञान हो। के खाँदा शरीर स्वस्थ हुन्छ, के विचार गर्दा शरीरलाई हानि गर्छ त्यो नगर्नुे, शरीरको नियम पालना गर्नु हो। शरीरको नियम पलना गर्दा रिस, चिन्ता, बेइमानी गर्न छोडिन्छ र मन विकार मुक्त हुन्छ। यही अवस्थामा मान्छे मान्छे जस्तो हुन्छ। यही मान्छे मान्छेको अवस्थामा रहनु नै योगको अवस्था हो। निरोग आनन्दको अवस्था हो। जब मानिस शारीरिक रुपमा निरोगी र मानसिक रुपमा आनन्दित हुन्छ तब योग सिद्ध हुन्छ।
योगलाई आफ्नो जीवनको अंग बनाऔं।
योग अनुशासनलाई पालना गदै दैनिक योग गरौ। निरोगी बनौं।
सबैलाई अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना !
(महर्जन योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक हुन्।)
रामदेवीका थप लेखहरू पढ्न यहाँ जानुहोस्