‘छोरी, छोरी, छोरी। छैटौं पटकसम्म छोराको आशमा छोरी पाएँ। १५ वर्षको कलिलो उमेर भर्खर कोपिलाबाट फ्रकिन लागेको फूलजस्तै लहलाउँदो जवानी थियो। म मानसिक र शारीरिक रुपमा अब्बल थिइनँ। तर त्यहाँ समाजको तुलामा न त मेरो उमेरको लेखाजोखा हुन्थ्यो न त स्वतन्त्र इच्छाको। त्यसैले सानै उमेरमा विवाह बन्धनमा बाँधिएँ।
मेरा भर्खर उड्न तयार भएका पखेटा उड्न नपाउँदै कुँजिए। पहिलो पटक रजस्वला भएसँगै रहर र चाहनाहरू त्यही रातो रगतमा मडारिँदै कहालीलाग्दो हुँदै बग्दै-बग्दै बगरमा गएर मिसिए। अन्जान म हुँदाहुँदै पनि त्यो राम्रोसँग बन्न नपाएको मेरो पाठेघरमा पत्तै नपाई मानव जातको भ्रुणले बस्ती बसाएछ।
सुरुमा अत्तालिएँ तर त्यो अत्तालिनु त एउटा सुरुआत मात्र रहेछ। त्यसपछि अतुलनीय पीडा र दुःखहरू पिछाउँदै-पिछाउँदै प्रशव पीडासम्म पुगेँ। अन्ततः पहिलो सन्तानको रुपमा छोरी जन्माएँ। त्यसपछि लगातार छ छोरी भए।
पहिचानपश्चात गर्भमा छोरी छ भन्ने थाहा पाएपछिका गर्भपतन त कति-कति। कतिपय ९ महिना नपुग्दै खेर जान्थ्यो। त्यो सिथिल शरीर, कति गाह्रो! त्योभन्दा नि गाह्रो सदियौंदेखि पितृसत्तात्मक र लैंगिक विभेदको पानीघट्टामा पिसिँदै आएको तिरस्कार। त्यसमा पिसिने अपमानको भयावह घान।’
यति भन्दै गर्दा लामो सुस्केरा आन्टीको मुखबाट विस्तारै निस्कियो।
उहाँको कुरा सुनेपछि एकछिन आफू पनि छोरी भएर जन्मनुमा धिक्कार लाग्यो। दिमाग तात्यो आफू स्वयम् छोरीकी आमा हुनुमा, यो समाज र राज्यका छोरी सम्झँदा। कतिसम्म विभेदको खाडल आखिर छोरी जन्माएकै कारण र छोरो नजन्माएकै कारण।
आखिर मानव त मानव नै हो नि हैन र? त्यही लिंगकै कारण यति विभेद? त्यही योनीबाटै जन्मेर पनि यति यातना र अपनाम? अहो! यसो आँखा उघारेर हेर्दा पनि सकस, सुन्दा पनि उकुसमुकुस लाग्यो। कस्तो समाजमा जन्मिएछु?
एकछिन मनमनै ती अंकलआन्टीलाई गाली गरिरहेँ। बाबा-आमा पनि कति गँवार? आखिर छोराकै आशमा किन यति धेरै सन्तानको खातैखात? के जन्माउनु मात्र कर्तव्य हो, पाल्ने पढाउने हैन र? खै यी छोरीहरूको गुणस्तरीय जीवन? खै यी छोरीलाई आवश्यक सन्तुलित आहार? खै उपयुक्त पालनपोषण?
आन्टी सामुन्ने हुँदाहुँदै पनि उहाँलाई दोहोरो प्रश्न नगरी मनसँगै प्रश्न गरेँ। अझै त्यही घरमा गरिबीले चरम सीमा पार गरिसकेको थियो। त्यहाँनिर जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखान पनि निर्थक थियो। त्यस्तो सकसपूर्ण जीवनमा पनि भाइको आशमा हुर्किरहे दिदीहरू, कुहिरोमा हराएका कागजस्तै। छोराको आशैआशमा अन्तिममा निराश भएर थन्किए दम्पती।
त्यसपछि बन्दै गएको कमजोर प्रजनन शक्तिले रजस्वला सुक्ने समय भयो। रजस्वलासँगै सन्तानका सपना पनि घाम झुल्केसँगै पातमा रहेका शीतका थोपा सुके सरी सुकेर गए।
यो कहानी मैले नजिकबाट नियाल्दै मेरो बचपन बिताएकी हुँ। घरनजिकै छिमेकी आन्टीले नभनेका कतिपय उहाँका व्यथाहरू नजिकबाट नियाल्ने मौका मिल्यो। कतिपय कथाहरू धेरै वर्षपछि आन्टीसँग भेट हुँदा क्रमशः पस्किँदै जानुभयो।
‘यसरी सबैका साझा सारा सपना घाममा बिस्कुन सुकेझैँ सुकेर गए। अहिले सम्झन चाहन्नँ पटक-पटक सुत्केरी हुँदा लगाएका सासूका ती तिता वचन। जसलाई म फलामका चिउरा चपाएझैँ पचाउँदै अगाडि बढेँ।
छोरी जन्माउँदा आफ्नो छोरालाई सुनाउँदै भन्थिन्- 'छोरी पाइराख्नेलाई पनि केको मासु ल्याई-ल्याई पकाएर खुवाको तैँले?
तर श्रीमान् बुझ्ने हुनुभएकाले त्यो कुरालाई वास्तै गर्नुहुन्थेन। तर त्यो कटु वचनले मेरो शारीरिक र मानसिक अवस्था सिथिल र हृदय छियाछिया हुन्थ्यो। मैले छोरी पाएको खबरले पँधेरामा खासखुस धेरै चल्थ्यो। केही दिनका लागि उनीहरूले बनाउने कुरामा म मसला हुन्थेँ।
कोही भन्थे- 'कति छोरी मात्र पाइराखेकी जहिले नि! आधा दर्जन पुर्याउने भई। कोही छोरा पाउनेले जाबो अर्काको घर जाने जात नभाको दुःख।
त्यस्तै घोचेर बोल्थिन् जेठानी। उनका छोराछोरी थिए तर मेरा छोरी मात्र। घरमा उनका छोरा र मेरो छोरीलाई गर्ने माया बिछट्टै फरक हुन्थ्यो। मेरो छोरीलाई तेल लगाउँदा यो त अरुको घर गरेर खाने हो बलियो गरी तेल लगा भन्थे। जेठानीको छोरोलाई तेल लगाउँदा यो त बुढेसकालमा हामीलाई पाल्ने फाल्ने नाति हो अलि बेस्सरी तेल लगा भन्थे।
अजीव लाग्थ्यो त्यो भनाइ सुन्दा पनि। त्यसैगरी तिहारको भाइटीकामा सबैका घरघरमा छोरीका हातहरू रङ्गिन हुन्थे, भाइका निधार रङ्गिन्थे घर झिलमिल हुन्थे मनैदेखि। तर मेरा छोरीका लागि तिहार अभिशाप र अँध्यारो औँसीको रात जस्तै हुन्थ्यो दिनमै पनि।
यसरी छोराको आश आशामा ६ वटी छोरी जन्माएँ। पोहर परार सालसम्म पनि छोरा हुन्छ कि भन्दै त्यही एउटा छोराको आशमा अस्पताल धाएँ, दुःख पाएँ। २/४ महिनासम्म गर्वमा राखेँ तर भाग्यमा नभएपछि कहाँ खोजेर पाइँदो रहेछ? बल्लबल्ल बतिलो लगाएको फल पनि पाक्न नपाई कुहिएर झर्यो।
यसरी एउटै सपनाको गहिराइमा डुबुल्की मार्दा थुप्रै सपनाहरू माथि-माथि बादलको फोकाजस्तै उडेँ। सन्तानका रहर चाहनाहरू खुम्चिएर बसे। मासुको बिलो लगाए जसरी सन्तान बाँडिए। कोही छोरी पढाउने सर्तमा, कोही आफन्तको घरमा काममा, कोही मामाघर कोही कहाँ।
हामी कहिले भोकै बस्यौ, कहिले अनिदै। यसरी गरिबीको चरमबिन्दुमा पुग्दा पनि छोराको आशमा परिवारमा छोरी थपिँदा-थपिँदा थुप्रै दुःख भोगियो। जसले गर्दा ठूली छोरीलाई मेरोजस्तै १५ वर्षमै विवाह गरिदिएँ। अर्को छोरीलाई पनि सानोमै विवाह गरिदिएँ।
त्यसलाई केलाउने हो भनि त अहिलेको कानुनले बालविवाह भन्छ। जसको परिणामले पछिसम्म छोरीहरूले दुःखकष्ट भोग्नुपर्यो। हामी अनपढ आमाबाबा त्यहीँमाथि बच्चाको चापैचापले केही हदसम्म दुःखले नमज्जाले पाठ सिकायो।’
धेरै वर्षपछि भेट भएकी छिमेकी आन्टीले आफ्नो वृत्तान्त सुनाउँदा म एकछिन भावविह्वल भएँ। सुकिलोमुकिलो मुहारमा मुसुक्क मुस्कुराउँदै गरेकी आन्टीमा पहिलेभन्दा धेरै खुसी र सुखद् क्षणले छलाङ मारेको प्रष्टै देखिन्थ्यो।
त्यसैले सोधेँ- ‘आन्टी हजुरलाई अहिले कस्तो छ नि?’
उहाँले केही परिवर्तनका पाटाहरू पल्टयाउँदै भन्नुभयो- ‘अहिले त मलाई विगतमा भन्दा धेरै सुख छ। समाज पनि ९०% परिवर्तन भएको छ। हिजो छोरी पाई भनेर हेप्ने मानिस अहिले पगरी गुथाउनेसम्मका गफ हाक्न मकहाँ आउँछन्। हिजो छोरो पाउनेहरू आज छोरो पाएर के पाएँ, आखिर चाहिने त छोरी रहेछ। बुहारीले यसो भनी, छोराले यसो भन्यो भन्छन्।
कोही भन्छन्- भाग्यमानी त तिमी रहेछौ किनकि तिम्रो त मनका भावना बुझ्ने छोरी छन्, दुःख बुझ्ने छोरी छन्, सुखमा सम्झने छोरी छन्।
हुन पनि हो रहेछ। पहिले यी नै छोरीकै कारण दुःख पाएँ। अहिले यी नै छोरीकै कारण सुखका दिन आए। आजकल त लाग्छ छोरा र छोरी पाएँ भन्दै सोच्नु त बेकार रहेछ। पहिले ठूली छोरी सानोमै बिहे गरिदिए नि आज ठूलो देशमा छ। घर बनाउने सबै खर्चपानी, बहिनीहरू हेर्ने, लत्ताकपडा सबै उसैले हेर्छे। माइली छोरी त्यस्तै गर्छे।
हिजो छोरी पाउँदा हेप्ने यो समाजलाई आज हाम्रो परिवार उदाहरणीय भएको छ। आजकल समाजमा पनि यही उदाहरणलाई लिएर गज्जबले बहस चल्छ। हाम्रो घरबाट समाजमा केही परिवर्तनका बाछिटा पर्न थालेका छन्।
कोही दुखेसो पोख्दै हाम्रोमा आएर भन्छन्- आज हामी छोरा पाउने आखिर के पायौँ? छोरा बुहारीको तिरस्कार, अपमान र एक्लौटे जीवनबाहेक। तर आज तिमी सबै छोरी-ज्वाइँको माया, ममता, सम्मान र खातिरमा मस्त छौ। हामीलाई ६ भाइ छोराले दिन नसकेको खुसी तिमीलाई एउटा छोरीले यहाँसम्म पुर्याई भन्दै पिठ्यूमा धाप मारेर जान्छन्।
हुन पनि त्यस्तै लाग्छ। आज छोरा पाए नि, छोरी पाए नि कोही साथमा छैनन्। बिथामा मान्छेलाई केको घमण्ड छोरा पाउनुमा र केको टेन्सन छोरी पाउनुमा?'
आज हजारौं-लाखौं सन्तानका आमाबाबाको मनिलो मुहार देखिन्छ। जहाँकहीँ घरमा नितान्त बुढाबुढी मात्र देखिन्छ। दुःख, पीडा, अनिदो रात, कहिले भोको पेट र थोरै आय आर्जन गरी कमाएको आम्दानी पनि बैंकमा नराखी उनै सन्तानको भविष्य निर्माणमा खर्चेर हुर्काइ, बढाइ, पढाइ ठूला बनाएका, मायाले जन्माएर प्रेमले हुर्काएका सन्ततिहरूले सबैले घर छाडेका छन्।
एकाएक आमाको काख मात्र छोडेनन्, बाबाको झुपडी मात्र छोडेनन् सम्पुर्ण गृहस्थी नै त्यागे। गाउँबाट सहर, सहरबाट प्रदेश छिरे। तर त्यहाँ पनि गन्य मात्रामा प्रदेश छिरेका छोरा-बुहारी र छोरी-ज्वाइँमा धेरै भिन्नता प्रष्टै देखिन्छ। छोरोले बुहारी बिहे गरेपछिका दिनहरू कसैका बाबाआमाका लागि दुःखद मानिन्छन्। फोनहरू पातलिने, पैसाहरू पठाउने क्रम घट्दै जाने, झर्कने देखिन्छन्।
यदि कोही छन् भने त्यो अपवादको रुपमा होलान्। तर छोरीले ज्वाइँ पाएपछि दिनहरू झन् बाआमाका लागि सुखद हुन्छन्। बाआमाका मर्म बुझ्छन्। छोरी स्वदेश होस् या विदेशमा हर प्रहर आमाबाकै सम्झना दुःख सुखमा नजिक रहेका हुन्छन्। यसैबाट पनि हामी सजिलै आकलन गर्न सक्छौं। के त्यो दयाका खानी छोरी साँच्चिकै महान छैनन्?
आखिर छोरा र छोरीमा के रहेछ फरक? त्यसैले छोरा पाउँदा जति गर्व गर्छौं त्योभन्दा बढी छोरी पाउँदा गरौं। जहाकाहीँ हामी पढ्छौँ 'छोरा भाग्यले हुन्छ, छोरी सौभाग्यले।' साँच्चिकै यो सत्य रहेछ। आखिर बाआमाको मनमा शान्ति र मुहारमा कान्ति त छोरीले नि ल्याउँदा रहेछन्।
प्रायः छोरीले भौतिक शरीर जति टाढा रहे पनि मनमुटु उही आमाबाकै चुलो-चौको, घर, आँगनमै राखेका हुन्छन्। के आवश्यक छ, के खान मनपर्छ, के लगाउन मनपर्छ भन्ने कुरा जत्ति छोरीले नजिकबाट नियालेका हुन्छन् त्यति छोराले नियालेको पाइँदैन।
त्यसैले आजभोलि पनि गर्भमा छोरा छ कि छोरी भनि जाँच गर्दै छोरी भएमा भ्रुणहत्या गर्नु वाहियात लाग्छ। यो एकदमै ठूलो महापाप हो। त्यसैगरी कानुनमा पनि जघन्य अपराध हो। आखिर जिउँदो मान्छे र गर्भमा रहेको बच्चाको प्राण एउटै हैन र? त्यसैले हामी आफ्नै सन्तानको आफैले हत्या गरेर हत्यारा नबनौँ।
आज पनि मरेको पार्थीव शरीर जलाउन तीन दिनसम्म प्रदेशको छोरो कुर्ने तर सँगैकी छोरीको हातबाट दागबत्ती नदिने यो समाजका मानिसको दिमागमा कहिले बल्छ ज्ञानको दीप? यस्ता प्रश्नहरूको उठान गर्नु अब सबैले जरुर छ।
आज सदनदेखि सरकारसम्म देश हाक्ने छोरी पनि छन्। विद्यालय, विश्वविद्यालयका कोठाहरूमा अग्रस्थानमा छोरी छन्। घरदेखि प्रशासन कार्यालयहरूमा पहिलो नम्बरको समय पाबन्दीअनुसार अगाडि नै छोरी छन्। यति थाहा पाउँदापाउँदै पनि छोरी भनेर हेप्ने र नाख खुम्चाउने कमजोर मानसिकता बोकेका मानवको नाममा कलंक हुन्।
त्यसैले छोरा र छोरीलाई विभेद देख्ने आँखामा फरक खालको पावरवाला चस्मा हटाएर समानताको दृश्य देख्ने चस्मा लगाउनुहोस्।