केही दिनअघि लेखक शिवानी सिंह थारूले ट्विटरमा माइग्रेन (टाउकोको कडा दुखाइ) बारे एउटा छोटो भिडिओ पोस्ट गर्नुभयो।
त्यो भिडिओमा उहाँको भनाइ थियो– माइग्रेन धेरैजसो महिलाहरूलाई हुँदोरहेछ..., महिलाहरूको अरू कुरा सम्बोधन नगरेजस्तै साइन्सले पनि माइग्रेनको बारेमा धेरै रिसर्च गरेको रहेनछ..., महिलाहरूलाई लाग्ने धेरैजसो रोग साइन्सले बेवास्ता गर्दै आएको रहेछ..., साइन्समा धेरै जना को छ? जेन्टलम्यान!
उहाँले यति बोल्नु के थियो, उहाँलाई मात्रै होइन, 'धिक्कारकर्मी' भन्दै महिलामाथि गालीको वर्षा सुरू भइहाल्यो।
त्यसरी गाली गर्न केही मेडिकल डाक्टरहरूसमेत अघि सर्नुभयो।
अर्कोतिर, अमेरिकाको कुनै संस्थामा क्लिनिकल रिसर्चरका रूपमा कार्यरत सुशील देवकोटाले ती गाली र व्यंग्य पढेरै होला, एउटा लामो थ्रेड लेख्नुभयो।
उहाँका अनुसार अनुसन्धानमा पुरुष वर्चस्व भएको स्वीकार गरेर प्रि–क्लिनिकल र क्लिनिकल स्टडी गर्ने अमेरिकी 'फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन' ले युनाइटेड स्टेट्स कंग्रेसको म्यान्डेटमा उपरोक्त विभेद हटाउन छुट्टै अफिस खोलेको छ।
देवकोटाले सोही सन्दर्भमा लेख्नुभएको छ– पर्सनलाइज्ड मेडिसिनको जमनामा हामीले के बुझ्नुपर्छ भने महिला र पुरुष मात्र होइन, व्यक्ति–व्यक्ति समेत फरक हुन्छ। जतिसक्दो बिरामीको नजिक विज्ञान पुग्यो, त्यति राम्रो। अब, महिलामा पनि रिसर्च गर्न किन महत्वपूर्ण छ भन्ने एउटा उदाहरण– कुनै औषधि पुरूषलाई टेस्ट गरेर बनायो भने त्यही मात्रामा महिलालाई दिनुपर्छ भन्ने छैन। निदाउन सहयोग गर्ने औषधि एम्बिएनको उदाहरण, फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यति डोज दिने भनेर निर्क्यौल(?) गरेको २१ वर्षपछि सन् २०१३ मा महिलालाई दिने डोज बढी भएको भनेर आधा घटायो। त्यसैले मान्छे नै हुन् भनेर सबै कुरा जनरलाइज गर्न मिल्दैन।
नेपालमा यस्तो कुरामा बोल्नै पाइँदैन। नबुझेका वा नपढेका मानिसले भनेकोमा कुरा नबुझेको भनेर भन्दै टार्न सकिन्छ। कोही डक्टर नै गाली, आलोचना र व्यंग्य गर्न थाल्छ भने कसलाई के भन्ने?
केही दिनअघि म पनि यस्तै आलोचनाको पात्र भएँ। कारण थियो स्तन क्यान्सरको बारेमा गाइनोकोलोजिस्ट सुमनराज ताम्राकारको केही कुरासँग सहमत नहुनु।
गत माघ २८ गते 'कान्तिपुर कोसेली' मा 'मामा क्रेब्सको कहानी' शीर्षकमा उहाँको एउटा लेख छापिएको थियो।
उक्त लेखमा एउटा प्रसंग थियो– स्तनपान नगराएकी भन्दा स्तनपान गराएकी महिलामा स्तन क्यान्सरको जोखिम कम हुन्छ। सहरी क्षेत्रका 'फिगर कन्सस' महिला कम स्तनपान गराउँछन् र स्तन क्यान्सरको जोखिममा छन्।
आफैं स्तन क्यान्सरको बिरामी अवस्थाबाट गुज्रिरहेकाले यस्ता बिरामीहरूसँगको कुराकानी, यसबारे लेखिएका केही लेख, रिसर्चका केही तथ्य, डाक्टरहरूसँगको कुराकानी आदिबाट जानकारी लिँदा स्तनपान गराएकै धेरै महिलाहरू क्यान्सर पीडित भएको पाएँ।
डाक्टर व्यक्तिले लेख लेख्दा तथ्यले प्रमाणित गर्नुपर्छ, हचुवाका भरमा सहरी क्षेत्रका 'फिगर कन्सस' महिला कम स्तनपान गराउने भएकाले स्तन क्यान्सरको जोखिममा छन् भन्न पाइँदैन भन्ने मेरो तर्कसँग असहमत केही डाक्टरहरू ममाथि खनिए।
मैले बुझेसम्म स्तन क्यान्सरको प्रमुख कारण 'बिआरसिए' नामक जिन हो। त्यही जिन देखिँदा, हलिउडकी प्रख्यात सिनेकर्मी एन्जेलिना जोलीले आफ्ना दुबै स्तन फाल्नु परेको थियो।
विकसित देशमा बिरामीको अनुभवबाट औषधोपचारमा सुधार गर्न सकिन्छ कि भनेर अनुसन्धानहरू हुने गरेका छन्। यहाँ त बिरामीले आफ्नो अनुभवसमेत भन्न, सुनाउन नपाउने स्थिति सिर्जना गरिन्छ।
स्वास्थ्यसम्बन्धी अनुसन्धानमा धेरै पैसा खर्च गर्ने संस्था 'क्यानेडियन इन्स्टिच्युट अफ हेल्थ रिसर्च' ले बिरामीहरूको संलग्नतालाई आफ्नो अनुसन्धानमा प्रमुख स्थान दिएको तथ्य सम्बन्धित लेखहरूमा भेटिन्छन्। त्यस्ता अनुसन्धानहरू अमेरिकामा पनि हुने गरेका छन्।
अमेरिकाको मेरिल्यान्ड राज्यमा अमेरिकी फेडरल गभर्न्मेन्ट सञ्चालन गरेको 'द युनाइटेड स्टेट्स लाइब्रेरी अफ मेडिसिन' मा संकलित लेखहरू अनलाइनमा जसले पनि पढ्न पाउँछ।
यो कुरा लेख्दा डाक्टरहरूलाई सिकाउन खोजेको नसोचियोस्। आफू बिरामी परेपछि रोगसम्बधी धेरै कुरामा चासो हुँदो रहेछ र खोजी गरिँदो रहेछ।
अनुसन्धानमूलक धेरै लेखहरूले बिरामीसँगको अन्तक्रियाले स्वास्थ्यसेवा प्रणाली सुधार्न मद्दत पुग्ने निष्कर्ष दिएका छन्। डाक्टर, नर्स र अस्पतालका अन्य कर्मचारीहरूको व्यवहार थाहा पाउन र सुधार्न सकिन्छ भन्ने निष्कर्ष पनि छ।
हरेक व्यक्तिको फरक फरक व्यक्तित्व हुन्छ। बिरामीहरूका पनि फरक फरक अनुभवहरू हुन सक्छन्। हरेक बिरामी फरक फरक व्यक्ति हो। जे कुरामा पनि 'ब्ल्यांकेट स्टेटमेन्ट' का आधारमा यस्तो हुन्छ, यस्तो हुन्न भन्नु कुनै तर्कसंगत कुरा हो जस्तो लाग्दैन। डाक्टरहरू यसमा झन गम्भीर हुनुपर्छ।
बिरामीका लागि उसको डाक्टर भगवान जत्तिकै हुन्छ। उपचार अवधिभर ऊ डाक्टरकै शरणमा हुन्छ। डाक्टरले दिने औषधि र सल्लाह–सुझाव आफ्नो रोग निको पार्ने रामवाण नै हो भन्ने विश्वास हुन्छ। यस्तो बिरामीको अनुभव डाक्टरका लागि निकै महत्वपूर्ण हुन्छ भन्ने लाग्छ।
मैले यो कुरा लेख्दा डाक्टरहरूलाई सिकाउन खोजेको वा उहाँहरूको मानहानी गर्न खोजेको नठानियोस्। यहाँ म आफ्ना केही अनुभव र भोगाइबारे लेख्न चाहन्छु। मेरो ब्लग पढ्नेहरूलाई थाहा छ, म अहिले स्तन क्यान्सरको उपचारमा छु। मेरो म्यास्टेक्टोमी (स्तनको शल्यक्रिया) भयो। अहिले किमोथेरापीमा छु।
किमोथेरापीका लागि मेरो दाहिने पाखुरामा 'पिकलाइन' (मुटु नजिकैको ठूलो नसामा औषधि या झोल न्युट्रिसन पुर्याउने क्याथेटर) हालियो। त्यो हाल्न करिब डेढ घन्टा लाग्यो होला। उपचार खर्चको के कुरा गर्नु! क्यान्सरले पैसा त माटोझैं बगाइदिँदो रहेछ।
पिकलाइन हाल्दा भनिएको थियो– यो कम्तीमा ६ महिना रहन्छ। कसैकसैमा त त्योभन्दा बढी पनि रहन सक्छ। हरेक हप्ता अस्पताल गएर पिकलाइन फ्लस गर्नुपर्छ। यही क्रममा मैले भेटेका एकजना पुरूषले पिकलाइन राखेको दुई वर्ष भयो भने।
एक महिनामै संक्रमण भएर मेरो पिकलाइन निकाल्नु पर्यो। रगतमा भएको संक्रमणका कारण किमो दिन एक हप्ता रोक्नु पर्यो।
यहाँ त एउटै प्रक्रियामा दुई जनामा फरक फरक नतिजा आयो। यस्ता कुरामा पनि किन यस्तो भयो होला भनेर बोल्न, सोध्न नपाउने?
अर्को उदाहरण, मलाई भेट्न आउनेहरू कतिपयले भन्नुहुन्छ– फलानालाई किमो दिएर पनि काममा गएको छ, फलानोले त किमो लिएर पनि मजाले खाएको छ।
पहिलो, किमोको मात्रा फरक हुनसक्छ। दोस्रो, मानिसको शरीरको प्रतिरोधात्मक शक्तिर फरक हुन्छ। तेस्रो, किमोको प्रकार पनि फरक हुन सक्छ। कसैलाई त एउटै साइकल पनि आधा आधा गरेर पनि दिइनेरहेछ। यो कुरा चाहिँ उहाँहरू बुझ्नुहुन्न।
मैले बुझेअनुसार किमोको मात्रा शरीरको वजन, उचाइ र अन्य के के हिसाब गरेर तय गरिन्छ। म मोटो भएको कारणले मलाई दिने मात्रा केही बढी अर्थात हाई-डोज हुनु पर्दो रहेछ। यो कुरा मलाई मेरो परीक्षण गर्ने अंकोलोजिस्टले भनेका हुन्।
कसैले मसँग किमोथेरापीको अनुभवबारे सोध्यो भने म नै फरक फरक अनुभव बताउँछु। मलाई अंकोलोजिस्टले आठ साइकल किमो सिफारिस गरेका छन्।
अंकोलोजिस्टले सुरूमै भनेका थिए– पहिलो चार साइकलको तुलनामा दोस्रो चरणको चार साइकलमा अलि गाह्रो हुन्छ किनकि यो कडा हुन्छ। किमोथेरापीको मापदण्डअनुसार ती औषधिको नाम र मात्रा पनि फरक फरक हुन्छ।
मैले पहिलो चरणको तीन साइकल किमो अलिक सजिलै ग्रहण गरेँ। तेस्रो साइकल दिएको तीन दिनपछि म भक्तपुर पुगेँ। पाँच हजार पाइला हिँडे। चौथो किमो दिएको चौथो रात चाहिँ मलाई मेरो जिन्दगीको अन्तिम रात यही हो जस्तो भयो। मध्यरातमा बिउँझिँदा मेरो मुटुको ढुकढुकी धेरै बढेको, शरीर पसिनाले लथपथ भएको र रिंगटा लागेको थियो। आधारातमा के गर्नु र! त्यसपछि आँखा झिमिक्क नगरी रात बित्यो।
भोलिपल्ट बिहानै बहिनीले फोन गर्दा आफ्नो हालत बताएँ। उनका अनुसार किमोको औषधिमा भएको स्टेरोइडले सुगर बढाएका कारण सुगर घटाउने औषधि दिइएको थियो, त्यही औषधिले मेरो हालत खराब बनाएको थियो।
पहिलो चार साइकल किमोमा खाना मुखमा हाल्नु त के कुरा, भान्साकोठाबाट आएको खानाको गन्धले नै हैरान बनाउँथ्यो। यस्तोमा सुगरको औषधि पूरा डोज खाँदा मेरो के हालत भयो होला!
यसपछिका चार दिन जीवनजल र दूधमा घोलेको सातु मात्रै खाएँ। मेरो डब्लुबिसी, न्युट्रोफिल, क्रेटिनेन सबै घटेको थियो। एक हप्ता किमो र सुगरको औषधि दुबै रोक्नुपर्यो। किमोअघि डब्लुबिसी स्टिमुलाइज गर्न न्युकेन इन्जेक्सन र किमोपछि इन्फ्लामेसन हुन नदिन औषधि दिनु पर्यो। त्यस्तो अवस्थामा मलाई फलानो औषधिले गाह्रो भयो भन्दा किन सबै एक मुख लागेर गाली गर्नुपर्ने?
दोस्रो चरणको चार साइकल किमोमा मलाई खाना खान समस्या छैन तर पीडाको बयान गर्ने शब्द छैन।
अंकोलोजिस्टले भनेका थिए– दोस्रो चरणको किमोमा कडा पीडा हुन्छ।
मलाई तीन दिन त नदुख्ने औषधि दिइएको थियो। त्यो औषधिले पनि दुखाइ कम गरेन। मैले त्यो पीडामा बरू मर्फिन दिए पनि हुने भन्ने सोचेँ। मर्फिन दुखाइ कम गर्न दिइने अति कडा औषधि हो।
मलाई जस्तै पीडा अर्को बिरामीलाई नहुन सक्छ। मलाई भएको पीडाबारे मैले केही भनेँ भनेर मलाई सडकमा हिँड्नेदेखि डाक्टरसम्मले गाली गर्न पाइन्छ?
डाक्टर साबहरू, रिसानी माफ होस्!
कुनै बिरामीले भोगेको पीडामा, उसको अनुभवमा डाक्टरहरूले मजाक उडाउनु, व्यंग्य गर्नु र गाली गर्नु चाहिँ साह्रै अमानवीय लाग्दो रहेछ। यो कुरा सबै डाक्टरहरूलाई भनेको पनि नठानिदिनुहोला।
यति मानिदिनुहोस् कि हरेक बिरामीका आआफ्ना अनुभवहरू हुन्छन्। उस्तै रोगमा महिला बिरामीको र पुरूष बिरामीको भोगाइ धेरै फरक हुन सक्छ। सबैलाई एउटै डालोमा हालेर निष्कर्ष निकाल्नु गलत हुन्छ।
अन्त्यमा, यो ब्लग व्यक्तिगत अनुभवको कुरा मात्रै हो। यसमा मेडिकल उद्देश्य छैन।