'फ्यान' र 'जब ह्यारी मेट सेजल' अपेक्षाअनुरूप सफल हुन नसक्दा अभिनेता शाहरूख खानका प्रशंसकलाई उनको आगामी फिल्म के-कस्तो हुने हो भन्ने थियो। शाहरूखलाई नौलो शारीरिक र चारित्रिक प्रस्तुतिमा हेर्न दर्शक उत्साहित देखिन्थे।
दुर्भाग्यवश डिसेम्बर २१, २०१८ मा रिलिज भएको आनन्द एल. राय निर्देशित 'जिरो' ले पनि अघिल्ला चलचित्रकै नियति बेहोर्नुपर्यो। समालोचकीय र व्यावसायिक आयाम दुवैमा फिल्मको नतिजा निराशाजनक रह्यो। तीन वर्षको सिर्जनशील परिश्रम, पृथक भिएफएक्स प्रयोग र करिब दुई सय करोड भारू लागतमा बनेको फिल्मले दर्शकलाई सिनेमाघरसम्म आकर्षित गर्न सकेन। शाहरूख स्वयंले 'जिरो' को असफलताले आफूमा निराशा र फिल्मप्रति वितृष्णा पैदा भएको स्विकारे।
सिनेमा समालोचक, बक्स-अफिस विश्लेषक र आमदर्शक वृत्तमा पनि शाहरूखको घट्दो स्टारडम र अभिनय शिल्पलाई लिएर बहस र कटाक्ष चल्न थाले। बढ्दो उमेर र 'रोम्यान्टिक हिरो' छविबीचको विरोधाभासलाई मुद्दा बनाएर उनीमाथि व्यंग्य गरियो।
यी सब इन्टरनेट कोलाहलबीच शाहरूख मौन रहे। चलचित्र अभिनयबाट केही समय विश्राम लिए। लगातार असफल चलचित्रहरू र त्यसमाथि यो दुरी — शाहरूखको भावी सम्भाव्यतामा प्रश्न गर्नेहरूका लागि झन् मलजल थपियो।
यसबीच बितेका पाँच वर्षमा कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले विश्व वजारलाई अकल्पनीय प्रहार गर्यो। अन्य क्षेत्रजस्तै सिनेमा निर्माण र व्यवसाय पनि जीर्ण भयो। विशेषतः ठूलो पर्दामा फिल्म हेर्ने अभ्यासलाई यसले धक्का दियो। समानान्तरमा जारी ओटिटी प्ल्याटफर्म (नेटफ्लिक्स, प्राइम आदि) को विस्तारले सिनेमा ग्रहणको चलनलाई प्रभाव पार्यो।
केही वर्ष यस्तै अन्योलमा रूमलिएको चलचित्र क्षेत्र कोभिड मत्थर हुँदै गएपछि बिस्तारै चलायमान हुन थालेको छ। दर्शकहरूको सिनेमाघरप्रति लगावले पुरानै लय समात्न थालेको छ। गएको वर्ष मात्रै भारतमा 'केजिएफ-२', 'आरआरआर' र 'ब्रह्मास्त्र' जस्ता चलचित्रले हात पारेको व्यावसायिक सफलता यसको उदाहरण हो।
यी सबै उतारचढावबीच शाहरूख खानको कम्ब्याक फिल्म 'पठान' ले पुनः जागृत हुँदै गरेको सिनेमा क्षेत्रको लाभ पाइरहेको छ। चौतर्फी मौखिक पब्लिसिटी र व्यापक अग्रिम बुकिङका साथ जनवरी २५ मा रिलिज यो फिल्मले त्यसपछि लिएको गति 'रेस्ट हिज हिस्ट्री' भनेझैं भएको छ। यति लेखिरहँदा पठानले ७०० करोड भारूभन्दा बढीको व्यापार गरिसकेको छ र प्रक्षेपणअनुसार यो गति तत्काल रोकिनेवाला छैन। चल्तीको भाषामा भन्दा, सुपरडुपर हिट।
फिल्मको सफलता मूल्यांकन गर्दा त्यसको आर्थिक कारोबारलाई प्राथमिक मानक बनाउन हुन्न भन्नेमा म सचेत र सहमत छु। फिल्मले गर्ने सामाजिक यथार्थको प्रतिनिधित्व, सामाजिक न्यायको वकालत, सूक्ष्म सन्देश प्रवाह र त्यसको कलात्मक मूल्यलाई गौण बनाउनु न्यायोचित हुँदैन। तैपनि यहाँ उठाइएको विषयको आयतन र बृहत्तर प्रभावलाई जोड दिन मसँग अरू उपाय थिएन।
यो लेखमार्फत मैले उठान गर्न खोजेको मूल मुद्दा चाहिँ अंकगणितमा सीमित छैन। पठानसँगै आएको शाहरूखको यो अद्भूत चढावलाई म केवल सिनेमा कारोबारमा संकुचित पार्न चाहन्न। यो बहावको गहिराइमा सहिष्णुता, धर्मनिरपेक्षता, पूर्वाग्रह र राजनीतिका महत्वपूर्ण पक्षहरू प्रत्यक्ष र परोक्ष तैरिएका छन्।
सन् १९५० मा जारी संविधानले भारतलाई धर्मनिरेपक्ष राष्ट्रको परिचयमा व्याख्या गर्छ। संस्थागत रूपमा धार्मिक तटस्थता र समानतालाई अंगीकार गरे पनि भारतीय समाजको वास्तविकता धार्मिक मुद्दालाई लिएर त्यति सहज छैन। यो परिस्थिति आमबुझाइबाट लुकेको पनि छैन। धार्मिक र साम्प्रदायिक हिंसाबाट भारतीय समाज धेरैपटक प्रताडित भएको छ। दैनन्दिन हुने धार्मिक भेदभाव र हिंसाका घटनाले सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई थप तरंगित बनाएका छन्।
२०१४ पछि केन्द्रीय र प्रादेशिक राजनीतिमा हिन्दुत्वको नारा आत्मसात् गर्ने भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनपछि त झन् भारतको धर्मनिरपेक्षता र त्यसको भविष्यमाथि नै बारम्बार प्रश्न उठ्दै आएको छ। राज्य संयन्त्र नै अल्पसंख्यक समुदायप्रति अनुदार रहेको धेरैको टिप्पणी छ। सन् २०१९ को नागरिकता संशोधन विधेयक, बाबरी मस्जिद र राम मन्दिर विवाद, कश्मिरमा धारा ३७० को खारेजी यसका केही प्रतिनिधि घटना हुन्।
प्रत्यक्ष, परोक्ष रूपमा भारतीय मूलधारको मिडिया यो मामिलामा एउटा उत्प्रेरक हो। खासगरी सत्तानिकट ढल्किएका, सरकारको मुखपत्र भई काम गर्ने सञ्चारगृहहरू यसका दोषी हुन्। चौबीसै घन्टा हिन्दु-मुस्लिम विवाद र उत्तेजक ‘बहस’ मा लिप्त यी मिडियाले गर्ने विषवमनले समाजमा कति गहिरो असर पारेको होला भन्ने अनुमान लगाउन पनि गाह्रो छ। यहाँसम्म कि, स्वयं सर्वोच्च अदालतले भड्काउ मुद्दा प्रसारण रोक्न निर्देशन दिँदा पनि यिनको तौरतरिकामा फरकपन आएको देखिँदैन।
टेलिभिजन रेटिङ पोइन्ट (टिआरपी) को प्रतिस्पर्धामा पत्रकारिताको मर्यादा र मान्यता छाडिसकेका यी संयन्त्रहरू सधैं सफ्ट टार्गेटको खोजीमा हुन्छन्। पछिल्ला केही वर्षदेखि यिनको निसानामा बलिउड र त्यस उद्योगभित्र काम गर्ने अभिनेताहरू परेका छन्। बलिउडलाई ‘माफिया वर्ल्ड’ को संज्ञा दिएर निरन्तर बदनाम गरिरहेका छन्। विषाक्त माहोलमा रमाउने यिनलाई अल्पसंख्यक धर्मका, ‘खान’ थर भएका अभिनेता त सहज निसाना हुने नै भयो।
शाहरूखमाथि हुने यस्ता नियोजित आक्रमणका लामो फेहरिस्तमध्ये यो एउटा उदाहरण हेरौं-
अक्टोबर २, २०२१ मा फिल्मी खबरबाट पर बसिरहेका शाहरूख एकाएक मिडियाको हेडलाइन बन्न पुगे। छोरा आर्यन खान लागुपदार्थ सेवन र लेनदेनको आरोपमा समातिएको खबरले मिडिया सनसनी बन्यो। अनुसन्धान, प्रमाण, न्यायालयभन्दा अगाडि मिडिया ट्रायल सुरू भयो। उनीविरूद्ध सञ्चारकक्षमा प्रत्यक्ष चर्काचर्की चल्यो। मुद्दाको यथार्थभन्दा पर गएर शाहरूखको चरित्रलाई नै दूषित पार्ने प्रयास चुलिँदै गए। ‘गैरजिम्मेवार अभिभावक’ को छविमा उनलाई निरन्तर प्रस्तुत गरियो।
यति हुँदा पनि शाहरूख विचलित भएनन्। मुम्बईको आर्थर रोड जेलमा छोरा भेट्न जाँदा उनी संयमित भएर गए। उल्टै उनलाई हेर्न आएका जमात र घेर्न आएका मिडियासँग शालिन व्यवहार गरे। सायद मिडिया कति विषाक्त भएको छ भन्ने उनले बुझेका थिए। प्रतिक्रिया नदिई मौन बस्नु नै उपयुक्त ठाने।
मुद्दाको फैसला केही महिनापछि आयो। आर्यनले सबै आरोपमा सफाइ पाए। सुरूआती दिनदेखि मुद्दामा संलग्न नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) र त्यसका जोनल चिफ समीर वाङखेडे शंका र अनुसन्धानको घेरामा आए। शाहरूख भने मौन नै बसे।
केही समययता सामाजिक सञ्जालमा चलिरहेको 'बोएकट बलिउड' क्याम्पेनले पनि शाहरूखमाथि निसाना साँध्यो। दु:खको कुरा, यस्तो उत्तेजना र पूर्वाग्रहमा मन्त्री, सांसद र नेताहरू नै जोडिन तल्लिन भए।
हालसालै पठान फिल्मको गीतमा 'भगवा' (सुन्तला) रङको बिकिनी लगाएर नाचेको कुरालाई लिएर उग्रहिन्दुवादीहरूले विरोध गरे। मध्यप्रदेशका मन्त्री नरोत्तम मिश्राले फिल्मले 'फोहरी मानसिकता' प्रचार गरेको आक्षेप लगाए र आमबहिष्कारको चेतावनी दिए।
त्यस्तै, विश्व हिन्दु परिषद्की सदस्य साद्वी प्राचीले पठान फिल्मले हिन्दु धर्मलाई खराब ढंगमा देखाएको भन्दै सारा हिन्दुहरूलाई फिल्म बहिष्कार गर्न आह्वान गरिन्। गुवाहाटी र मुम्बईमा त यो विषयलाई लिएर हल तोडफोड र पोस्टरमा आगजनी भयो। यिनै उग्र गतिविधिबारे जब मिडियाले असमका मुख्यमन्त्री हिमन्त विश्वालाई प्रश्न गरे, उनले उल्टै ‘को शाहरूख’ भनेर प्रश्न तेर्स्याए।
शाहरूखले खेप्ने सत्तासीन पात्रहरूको लाञ्छना वर्तमान चलचित्रसँग मात्र सम्बन्धित होइन।
भारतमा चर्कंदै गएको असहिष्णुताप्रति आफ्नो विचार व्यक्त गर्दा सन् २०१५ मा भाजपा नेता (अहिले उत्तरप्रदेशका मुख्यमन्त्री) योगी आदित्यनाथले शाहरूखलाई मुम्बई बमब्लास्टका मास्टरमाइन्ड हफिज सइदसँग तुलना गरी पाकिस्तान जान र आफ्नो अल्पसख्यंक परिचयको हेक्का राख्न सुझाएका थिए।
मिडिया र सत्ता संयन्त्रको यो परिदृश्यले समग्रमा एउटा विकराल तस्बिर देखाउँछ — पहुँच, पैसा र पावरमा सम्पन्न पात्रमाथिको आक्रमण यति असहिष्णु छ भने अन्य आम अल्पसंख्यक वर्गप्रतिको प्रहार कति निर्मम हुँदो हो!
उग्रहिन्दुवादी र केही सत्तासीन जमातले देखाउन खोजेको छविभन्दा शाहरूख पृथक छन्, कम्तिमा सार्वजनिक जीवनमा। मानवीय संवदेना, सभ्यता, प्रेम र जीवनका संघर्षका अन्तर्यको किस्सा सुनाउने उनको बोलीमा साम्प्रदायिकता छैन। सबै धर्मलाई समान ठान्छन्। गीता, कुरान, बाइबलको कथा र उद्देश्य एकै हो भन्छन्। हरेक चाडपर्व खुसी बाँड्ने अवसर हो भनी खुलेर रमाउँछन्। सिनेमालाई यी सबै मूल्यको स्वस्थ संगमका रूपमा हेर्छन्।
अस्ति मात्रै एक कार्यक्रममा आफ्ना सहअभिनेताहरूलाई देखाउँदै उनले भने, 'दीपिका पादुकोण ‘अमर’ हुन्, म, शाहरूख, ‘अकबर’ हुँ र जोन अब्राहम ‘एन्थोनी’ हुन्। सिनेमा भनेको अमर, अकबर, एन्थोनीको मेल हो। भावार्थमा हिन्दु, मुस्लिम र इसाईको मेल।
यति लेखिरहँदा म शाहरूखले विगतमा खेलेका सिनेमा र त्यसभित्रका चरित्रलाई चोख्याउन चाहन्न। अन्य मूलधारका हिन्दी सिनेमामा जस्तै उनको सिनेमामा पनि उही स्त्रीद्वेषी, पितृसत्तात्मक, लैंगिक र यौनिक विभेदका विचार सम्प्रेषण हुन्थे। सायद समयरेखामा राखेर मूल्याकंन गर्दा ती विभेदकारी प्रस्तुति वर्तमान समयमा घट्दो क्रममा होलान् तर त्यसको स्वीकारोक्ति, सुधार र उन्मूलन अत्यावश्यक छ।
अहिलेको परिप्रेक्ष्यमा भने मैले एकछिन चलचित्र बाहिरका शाहरूखलाई राख्ने कोसिस गरेँ। अल्पसंख्यक परिचय भएकै आधारमा वा आफ्ना सेकुलर विचार व्यक्त गरेकै कारण उनले शक्तिकेन्द्रबाट खेप्नुपरेको अन्याय बुझ्न खोजेँ।
जनवरी २६ का दिन मैले पठान हेरेँ। संयोगवश भारतको गणतन्त्र दिवसकै दिन। सिनेमासँग खासै सन्तुष्ट भइनँ। पटकथा कुनै हिसाबले पृथक लागेन। दोहोर्याएर हेर्न लायक पनि पाइनँ। एकाध एक्सन छायांकन र संवादको मर्मबाहेक मलाई पठान रूचिकर लागेन।
यद्यपि पठानले भारत तथा विश्वका सिनेप्रेमीमा ल्याउन सकेको उल्लासले मलाई रोमाञ्चित बनायो। यो वेगलाई सिनेमाको बक्सअफिसभन्दा फरक नजरले हेर्न मन लाग्यो। क्षणिकका लागि भए पनि सामाजिक सञ्जाल उत्सवमय बन्यो। बोएकट बलिउड र बोएकट शाहरूखजस्ता ह्यासट्याग क्याम्पेन शारूखमय महासागरसामु बाछिटाजस्ता लागे। 'असत्यमाथि सत्यको जीत', 'घृणामाथि प्रेमको जीत', 'साम्प्रदायिकतामाथि धर्मनिरपेक्षताको जीत' जस्ता नारा गुञ्जिएका थिए।
यी सबबीच एक जनाले लेखेका थिए, 'शाहरूख अभिनेता होइनन्, भावना हुन्।' निकै सटिक अनि सान्दर्भिक अभिव्यक्ति।
सायद २०१८ मा असफलताले घेरिएका र मौन शाहरूख पनि यो दिनको पर्खाइमा थिए। व्यावसायिक सफलता त छँदै छ, त्योभन्दा बढी उनी अपनत्व र स्नेहका भोका थिए होलान्। सहिष्णु र उदार समाजको आसमा थिए होलान्। हरेस नमानी सायद मनमनै भन्थे होलान्, 'पिक्चर अभी बाँकी है।'
सायद अन्तरालपछि शाहरूखले देखाउन खोजेको पिक्चर यस्तै थियो होला! सायद त्यो सिनेमाको क्लाइमेक्समा एक सहनशील, सेकुलर प्रतीकको उदय र त्यसको सर्वत्र अपनत्व हुन्थ्यो होला!