चिसो मौसम बढेसँगै धेरैजसोले भन्ने गरेको सुनिन्छ, ‘मलाई टन्सिल भयो, टन्सिल।’
वास्तवमा टन्सिल रोग होइन, यो हाम्रो शरीरको एउटा अंगको नाम हो। यहि अंग सुन्निएर समस्या आउँदा घाँटी दुख्छ जसलाई टन्सिलाइटिस् भनिन्छ।
चिसोमा धेरैजसो स्वासप्रस्वासका समस्याहरू रूघाखोकी, पिनास, दम, निमोनिया आदि देखि लिएर हाड जोर्नी दुख्ने, सुन्निने, मुटुका समस्या, उच्च रक्तचाप जस्ता समस्या बढी हुन्छ।
यस्तै चिसोमा बढी देखिने समस्यामा घाँटी दुख्ने समस्या पनि एक हो। यो अक्सर मौसम परिवर्तन हुदा (गर्मी मौसम सकिएर जाडो सुरू हुँदा र जाडो सकिएर गर्मी मौसम सुरु हुन लाग्दा) यसको प्रकोप बढी देखिन्छ। तर यो जाडो मौसममा मात्र होइन, अरु बेलामा पनि गलत खानपानका कारण हुन्छ।
यहाँ टन्सिल के हो? टन्सिलाइटिस किन हुन्छ र यसको सरल समाधान बारे चर्चा गरिएको छ।
के हो टन्सिल?
हाम्रो घाँटी र जिब्रोको पछाडि भागमा दुबैतिर बदाम आकारको अंग हुन्छ जसलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फेटिक प्रणालीको एउटा खण्ड हो। यो हाम्रो प्रतिरोध प्रणाली अन्तर्गत पर्दछ। यसले हाम्रो नाक र मुखबाट आउने रोगका किटाणु (भाइरस, व्याक्टेरिया) लाई शरीर भित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम गर्छ। तसर्थ टन्सिललाई घाँटीको द्वारपाल अर्थात पहरेदार पनि भनिन्छ। यसलाई हाम्रो प्रतिरोध प्रणालीको पहिलो पंक्ति मानिन्छ।
के हो टन्सिलाइटिस?
हाम्रो घाँटीमा रहेका टन्सिल ग्रन्थीको सुजन (सुन्निनु) नै टन्सिल बढ्नु हो। जब हाम्रो अनुचित खानपानका कारण टन्सिलले धेरै काम गर्नुपर्दा वा धेरै किटाणुका कारण यसैमा किटाणु हुर्किने गर्छ जसका कारण घाँटी दुखाईसँगै टन्सिल सुन्निने, बढ्ने, रातो हुने, खाना निल्न गाह्रो हुने हुन्छ। यसैलाई आम भाषामा टन्सिलाइटिस भनिन्छ। सामानयतयाः टन्सिलाइटिस दुई प्रकारको हुन्छ।
१. एक्यूट (तिब्र) टन्सिलाइटिस
लक्षणहरू
- घाँटी दुख्नु पहिलो लक्षण हो।
- यसमा अचानक टन्सिल सुन्निने, रातो हुने र घाँटी दुख्ने हुन्छ।
- टन्सिलमा सेतो वा पहेँलो दाग देखिन्छ।
- घाँटी खसखस हुने, केही चिज खाँदा वा निल्दा दुख्ने गर्छ।
- पानी वा थुक निल्दा पनि दुख्ने वा अप्ठेरो हुने हुन्छ।
- दुखाई गर्धनदेखि कानसम्म पनि हुने हुन्छ।
- घाँटीको बाहिर लिम्फ नोड सुन्निने हुन्छ र छाम्दा डल्लो भेटिन्छ।
- ज्वरो पनि १०२ देखि १०४ सम्म हुन्छ, जरोको कारण टाउको पनि दुख्छ।
- भोक कम लाग्ने र थकान हुने हुन्छ।
- श्वास गन्हाउने र बढी प्यास लाग्ने हुन्छ।
२. क्रनिक (जीर्ण) टन्सिलाइटिसः
लक्षणहरू
- एक्यूट टन्सिलाइटिसमा गलत खानपान वा गलत उपचारले क्रनिक बन्छ।
- यसको पनि मुख्य लक्षण भनेको घाँटी दुख्नु नै हो।
- टन्सिलको सुन्नाई वा दुखाई लामो समय लगातार भइरहन्छ।
- यो समस्या पटकपटक दोहोरिरहने हुन्छ।
- सुख्खा खोकी लाग्छ।
- आवाज पनि परिवर्तन हुन्छ।
- गर्धन बाहिर पनि छामेर हेर्दा गाँठो देखिन्छ।
बालबालिकामा हुने टन्सिलाइटिस
यो सामान्यतः सबै उमेर समूहका व्यक्तिलाई हुने समस्या हो। तर बालबालिका (५ देखि १५ वर्ष सम्मका) लाई धेरै हुनेगर्छ। बालबालिकामा घाँटी दुखेर ज्वरो आउने, शरीर तथा जोर्नी दुख्ने, बान्ता हुने, पेट दुख्ने हुन्छ। यस्तो समस्यामा वेवास्ता गर्नु हुँदैन।
बालबालिकामा टन्सिलाइटिसको सही उपचार भएन भने पछि यसले मुटुको भल्बमा समस्या भई बाथ तथा मुटुरोग हुन जान्छ। यसले गर्दा मुटु कमजोर हुने र शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ। र जीवनभर औषधि लिनुपर्ने हुनसक्छ। त्यसैले बालबालिकामा घाँटी दुखेर ज्वरो आएमा समयमै सही उपचार गर्नुपर्छ।
कारणहरू
- यसलाई ब्याक्टेरिया वा भाइरसको संक्रमणका कारण हुन्छ भनि मानिए पनि यसको मुल कारण अनुचित आहार, बिहार नै हो। भाइरस या व्याक्टेरिया सल्बलाउन पनि यसलाई उपयुक्त स्थान हुनुपर्छ।
- अर्को प्रमुख कारण कब्जियत हो।
- कब्जियत गराउने रेशा छोक्राबोक्रा नभएका खाद्यानहरू जस्तै मैदाका परिकारको सेवनले।
- धेरै चिल्लो, मरमसलायुक्त वा तारेभुटेका खानाले।
- पिरो र अमिला खाद्यपदर्थ जस्तै तितौरा अचारहरूको प्रयोगले।
- धेरै चिसा खानेकुराहरू फ्रिजबाट निकाल्ने वित्तिकै खानाले।
- जंकफुड, फास्टफुड आदिको सेवनले।
- बट्टाबन्दी जुसहरू, रियल, कोक आदिको सेवनले।
- पाचन हुन गाह्रो हुने खानाहरू माछा, मासु, अण्डा, दुग्धपदार्थको बढी सेवनले।
- मद्यपान र ध्रुमपान गर्नाले।
- हरिया सागसब्जी र फलफूलको कमीले ।
- पानी कम पिउनाले।
- बेलुकी ढिला सुत्ने र बिहान ढिला उठ्ने बानीले।
- अत्यधिक धपेडी र तनावले।
- मौसम परिवर्तन, सरसफाईको कमी र वातावरण प्रदुषणले पनि हुने हुन्छ।
टन्सिलाइटिसमा के खाने-के गर्ने?
टन्सिलाइटिस हुनेवित्तिकै कडा तथा ठोस आहार बन्द गरी नरम तथा झोलिला सुप आहार खाने जस्तैः
१.मह पानीः तातो पानीमा मह राखेर दिनको तीन-चार पटक आवश्यकताअनुसार पिउने।
२. फल रसः फल रसमा मौसमको रस सबै भन्दा उत्तम हुन्छ। फल रस लिँदा तातो पानी राखेर मन तातो गरेर दिनको ३ देखि ४ पटक लिन सकिन्छ।
३. ताजा तरकारीको सुपः तरकारीका सुप सबैभन्दा उपयुक्त हुुन्छ। तरकारीमा उत्तम तरकारीहरू प्रयोग गर्ने जसमा पात भएका वर्गहरु रायो साग, चम्सुर, मेथी, सुप र फर्सीको मुन्टा उत्तम हुन् भने पात नभएका हरिया तरकारीमा परवल, हरियो सिमी, हरियो बोडी, हरियो प्याज, हरियो लसुन, बरेला, घिरौंला, पाटे घिरौंला, ब्रोकाउली, गाजर आदि हुन्।
यी उत्तम तरकारी दुई-तीन थरी मिसाउने र गाजर एउटा पनि सानो गरी काटेर पानीमा राख्ने, एक सिठ्ठी लगाउने। लेदोका लागि आँटाको पिठो १–२ चम्चा राख्ने। मसलामा थोरै लसुन, अदुवा, जिरा, नुन राख्न सकिन्छ। यसरी चिल्लोरहित सुप दिनको तीन–चार पटक लिन सकिन्छ।
४.जाउलोः घाँटी दुख्दा पातलो जाउलो लिन सकिन्छ। जाउलो बनाउँदा तीन भाग हरियो उत्तम तरकारी र एक भाग चामल राखेर खिचडी बनाउने, दिनको ३ पटक खान सकिन्छ।
५. पानीः शरीरलाई आवश्यक मनतातो पानी प्रशस्त पिउने। गर्मी मौसममा ३–४ लिटर र जाडो मौसममा करिब ३ लिटर पानी पिउने।
६. हरिया सागसब्जीः प्रत्येक खानामा हरिया तरकारी प्रशस्त मात्रामा करिब खाना बराबर प्रयोग गर्ने।
७. फलफुलः दैनक मौसमअनुसारका फलफूलहरू सेवन गर्ने। अहिलेको चिसो मौसममा फलफूल तथा सलादवर्ग लिँदा हल्का तातो पानीमा डुबाएर वा उसिनेर लिने। टन्सिलाइटिस घाँटी दुखेको अवस्थामा भने फल सलादवर्ग नलिनु उत्तम हुन्छ। यदि लिनै परेमा उसिनेर वा पकाएर मात्र लिने।
सुख्खा फलः घाँटी दुख्दा सुख्खा फलहरू लिन सकिन्छ जसमा छोगडा, किसमिस र खुर्पानी आदि। यी फल खाँदा सफा पारेर पखालेर र तातो पानीमा भिजाएर लिने।
८. व्यायामः अंग व्यायाम तथा हल्का योग व्यायाम कोठामै बसेर गर्न सकिन्छ। तर चर्को दुखाई र ज्वरो छ भने पूर्ण आराममै बस्ने, कम भए पछि नियमित व्यायाम गर्ने।
९. प्रशस्त सुत्नेः निद्रा स्वस्थ्य रहने सबै भन्दा उत्तम उपाय हो। तसर्थ ठिक्क ७–८ घण्टा सुत्ने। बेलुकी ठिक समयमा र बिहान सबेरै घाम उदाउनु अगाडि उठ्ने।
१०. लुगा कपडाः न्याना लुगा, निधार छोपिने टोपी तथा घाँटीसम्म न्यानो हुने लुगा लगाउने। विशेष गरी छाती, घाँटी, निधारमा चिसो हुन नदिने।
स्थानीय प्राकृतिक उपचारः घाँटी दुखेको लक्षण हुने वित्तिकै हत्केला सेकी रेकी गर्ने। यसले रामवाणको काम गर्छ।
कसरी गर्ने?
- हातमा केही चिल्लो राखेर दुबै हात एक आपसमा रगड्ने, तातो भएपछि हल्का कोक्रो बनाएर एक हात घाँटीमा र अर्को हात घाँटीको पछाडि गर्धनमा राख्ने। एक–एक मिनेटमा हात फेरि रगडेर तातो बनाउने र राख्ने। यो एक पटक गर्दा कम्तिमा २०–३० मिनेट गर्ने। यसरी दिनको तीन-चार पटकसम्म गर्न सकिन्छ।
- अहिले चिसो मौसममा हात नतात्न सक्छ, त्यसका लागि रबर व्याग प्रयोग गर्ने। रबर व्यागले सेक्दा भने व्यागलाई तताएर कपडाले बेरेर मन्द आँचमा छाती देखि घाँटी सम्म सेक्ने गर्नुपर्छ।
- राती सुत्दा पनि रबर व्यागले सेकेरै सुत्ने।
- त्यसैगरी मन तातोपानीमा हल्का नुन राखेर मुख कुल्ला गर्ने दिनको तीन पटक।
- भ्वाइस रेष्ट गर्नु सबैभन्दा राम्रो उपचार हो।
- मुख सफा राख्ने, खाने वित्तिकै ब्रस गर्ने।
- मनतातो पानी प्रशस्त मात्रामा पिउने।
- घाँटी दुखे सँगै रूघा खोकी छ भने बाफ लिने।
के नखाने?
- घाँटी दुखेको अवस्थामा विशेष चिल्लो, चिसो, अमिलो, पिरो र काँचो खाना बन्द गर्ने।
- तारेका, भुटेका मसालेदार खाना बन्द गर्ने।
- फ्रिजका खाना नखाने।
- मैदाबाट बनेका परिकारहरू, चिनीका परिकार हलुवा, मिठाइ आदि वर्ग नखाने।
- जंकफुड, फास्टफुड, बट्टाबन्दी जुसहरू नखाने।
- माछा, मासु, अण्डा नखाने।
- धुम्रपान, मद्यपान बन्द गर्ने।
- जथाभावी आफूखुसी औषधिको प्रयोग नगर्ने। सम्बन्धित निकायमा जाँच गराएर मात्रा औषधी प्रयोग गर्ने।
- टन्सिलाइटिसमा योग व्यायामले पनि धेरै लाभ पुर्याउँछ।
टन्सिलमा गर्न सकिने योग व्यायामहरूः
१. गर्धन दायाँबायाँ गर्ने
- बज्रासन अथवा सुखासनमा बस्ने, ढाड, गर्धन सिधा राख्ने, दुबै हात घुँडा माथि राख्ने।
- अब श्वास छोड्दै टाउको घुमाएर बायाँ काँध हेर्ने र विस्तारै स्वास तान्दै विचमा आउने, फेरी स्वास छोड्दै दायाँ तिर मोड्ने। दसदस पटक गर्ने।
२. टाउको तलमाथि गर्नेः
- त्यहीँ स्थितिमा रहेर स्वास तान्दै टाउँको माथि लाने र स्वास छोेड्दै तल हेर्ने सकेसम्म चिउँदोले छाती छुवाउने।
३. कानले काँध छुवाउनेः
- त्यहीँ स्थितिमा रहेर स्वास छोड्दै कानले काँध छुवाउँने पालैपालो गर्ने।
- त्यसैगरी विस्तारै टाउँको घुमाउँने दायाँबाट ३ र बायाबाट ३ पटक गर्ने।
४. छाती फैलाउने
- अब विस्तारै स्वास तान्दै छातीलाई फुलाउँदै दुबै हात दायाँबायाँ काँध बराबर फैलाउने। टाउकोलाई पछाडि लगेर आकाश हेर्ने, १० गन्ने र विस्तारै विचमा फर्कने। ५– १० पटक गर्ने।
५. मार्जरी आसन
- बज्रासनमा बस्ने, दुबै घुँडाले टेकेर सिधा हुने।
- अब शरीरलाई झुकाएर दुबै हातले अगाडि काँधको बराबर राखेर भुइँ टेक्ने र सिधा हेर्ने।
- विस्तारै लामो स्वास तान्दै कम्मरलाई तल गर्ने र टाउको गर्धनलाई माथि लगेर आकाश हेर्ने, एक छिन यस स्थितिमा रहने
- अब स्वास छोड्दै मेरुदण्डलाई जति सकिन्छ त्यति माथि धनुश आकारमा लाने र टाउकोलाई तल लगेर चिउँडो छुने प्रयास गर्ने। ५ देखि १० पटक गर्ने।
६. भुजंगासन
- घोप्टो परेरै सुत्ने।
- दुबै हातलाई काँधको दायाँबायाँ राख्ने।
- लामो स्वास तान्दै दुबै हात तन्काएर कम्मर भन्दा माथिको भागलाई उठाउने, टाउकोलाई पछाडि लगेर माथि आकाश हेर्ने।
- १० गन्ने र स्वास छोड्दै फर्कने। ५ पटक गर्ने।
७. उष्ट्रासन
- बज्रासनमा बस्ने। घुँडाले टकेर सिधा बस्ने।
- अब विस्तारै स्वास तान्दै दुबै हातलाई पछाडि लगेर दुबै खुट्टाको पैताला छुने र कम्मर र हिपलाई जति सकिन्छ त्यति अगाडि ठेल्ने, टाउकोलाई जति सकिन्छ त्यति पछाडि लाने।
- यस स्थितिमा रहेर १० गन्ने र स्वास छोड्दै बिचमा आउने। ५ पटक गर्ने।
८. हलासन
- उत्तानो सुत्ने।
- अब स्वास तान्दै दुबै खुट्टा ९० डिग्रीमा उठाउने र स्वास छोड्दै दुबै खुट्टालाई टाउको पछाडि लगेर पैतालाले भुई छुवाउने, हात भने पछाडि सिधा राख्ने वा कम्मरमा टेको लगाउने।
- यस स्थितिमा रहेर १० गन्ने र स्वास तान्दै बिचमा आउने र स्वास छोड्दै खुट्टालाई भुइँमा राख्ने। ५ पटक गर्ने।
९. सर्वाङ्गासन
- उत्तानो नै सुत्ने।
- स्वास तान्दै दुबै खुट्टा र जिउलाई उठाउने दुबै हातले कम्मरमा टेको दिएर अझ सोझो गर्ने ९० डिग्रीमा, यस अवस्थामा टाउको, काँध र कुइनाले मात्र भुइँ छोएको हुन्छ।
- एक देखि पचाससम्म गन्ने र विस्तारै स्वास छोडदै बिचमा आउने।
१०. सरल मत्स्यासन
- उत्तानो नै सुतेर दुबै हातलाई हिप मुनि राख्ने। दुबै खुट्टा सिधा जोडेर राख्ने।
- स्वास तान्दै कम्मर र छातीलाई उठाउने र टाउकोलाई पछाडी लगेर भुइँ टेकिरहने। १– ५० गन्ने र स्वास छोड्दै बिचमा फर्कने।
११. कन्धरासन
- अब दुबै खुट्टालाई घुँडासम्म खुम्च्याउने, दुबै हातलाई दुबै पैतालाको दायाँबायाँ राख्ने।
- स्वास तान्दै मेरुदण्डलाई गर्धनसम्म माथि उठाउने, १० गन्ने र पहिलेकै स्थितीमा फर्कने। ५ देखि १० पटक गर्ने।
१२. पवनमुक्तासन १
- उत्तानोनै रहने, दुबै खुट्टा सिधा राख्ने।
- अब स्वास छोड्दै बायाँ खुट्टा खुम्चाएर दुबै हात कुर्कुच्चामा लगेर लक गर्ने, टाउको उठाएर चिउँदोले घुडा छुवाउँने प्रयास गर्ने, १० गन्ने र स्वास तान्दै विचमा आउँने। पालैपालो पाचपाच पटक गर्ने।
१३. पवनमुक्तासन २
- अब दुबै खुट्टालाई घुँडासम्म खुम्च्याएर दुबै हात घुँडामा लगेर लक गर्ने, टाउको उठाएर सकेसम्म चिउँडोले घुँडा छुने प्रयास गर्ने, १० गन्ने अनि स्वास तान्दै विचमा फर्कने। ३ देखि ५ पटक गर्ने।
१४. अश्वआसनः
- उत्तानोनै रहने।
- दुबै घुँडा खुम्च्याउने, दुबै हात टाउको पछाडि गर्दन मुनि लगेर लक गरेर राख्ने, दुबै कुइनाले भुई छुवाएर राख्ने।
- अब स्वास छोड्दै दुबै घुँडा जोडेर बायाँतिर लगरे भुई छुवाउँने, टाउँको दायाँतिर मोडेर दायाँ कुहिना हेरिरहने। २० देखि ३० गन्ने अनि स्वास तान्दै विचमा फर्कने। पालैपालो ५–५ पटक गर्ने।
१५. आरामआसन
- उत्तानो नै रहने।
- खुट्टालाई घुँडासम्म खुम्चाएर राख्ने।
- हातलाई गर्धन मुनि लक गरेर राख्ने।
- अब आँखा, मुख बन्द गरी करिब २ देखि ५ मिनेट आराममा बस्ने। सबै ध्यान आफ्नो स्वासमा दिने।
सावधानी
- घाँटी दुखाईको तिब्र अवस्थमा र जरो छ भने पूर्ण आरामा रहने। जरो र दुखाई कम भएपचि मात्र व्यायाम गर्ने।
- योग आसन गर्दा कुनै पनि आसन सकिनसकि बलपूर्वक नगर्ने। जति सकिन्छ त्यति गर्दै जाने, शरीरको लचकता बढेपछि सबै गर्न सकिने हुन्छ।
- आसन गर्दा स्वासमा ध्यान दिई स्वासको तालमा गर्नुपर्छ।
- त्यसैगरी उष्ट्रासन, हलासन, सर्वाङासन गर्दा ढाड दुख्ने, नशा च्यापिएको समस्या छ भने नगर्ने। यी आसनहरू गर्दा क्रम मिलाएर गर्ने।
यसरी सही तरिकाले खानपान, सरल प्राकृतिक उपचार र दैनिक योग व्यायाम गरेमा जुनसुकै चर्को र पुरानो टन्सिललाई पनि निको पार्न सकिन्छ। तर यदि गलत आहार विहार भइरहयो वा गलत उपचारका कारण स्थानीय अंग नै विकृत भइसकेको भए त्यसलाई पुरानो अवस्थामा फर्काउन सकिन्न।
टन्सिलाइटिस बारम्बार दोहोरिरह्यो वा यसले धेरै समस्या गरायो भने यसलाई अपरेशन गरेर निकाल्ने गरिन्छ। यो सामान्य अपरेशनमा पर्छ, १–२ दिनमै अस्पतालबाट घर जान सकिन्छ। यसले खासै असर गर्दैन तर माथि उल्लेख भइसकेको कुरा हो, टन्सिल हाम्रो प्रतिरोध प्रणालीको पहिलो पंक्ति हो र यो घाँटी (शरीरको पहिलो प्रवेशद्धार)को पहरेदार हो।
हाम्रो शरीरका सबै अंगहरू प्रकृतिले जहाँ जसरी हुनुपर्छ त्यहाँ त्यसरी नै मिलाएर सृजना गरिएको छ। सम्पूर्ण अंगको छुट्टाछुट्टै काम हुन्छ। शरीरबाट एउटा अंग नै निकालेर फालेपछि त्यस अंगको कार्यमा भने कमी हुनेछ। निकाल्नैपर्ने अवस्थामा वा जरूरी पर्दा भने निकाल्न सकिन्छ।
ध्यान रहोस्, प्रकृतिमा स्वस्थ्य भएर बाँच्ने व्यवस्था पनि छ, रोगी भएर बाँच्ने व्यवस्था पनि। के खाँदा स्वस्थ्य भइन्छ र के नगर्दा रोगी भइन्छ भन्ने व्यवस्था पनि छ। प्रकृतिमा रहेको उचित आहार, विहार, विचार स्वास्थ रहने आधार हो भने अनुचित आहार, विहार विचार रोगको आधार।
यो उहिल्यै देखि भएको व्यवस्था हो। तसर्थ यही प्रकृतिको व्यवस्था (शरीर सञ्चालनको नियम) लाई बुझेर खाने, पिउने, काम गर्ने, सुत्ने, उठ्ने, विचार गर्ने काम गरेमा हामी स्वस्थ्य हुन सक्छौ। आफ्नो स्वास्थ्य आफ्नै हातमा।
(महर्जन योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक हुन्।)
रामदेवीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्