मेरी छोरी जन्मिँदा उसको बाबा विदेशमा हुनुहुन्थ्यो। उहाँ न नानीको पास्नीमा आउन पाउनु भयो न पहिलो जन्मदिनमा। नानी दुई वर्षकी हुँदासम्म उसले बाबाको मायाको न्यानो आभास पाइन, बाबाको स्पर्श उसको त्यो सुकोमल हातहरूले पाएनन्।
पुस/माघको कठ्यांग्रिँदो चिसो र भर्खर जन्मिँदा बच्चालाई चाहिने बाबाको न्यानो काखको उसलाई पत्तै भएन। जब ऊ अरुले बोलाएको सुन्ने भई त्यो बेला 'छोरी' भन्ने शब्द बाबाको मुखबाट प्रत्यक्ष नानीको कानमा कहिले गुञ्जाहट भएन।
कोरोना लहर अलिकति कम हुन थालेपछि बल्ल उसको बाबा नेपाल आउने हुनुभयो। छोरीलाई पहिलो पटक एयरपोर्टमा भेट हुँदा बाबाले 'छोरी आऊ' भन्नेवित्तिकै झ्याप्प गएर बाबाको अंगालोमा बाधिई। बाबा भनेर मैले छोरीलाई चिनाउँदै गर्दा मेरा र बाबा दुवैका गर्वका आँसुका ढिकाहरू आँखाका डिलमा आएर छताछुल्ल भए।
त्यसपछि छोरीलाई उसको बाबा हुनुहुँदो रहेछ भन्ने महसुस भयो होला, घर आएपछिका हरेक पल बाबालाई खोज्न थाली। खानेबेला बाबा, बाहिर डुल्दा बाबा, घरमा खेल्दा बाबा, जतिबेला पनि बाबा खै?
छोरीको हरेक प्रश्न र उत्तर उही बाबा हुन थाल्नुभयो। उनको हरेक रातको शुभरात्री र हरेक बिहानको शुभबिहानी उही बाबा बन्नुभयो। जुन कुराले मलाई आश्चर्यचकित बनाउँदै स्वयम प्रश्न गर्थ्यो, जसको उत्तर दिन खोज्दा म निःशब्द हुन्थेँ!
किन रगतको नाता यति अजम्बरी र अदृश्य हुँदो हो? म सानै छँदा मेरो हजुरबुबा हजुरआमाले भन्नुहुन्थ्यो, 'खुनले आफ्नो खुन चिन्छ।' सायद मेरो छोरीलाई त्यही भयो कि? त्यसपछिका हरपल छोरीका आँखाले बाबाको उपस्थित खोजिरहन्थ्यो तर के गर्ने? छोरीको आँखामा मात्र बाबा हुनुहुन्थ्यो तर बाबाका आँखामा छोरीको उज्ज्वल भविष्य निमार्णका थुप्रै सुन्दर सपनाहरू थिए। त्यसैले ती सपनाहरूले बाबालाई निदाउन दिएन।
ती सपनाहरूले बाबालाई छोरीसँगै मातृभूमिमा बस्न दिएन र ४ महिना नेपाल बसाइपश्चात भरभराउँदो भविष्यका सपनाहरू बोकेर, मनभरि आमा र छोरीको प्रेम हुर्काएर, स्मृतिमा गाउँघर र परिवारको माया राखेर परदेशतिर लाग्नुभयो। परदेश जानको दिन खै किन घमाइलो दिनमा पनि कालो बादलले सूर्यलाई छेकेर ग्रहण लागेजस्तो भयो।
नेपाल आउने कुरा गर्दा २/३ महिना अघिदेखि दिन गन्दै रमाउने तर जाने भन्दा आखिर किन त्यो पीडा हुने? बिदाइको पल एकदमै गाह्रो हुने, आँखामा आँखा जुधाएर बिदाइ गरौँ भन्दा आँखा आँसुले भरिएर तलाउ हुने। मनले केही बोलेर बिदाइ गरौँ भन्दा शब्दहरू सबै मुटुमा गाठो परेर बस्ने र शब्दविहीन हुने। त्यो दिन, त्यो रात सबै कति कालो कहालीलाग्दो हुन्छ। त्यो क्षण भोग्ने परदेशी र परदेशीको परिवारलाई मात्र थाहा हुन्छ। बिछोडको पल कति असह्य हुन्छ भनेर।
आजभोलि भर्खर बोली फुटेकी मेरी छोरीले बाबा परदेश गएको कयौं महिना बितिसक्दा पनि फेसबुकमा बाबाको फोटो देख्नासाथ घरी बाटोमा गाडी गुडेको देखेर 'बाबा टिटी' भन्छे, घरी काहीँकतै किरा देख्दा 'बाबा किरी' भन्छे। यसो कतै चोट लाग्दा 'बाबा, नानीलाई झि' भन्छे। यसरी प्रत्येक दिन यो निर्दोष बच्चाको लागि बाबाको माया मोबाइलमा मात्रै सीमित रहेको देख्दा यो आमाहृदय छियाछिया हुन्छ।
एकदिन बाबाको फोटो हतार हतारमा ठूलो ब्यागबाट पर्स निकाल्दा भुइँमा खस्यो। त्यो फोटो छोरीले टिपेर 'मामु, बाबा!' भनेर खुसी हुँदै फोटोमा म्वाइँ खाई। त्यसपछि मैले त्यो फोटो त्यही नानीको सिरानीमुनि राख्दिएँ ताकि छोरीले परदेशिएको बाबालाई वर्षौंपछि आउँदा पनि नभुलोस् भनेर।
छोरीले पनि सोही बमोजिम बिहान उठ्ने वित्तिकै सधैँ बाबाको फोटो हेरेर एकचोटि माया गरेर पुनः सिरानिमुनि राख्न थाली! जसले गर्दा बाबाछोरी भौगोलिक दूरीका हिसाबले टाढा रहे तापनि फोटो देख्नसाथ छोरीको दिमागमा बाबा सँगसँगै भेट्दा, बस्दाको पल ताजा हुन्छ कि भन्ने आश लाग्छ। यसरी यो अबोध बच्चा र बाबाको माया यथार्थको दुनियाँभन्दा बाहिर, कल्पनाको दुनियाँमा भर्चुअल माध्यमबाट चलिरहेको देख्दा लाग्छ कति अभागी हुन् ती बच्चा जसको बाबा परदेश हुनुहुन्छ।
यसरी दिनदिनै छिनछिनमा हेरेरै कुरा गर्दा पनि हामीलाई उहाँकै कमी भएको महसुस हुन्छ। त्यतिबेला म सम्झन्छु ती हिमाल पारिका जिल्ला, ती पहाडका अनकन्टार ठाउँ, ती भूगोल जहाँ मोबाइलको नेटवर्कसम्म राम्रोसँग काम नगर्ने ठाउँमा बसोबास गर्ने ती परिवार र बच्चाको मन कस्तो हुँदो हो?
कति दुख्दो हो मन? कति पोल्दो हो छाती? कति अत्यास लाग्दो हो त्यो आफ्नो मान्छे भन्ठानेर भर्खर गृहप्रवेश गरेकी नवदुलहीलाई जसको बिहे गरेको एक हप्तामै बिहेमा लागेको ऋण तिर्न र त्यही परिवार धान्न परदेश लागेको श्रीमानसँग मन लाग्दा बोल्दै भए नि मन साट्न नपाउनुको पीडा! कति कहाली लाग्दो हो त्यो बच्चा बिरामी पर्दा रातभरि कालो रातमा आकाशतिर तारा गन्दै एक हातले आँसु पुछ्दै बाबा र आमा मै हुँ भनी साहस बटुलेर परदेशीलाई सम्झिँदै घरदेशमा बलबाच्चा एक्लै हुर्काउँदै, बढाउँदै, पढाउँदै गरेकी ती भर्खरकी नारीलाई!
यसैगरी जिन्दगीका उकाली ओराली पार गर्दै बसेका थुप्रै परिवारका मेरो छोरीजस्तै लाखौं परदेशी बाबाका निर्दोष छोराछोरी भर्खरका दूधे बच्चालाई के थाहा बाबा बाध्यताको जन्जिरभित्र परी विदेशिनुको कारणले आफू बाबाबाट टाढा रहनुको पीडा!
गरिबी, बेरोजगारजस्ता विविध बाध्यतको जंघार तर्नुपर्ने अवस्थाले गर्दा आज लाखौं सन्तानका बाबाहरू आफ्नो मनको इच्छालाई समेत थाँती राखेर प्रवाशमा पसिनासँग मूल्य साट्दै दिनरातहरू कटाइरहेका छन्।
यो हरेक प्रदेशिएका नेपाली परिवारको दुःखद् भोगाइ हो, कसैले आफ्नो पीडा र भोगाइ शब्दमा उतार्ने गर्छन्। त्यो कथा बन्छ। कसैले मात्र भोग्छन्, त्यो व्यथा बन्छ। फरक त्यति नै हो।
आज वास्तवमै युवाशक्ति विदेशिनु पर्ने बाध्यताको जन्जिरभित्र कैदी जीवन बिताइरहेका छन्। मौसमी परिवर्तनजस्तै कहिले गृष्म ऋतुसँग हातेमालो गर्दै वसन्तको पालुवामा रम्ने मन र इच्छालाई मनभित्र गुम्साउनु परेको छ। आउँदै गरेका चाडपर्व नभनी, घरमा बुढीआमा छन् एक थोपो टीका लगाएर जान्छु नभनी, घरमा श्रीमती र छोराछोरी छन् उनीहरूलाई माया र सँगै बसी साथ दिन्छु नभनी आर्थिक अभाव र करियर निर्माणका निम्ति विदेशिनु परेको छ।
त्यो एउटै बिम्ब हो, व्यवस्थित जीवन र परिवारको पेट पाल्ने बाध्यता। जुन कुराको सुनिश्चितता राज्यले गर्नुपर्थ्यो तर त्यसो आजसम्म भएन। जसको परिणाम वर्षेनी लाखौं जनशक्ति विदेशिन बाध्य छन्। बाध्यताको वस्तीमा प्रेम र सद्भावभन्दा अभावको खेती सहज हुँदो रहेछ।
आज देशमै युवालाई रोजगार भएको भए भर्खरै बाबा भन्दै तातेताते गर्ने लाखौं छोराछोरीहरूले बाबुको हात समाई तातेताते गर्ने पलबाट बन्चित हुनु पर्ने थिएन्। आफैले जन्माएका, प्रेमले हुर्काएका सन्ततिलाई ती बुढा बा-आमाले औँला गन्दै मेरो छोरा कहिले आउला भन्दै वर्ष, महिना अनि दिन कुर्दाकुर्दै डाँडा माथिको जुन बन्नुपर्ने थिएन।
चाडपर्व आउँछ, चोक, गल्ली जताततै परदेशीकै सम्झनामा ठूलो-ठूलो आवाजमा 'दसैं आयो अब त फर्केर आऊ है' भन्ने गीतहरू बज्छन्। त्यो सुन्दा लाग्छ, आखिर किन आउँछ चाडपर्व? जहिले आउँछ रुवाएर जान्छ। मलाई श्रीमान् यहाँ नहुँदा आएको दसैं, दसैंजस्तै लाग्दैन। तर के गर्नु? धनी देशका गरिब सर्वसाधारण जनताका छोराछोरीले आखिर उही विदेशी मुलुकमै एक मुठी सास रहुन्जेल, दुई पाखुरा बलिया रहुन्जेल मेसिनसरी काम गर्नुपर्दो रहेछ।