केही समयअगाडि मधेस प्रदेशको सप्तरी, सिराहा र धनुषा घुम्ने मौका पाएको थिएँ। मधेश र त्यहाँको विविधताबारे धेरै सुनेको र अलिअलि पढेको पनि थिएँ। तर पढेसुनेको आधारमा मेरो कल्पनाको मधेश र यथार्थ अनुभवबीच धेरै अन्तर पाएँ। जति सोचेको थिएँ त्योभन्दा धेरै चुनौती र सङ्घर्षसँग जेलिएको रहेछ मुसहर समुदायको जीवन।
राजविराज नगरपालिका वडा नम्बर ९ पोखरीडीलमा बसेको मुसहर वस्तीमा बिहानैदेखि स्थानीय तहको निर्वाचनको चहलपहल थियो। फुसले छाएको माटोका घरहरू छरिएका थिए। हरेक घरको भित्तामा रङ्गीचङ्गी पोस्टर टाँसिएका थिए। तारबेरा, साना बुट्यान र रूखहरूमा ब्यानर झुण्ड्याइएका थिए। तर स्थानीय मुसहरको अनुहारमा चुनावको रन्को चढेको देखिनँ।
नयाँ व्यक्ति वस्तीमा आएको कौतुहलले होला, निमेषभरमै धेरैजना वरिपरि झुम्मिए। अलि अनौठो अवश्य लाग्यो तर एकैपटक धेरै जनासँग कुरा गर्न पाउँछु भन्ने लाग्यो। तर केशको रङ्गले आधा उमेर कटाएझैं देखिने एकजना महिला आक्रोशित हुँदै 'हम सब भोट नै देबै' भनेपछि अलि सम्हालिएँ।
उनी बर्बराउँदै थिइन्, '२६/२७ घरधुरीमा एउटा मात्रै कल छ। बाटो पक्की गरेको छैन। कलको पानी नपुगेर पोखरीको फोहोर पानी प्रयोग गर्न बाध्य छौं। त्यो पानीले बालबच्चा बिरामी छन्। कसले सुन्छ हाम्रो आवाज? कसले देख्छ हाम्रो समस्या? पाँच वर्षअगाडि पनि बाटो, कल बनाउछौँ भनेर भोट दियौँ। तर अहिलेसम्म खै त हाम्रो समस्या समाधान भएको?'
सत्ता, शक्ति र श्रोतमा पहुँच नभएका सीमान्तकृतहरूको यो साझा मुद्दाजस्तो लाग्छ मलाई। भोटका लागि आएको होइन भनेपछि मात्र माहोल शान्त भयो। अनि मुसहर महिलाहरूसँग कुरा गर्न थालेँ। त्यही बेला एकजना गैरदलित महिला अर्का मुसहर पुरूषलाई गाली गर्दै आइपुगिन्। ती पुरूषले पसलबाट लिएको उधारो तिरेका रहेनछन्।
भरेभोलि भन्दाभन्दै धेरै समय बितेपछि पसलकी साहुनी रिसाएकी रहेछिन्। अनि साहुनीले मुसहर पुरूषको खोरबाट एउटा बाख्रा घिसार्दै, गाली गर्दै लिएर गइन्। बाख्रा पछि-पछि उनकी आमा, श्रीमती र छोराछोरी रूदै गइरहेका थिए। १४/१५ सय ऋणको बदलामा १०/१२ हजारको बाख्रा तानिरहेकी थिइन् ती महिलाले। त्यो दृश्यले मेरो मनमा अर्को प्रश्न उब्जायो, कति समयसम्म दलित समुदायले गैरदलितहरूबाट अपमान र दमन सहने होला?
त्यो वस्तीमा खासै पढेलेखेका मुसहर महिलाहरू मैले भेटिनँ। मैले भेटेका १४/१५ जना महिलामध्ये २/३ जनाले मात्रै कक्षा पाँचसम्म पढेका थिए। ठूलो परिवारमा सन्तान पाल्न र पढाउन गाह्रो हुने भएकाले बा-आमाले सानै उमेरमा छोरीको विवाह गरिदिने चलन रहेछ।
समुदायका महिलाहरूको गुनासो थियो, 'पढ्ने मन हुँदाहुँदै आर्थिक अवस्था कमजोर भएकाले घरपरिवारले स्कुल पठाएनन्। भाइबहिनीलाई हेरचाह गर्नुपर्ने भयो। बा-आमा ज्याला मजदुर गर्न जान्छन्। अनि स्कुल पनि टाढा भयो।' शिक्षामा मुसहर महिलाहरूको पहुँच कम देखेँ। स्कुल गएका महिलाहरू पनि बीचमै छाड्न बाध्य छन्।
मुसहर महिलाहरू बिहान बेलुकाको छाक टार्न मेलापात जाने, ज्याला मजदुरी गर्दा रहेछन्। उनीहरू अहिले पनि जमिन्दार/साहुको खेतमा काम गर्छन्। एकदिन काम गरे वापत तीन सय रूपैयाँ ज्याला पाउँछन्। तर दिनभरि पसिना बगाएर कमाएको त्यो पैसा उनीहरूले राख्न/चलाउन पाउँदैनन्।
४० वर्षीया नन्नुदेवी सदा भन्छिन्, 'दिनभरि कमाएको पैसा पतिले जाँडरक्सी खाएर सक्छन्। दिनहुँ घरमा झगडा हुन्छ।' नन्नुदेवीको वस्तीमा बल्लबल्ल बिजुली पुगेको छ। कसैको घरमा टिभी छैन। स्मार्टफोन पनि छैन।
वस्तीका मुसहर महिलाहरू मिलेर एउटा आमा समूह खोलेका रहेछन्। ज्यालामजदुरी गरेर कमाएको केही पैसा सहकारीमा बचत गर्दा रहेछन्। नरिवलको पातबाट झाडु बनाउने, प्लास्टिकबाट ढक्की र मुडाहरू पनि बनाउने तर समुदायको यो उत्पादन बजारसम्म नपुग्ने रहेछ।
आफ्नै घरायसी प्रयोजनका लागि बनाउने गर्छन्। उनीहरूले बजारमा बिक्री वितरण गर्न बनाउँदैनन्। परम्परागत सीपबाट वस्तीमा उत्पादन भएका सामग्रीको बजारीकरण कसरी गर्ने भन्नेमा उनीहरू अनभिज्ञ छन्।
वस्तीमा स्वास्थ्यसम्बन्धी समस्या धेरै रहेछ। सरसफाई र स्वस्थ आहारबारे उनीहरू सचेत देखिएनन्। लगभग ३० घरधुरी मात्रै एउटा पोखरी र एउटा कलमा निर्भर छन्। खाने, नुहाउने, लुगा धुने, भाँडा माँझ्ने सबै काम एउटै पोखरीमा गर्नुपर्ने बाध्यता छ।
पानी फोहोर भएकाले वस्तीका धेरै मानिसहरू बिरामी छन्। बालबालिका लुतो, दादुराजस्ता छालासम्बन्धी रोगबाट ग्रसित छन्। वस्तीमा प्रायः हरेक घरमा एकजना अपाङ्गता भएका व्यक्ति देखिन्थे। युवा अवस्थामै दृष्टिविहीन भएका मानिसहरू पनि वस्तीमा देखिन्थे।
वस्तीका धेरै महिलालाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाइ र हेरचाहबारे थाहा रहेनछ। आधुनिक स्यानटरी प्याड महँगो भएकाले पुराना कपडा प्रयोग गर्दा रहेछन्। वस्तीका कतिपय किशोरीलाई स्यानटरी प्याड भनेकै थाहै थिएन। गर्भवती र सुत्केरी महिलालाई कुपोषणले सताएको छ। बालविवाहका कारण पाठेघर खस्ने समस्या रहेछ।
सिरहाको लहान नगरपालिका वडा नम्बर २ स्थित मटियारबाल गाउँको मुसहर वस्तीको व्यथा पनि उस्तै छ। स्थानीय मुसहर पुर्खाले पहाड फुटाएर समथर बनाएको कथा सुनाउँछन्। कथामा पछि उनीहरूको वस्ती जमिनदारहरूले हडप्छन्। जमिन्दारले लालपुर्जा खोस्छन्। अनि कुनै समय भूमिसन्तान रहेका मुसहर भूमिहीन बन्छन्।
वस्तीमा ७० मुसहर घरधुरी छन्। सबै ऐलानी जमिनमा बस्ने र भोगचास गर्छन्। जमिनको लालपूर्जा छैन। जमिन र लालपूर्जा नहुनु नै वस्तीको मुख्य समस्या हो। ४६ वर्षकी शितलदेवी सदाले मुसहर वस्तीका लागि लालपूर्जा आन्दोलनको नेतृत्व गरेकी थिइन्।
उनी भन्छिन्, 'लुम्बिनीमा १५ दिन, पोखरामा १२ दिन र काठमाडौंमा १६ दिन गरी ४३ दिनसम्म आन्दोलन गर्यौं। आन्दोलनलाई सघाउन घर-घरबाट चन्दा सङ्कलन पनि गर्यौं। तर लालपूर्जा पाएनौँ।'
भूमि आयोगले उनीहरूको माग सम्बोधन गरेन। मुसहर वस्ती नजिकै चौधरी र यादवको वस्ती छ। ऐलानी जमिनमा बस्ने उनीहरूले लालपूर्जा पाए तर मुसहर समुदायले पाएनन्। नेपालको संविधान र कानूनले प्रतिबन्ध गरेको जातीय विभेद र छुवाछूतको अमानवीय अभ्यासले मुसहर समुदाय असाध्यै पीडित छन्। त्यसमाथि मधेसी दलित महिला तेहेरो हिंसामा जाकिएका छन्।
पहिले मुसहर समुदायमा पानीको कल थिएन। खानेपानी लिन यादव र चौधरी वस्ती-टोलका सार्वजनिक धारामा जानुपर्थ्यो। त्यहाँका महिलाले 'गे, रसता छोइड दही। मुसहरनी आरहल है' भन्दै छोइछिटो गर्ने गरेको स्थानीय मुसहर महिला अहिले सुनाउँछन्।
तल्लो जात भएकाले उनीहरूले पानी थाप्ने समयमा मुसहर महिलालाई छेउछाउ नआउन भन्दै गाली गर्ने, झगडा गर्ने, कुटपिट गर्ने गर्थे। अझ भएन, फोहोर नै मुसहर वस्तीमा ल्याएर फाल्ने गरेको दुःखद सम्झना पनि गर्छन्।
गैरदलितहरूको विवाह, भोजभतेर र सार्वजनिक समारोहमा मुसहर समुदायलाई निम्तो दिने चलन छैन रहेछ। उनीहरूको खेतमा काम गर्ने खेतालालाई परैबाट खाजा दिन्छन्। मुसहरले छोएको खादैनन्। अन्य वस्तीभन्दा अलग्गै र टाढा रहेको मुसहर वस्तीमा गैरदलित व्यक्ति खासै आउजाउ गर्दैनन्।
चौधरी र यादव समुदाय बस्ने गाउँ-टोलमा कालोपत्रे सडक छ। हरेकको घरमा कल छ। पसल छ। मुसहर वस्ती यी सबै सुविधाबाट टाढा छन्।
परम्परागत रूपमा मुसहर समुदाय कृषि श्रमिक हुन्। मुसहर समुदाय आफूलाई वाल्मीकि ऋषिका सन्तान पनि भन्छन्। त्यसैले उनीहरूमध्ये कतिपयको थर ऋषिदेव र ऋषिकुल पनि हुन्छ। मुसहरहरूको मूलथलो किटान गर्न सकिँदैन तर पनि एघारौं शताब्दीदेखि मधेशका विभिन्न भूभागमा उनीहरूको बसोबास भएको पाइन्छ।
वर्षको एक पटक असार महिनामा मुसहर जातिले दिनाभद्रीको पूजा गर्ने गर्छन्। काली, सुरसैन, लक्सेर, सलेस, भूमा महाराज र सरदारलाई कुलदेवता मान्छन्। मुसहर समुदाय मरर वा मैनजन प्रथा अभ्यास गर्छन्। एउटा क्षेत्र तोकेर एक जना मरर वा मैनजन छानिन्छ जसलाई मुखिया पनि भनिन्छ। समुदायमा कुनै समस्या आइपरे वा सामाजिक कार्य गर्नुपरेमा मैनजनको भूमिका अहम् हुन्छ।
स्थानीय सरकारले पनि विभेद गरेको, सहयोग नगरेको र उनीहरूको समस्या बेवास्ता गरेको गुनासो छ। शासन व्यवस्थामा भएका आमूल परिवर्तन र सीमान्तकृत समुदायका लागि गरिएका सकारात्मक उपायले अतिसीमान्तकृत मुसहर समुदायलाई छुन सकेको छैन। दलित समुदायभित्र मुसहर समुदायको जीवन्त भोगाइ र प्रतिरोधका गाथा विशिष्ट छ।
भूगोल, लिङ्ग, भाषा, वर्णलगायत विभिन्न आधारमा दोहोरो-तेहेरो विभेद सहन उनीहरू बाध्य छन्। शिक्षा, स्वास्थ्य, रोजगार, भूमिजस्ता मौलिक अधिकारबाट वञ्चित छन्। तर नन्नुदेवी सदा, शितलदेवी सदा र अम्बिका सदाजस्ता नेतृत्वदायी महिला रहेसम्म मुसहरको प्रतिरोध कमजोर हुने छैन। ज्यालामजदुरी गरेर भए पनि १२/१३ जनाको परिवार पाल्न उनीहरू आत्मनिर्भर भएका छन्। आफूमाथि हुने विभेदविरूद्ध आवाज उठाइरहेका छन्। आफूजस्तै प्रतिरोधी आवाजहरूलाई संगठित गरिरहेका छन्।
तर यर्थाथ के छ भने गैरदलित र स्थानीय तहले मुसहर समुदायको आवाज सुन्दैनन्। उनीहरूको समस्या र मुद्दामा बोल्दैनन्। अम्बिका सदा भन्छिन्, 'हम्हु सब् अपन अधिकार, पहिचान, समस्या सबके लागि आवाज उठावे के लागि सक्षम छि। लेकिन हमरा सबके आवाज सुनवाला केउ न है।'
त्यसैले मुसहर समुदाय र मुसहर समुदायका महिलाहरू आवाज उठाउन सक्छन् तर सुनिदिने, उनीहरूको मुद्दामा बोलिदिने, सहयोगी र राज्यको तर्फबाट पनि गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था सिर्जना भएको छ।