'अनि तपाईंले आफ्ना छोराछोरीलाई कुन विद्यालयमा नाम लेखाउनु भएको छ नि?'
विवाह, व्रतवन्ध, भोज, पार्टी वा कुनै पारिवारिक भेटघाट, जहाँ पुगे पनि अभिभावकहरुलाई आजभोलि अक्सर सोधिने प्रश्न हो यो।
चर्चा पढाइको छ। पढाइको भन्दा अझ बढी चर्चा पढ्ने विद्यालयको। सरकारी विद्यालयमा पढ्नेको बेग्लै किसिमको चर्चा, चर्को मूल्य तिरेर निजी विद्यालय पढ्नेको बेग्लै। निजी र सरकारीको फेसनमा मात्र अडिएर बसेको चर्चाले 'सिकाइ' को चर्चालाई कतै टाढा धकेलिदिएको हो कि भन्ने भान हुन्छ।
सरकारी र निजीको बहस अलि बढी नै हुनेगर्छ हाम्रो समाजमा। सरकारी विद्यालयमा अध्ययन गर्नेहरुको विकल्प केवल लोकसेवा र राजनीति मात्र हो र निजी विद्यालयमा अध्ययन गर्नेहरुको विकल्प केवल विदेश। यस्तै-यस्तै गलत धारणा र भ्रममा रुमल्लिरहेका छौँ हामी। सरकारी विद्यालयका उत्पादनले अक्सर राजनीतिक नेतृत्व गर्छन्। प्रशासनिक काम कारबाहीमा बढी वर्चश्व हुने भएकाले, उनीहरुको नाक पनि अलि ठूलै हुनेगर्छ।
तर मुख्य रुपमा ध्यान दिनुपर्ने कुराबाट भने सबैको ध्यान भड्किएको अवस्था छ। सबैभन्दा महत्वपूर्ण कुरा हो, सिकाइ। हाम्रो सिकाइको गुणस्तरको मापन कुनै हालतमा पनि निजी र सरकारी बीचको प्रतिस्पर्धाले गर्दैन। सायद यस्तो हुँदो हो त, देशमा कुनै पनि किसिमको रोजगारीको कमि हुने थिएन होला।
कक्षाकोठाको सिकाइ कस्तो छ भन्दा पनि कक्षाकोठाको फ्लोरिङ मार्बलले गरिएको छ कि सिमेन्टले, या माटोले भन्नेतिर हामी लाग्यौँ। एउटा विद्यार्थीले कति कुरा जान्यो र बुझ्योभन्दा पनि उसले कति वटा किताब र कापीको भारी बोक्यो भन्नेतिर हामी लाग्यौँ। यो कुरा नितान्त साँचो हो। जति भारी झोला, उति बढी ज्ञान भन्ने गलत धारणा धेरैभन्दा धेरै अभिभावकहरुको छ।
मानसपटललाई प्रयोगवादी बनाउन शिक्षा नीतिले हामीलाई सिकाएकै छैन। कखरादेखि ए, बी, सी, डी हुँदै विज्ञान र गणितका सुत्रहरु सबै रट्दै आएका विद्यार्थीहरुले व्यवहारिक ज्ञानको स्वाद चाख्न कहिल्यै पाएनन्। अग्लो रुखको टुप्पोमा फलेको मिठो फलजस्तै भयो व्यवहारिक सिकाइ। त्यो फलका बारेमा जति गुणगान गाए पनि रुखको फेदमा बसेकाहरुले त्यसको रसस्वादन कहिल्यै गर्न पाएनन्।
घोकेर जसले बढी अंक ल्याउन सक्यो, उही सबैभन्दा उत्कृष्ट। जो घोकाइमा कमजोर, ऊ भने सबैका निम्ति हेयको पात्र। विद्यार्थी भित्रको क्षमता जाच्ने साधन पनि बडो अचम्मको चिज बनाइयो, परीक्षा। वर्षभरि सिकेका कुराहरु जम्मा तीन घण्टाको समयमा कापीमा उतार्नुपर्ने, र मूल्यांकनको आधार पनि त्यही। परीक्षामा जसले बढी अंक ल्यायो, ऊ नै सर्वोत्कृष्ट मानिन्छ। चाहे त्योभन्दा बाहेक ऊसँग कुनै प्रयोग गर्ने सीप या कला केही पनि नहोस्।
परीक्षामा त कसैलाई मेहनतले साथ देला, कसैलाई भाग्यले। परीक्षाको पेपरमा रटेर लेखेको उत्तरजस्तो सजिलो त जीवन पक्कै हुँदैन। कुनै विद्यालयहरु यस्ता पनि छन्, जसले बिहान १० बजेबाट बेलुकी ४ बजेसम्म ८ विषयमा विद्यार्थीहरुलाई लदाउनु बाहेक उनीहरुको मानसिक, शारीरिक तथा सामाजिक वृद्धिका निम्ति कुनै पनि अतिरिक्त क्रियाकलापहरु गराउँदैनन्।
विद्यार्थीहरुको आवश्यकता र रुचि अनुरुपको शिक्षा पद्धति नहुँदा यसले देशलाई पनि असर गरिरहेको छ।
विद्यार्थीहरुको मनोवैज्ञानिक आवश्यकता कसले बुझिदिने? विद्यार्थीको रुचि कस्तो छ र उसलाई कुन कुरामा 'मोटिभेसन' को आवश्यकता छ भन्ने कुरामा कसैको ध्यान गएको देखिँदैन। विद्यालयहरुको चाहना एउटै मात्र रह्यो- विद्यार्थीहरुले पढाएको कुरा कहिल्यै पनि नबिर्सिउन्। कुनै पनि कुरालाई लामो समयमा याद राखिराख्न त्यसको प्रयोग वास्तविक जीवनमा हुन आवश्यक छ। तर व्यवहारिक सिकाइलाई दिइने महत्व शून्य भएको मैले महसुस गरेकी छु।
विद्यालयमा पढ्दै गर्दा विज्ञानका अनेकौँ प्रयोगहरु मुखस्त पारियो र परीक्षामा राम्रो अंक आउने गरी मज्जाले लेखियो पनि। तर एक पटक पनि 'साइन्स ल्याब' कस्तो हुन्छ र त्यहाँ के-के राखिएको हुन्छ, देखिएन। म्यानेजमेन्ट, बिजनेस र बैँकिङ पढ्ने विद्यार्थीहरुलाई एकाउन्टका अनेकौँ हिसाबकिताब सिकाइन्छ। तर कसैले बैंकको एउटा भाउचर भरिदिन सहयोग माग्यो भने, ऊ अकमक्क पर्छ। यी सबै उदाहरणहरु हाम्रै वरपरका नै हुन्।
आधुनिक युगमा प्रवेश गरिसकेको समाजले आधुनिक शिक्षाको पहिलो खुड्किला कहिले चढ्न पाउने? शिक्षाको नाममा अझै पनि व्यापार भइरहेको छ। विद्यार्थीहरुलाई कसरी गुणस्तरीय शिक्षा दिनेभन्दा पनि कसरी विद्यार्थी संख्या बढाउने भन्नेतिर शैक्षिक संस्थाहरु लागेका छन्। शुल्क वृद्धिले अधिकांश अभिभावकहरुको ढाड सेकिरहेको छ। डिग्रीको प्रमाणपत्र बाकसमा थन्काएर खाडी छिर्नेहरुको संख्या बढ्दो छ। यसमा सम्बन्धित निकायहरुको ध्यान जाओस्।