विसं २०७१ सालमा बिहे गर्दा म भर्खर स्नातक प्रथम वर्षमा अध्ययन गर्दै थिएँ। मेरो श्रीमान् बाहिर बस्ने भएकाले बिहेपछि हामीसँगै बस्न पाएनौँ। बिहे गरेको ६ वर्षसम्म उहाँ नेपाल आउने जाने क्रम चलिराखेकै थियो।
त्यतिबेलासम्म हाम्रो बच्चा थिएन जसले गर्दा यतिका वर्षसम्म पनि किन बच्चा नजन्माएको भनेर हामीलाई चौतर्फी प्रश्नहरु परिवार, साथीहरु आफन्तजनहरुबाट आइनै राख्थ्यो। तर हाम्रो चाहना यदि भगवान भरोसा छिटो भैहाले पनि ठिकै छ तर खास हामीले मेरो पढाइ पूरा गरेर मात्रै बच्चा जन्माउने योजना बनाएका थियौँ।
मेरो श्रीमान् एकदमै सपोर्टिभ र बुझ्ने भएकोले टाढै भएपनि मेरो पढाइप्रति उहाँको एकदमै चासो थियो। फोनमा कुराकानी कम तर पढाइ धेरै गर भनेर एकदमै सम्झाइराख्नु हुन्थ्यो र म पनि उहाँले सम्झाए बमोजिम नै गर्दथेँ। त्यसैगरी योजना अनुसार नै मैले त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स डिग्री पूरा गर्नै लाग्दा योजना बनायौँ।
योजनापश्चात बिहे भएको छ वर्ष लाग्नै आट्दा कतै म भित्र मेरो कोखमा केही सासले बास गरेको आभास पाएँ। सुरुमा अनौठो डरले डेरा जमाउन थाल्यो तर त्योभन्दा धेरै मातृत्वको सुखानुभूति गर्न पाउने कुरामा म एकदमै हर्षित भएँ।
बच्चा पेटमा रहेको तीन महिनासम्म मलाई एकदमै गाह्रो भयो। शरीर पूरै सिथिल हुने, मर्निङ सिकनेस र मसलाहरुको बास्नै मन नपर्ने हुन्थ्यो। लाग्थ्यो म कुनै युद्ध लड्दै छु। त्योबेला मनमा अनेक तरहका तर्कवितर्कहरु आइराख्थे।
तर म श्रृष्टिले महिलालाई बच्चा जन्माउने बरदान दिएकोमा भाग्यशाली हुँ भन्ने ठान्थेँ। त्यसरी नै मनमा लाग्थ्यो, म आमा बन्नै पर्छ। एउटा नारी आमा बनेपछि मात्र अर्थपूर्ण जिन्दगी हुन्छ। त्यसैले संघर्ष गर्नैपर्छ भनेर दृढ संकल्प गरेँ।
जब पेटमा बच्चा ५ महिनाको थियो, मेरो अर्को पढाइ राजनीति शास्त्र र कानुनी शिक्षा तिरको परीक्षा हुने भयो। परीक्षा सेन्टर निकै टाढा भक्तपुर परेकाले मलाई केही गाह्रो भएको थियो। खुट्टा सुन्निएर डरलाग्दा भएका थिए।
सुनेको थिएँ प्रेग्नेन्सीमा सुन्निनु जटिल चुनौति हो भन्ने तर पनि म केही नहडबडाई मेरो परीक्षा सबै पूरा गरेँ। धेरैले भन्ने गर्थे, गर्भवती अवस्थामा आराम गर्नुपर्ने, पोषिलो खानुपर्ने भनेर तर म बच्चा पेटमा आएदेखि जन्मिँदासम्म आराम गर्ने भनेर कहिले घर बसिनँ।
सधैँ कलेज-घर र अन्य कामहरु परिराख्नाले बाहिर हिँडिराख्थेँ। त्यसबखत मैले मलाई कसैले आरामको कुरा सुनाउँदा म ती आमाहरु, ती महिला दिदीबहिनीहरुलाई समझन्थेँ जस्ले अगाडि पेटमा बच्चा, पिठिउँमा डोको र थाप्लोमा नाम्लो बोकेर भिरको बाटोको गोरेटोमा हिँडेको।
प्रतिबिम्ब बनेर आँखीझ्यालमा झलझली आउने गर्दथ्यो। र गह्रुंगो भारी उचाल्न हुँदैन भन्दा इँटाभट्टीमा काम गर्ने ती गर्भवती महिलालाई समझन्थेँ जस्ले टाउको माथि थुप्रै इँटा बोकेर जीविकोपार्जन गरिराखेका थिए।
मलाई पोषिलो र इच्छा लागेको खानेकुरा खानुपर्छ भन्ने सवालमा पनि तिनै गर्भवती महिलाको याद आउँथ्यो जस्ले नुनको ढिलो चुस्तै ढिडो निल्दै परान धानेको व्यथा सुनेकी थिएँ जुन हिमाली र पहाडिया महिला हाम्रा अग्रज आमाहरुको पीडासँगै रुमलिएको तितो यथार्थ थियो।
जुन आज सहरिया बालबालिका र महिलाहरुलाई सुन्दा एकादेशको दन्त्यकथा जस्तै लाग्छ। लाग्थ्यो कतै ती महिलाहरु छुट्टै खालका महिलाहरु हुन कि? जस्को शरीर फलामले बनेको छ, जस्को हृदय पत्थरले बनेको छ।
के उनीहरुलाई आराम र पोषिलो खाना चाहिदैँन? मलाई यही कुराले पिरोलिराख्थ्यो। म मेरो मनसँग यिनै अनेकौं कुराहरुमा वादविवाद गर्दथेँ।
अन्तत: नौ महिनादेखि मेरो कोखमा प्रभुत्व जमाउँदै आफ्नै संसारमा रमाइरहेको मानव जातको भ्रूण गन्तब्यमा आउन बाटो तय गर्दै थियो। मलाई तीन दिन अघिदेखि नै प्रसव पीडा सुरु भयो।
मेरा आँखाबाट बेप्रवाह अश्रुधारा बगिरहे। लाग्थ्यो मनभित्रको बह यी नै आँसुले पखाली बगिरहेका छन्। एकातिर डर र त्रास थियो। भन्न त मलाई धेरैले निडर र साहसी छौ भन्ने गर्दथे तर मातृत्वको सवालमा जस्तो बलियो मुटुपनि कमजोर हुँदो रहेछ।
जीवनमा पनि कायापलट नै हुँदै थियो। म आमा बन्दै थिएँ। मन बेचैन अवस्थामा थियो। दुख आफ्नै ठाउँमा थियो जुन म कसरी वणन गरू जुन हरेक आमाको दुखाइ थियो। त्यो दुखाइ न त औषधि खाएर निको पार्न सकिन्थ्यो न त कुनै इन्जेक्सन लगाएर कम पार्न सकिन्थ्यो।
प्रसव पीडा साँच्चीकै अजीव खालको हुँदो रहेछ जस्ले मातृत्वबोध गराउँदो रहेछ। म त्यो पार गर्दै थिएँ जुन हरेक आमाले श्रृष्टिको रचना गर्न पार गर्ने चुनौतिको पर्खाल थियो।
त्यो समयमा संसारका सारा आमाहरुको पीडाबोध गर्दै छटपटी रहेँ। माइतीबाट आमाको फोन र आफन्तको फोन एकनासले आइरहन्थ्यो। म बोल्न सक्ने स्थितिभन्दा नाजुक थिएँ।
असह्य पीडालाई खप्न नसकी परिवारको साथमा टिचिङ हस्पिटलको बाटो तय गरेँ। मैले नर्मल डेलिभरीको चाहना गरेकी थिएँ। आमा-दिदीहरुबाट नि नर्मल डेलिभरी एकछिन दुखाइ भएपनि पछि सुखद हुन्छ भन्ने सुनेकी थिएँ।
त्यसैले ठिक्क टिचिङ अस्पतालको गेटमा पुग्दा मनमनै भगवान पुकारेँ, मेरो नर्मल डेलिभरी होस् भन्दै। मलाई छिटै प्रसूति हलमा भर्ना गरियो र चेकजाँच सुरु भयो।
मेरो केस एकदमै नर्मल भएकाले मलाई बर्थिङ सेन्टरमा पठाइयो जहाँ मेरो साथमा सबैको प्रिय माइजु हुनुहुन्थ्यो।
म आत्तिँदा मलाई सम्हाल्ने उहाँ साँच्चीकै भगवान स्वरुप मेरो साथमा खडा हुनुहुन्थ्यो। उहाँको गुन त म कसरी तिरुँ! साथै बाहिर देवरबाबु र सासूआमा हुनुहुन्थ्यो। उहाँहरुपनि हतार-हतारमा घरी पसल र घरी वार्डमा आवश्यक सामान जुटाउन व्यस्त हुनुहुन्थ्यो।
तीन दिन लामो प्रशव पीडा पश्चात अन्तमा राति ११:२४ मा बच्चा जन्मियो। त्यतिबेला लाग्यो, अहो! मैले त ठूलै युद्ध जितेँ। छोरी सकुशल जन्मिएको रहेछ। नर्सहरुले बच्चालाई लिएर मेरो छातीमा टाँसिदिए।
सच्चा माया के हो, त्यतिबेला महशुस गरेँ। मातृत्वको अगाडि त अरु माया सबै फिक्का फिक्का पो हुँदो रहेछ।
एकछिनपछि मलाई र बच्चालाई नर्मल वार्डमा सारियो। भित्तामा मधुरो बत्ती बलिरहेको थियो। त्यसपछि म बल्ल बच्चालाई राम्रोसँग हेर्न पाएँ। साना-साना दुई हात र साना-साना दुई खुट्टाका औँलाहरुसँगै प्रसूति गृहबाट हाम्रो माया सुरु भयो।
बच्चा पाएपछि आमाको बच्च्प्रतिको मोह अचम्मको हुँदो रहेछ। त्यो म आमा बनेपछि भरपूर महशुस गरेँ।
त्यसपछि मलाई बच्चा एकछिन आफूबाट टाढा राख्न मन लागेन। हेरिरहूँ जस्तो लाग्ने। छोइरहूँ जस्तो लाग्यो। पहिला बच्चा खासै मन पर्ने थिएन तर आफू आमा बनेपछि वार्डमा कोही बच्चा रुँदापनि मनमा चसक्क बिज्न थाल्यो।
मलाई लाग्यो, कुनै सम्बन्धसँग तुलना गर्नै नसक्ने प्रेम पो रहेछ मातृत्व। मैले छोरीलाई जब काखमा लिएर दूध चुसाउन सुरु गरेँ, आफूले संसारकै सारा सुखानुभूति गरेको महशुस गरेँ।
अस्पतालको २ दिन बसाइपश्चात घर फर्कियौँ। त्यसपछि लाग्न थाल्यो उजाड मरुभूमिमा वसन्त छाएपछिको मनमोहक हराभरा जस्तै। बिहेको छैटौँ वर्षमा प्रवेशसँगै हाम्रो प्रेमको निशानी सानी नानी परिवर्तनको बहार लिएर आइन्।
बच्चा नजन्मँदैको जीवन विस्तारै धागोबिनाको चंगा जस्तै रहेछ तर छोरी त्यही बेप्रवाह वायुमा कुहिरोमा हराएको काग जस्तै उडिरहेको चंगालाई सम्हाल्न धागो बनेर आएको अनुभूति गरेँ। त्यसपछिका मेरो हरेक दिन शुभारम्भ गर्ने मर्निङ अलार्म बनेर आइन् मेरो छोरी।
उनका प्रत्येक पलले मलाई पढाइरहेको छ, पछाइरहेको छ जस्तो लाग्न थाल्यो। उनी नबोल्दा पनि म उनको भावनासँग खेल्न खोजेँ, उनको निर्दोष मुहार र दूधे ओठको हाउभाउले दिएका प्रत्येक वाक्यहरुमा हराउँदै रमाउँदै ती वाक्यका अर्थ खोज्न थाल्थेँ।
त्यसपछि विस्तारै उनका साना हातका पन्जा र साना खुट्टाका पाउले हृदयको मझेरीमा ठुलै डेरा बसाउन लागेको महशुस गरेँ। जब उनी मेरो हातको सिरानी बनाई न्यानो काखमा लुटुपुटी मस्त निद्रामा हुन्थिन् म उनको मुहार हेरेर सपना बुन्न थाल्थेँ।
उनी यो संसारमा आउनुपूर्व मेरो कोठाको सुनसान सुनकोठीका चारै भित्तामा शून्यता थियो तर आज उनी आएपछि उनी रुँदा उनको रुवाई चारैतिर ठोक्किएर एउटा मिठो धुन निस्केको मसशुस गर्छु।
आज उनका हरेक कुरा रुवाइ, बोलाइ, स्याहार-सुसार र सुरक्षाका प्रत्येक पललाई म झन्झटको रुपमा नलिई केवल अवसर र सिकाइको रुपमा लिएर मातृत्व सुखभोग गरिरहेकी छु।
आजभोलि उनी मेरो जीवनमा एक विश्वविद्यालय भएर खडा भएकी छन्। म त्यही अध्ययन गर्ने नयाँ विद्यार्थी भएर हरेक कुरा सिक्दै मातृत्वबोध गर्दैछु। आमाको लागि मातृत्व गजबको वरदान रहेछ जुन म अहिले प्राप्त गरी आनन्द लिइराखेकी छु।
संसारका सारा नारी आमा हुनबाट बन्चित हुन नपरोस्, हरेक नारीले मातृत्व सुखभोग गर्न पाउन्।