२२ वर्षको हुँदा तपाईं के गरिरहनुभएको थियो? त्यति बेला म त्रिचन्द्र क्याम्पसमा स्नातकोत्तर अध्ययनरत थिएँ। प्राणीशास्त्री बन्ने सपना थियो।
यो उमेरमा तपाईं हामी धेरैले आफ्नो जिन्दगीको बाटो बनाउन सायद सुरू गरेका थियौं। झन्डै दुई सय वर्षअघि बेलायतको श्रीयुस्बरीका एक युवाले भने २२ वर्षमा यस्तो यात्रा गरे जसले मानवजातिको इतिहास बदलिदियो।
ती व्यक्ति थिए चार्ल्स रोबर्ट डार्विन। उनको जन्म सन् १८०९, फेब्रुअरी १२ मा बेलायतको श्रीयुस्बरीमा भएको थियो। आज उनको २१२ औं जन्मदिन हो।
वैज्ञानिक डार्विनको 'प्राकृतिक छनोटद्वारा क्रमिक विकास' सिद्धान्तले हाम्रो उत्पत्तिको रहस्य खोलिदिएको थियो। यो कुराले धेरैको मथिंगल हल्लायो। पृथ्वी, मानिस, प्रकृति सबै ईश्वरले बनाएको हो भन्ने मान्यतालाई उनको सिद्धान्तले सिधा चुनौती दिएको थियो।
धेरै अघिदेखि वैज्ञानिक/दार्शनिकहरूमा मानवजाति वा सम्पूर्ण जीवको उत्पत्तिबारे जिज्ञासा थियो। डार्विनका हजुरबा, एरास्मस डार्विनले पनि यसबारे कलम चलाएका थिए। तर कोही त्यो कडी पत्ता लाउन सक्षम भएका थिएनन् जसले उत्पत्तिको कथा भन्थ्यो।
डार्विनले त्यही कडी पत्ता लगाए।
सन् १८३१ मा दक्षिण अमेरिकाको यात्रा क्रममा उनले यो कडी भेटेका थिए। एक सर्वेक्षण टोलीसँगै गरेको यो यात्राले उनको मात्र होइन, मानवजातिकै इतिहास बदलिदियो।
त्यो यात्रामा डार्विनले देखेका कुराले नै उनको सिद्धान्तलाई जन्म दिएको हो। भ्रमणमा डार्विनले देखेमध्ये सबभन्दा महत्त्वपूर्ण कुरा गलापेगोस टापूमा थियो। गलापेगोसमा करिब १३ टापू छन् र त्यहाँ अन्त नपाइने अनौठा जनावर पाइन्छन्। यसैमध्ये एक थियो- कछुवा।
कछुवा देखेर अचम्म मानेका डार्विनलाई अझ अचम्म तब लाग्यो जब त्यहाँका स्थानीय कछुवाको खोल हेरेरै त्यो कुन टापूबाट आएको हो भनेर भन्दिन्थे। यो कुराले डार्विनको सिद्धान्तमा ठूलै प्रभाव पार्यो।
स्थानीयले यो भन्न सक्नुका पछाडि कारण छ- गलापेगोसमा दुई प्रकारका खोल भएका कछुवा पाइन्छ, एउटा डोम आकारको, अर्को स्याडल (गद्दी) आकारको।
डोम आकारका कछुवा सानातिना वनस्पति भएको टापूमा पाइन्छन्। स्याडल आकारका भने साना वनस्पति नपाइने सुख्खा ठाउँमा। यसको कारण, स्याडल कछुवाले घाँटी तन्काएर माथिसम्म पुर्याएर खान सक्छ। डोम कछुवाले सक्दैन। तर ती कछुवाले यहाँ लामा-लामा वनस्पति छन्, घाँटी तन्काउनुपर्छ भनेर तन्काएका होइनन्। एउटा पुस्तामा तन्केको घाँटी ठ्याक्कै अर्को पुस्तामा सरेको नि होइन।
डार्विनभन्दा अगाडि यो परिकल्पना जन ब्याप्टिस लामार्कले राखेका थिए। उनको सिद्धान्तअनुसार जनावरले वातावरणअनुसार आफ्नो व्यवहार फरक गर्थे र त्यसप्रकार एउटा पुस्तामा आएको परिवर्तन अर्को पुस्तामा सर्थ्यो।
उदाहरण, एउटा पुस्ताको जिराफले लामोलामो वनस्पतिसम्म पुग्न नसकेर घाँटी तन्काए। उसको तन्केको घाँटी उसको सन्तानमा सर्थ्यो। तर लामार्कको यो सिद्धान्तमा त्रुटि थियो। पूर्वजबाट आउने विशेषता सन्तानमा नसरी क्रमिक विकास हुन्न भन्ने त डार्विन पनि मान्थे। उसो भए लामार्कको सिद्धान्तमा कसरी त्रुटि छ?
उक्त त्रुटि पत्ता लगाउन डार्विनलाई गोलापोगसकै एक प्रकारका चराले मद्दत गरे। ती चरा र माथि कुरा गरिएका कछुवा नै खासमा डार्विनका सिद्धान्तका खम्बा हुन्।
डार्विनले गलापेगोसमा धेरै प्रजातिका जनावर र जीवाश्म संकलन गरेका थिए। तिनको महत्व त्यति बेला डार्विनलाई थाहा थिएन। उनले ती टापूमा उस्तैउस्तै देखिने चरा संकलन भने गरेका थिए, जुन बेलायत फर्केपछि अवलोकन गरे।
गलापेगोसका हरेक टापूमा एक प्रकारको फिन्च (तितु चरा) पाइन्छन्। ती सबै चरा हेर्दा उस्तै देखिन्छन्, फरक केबल तिनको चुच्चोमा छ। हरेक टापूमा चराका लागि फरक प्रकारका खाना पनि पाइने। कुनैमा पात, कुनैमा कीरा-फट्यांग्रा, कुनैमा बिउ, कुनैमा फूल। यसरी, विभिन्न टापूमा पाइने विभिन्न प्रकारका खानाअनुसार ती चराका चुच्चा फरक थिए।
अन्न वा बिउ खानेको सुगाको जस्तो चुच्चो, फूलको रस खानेको लामो चुच्चो, कीरा-फट्यांग्रा खानेको सानो भँगेराको जस्तो चुच्चो। एउटा प्रजातिको चुच्चो त रगत सोस्ने। डार्विनले आफ्नो अवलोकनमा ती सबै एउटा मुख्य प्रजातिबाट विभाजन भएको अनुमान गरेका थिए।
पछि उनले लेखेका छन्- जसरी ती सबै चरा एउटैबाट आएर विभिन्न चरामा विभाजित भएका थिए मानिस र बाँदर एउटै पूर्वजबाट आएको हुनुपर्छ।
उनले आफ्नो किताब 'प्राकृतिक छनोटद्वारा क्रमिक विकास' मा पनि यो विषयमा लेखे। लेखेको धेरैपछि मात्र उक्त किताब छापियो। जब छापियो विज्ञान क्षेत्रमा आँधी आयो।
यो पुस्तकलाई लिएर डार्विनले धेरै आलोचना भोग्नुपर्यो। कतिपय वैज्ञानिक र आममानिसले उनलाई पागल भने। गाली गरे।
डार्विन पहिलो थिए जसले क्रमिक विकास प्रक्रिया अनुमान लगाएका थिए। तर त्यस बेला श्रोतसाधन सीमितताका कारण उनले त्यो प्रक्रिया कसरी हुन्छ भनेर बुझाउन सकेनन्। डार्विनको जीवनकालमै यो पूरा भएन। उनलाई थाहा थियो, क्रमिक विकासको एउटा मूलआधार प्राकृतिक छनोट हो, तर त्यसले कसरी काम गर्छ भन्ने सम्पूर्ण जानकारी उनमा पनि थिएन।
प्राकृतिक छनोट के हो?
डार्विनका अनुसार कुनै पनि प्रजातिलाई प्रकृतिले यस्तो दबावमा राखेको हुन्छ जसले त्यो वातावरणमा बाँच्न योग्य वा अयोग्य तुल्याउँछ। जो बाँच्नयोग्य साबित हुन्छ, त्यसले प्रजनन गर्छ, जसले सक्दैन मरेर जान्छ।
यो कुरा बुझाउन म फेरि तपाईंलाई गलापेगोसमै लैजान्छु।
तितु चरा पहिले एउटा मुख्य भूमिबाट त्यो टापूमा आएको हुनुपर्छ। गलापेगोसको १३ फरक भूमिमा तिनीहरू स्थानान्तरण भए। उनीहरूमा त्यहाँ भएको खानेकुरा वा श्रोतमा आश्रित हुन दबाव पर्यो।
जीव तथा जनावारमा हुने आनुवांशिक भिन्नताका कारण एउटै जातका चरा भए पनि गोलापोगसमा आएका ती सबैमा सुरूदेखि नै एउटै आकारका चुच्चो थिएन, हुँदैन। जुन चरा गोलापोगसकाको जुन टापू पुग्यो, त्यहाँको खानेकुरा वा श्रोत प्रयोग गर्न लायक चुच्चो रहेछ भने फस्टाउन सक्यो। नसक्ने रहेछ भने बाँच्नै सकेन। लोप भयो।
अन्न वा बिउ खान ठूलो चुच्चो चाहिन्छ। यी खानेकुरा मात्र पाइने टापूमा ठूलो चुच्चो भएका चरा बाँच्न सक्छन्। उनीहरूले खान पाउँथे, बाँच्थे र प्रजनन् गर्थे। त्यही ठूलो चुच्चो भएको जिन अर्को पुस्तामा सर्थ्यो। सानो चुच्चो भएको चरा त्यहाँ बाँच्न सकेनन्। त्यसरी यो प्रक्रिया धेरै वर्ष दोहोरिँदा त्यस टापूमा ठूलो चुच्चो भएका चरा मात्र हुन पुगे। सानो चुच्चो भएका चरा अर्को टापूमा बाँचे।
लामार्कले एउटै पुस्तामा फरकपन आउँछ भनेका छन्। तर डार्विनले एउटै पुस्तामा होइन धेरै पुस्तापछि बल्ल भिन्नता आउँछ भने। यो प्रक्रियालाई विकासवाद विज्ञानमा 'अड्याप्टिभ रेडिएसन' भनिन्छ। यो भनेको एउटा प्रजातिबाट परिस्थिति अनुकूल विभिन्न रूपमा परिवर्तन हुनु हो। जस्तो आफू बस्ने ठाउँअनुसार तितु चरा फेरिएका थिए।
यो कुरा पत्याउन डार्विन जीवित हुँदासम्म सबैलाई गाह्रो भयो। डार्विनले पागलको उपमा सम्म पाए। उनको सिद्धान्त विस्तारै मानिसले बिर्सिन थालेका थिए। तर केही वैज्ञानिकले भने उनले छाडेर गएका कडी जोड्न प्रयास गरिरहे।
जब १८ औं शताब्दीमा औद्योगिक क्रान्ति सुरू भयो, क्रमिक विकासको सिद्धान्तसँग नाता नै नभएको यो कुराले डार्विनको सिद्धान्तलाई पुनर्जीवन दियो।
बेलायतमा 'पेपर्ड मथ' नामको पुतली पाइन्छ जो दुई प्रकारको हुन्छ, कालो र सेतो। ती पुतली हल्का रङ भएका रूखमा बस्थे, सामान्यतया 'बर्च' वा भोजपत्रका रूखमा। औद्योगिक क्रान्तिको सुरूवातअघि त्यस ठाउँमा सेतो मथको जनसंख्या धेरै थियो। तिनीहरू भोजपत्रको सेतो बोक्रामा आवरण लुकाएर बस्थे। सेतो बोक्रामा सेतो पुतली बस्दा धेरैजसो सिकारी चराले देख्न सक्थेनन्। डार्विनकाअनुसार ती सेता पुतली त्यो आवासमा बस्न लायक थिए।
सोही समयमा काला पुतली पनि पाइन्थे। ती काला पुतली सेतो बोक्राको पृष्ठभूमिमा बस्दा परैबाटदेखिन्थे र सिकारी चराको नजरमा पर्थे, असुरक्षित हुन्थे र मर्थे। यसले गर्दा कालो पुतली बनाउने जिन धेरैजसो अर्को पुस्तामा सर्नै पाउँथेन। सेतो भने वातावरणमा बाँच्न लायक भएकाले प्रजनन् गर्थ्यो र जनसंख्या बढाउँथ्यो।
औद्योगिक क्रान्ति सुरू भएसँगै कोइलाको अत्यधिक प्रयोगले उद्योग वरिपरिका रूख काला भए। ती पुतलीको प्राकृतिक छनोटको काया पल्टियो। औद्योगिक क्रान्तिअघि सेता रूखमा सेता पुतली लुक्न सक्थे भने अब रूखका बोक्रा काला भएका थिए। त्यसैले सेता पुतली सजिलै देखिने भए। अब सेता पुतली भोजपत्रमा बस्न लायक भएनन्। बरू केही बचेखुचेका काला पुतली लायक हुन थाले।
कोइलाको धुँवाले कालो भएको त्यो भोजपत्रको बोक्रामा अब काला पुतली सजिलै लुक्न सक्थे। केही वर्षमै पहिले वर्चस्व रहेको सेता पुतलीलाई काला पुतलीले जिते। विस्तारै काला पुतली धेरै हुँदै गए। प्राकृतिक छनोटमा अब काला पुतली लायक भए। र कालो बोक्रामा बस्ने ती सेता पुतली घट्दै गए।
यी पुतलीको कथा यहीँ सकिएन।
धेरैपछि जब वातावरणप्रति मान्छे सचेत हुँदै गए, प्रदूषण रोक्ने कानुन बने। प्रदूषण घट्दै गयो। भोजपत्रका रूख फेरि सेता हुन थाले। कालो रूखमा मज्जाले लुक्नसक्ने काला पुतली अब फेरि सेतो पृष्ठभूमिमा सजिलै सिकारी चराका नजरमा पर्न थाले। तिनको जनसंख्या फेरि कम हुँदै गयो।
जनमानसले समेत अनुभव गर्न सक्नेगरी भएको यो घटनाले डार्विनको सिद्धान्त स्थापित गर्न वैज्ञानिकलाई सजिलो भयो। दुःखको कुरा, डार्विन आफैंले प्राकृतिक छनोटको सिद्धान्तले प्रमाणित र स्थापित भएको देख्न पाएनन्। उनको मृत्युको धेरै वर्षपछि उनको सिद्धान्तले पुनर्जीवन पायो। डार्विनको जन्म भएको २१२ वर्ष पुग्दासम्म उनको सिद्धान्त यति बलियो गरी स्थापित भएको छ, सायद यो देखेर उनी आफैं छक्क पर्थे।
आज हामीसँग शिल्पविज्ञान छ, विकसित विज्ञान छ, विशेषगरी डिएनए सम्बन्धित कुरामा हामीले विभिन्न जनावर र हामीबीचको बन्धन प्रयोगशालामै बसेर हेर्न सक्छौं। परिकल्पनामा बसेर लेखेका डार्विनको सिद्धान्तलाई साक्षात् बनाइरहेका छौं।
तर अहिले पनि केहीले डार्विनको सिद्धान्त नबुझेर होला 'डार्विनले मान्छे बाँदरबाट आएको हो भनेको हुन्,' भनेको सुन्छु। डार्विनको पुस्तकमा त्यस्तो लेखिएको छैन। एउटा बाँदर बाटोमा हिँड्दा हिँड्दै मान्छे बन्यो भन्ने कुरा उनले लेखेका होइनन्। हाम्रो र बाँदरको पूर्वज एउटै हुनुपर्छ है सम्म भनेका हुन्।
मानव र चिम्पान्जीबीच करिब ९ प्रतिशत डिएनए समान छ भनेर बरू प्रमाणित भएको छ। मानवमा मात्र सीमित भएर सोच्दा बुझ्न गाह्रो होला। यसलाई सहजरूपमा बुझाउन कृत्रिम प्राकृतिक छनोटको उदाहरण दिन्छु।
काउली, ब्रोकली, बन्दाकोबी, ब्रसेल स्प्राउट्स वा केल (साग) खानुभएकै होला। सुन्दा अचम्म लाग्ला, यी सबै सागसब्जी एकप्रकारको जंगली तोरीको प्रजातिबाट आएका हुन्। यसलाई वर्षौंसम्म मान्छेले कृत्रिम प्राकृतिक छनोट गरेर विभिन्न स्वरूप दिएका हुन्।
कुनै एक प्रजातिमा अर्कै खाले विशेषता, गुण वा तत्व कृत्रिम तरिकाले हालेर नयाँ प्रजाति उत्पादन गर्नु कृत्रिम छनोट हो। यसरी बनेका नयाँ प्रजाति लामो समयक्रममा वातावरण अनुकूल हुँदै आफैं विकास हुन्छन्। यी सागसब्जी त्यस्तै हुन्। अहिले विभिन्न खाले देखिए पनि एक समयमा यी सबैको पूर्वज एउटै थियो जसरी हाम्रो र बाँदरको पूर्वज एउटै थियो।
डार्विनको सिद्धान्तलाई डिएनएले मात्र होइन, जीवाश्मले पनि परिपक्व बनाउँछ। विज्ञानसँग अहिले जीवाश्मको उमेर नाप्न सक्ने कार्बनडेटिङ जस्तो शिल्पविज्ञान छ। कुनै जीवाश्म कति पुराना हुन् भनेर बताउन सक्छौं। यसरी विज्ञानको प्रगतिले १६२ वर्षअगाडि डार्विनले लगाएको अनुमान अझै सुन्दर र कदर लायक बनाएको छ।
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)