गएको बुधबार राति सुत्ने बेलामा ट्विटर हेर्दा थाहा पाएँ- ६० वर्षको उमेरमा अर्जेन्टिनाका महान् फुटबलर डियागो अर्मान्डो म्याराडोनाको निधन भयो।
ट्विट देखेर जिउ खर्ल्याङ-खुर्लुङ भयो। डिएममा साथीहरूलाई यो समाचार बनाउनुस् है भन्ने लेखें।
बत्ती निभाएँ, ओछ्यानमा पल्टिएँ। शरीर पो ओछ्यानमा पल्टिएको थियो। आँखाभरि म्याराडोना नाचिरहेका थिए।
धेरैबेरसम्म निन्द्रा लागेन। लागोस् पनि कसरी! खेलप्रेमीका हिसाबले म्याराडोनासँग मेरो पहिलो प्रेम भएको थियो।
जीवनमा पहिलो चिजका याद चीरकालसम्म आइरहन्छन्, प्यारा लागिरहन्छन्।
मलाई अहिले पनि याद छ- ड्याडीले घरमा आइरहने अंकलसँग बस्दै गर है भनेर झुक्याएर पहिलो पटक स्कुलमा छोडेर जानुभएको। अंकल 'बोर्डिङ'का प्रिन्सिपल हुनुहुँदो रहेछ भन्ने झुक्किसके पछि मात्रै थाहा पाएँ।
ड्याडी-मम्मीसँग महिनौं किचकिच गरेपछि पहिलो पटक फुटबल खेलाडीले लगाउने 'हाफ-पाइन्ट', ट्रयाक-सुट र जिन्सको पाइन्ट किनेको पनि राम्ररी याद छ।
मेरो पहिलो खेलकुद सुपरस्टार पनि त्यसरी नै याद आइरहन्छन्, र त्यो याद निकै प्यारो लाग्छ।
किंवदन्ती भइसकेका पेले र २० वर्षमा विश्व चयाम्पियन भएका बक्सर माइक टाइसनसँगै मैले डिएगो म्याराडोनाको नाम सुनेको थिएँ।
टाइसनको नाम स्कुलको हाजिरीजवाफ र सामान्य ज्ञानका पुस्तकमा मात्रै सिमित थियो, अनुहार त टेलिभिजनको समाचारमा झापाबाट विराटनगर पढ्न गएपछि मात्रै देखें। पेलेको फोटो स्पोर्टसस्टार पत्रिकामा झन् पछि देखें।
म्याराडोना कहिल्यै पनि अनुहारबिनाको नाममा सीमित थिएनन्। मेरो गाउँ शिवगञ्जमै पनि उनको अनुहार अगाडि छापेको, र पछाडि १० र म्याराडोना लेखेको टि-सर्ट धेरैले लगाउँथे। त्यतिबेलाको छपाइको स्तर अहिलेजस्तो राम्रो नभए पनि अनुहारको आकृति चिनिन्थ्यो। विराटनगर मामाघर जाँदा त कति ठाउँमा चिल्लो कागजमा म्याराडोनाका प्रष्ट रंगिन पोस्टर पनि देखें।
२०४६को पुसमा म पढ्न भनेर विराटनगर गएँ। पढाइ सुरू हुनेबित्तिकै आन्दोलन हुने हल्ला चल्न थाल्यो। आन्दोलन सुरू नै भयो। दिनदिनै हड्ताल र चक्काजाम हुन थाल्यो।
जनआन्दोलनले गति समात्न थालेपछि स्कुलले लामो विदा नै दियो। म खासै केही नपढी झापा फर्किएँ। आन्दोलनले पञ्चायत ढाल्यो, प्रजातन्त्र पुनर्स्थापना भयो।
२०४७ लागेपछि म विराटनगर फर्किएँ। विराटनगर फर्किएसँगै आन्दोलन होइन टोलटोलमा अर्कै चर्चा थियो। जेठ अन्तिममा हुने फुटबल विश्वकपको ज्वरोले धेरैलाई समात्न थालेको थियो।
मेरा दुई जना मामाहरू कलेज जाने उमेरका हुनुहुन्थ्यो। खेलकुदमा अलिअलि चासो राख्नुहुन्थ्यो। उहाँहरूको खेलकुदमा चासोमात्रै थिएन, खेल हेर्न सोनीको २० इन्चको रंगिन टिभी पनि थियो। १९८८ को सउल ओलम्पिक हेर्न हजुरबुवासँग किचकिच गरेर टिभी किन्नुभएको रे। ‘यसपालि वर्ल्डकप हेर्न मज्जा आउँछ भान्जा’ भन्नुहुन्थ्यो। वर्ल्डकप हेर्न पाइने ठानेर म मख्ख पर्थें।
१९९०को इटालीमा हुने फुटबल विश्वकपको प्रतीक्षा दशैंका लागि झैं व्यग्र भएर गरें।
दोस्रो त्रैमासिक परीक्षा चलिरहेकै समयमा विश्वकप सुरू भयो। पहिलो खेलमा मेरो प्रिय म्याराडोनाको अर्जेन्टिना क्यामारुनसँग भिड्दै थियो। मामाहरूलगायत सबैले अर्जेन्टिनाले सजिलै जितिहाल्छ नि भन्नुहुन्थ्यो।
अर्जेन्टिनाले जितिहाल्छ भनेर हेर्न बसेको जीवनको पहिलो विश्वकपको खेलमा नतिजा उल्टो भयो। क्यामारुनले अर्जेन्टिना र विशेष गरी म्याराडोनालाई खेल्नै दिएन। उनले बल पाउनेबित्तिकै फल हानेर लडाइहाल्ने! विश्वकपमा पहिलो पटक छनौट भएको क्यामारुनले दोस्रो हाफमा गोल गरेर १-०ले जित्यो। दुई जनाले रातो कार्ड पाए पनि खेल अफ्रिकी टोलीले जित्यो।
गाउँमा हुने प्रतियोगितामा हार्ने टोली बाहिरिने भएकाले अर्जेन्टिनाको यात्रा सकियो भन्ने सोच्दै दु:ख मानेर सुतें। भोलिपल्ट उठेपछि कुरा गर्दा थाहा पाएँ, हारे पनि अरू २ खेल खेल्न पाउने रहेछ। तर पनि सबैले पहिलो खेल हारेकाले अर्को चरण पुग्दैन भनेर खिस्स बनाए।
उद्घाटनका दिन एउटामात्र खेल, त्यो पनि छिट्टै भएकाले हेर्न पाइयो। भोलिपल्टबाट दिनको ३ वटा खेल हुन्थे। उद्घाटन खेल भएकै समयमा हुने पहिलो खेल हेर्न पाइन्थ्यो। सानो भएकाले राति अबेर हुने खेल नहेर्ने नियम हजुरबुवाले लगाइदिनु भएको थियो। पहिलो खेल जसको परे पनि हेर्थें अनि सुत्न जान्थें।
केही दिनमा परीक्षा सकियो। परीक्षापछि ५० दिन लामो बर्खे विदा थियो। विश्वकप लागेकाले मलाई घरको खासै न्यास्रो लागेको थिएन तर बालख छोरो टाढा बसेकाले छोरीलाई गाह्रो भएको हुनसक्ने ठानेर हजुरबुवा-आमाले विदा सुरू हुनेबित्तिकै मलाई घर पठाउने कुरा गर्न थाल्नुभयो।
हाम्रो गाउँमा बिजुली थिएन, घरमा टिभी हुने कुरै भएन। मारवाडी व्यापारीका दुई ठूला मिलबाहेक अन्त कतै पनि टिभी थिएन। घर गए विश्वकप हेर्न नपाइने।
मामाहरूलाई भनेर मैले विराटनगर बसाइ लम्ब्याएँ।
अर्जेन्टिनाको अर्को खेल कहिले छ भनेर सोध्दै बस्थें। मामाहरूलाई बिन्ती गरेर ढिलो भए पनि अर्जेन्टिनाको समूह चरणका खेल हेरें। तर निदाउँथें क्यारे, नतिजाबाहेक खासै केही याद छैन।
अर्जेन्टिनाले दोस्रो खेलमा रूसलाई २-० जितेर र अन्तिम खेलमा रोमानियासँग १-१को बराबरी खेलेर ३ अंकका साथ तेस्रो भएर दोस्रो चरण पुग्यो। त्यतिबेला जितमा अहिलेको जस्तो ३ अंक नआएर २ आउँथ्यो र १९९८मा बढाएर ३२ टोली समावेश नगरिन्जेल ६ समूहका विजेता र उपविजेता गरेर १२ र ४ वटा समूहका उत्कृष्ट तेस्रो गरी १६ टोली दोस्रो चरणमा पुग्थे।
दोश्रो चरणमा अर्जेन्टिनाको खेल ब्राजिलसँग हुने भयो। पहिलो खेल हुने समयमै भएकाले ननिदाइ हेरें। ब्राजिलले पनि म्याराडोनालाई फल खेलेर लडाइहाल्ने! तर पनि उनकै पासमा लामो कपाल भएको हिरोजस्तै देखिने क्यानिजियाले गोल गरेर अर्जेन्टिना क्वार्टर-फाइनलमा पुग्यो।
त्यसपछि बुवा-आमा भेट्न मम्मी झापाबाट आउनुभयो र फर्किंदा मलाई पनि लिएर जानु भयो।
मेरो केही लागेन। म्याराडोना र अर्जेनटिना छोडेर म गाउँ गएँ। राजनीति गर्ने ड्याडीलाई खेलकुदमा रत्तिभर चाख थिएन, रेडियोमा समाचार नछोडी सुन्नुहुन्थ्यो। त्यही समाचार सुन्दै मैले म्याराडोना र अर्जेन्टिना सेमिफाइनल हुँदै फाइनल पुगेको थाहा पाएँ।
सेमिफाइनल नपुगीकनै मलाई विराटनगर पुर्याइदिनुस् भनेर मम्मीसँग किचकिच गर्न थालिसकेको थिएँ।
विदा अझै एक महिना बाँकी भएकाले त्यति चाँडै विराटनगर पठाउने कुरै भएन। फाइनल पुग्ने बेलामा त घरमा रडाको नै गर्न थालिसकेको थिएँ। एकदिन भान्जी दिदी घरमा आउनु भएको थियो। वहाँले आमा-छोराको झगडाको विषय थाहा पाएपछि ‘मेरोमा आएर हेर्न त’ भन्नुभयो।
केही दिनपछि बुवाले एउटा जीपवालालाई भनेर भान्जीदिदीको घर पठाइदिनुभयो।
साँझ परेपछि थाहा भयो- भान्जीदिदीकोमा पनि बिजुली रहेनछ। टिभी खोलेपछि गाडीमा लाग्ने ब्याट्रीबाट चल्ने सानो ब्ल्याक एण्ड ह्वाइट टिभी रहेछ भन्ने थाहा पाउँदा खिस्स भएँ। र पनि फाइनल खेल हेर्न बसें।
दिदी-भिनाजु खेल सुरू नभइकनै सुत्नुभयो। छिमेकी केही दाइसँग खेल हेर्न आउनु भएको थियो। खेल सुरू हुँदा अर्को झट्का लाग्यो। मैले विराटनगरमा हेरेको अन्तिम खेलमा म्याराडोनाको पासमा गोल गर्ने हिरोजस्ता क्यानिजिया त खेलेकै रहेनछन्। मैले दाइहरूलाई किन नखेलेको भनेर सोधें उहाँहरूले भन्नुभएन।
खेलमा पश्चिम जर्मनीको दबदबा थियो। दिदीको छिमेकका दाइहरू पनि खासै खेल बुझ्नेजस्ता थिएनन्। अंग्रेजी कमेन्ट्री म जत्तिको पनि बुझ्दैनथे जस्तो लाग्छ। तर उनीहरू पनि अर्जेन्टिनाको समर्थन गर्थे। म्याराडोनाले मौका पाउनेबित्तिकै गोल हानिदिन्छ वा पास निकालिदिन्छ भनेर ढुक्क थिए। तर त्यस्तो मौका आएन, उल्टै निर्धारित समय सकिन लाग्दा जर्मनीले पेनाल्टी पायो। दाइहरूले पेनाल्टी थिएन र झेली गर्यो भने। मैदानमा म्याराडोनाले पनि अनेक बिन्ती गरे पनि रेफ्रीको निर्णय बदलिएन। ब्रेह्मेले पेनाल्टी हाने र किपरले ठीक अनुमान गरे पनि रोक्न सकेनन्।
अर्जेन्टिनाको किपर एकदमै राम्रो थियो र खेल बराबरी भएर टाइब्रेकरमा गए सजिलै जित्छ भनेर झेली गरेर पेनाल्टी दिएको भनेर दाइहरू कराइरहे। म भने म्याराडोना रोएको देखेर भक्कानिएँ। त्यो दिनदेखि जर्मनीसँग मेरो अनन्तकालका लागि दुस्मनी सुरू भयो।
त्यतिबेला क्लब फुटबल टिभीमा देखाउन्नथ्यो। १९९२मा युरोकप छ भनेर मामाहरूले भने पनि अर्जेन्टिना र ब्राजिल नखेलेको प्रतियोगिता हेर्न बसिनँ र म वर्षायामको छुट्टीमा घर गएँ।
१९९४ को अमेरिकामा भएको विश्वकपमा म्याराडोना खेल्छन् कि खेल्दैनन् भनेर टुङ्गो थिएन, अर्जेन्टिना छनौट पनि नहोलाजस्तो थियो। छनौट चरणका खेल नहेरे पनि म्याराडोना फर्किए पछि बल्लतल्ल अष्ट्रेलियालाई प्लेअफमा हराएर छनौट भएको थाहा पाएँ।
१९९४ सम्ममा मैले घरमा किचकिच गरेर १४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टिभी किन्नुभयो। तर पनि ठूलो रंगीन टिभीमा विश्वकप हेर्छु भनेर विदामा घर नगई विराटनगरमै बसें। चार वर्ष अघि जस्तो कसैले ‘घर जा’ पनि भन्नु भएन।
१९९० भन्दा म्याराडोना केही मोटा र बुढा देखिन्थे। तर हिरोजस्तो क्यानिजिया र झन् लामो कपाल भएका र अझ राम्रा बाटिस्टुटासमेत भएको अर्जेन्टिनाले सुरूको दुई खेलमा सहज जीत निकालेको थियो। ग्रीससँगको पहिलो खेलमा म्याराडोनाले आकर्षक गोल गरेका थिए। त्यो गोल विश्वकपमा उनको १९८६ पछिको पहिलो थियो र उनी लयमा फर्किएको छनक दिन्थ्यो।
१९९०मा गोलका लागि केही पास (असिस्ट) निकाले पनि फाइनलसम्मका खेलमा उनले टाइब्रेकरमा बाहेक गोल गरेका थिएनन्। नाइजेरियासँगको दोस्रो खेलमा पनि उनले १९९०माझैं क्यानिजियालाई गोल गर्न राम्रो पास दिएका थिए।
बुल्गेरियासँगको अन्तिम खेलअघि म्याराडोनाले प्रतिबन्धित औषधी प्रयोग गरेको र उनी विश्वकपबाट निकालिएको भनेर समाचार आयो। उनको अनुपस्थितिमा बुल्गेरियासँग २-० ले हारेर शीर्ष स्थानमा रहेको अर्जेन्टिना समान अंक, गोल र गोल भिन्नता भए पनि हेड-टु-हेडमा बुल्गेरियामुनि तेस्रो भयो। दोश्रो चरणमा 'म्याराडोना अफ द कार्पेथिएन्स' भनेर चिनिने ग्योर्गी ह्याजीले नेतृत्व गरेको रोमानियासँग ३-२ले पराजित भयो।
अर्जेन्टिना बाहिरिएपछि मेरा लागि त्यो विश्वकप सकियो।
समाचारमा म्याराडोनाले इफिड्रिन भन्ने पदार्थ प्रयोग गरेको सुनेको थिएँ। पछि स्पोर्टसस्टार पढ्दा दम र अरू श्वासप्रश्वास समस्यामा प्रयोग गरिने सो पदार्थ धेरै मात्रामा प्रयोग गर्दा शक्तिवर्द्धक र तौल घटाउन पनि काम गर्ने भन्ने थाहा पाएँ।
त्यसपछि टिभी च्यानल र पत्रिकाबाट म्याराडोनाको खेल जीवनबारे धेरै थाहा पाएँ। अरू देशको समर्थन गर्ने साथी र परिवारमा दाइहरूले तेरो म्याराडोना दुर्व्यसनी भनेर जिस्क्याए पनि मैले खेल हेर्न सुरू नगरिकनै फुटबल इतिहासमा अमर हुने कीर्ति गरिसकेका रहेछन् भन्ने थाहा हुँदै गएकाले खासै रिस उठ्दैनथ्यो।
२००१ मा ‘द काठमाण्डु पोस्ट’को खेल ब्युरोमा काम गर्न थालेपछि त त्यतिबेला दुर्लभ इन्टरनेट अनि एपी र एएफपी वायर पढेर उनको विवादस्पद वर्तमान र विगतको खेल जीवनबारे झन् धेरै थाहा भयो।
मिडियामा उनीबारे कैयौं विवादस्पद र नकारात्मक समाचार आउँथे तर पनि उनलाई प्राय: सबैले महान् खेलाडी भनेर सम्झिन्थे, सम्मान गर्थे। कोचका रूपमा विभिन्न सानातिना क्लब र २०१०को विश्वकपमा अर्जेन्टिनाको नेतृत्व गरे पनि उनी राम्रो कोच होइनन् भनेर प्रष्टै देखिन्थ्यो।
पछिल्ला वर्ष उनी स्वास्थ्य समस्याका कारण समाचार बन्थे।
म्याराडोनाको निधनको खबर सुनेको भोलिपल्ट बिहान उठ्दा पनि नरमाइलो लागिरहेको थियो।
ल्यापटप खोलेर उनकैबारेमा सामग्रीहरू पढें, उनका खेलका भिडियो र गत वर्ष रिलिज भएको आशिफ कपाडियाले निर्देशन गरेको उनीबारे वृत्तचित्र फेरि हेरें। ट्विटर हेर्ने क्रममा म्याराडोनाकै उमेरका र उनका विरूद्ध खेलेका इंग्ल्यान्डका सुपरस्टार गेरी लिनेकरको श्रद्धाञ्जली भिडिओ देखें।
म्याराडोनाको निधन भएको केही घन्टापछि हुने च्याम्पियन्स लिग खेल अघि उनले ती कुरा गरेका रहेछन्। त्यसमा १९८६ को विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्डबीच भएको त्यो अविस्मरणीय क्वार्टरफाइनल खेल र उनका दुई गोलबारे चर्चा गरेका छन्।
त्यो मलाई नौलो लागेन। २००२ हो कि २००६ को विश्वकपताका नै उनले म्याराडोनासँग त्यो खेलबारे केही गुनासो नरहेको भने भन्ने पढेको थिएँ। बरू त्यत्रो भीमकाय गोलकिपर पिटर सिल्टनले म्याराडोनाजस्तो होचो मान्छेलाई त्यसरी बल छुन दिनु उनको कमजोरी भनेर औंल्याएका थिए र त्यसको चार मिनेटपछि गरेको विश्वकपको सर्वोत्कृष्ट दरिएको गोलको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
कमेन्ट्रीका दौरान आफू महान् खेलाडी थिएँ भनेर कहिल्यै छनकसमेत नदिने, म्याराडोनाभन्दा दुई खेल कम खेले पनि ६ गोल गरेर मेक्सिकोमा भएको सो विश्वकपको सर्वाधिक गोलकर्ता भए पनि रत्तिभर दम्भ नभएका लिनेकरको फुटबलमात्र होइन राजनीतिक र समाजिक विषयमा गर्ने विश्लेषण र प्रतिक्रया पनि मलाई उत्तिकै ओजपूर्ण लाग्छन्।
श्रद्धाञ्जलीमा पनि उनले तिनै कुरा गरेका थिए। तर त्यो खेलको कुरा गर्नुअघि यसपटक म्याराडोनासँग खेलेको एक मैत्रीपूर्ण खेलको अनुभव सुनाउँदा म मन्त्रमुग्ध भएँ।
इंग्लिस लिगको शतवार्षिकीको अवसरमा १९८७ को अगस्टमा इंग्ल्यान्डको वेम्बली रंगशालामा इंग्लिस लिगका क्लबहरूका खेलाडी सम्मिलित टोलीको म्याराडोना सम्मिलित 'रेस्ट अफ द वर्ल्ड' टोलीसँग मैत्रीपूर्ण खेल थियो रे। त्यतिबेला लिनेकर बार्सिलोनाबाट खेल्ने भएका कारण उनी म्याराडोनासँगै 'रेस्ट अफ द वर्ल्ड' टोलीबाट खेलेका थिए। त्यो टोलीमा फ्रान्सका महान खेलाडी प्लाटिनीलगायत अरू थुप्रै अब्बल खेलाडी थिए। तर म्याराडोनासँग त्यस्ता विश्वविख्यात खेलाडी पनि नतमस्तक भएका थिए रे।
म्याराडोनाले ड्रेसिङ रूममा बसेरै देब्रे खुट्टाले बल झर्न नदिई ५ मिनेटसम्म खेलाइरहे रे। त्यो सुनाएपछि लिनेकर स्टुडियोको कुर्सीबाट उठे र मैदानमा छिर्ने बेलामा कसरी म्याराडोनाले सबैलाई अचम्म पारे भनेर हाउभाउसाथ वर्णन गरे।
म्याराडोनाले बल 'जगल' गर्दै भुइँमा खस्न नदिई सेन्टरसम्म पुर्याए रे। अनि भएभरको बल लगाएर बललाई देब्रे खुट्टाले आकाशतिर हिर्काए रे। अनि हात बाँधेर बल झर्ने प्रतीक्षा गरे रे। बल तल आएपछि फेरि बेस्सरी माथि हाने रे। यसरी बल भुइँमा खस्न नदिइकन उनले १३ पटक आकाशतिर हाने रे। १३ पटकमा कुनै पनि बेला झरेको बललाई फेरि हान्न तीनकदम भन्दा धेरै हिँड्नु परेन रे।
त्यो सुन्दा म अचम्म भएँ र दु:ख लाग्या बेला भए पनि मुस्कुराएँ। लिनेकरको कुरा रियो फर्डिनान्ड र माइकल ओवेनजस्ता खेलाडी पनि बच्चाले दन्तेकथा सुन्दाजस्तो उत्सुक भएर सुनिरहेका थिए।
लिनेकर बार्सिलोना फर्किसकेपछि अरू खेलाडीलाई त्यो कुरा सुनाए। ट्रेनिङमा सबैले प्रयास गर्दा कसैले पनि ३ पटकभन्दा बढी त्यस्तो गर्न सकेनन्। ३ पटक पुर्याउनेले पनि तेस्रो पटक बल भेट्न कुद्नु पर्थ्यो रे।
लिनेकरको भिडिओ हेरेको केही घन्टामै स्पेनिस पत्रिकामा १९८६को विश्वविजेता टोलीका खेलाडी जोर्गे भाल्डानोले म्याराडोनाको सम्झनामा लेखेको लेखको अंग्रेजी अनुवाद 'द गार्डियन'मा पढें। फाइनलमा एकसहित प्रतियोगितामा ४ गोल गरेका भाल्डानोले पनि कसरी म्याराडोनाले ट्रेनिङको बेलामा बेस्सरी बल आकाशतिर हान्थे र कसरत गर्न थाल्थे, अनि बल तल आएपछि त्यो बल कसरी आयो भनेर छक्क परेजस्तो गरी फेरि माथि हानेर फेरि त्यो कसरत गर्न थाल्थे भनेर उल्लेख गरेका छन्।
'बलस्किल'मा म्याराडोनालाई सबैले इतिहासमै सबैभन्दा अब्बल मान्छन्। गरीब परिवारमा जन्मे-हुर्केका म्याराडोना १० वर्ष नपुग्दै अर्जेन्टिनामा फुटबल खेलहरूको मध्यान्तरमा बलले चटक देखाएर चर्चित भइसकेका थिए। हुर्केपछि क्लबहरू र अर्जेन्टिनाका तर्फबाट खेल्दा पनि उनको बलमाथिको नियन्त्रण बेजोड थियो।
विश्वकपको कुनै एक संस्करणमा सबैभन्दा राम्रो खेल्ने पनि म्याराडोना हुन भन्नेमा कसैको विमति छैन।
१९८६को विश्वकपमा उनको प्रदर्शन कुनै पनि प्रतियोगितामा कोही खेलाडीले गरेको सर्वोत्कृष्ट मानिन्छ। औसत अर्जेन्टिनालाई लगभग उनी एक्लैले जिताएका थिए।
खेलमा तथ्याङ्कले पूर्ण तस्वीर कहिल्यै पनि दिँदैन भन्ने गरिन्छ। अधुरो तस्वीर नै देखाए पनि एक पटक १९८६ विश्वकपमा उनको तथ्याङ्क हेरौं। प्रतियोगितामा अर्जेन्टिनाले १४ गोल गरेको थियो। जसमध्ये पाँच उनले गरेका थिए भने पाँचवटा गोलका लागि अन्तिम पास निकालेका थिए।
इंग्ल्यान्डसँग केही वर्षअघि भएको फकल्याण्ड युद्धमा अर्जेन्टिनाले बेहोरेको हार, र हातले पहिलो गोल हानेर केहीबेरमै इतिहासकै सर्वोत्कृष्ट गोल गरेकाले धेरैले इंग्ल्यान्डसँगको क्वार्टरफाइनलबारे मात्रै चर्चा गर्छन्। तर केही विज्ञ बेल्जियमसँगको सेमिफाइनलमा उनले झनै राम्रो खेलेको दाबी गर्छन्। त्यसमा पनि उनले दोस्रो हाफमा दुई गोल गरेका थिए।
पहिलो गोल पनि राम्रै थियो। तर दोस्रो गोल इंग्ल्यान्डसँगको चमात्कारिक गोलकै झल्को दिलाउने गरी राम्रो थियो। विश्वकप इतिहासका सर्वोत्कृष्ट गोलहरूको सूची बनाउने हो भने त्यो गोल टप पाँचमा पर्छ होला! पाँचमा नपरे पनि टप १० मा त अवश्य नै पर्छ। अर्जेन्टिनाले२-०ले जितेको सो खेलमा उनले पास मिलाइदिएका दुई ठाउँमा धेरै सजिलो गोल गर्ने मौकामा उनका साथीहरू चुकेका थिए। अरू अनगिन्ती राम्रा मौका पनि सिर्जना गरेका थिए।
इंग्ल्यान्ड र अर्जेन्टिनाको कटुता र क्वार्टरफाइनलको त्यो सर्वोत्कृष्ट गोलका कारणले बेल्जियमसँगको प्रदर्शन जहिल्यै ओझेलमा पर्यो।
क्वार्टरफाइनल र सेमिफाइनमा अर्जेन्टिनाले गरेका सबै ४ गोल गरेपछि फाइनलमा तत्कालीन पश्चिम जर्मनी विरूद्धको विजयी गोलका लागि बुरुचागालाई पास पनि उनैले निकालेका थिए।
म्याराडोना र बेल्जियमबारे एउटा तस्वीरबारे रोचक प्रसंग छ। त्यो चर्चित तस्वीर मैले पनि १९९०को विश्वकप अघिनै पोस्टरमा देखेको थिएँ। पछि स्पोर्टसस्टार लगायत धेरै पत्रिकामा पनि त्यो फोटो देखें। इन्टरनेटमा पनि देखेको छु। त्यसमा म्याराडोनाको देब्रे खुट्टामा बल टाँसिएको छ, बेल्जियमका ६ जना खेलाडी डराएर उनीतर्फ हेरिरहेका देखिन्छन्।
पोस्टरमा क्याप्सन नभएकाले मलाई सुरूमा देख्दा त्यो कुन खेलको झलक हो भन्ने केही थाहा थिएन। म्याराडोनाबारे जान्न थाले पछि र १९८६को सेमिफाइनलमा बेल्जियमविरूद्ध उनको उत्कृष्ट प्रदर्शन थाहा पाएपछि, त्यही खेलको तस्वीर रहेछ भन्ने लाग्यो। पत्रिकाहरूले पनि क्याप्सन नराखेर हो कि पहिल्यै देखेको र बेल्जियमसँगको सेमिफाइनल खेलको भन्ने लागेकाले मैले क्याप्सन नपढेर हो मलाई जहिल्यै त्यो तस्वीर १९८६कै भन्ने लागिरह्यो।
२०१४को विश्वकपताका 'द गार्डियन'मा एउटा लेख पढेपछि मात्रै थाहा भयो, त्यो तस्वीर त १९८६ नभएर १९८२को विश्वकपको रहेछ। मजस्तै अरू पनि झुक्किएकै कारणले गार्डियनले त्यो तस्वीरका बारेमा लेख छाप्या होला!
अझ अचम्म त, १९८२को समूह चरणको ती दुई देशबीचको त्यो खेलमा अर्जेन्टिना १-०ले पराजित भएको रहेछ। तस्वीरमा देखिएजस्तो कैद भएको त्यो क्षणमा म्याराडोनाले ती ६जना बेल्जियमका खेलाडीलाई छलाउन लाग्या पनि होइन रहेछ।
तिनीहरू त अर्जेन्टिनाले पाएको फ्रिकिकमा पर्खालमा बस्या खेलाडी रहेछन्। अर्जेन्टिनी खेलाडीले लामो सट नहानेर म्याराडोनालाई छोटो पास दिएकाले सबैजना उनीतिरै फर्किएका रहेछन् र उनको नजिक नभएर टाढै रहेछन्। रंगशालामा टाढाबाट खिचेका कारणले त्यस्तो देखिएको रहेछ।
त्यो फोटो खिच्ने स्टिव पावेल पनि राम्रो फोटो आउँछ भनेर टाढा बसेको नभई उनलाई आयोजकले फोटोग्राफरका लागि अपायक पर्ने ठाउँमा पठाएका रहेछन्।
१९८२को स्पेनमा भएको विश्वकपभन्दा ठ्याक्कै अघि स्पेनिस क्लब बार्सिलोनामा त्यतिबेलाको सबैभन्दा धेरै मूल्य (७६ लाख अमेरिकी डलर)मा अनुबन्धित भएकाले सबैले म्याराडोनाकै फोटो खिच्न खोज्या रहेछन्। उनले पनि टाढाबाटै भए पनि खिच्दा त्यो तस्वीर कैद गरेका रहेछन्।
अर्जेन्टिनाले खेल हारेको र म्याराडोनाले खासै राम्रो नखेलेका कारण उनले त्यो तस्वीर छाप्न पनि दिएनछन्। चार वर्षपछि म्याराडोनाले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि त्यो तस्वीर कालजयी भएको रहेछ। त्यसले म्याराडोनाको देब्रे खुट्टामा बल कसरी चुम्बकमा जसरी टाँसिन्छ र उनको खुट्टामा बल परेपछि डिफेन्डरहरू कसरी डराउँछन् भन्ने ठ्याक्कै चित्रण गर्छ।
म्याराडोना सबैभन्दा राम्रो 'बलस्किल' भएका खेलाडी हुन् भन्नेमा खासै दुईमत नभए पनि सबैभन्दा उत्कृष्ट खेलाडी हुन् कि होइनन् भन्नेमा चाहिँ धेरै विवाद छ।
पेलेले खेलेका खेलको भिडिओ क्लिप धेरै नभेटिने भएकाले हो कि उनीबारे पढ्ने सन्दर्भ सामग्री तुलनात्मक रूपमा थोरै भएको वा मेरो आफ्नो पूर्वाग्रहले हो, मलाई भने म्याराडोना पेलेभन्दा राम्रा खेलाडी लाग्छन्। त्यसमा मेरा एउटा साधारण मापदण्ड छ।
१९८६को औसत अर्जेन्टिनी टोलीमा म्याराडोनाका ठाउँमा पेले भएको भए विश्वकप जिताउन सक्थे होलान् त? सक्थे भन्ने ठाउँ खासै छैन। अब पेलेको ठाउँमा म्याराडोना भएको भए ब्राजिललाई जिताउन सक्थे त? पेले खेल्दा ब्राजिलले जितेको तीन वटै विश्वकपमा (१९५८, ६२ र ७०) अरू खेलाडी पनि यति राम्रा थिए कि पेले नभएर म्याराडोना भएको भए जित्दैनथ्यो भन्न सकिन्न। ६२मा त दोस्रो खेलमा पेले घाइते भएर बाँकी कुनै खेल नखेल्दा पनि ब्राजिलले प्रतियोगिता जितेकाले पनि त्यसलाई थप बल पुग्छ।
पेलेले १७ वर्षको उमेरमा १९५८मा पहिलो विश्वकप जितेका थिए। १९७७मै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्न सुरू गरेका उदाउँदा स्टार म्याराडोनालाई घरेलु मैदानमा १९७८मा हुने विश्वकपमा आश्चर्यजनक रूपमा समावेश गरिएन। आयोजक भएको नाजायज फाइदा उठाउँदै र स्ट्राइकर मारियो केम्पेसको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले उपाधि जित्यो। म्याराडोना खेलेको भए र उनी खेल्दा पनि अर्जेन्टिनाले उपाधि जितेको भए पेलेजस्तै उनले पनि १७ वर्षमै विश्वकप जित्थे।
पेलेले तीन पटक विश्वकप जितेको भनेर मसँग धेरै विवाद गर्ने ब्राजिल समर्थक साथीहरूलाई चिढ्याउन म भन्ने गर्छु- आफैंमा बलियो तर पेलेले जित्दाताकाको ब्राजिलभन्दा धेरै कमजोर पश्चिम जर्मनी पनि १९८२, ८६ र ९० गरी लगातार तीन पटक फाइनलमा पुग्यो। कतिपय खेलाडी दोहोरिए भने कोही तेहेरिए पनि। तत्-तत् समयमा जर्मनीको टोलीबाट म्याराडोना खेलेका भए, जर्मनीले लगातार तीन पटक विश्वकप जित्थ्यो।
९०को उपाधि जर्मनीले जितिहाल्यो, ८६ मा म्याराडोनाको औसत अर्जेनटिनाले त जित्यो भने झन् बलियो जर्मनीले सजिलै जित्थ्यो, अनि विश्वका सबैभन्दा महँगा खेलाडी जर्मनीमा भएको भए ८२को फाइनल पनि इटलीसँग हार्दैनथ्यो।
पेले राम्रा खेलाडी हुन् कि म्याराडोना भन्ने कुराको छिनोफानो कहिल्यै हुनेछैन र त्यसको खासै अर्थ पनि छैन। र पनि फिफाले २०००मा त्यस्तो निरर्थक जमर्को गर्यो। २०औं शताव्दीका सबैभन्दा राम्रो खेलाडी को भनेर इन्टरनेटमा आधारित भोट गरायो। खेल जीवनमा म्याराडोनाभन्दा सज्जन छवि भएका र सकिएपछि त झन् भलाद्मी जीवन बिताएका पेलेले त्यो भोट पक्कै जित्छन् भन्ने सोचेको हुनुपर्छ फिफाले!
मैले त्यतिबेला इन्टरनेट चलाउन नजान्ने/नपाएकाले भोट हालिनँ। तर मजस्तै सोच्ने धेरै फुटबल फ्यान रहेछन्। म्याराडोनाले ५३% भन्दा बढी मत ल्याएर त्यो भोट जिते भने पेले झन्डै १८% मात्र मतसहित लज्जास्पद रूपमा दोस्रो भए। त्यस्तो नकारात्मक छवि भएका र फिफालाई गाली गरिरहने म्याराडोनाले भोट जितेपछि फिफालाई ऐंठन भयो। तिल्मिलाएको फिफाले म्याराडोनाले खेलेको देख्ने धेरै युवाहरूले भोट हालेको र पेलेले खेलेको धेरैले नदेखेकेको भन्दै आफैं 'फुटबल परिवार' भनेर फुटबल पदाधिकारी, कोच र पत्रकारहरू सम्मिलित समिति बनायो।
त्यो भोटमा म्याराडोनापछि भर्खरै खेलेका सुपरस्टार रोबर्टो बाजियो, रोमारियो, जिनेदिन जिदान, रोनाल्डो र मार्को भ्यान बास्टेनहरू भन्दा धेरै मत ल्याएर पेलेकै समयताका खेलेका पोर्चुगलका युसेबियो पेलेपछि तेस्रो भएकाले फिफाको भर्खर खेलेका खेलाडी म्याराडोनाले बढी मत ल्याए भन्ने तर्क सही नभएको धेरैले औंल्याए पनि फिफाले बनाएको समितिले ७०% भन्दा धेरै मत दिएर पेलेलाई विजयी गरायो। र म्याराडोना र पेले दुबैलाई संयुक्त रूपमा विजयी घोषणा गरेर पुरस्कृत गर्यो।
म्याराडोनाको प्रदर्शन किन पनि अतुलनीय छ भने उनले खेल्ने समयमा फुटबल खेल पेलेको युगजस्तो आक्रामक शैलीको थिएन। म्याराडोनाको समयमा कोचहरूले रक्षात्मक संगठनमा आधारित टोली बनाउँथे र खेल पनि पुरै फिजिकल हुन्थ्यो। राम्रा खेलाडीलाई डिफेन्डरले लात हानेरै तह लगाउँथे।
१९८२को विश्वकपबाट म्याराडोनालाई लात हानेरै बाहिर पठाइएको थियो भनेर विज्ञहरू भन्छन्। लिनेकरले गत हप्ताको श्रद्धाञ्जलीमा पनि त्यही भनेका छन्। भर्खरै बार्सिलोनामा अनुबन्ध भएका सबैभन्दा महंगा र त्यतिबेलाका सबैभन्दा राम्रा खेलाडीलाई डिफेन्डरले फल हानेर हैरान बनाएका थिए। लगातार फल हानेपछि रिस उठेर ब्राजिलका खेलाडीलाई उफ्रिएर पेटमा लात हानेकोमा रातो कार्ड खाएर म्याराडोना १९८२को विश्वकपबाट विदा भएका थिए।
बार्सिलोनामा उनको दोस्रो सिजनको सुरूमा त्यतिबेलाको लिग च्याम्पियन एटलेटिक बिल्बाओका डिफेन्डर एन्डोनी गोएकोचियाले उनलाई फल हानेर उनको गोलीगाँठोमा गम्भीर चोट लाग्यो। म्याराडोना तीन महिना मैदानबाहिर रहे। त्यस्तो फल हान्दा पनि गोएकोचियाले पहेंलो कार्डमात्रै पाए। त्यो फल हानेपछि 'बुचर अफ बिलबाओ' भन्ने उपमा पाएका गोएकोचियाले उल्टै पार्टीहरूमा मैले यही बुटले म्याराडोनाको गोलीगाँठो ध्वस्त पारेको भन्दै देखाउँथे रे।
१९८२, ८६ र ९०को विश्वकप खेल फेरि हेर्ने हो भने म्याराडोनालाई फल हानेर लडाएको मात्रै देखिन्छ। राम्रा खेलाडीलाई फल हानेर करियर नै चाँडै सकिन थाल्यो भन्ने बुझेर ९०को दशकको अन्त्यतिरबाट फिफाले नियम धेरै कडा बनाउन थाल्यो।
स्टार खेलाडीलाई धेरै जोगाउन थाल्यो। म्याराडोनाले खेलेका विश्वकपका खेलको भिडिओ हेराएर अहिलेका रेफ्रीले निर्णय लिने हो भने उनको हातले हानेको गोल त पक्कै खारेज हुन्थ्यो तर कुनै पनि खेलमा विपक्षी टोलीका सबै खेलाडी मैदानमा रहन्नन् होला। धेरै खेलमा त ५ जनाले (पटक) रातो कार्ड खाएर न्यूनतम ७ जना पनि खेलाडी पनि नपुगेर खेल नै रोकिन्थ्यो होला। रेफ्रीले त्यसरी उनलाई फल हान्न नदिएको भए झन् उनले ती खेलमा के-के पो गर्थे होलान्!
अझ म्याराडोनाको पार्टी गर्ने, रक्सी पिउने र कोकिनको दुर्व्यसन पनि हेर्ने हो भने उनको प्रदर्शन अपत्यारिलो लाग्छ। कतिले कोकिनले खेलाडीलाई मद्दत गर्छ भन्ने सोचे पनि कोकिन सेवनले खेलाडीलाई फाइदा होइन नोक्सान गर्छ भनेर विज्ञानले भन्छ।
म्याराडोनालाई बार्सिलोनामा हुँदा नै कोकिनको बानी लागिसकेको थियो रे। १९८४मा झन् धेरै पैसा (१ करोड ४ लाख ८० हजार डलर) इटालीको नेपोली गएपछि त उनी अम्मली नै भइसकेका थिए। र पनि उनले १९८६को विश्वकपमा चमत्कार गरे। १९८६-८७को इटालियन लिग दक्षिणको गरीब नेपल्स सहरको हेपिएको नेपोलीलाई जिताए। धनी उत्तरका क्लबहरूको एकलौटी राज अन्त्य गरी गरीब दक्षिणी भागलाई पहिलो लिग जिताए!
पहिलो पटक लिग जितेपछि नेपल्समा हप्ताभरि भोजभतेर भयो। लिग जितेको भोलिपल्ट बिहान हेर्दा कसैलै सहरको चिहानघारी बाहिर राति नै 'के देख्न पाएनौ भनेर तिमीहरूलाई थाहा छैन' भनेर लेखेको थियो। त्यसको भोलिपल्ट 'हामीले देखेनौं भनेर कसले भन्यो?' भनेर जवाफ पनि लेखिएको थियो रे।
म्याराडोनाबारे कपाडियाको वृत्तचित्रमा उनी आइतबार खेल खेलेर बुधबारसम्म कोकिन खाएर बस्थे र त्यसपछि मात्रै खेलका लागि अभ्यास गर्थे भनेर उल्लेख गरिएको छ। त्यस्तो हालतमा पनि उनले नेपोलीलाई त्यसपछिको दुई सिजन लिगमा दोश्रो स्थान दिलाए, एउटा युइएफए कप जिताए र ८९-९०को सिजनमा फेरि लिग जिताए।
शारिरीक रूपमा लगभग ध्वस्त भइसकेका र चोटग्रस्त भए पनि अर्जेन्टिनालाई १९९० विश्वकपको फाइनलसम्म पुर्याए। अहिलेका मेसी र क्रिस्टियानो रोनाल्डोजस्तो कडा ट्रेनिङ र अनुशासनमा बसेको भए म्याराडोना कति सफल हुन्थे होलान् भनेर अनुमान पनि लाउन सकिन्न।
म्याराडोना मेसी र क्रिस्टियानोजस्तो भएको भए उनी म्याराडोना नै हुन्नथे। मलाई उनको खेल जीवनबारे केही पनि गुनासो छैन।
तर पनि उनको निधन भएपछिका केही दिनमा मैले महशुस गरें- खेलाडी म्याराडोना सम्झिँदा मेरो मानसपटलमा १९९०को विश्वकपमा क्यामारुनले फल हानेर निरन्तर लडेका र फाइनलमा जर्मनीसँग हारे पछि रोएका म्याराडोना मात्र आउँछ्न्। खेलजीवन पछिको सम्झँदा हिँड्नै अप्ठ्यारो हुनेगरी मोटाएका रोगी म्याराडोनामात्र सम्झनामा आउँछन्।
मैले प्रत्यक्ष प्रसारण १९९०को विश्वकपको मात्रै हेरे पनि १९८६को खेलका भिडिओ क्लिपहरू धेरै पटक हेरेको छु। विश्वकप उचालेका कालजयी म्याराडोना सम्झनामा आउँदैनन्।
रोनाल्डो सम्झँदा खेलजीवन बिसाएपछि मोटाएकाभन्दा बार्सिलोना-इन्टर मिलानबाट खेल्दा डिफेन्डरलाई छुलछुल बनाउने साँढेजस्ता बलिया र १९९८ र २००२को विश्वकपमा ब्राजिलका लागि चम्किएका स्ट्राइकर याद आउँछन्।
तर म्याराडोनाबारे चाहिं दु:खी बनाउने कुरा मात्रै याद आउँछन्।
मेरो पहिलो खेलकुद सुपरस्टार म्याराडोना, पहिलो प्रेम जस्तै भएका छन्। पहिलो प्रेम एकदमै थोरै मान्छेको मात्रै सफल भएजस्तै मेरो सम्झनामा पनि म्याराडोना असफल छन्। पहिलो प्रेममा चोट खाएको प्रेमीले मैले यसो नगरेर त्यसो गरेको भए प्रेम सफल भई पो हाल्थ्यो कि भनेर कल्पिएजस्तै अर्जेनटिनाले १९९०को फाइनल जितेको भए वा म केही वर्षअघि जन्मेको र १९८६ को विश्वकप प्रत्यक्ष हेर्न पाएको भए म्याराडोना मेरा लागि वियोगान्त नभएर सुखान्त सुपरस्टार पो हुन्थे कि भनी घोत्लिनेबाहेक मेरासामू अरू केही उपाय छैन!