काठमाडौंको सार्वजनिक यातायात। यात्रुहरूका थरिथरिका भागभंगीमा अभिव्यक्तिहरू अनि व्यक्तिगत कथाहरू हमेशा बेढंगले छचल्किरहेका हुन्छन्। अझ भनौं निम्न–मध्यमवर्गीय समाजका सबैखाले रंगहरू कही सन्तुलित ढंगले त कही असन्तुलित भएर पोखिइरहेका हुन्छन् ।
केही हप्ता अगाडिको कुरा । दुई किशोरी गाडीमा चढे । कानमा एयरफोन छदैँ थिए, पिठ्यूमा कलेजव्याग पनि।
एकछिनपछि एउटीले भनिन्– थाहा छ तलाई ?
‘के भन् न ? भने पो थाहा हुन्छ ।’
‘मलाई त मेरो ड्याड–मम भन्दा त अनुजले धेरै माया गर्छ जस्तो लाग्छ।’
‘कसरी ? ’ अर्कीले सोधी ।
‘अस्ति कलेजबाट फर्कने बेला म रुइरकोथ्यो, कलेजको वाथरुम नजिकै। अनुज नजिकै आयो । ’
‘अनि ? ’ अर्की थप जिज्ञासु भई ।
त्यसपछि उसले मलाई भन्यो –नरु न ।
मैले ती केटीको स्थानमा प्लस टू पुस्ताका दुई युवकहरू राखेर हेर्न खोजे र आफैँलाई प्रश्न गरे। के युवकहरूले ती युवतीले जस्तै खुलेर आफ्नो दिग्दारी साथीसँग पोख्न सक्थे होलान् ? केटाहरू ती युवतीले गरेजस्तै कलेजको एउटा कुनामा बसेर रुन सक्थे होलान् ?अनि रोएको भए पनि म रोएको थिएँ भनेर साथीलाई भन्ने आँट गर्थे होलान् ? अर्को महत्वपूर्ण प्रश्न– केटी साथी नजिकै आउँदा केटाहरूले आँखा पुछेर केही नभएको नाटक गर्थे होलान् कि निर्धक्क रोएर आफूलाई अभिव्यक्त गर्थे होलान् ? साथै केटी साथीले पनि अनुजले गरेजस्तै ‘नरु न’ भन्दिहोलिन् कि ह्या केटा भएर पनि कोही रुन्छन् भनेर बाटो तताउँथिन् होला ?
पक्कै पनि ती युवतीको स्थानमा युवक हुन्थे भने यो कथा मेरो कानसम्म आई नै पुग्दैनथ्यो । मनभित्रै पाकिरहन्थ्यो त्यो रुवाईको कथा । बाहिर आउने मौका पाउथेन । बाहिरै आए पनि वास्तविक कथालाई बटारेर त्यसमा पुरुष अहम् मिसिएर आउथ्यो होला । स्वत स्फुर्त ढंगले आउथेन । किनकि समाजको नजरमा पुरुषलाई रुन, त्यसमाथि सार्वजनिक स्थानमा रुन छुट छैन । त्यसो गरेमा समाजका कानून लाग्छन्, साथीभाइमा कानेखुसी हुन्छ , प्रेयसीको मनमा हुत्तिहारा मोरा को भाव पलाउँछ ।
किन आँसु पिउछन् लोग्ने मान्छेहरू ?हाम्रो मूल्य, मान्यता, सँस्कृति, परम्परा र मनोविज्ञानले लोग्ने मान्छेलाई नरुन सिकाएको छ । नरुन सिकाएको मात्र छैन, लोग्ने मान्छेको रुवाइ तथा कमजोर संवेगात्मक अभिव्यक्तिलाई लाजमर्दोको संज्ञा दिएको छ । अझ त्यसभन्दा पनि माथि उठेर रुवाइलाई नामर्दपनसँग जोडेको छ । अनि हरेक पुरुषलाई मर्दपनमा कसैको प्रश्न वा हस्तक्षेप असह्य हुन्छन् भनेर पनि बुझाएको छ । लोग्ने मान्छेमा समाज र सँस्कृतिले भरिदिएको मर्दपन र लोग्ने मान्छे हुनुको पहिचान र मानकको धङ्गधङ्गीले गाँजेको छ । सो भ्रमबाट हमेशा निर्देशित भइराख्ने भएकोले रुवाइकै कारण आफ्नो पुरुषत्व, मर्दपन, आटिलोपना, बहादुरीपना र प्रभुत्वमा कमी हुने वा कमी भएको सन्देश जाने हो कि भनेर लोग्ने मान्छे रुन हिचकिचाउँछन् ।
बाल्यावस्थादेखि उसकी आमाबाबु, समाज , सँस्कृति र परम्पराले यही कुरा सिकाएको छ। हाम्रो परम्पराले रियल म्यान को विशेषतामा आँसु पिउनेलाई राखेको छ नकि आँसु देखाउनेलाई । र हरेक पुरुष रियल म्यान बन्न चाहन्छ । त्यसैले उनीहरू पुरुष हुनुका पहिचान मानिएका मानक प्राप्त गर्ने दिशामा जबर्जस्त लागि पर्छन् ।
रुवाइ र लैंगिकतारुनलाई बर्जित गर्ने समाज र सँस्कृतिले लोग्ने मान्छेलाई आक्रामक हुन, रोष व्यक्त गर्न र निर्दयीपन प्रस्तुत गर्न चाँही रोक्दैन । अझ लैङ्गिक हिसाबले विभेदकारी कतिपय अभिव्यक्ति समेतलाई यो समाजले मर्दपन नै ठान्छ । ‘मर्दकी दशवटी’, ‘खुट्टा भए जुत्ता कति कति’ ‘साली, आधी घरवाली’, जस्ता लोग्ने मान्छेको क्लबमा चलेका शव्दहरू यसका उदाहरण हुन् ।
हामीले सुन्दै र पढ्दै आएका ऐतिहासिक घटना तथा साहित्यमा पुरुषको बहादुरी, आक्रामकता,लडाकुपन र मिचाहापनलाई ‘हिरोइज्म’को रूपमा प्रस्तुत गरिएको पाइन्छ । चलचित्र वा नाटकहरू तथा आमसञ्चारका माध्यममा पनि यही पक्षलाई मर्दपनको रूपमा प्रस्तुत गरिएको हुन्छ । रुनु वा कमजोर संवेगहरूको अभिव्यक्ति केटी मान्छेको एकलौटी जस्तो बनाइदिएको छ समाजले। पुरुष होस् वा महिला , रुवाइले आँसुमार्फत पीडालाई बगाएर मन सफा गर्छ, पीडालाई कम गर्छ । बरु अभिव्यक्त नगर्दा चाँही रक्तचाप बढ्न सक्छ । मुटुको रोग लाग्न सक्छ । साथै मानसिक रोगको सिकार हुनसक्ने र सो संवेग नकरात्मकतातर्फ जानसक्ने भय पनि रहन्छ ।
वास्तवमा रुवाइ बर्जित क्रियाकलाप नभई सम्वेगको अभिव्यक्ति गर्ने एक उत्कृष्ट माध्यम हो।
लोग्ने मान्छेले रुन किन नहुने ?मेरा केटा साथीहरूले आफू रोएको कुरा सुनाएको मलाई याद छैन, जबकि केटी साथीहरूले फिल्म हेर्दा समेत रोएको कुरा निर्धक्क भनेको कयौं सम्झनाहरू छन्।
उनीहरूले चलचित्र हलमा अलिक सिरियस दृश्य आएपछि उनका अरु साथीहरूले र परिवारका सदस्यले आफ्नो अनुहारतिर ध्यान दिने गरेको कुरा समेत खुलेर बताएका छन्। अर्कोतर्फ मलाई मेरा केटा साथीहरू रोएको कुरा थाहा नभएको भने होइन।
रक्सीको चुस्कीमा, चुरोटको धुवाँसँगै रोएका धेरै घटनाहरूको याद छ । घरका आफन्तको आँखा छलेर बन्द कोठामा रुनेहरू त कति कति । तर उनीहरू जहिल्यै सजग छन् – आफ्नो मर्दपन वा पुरुषत्वमा प्रश्न उठ्ने वातावरण नदिन र महिलाजस्तो पिलन्धरे भन्ने आक्षेपबाट जोगिन ।
रुनु तथा आफूलाई अभिव्यक्त गर्नु स्वस्थ आचार हो । रुवाइको विषयमा जिन ज्याक्स रुसोले भनेका छन् ‘रुवाइ जुनै सम्वन्धहरूमा पनि आत्मियता दर्साउन र माया देखाउन अझै बढी प्रभावकारी हुन्छ ।
त्यसैगरी सेक्सपियरले उनको कृति दि टेमिङ्ग अभ दि स्रियु मा रुवाइबाट अरुको मन जितिने र अरुको संवेग बदल्न सकिने सन्दर्भ कोट्याएका छन् । अर्को रोचक प्रसंग प्रचीन ग्रीक राज्यको छ, जहाँ अदालतमा अपराधका आरोपी पुरुषहरूले आफू निर्दोष रहेको प्रमाणस्वरुप श्रीमतीहरू लिएर अदालत जाने र उनीहरू अदालतसमक्ष रोइकराइ गर्ने चलन रहेको इतिहास पाइन्छ । यसको अप्रत्यक्ष नतिजा सुनुवाइमा पर्ने अपेक्षा गरिन्थ्यो त्यतिबेला ।
पछिल्लो समयको कुरा गर्दा अमेरिकी राष्ट्रपति वाराक ओवामाले अमेरिकी चुनाव जितेपछि चुनावी प्रचारप्रसारमा लागेका सहकर्मीहरूलाई सम्वोधन गर्दा आँसु झारेका थिए । त्यसैगरी, उनले अमेरिकाको एक विद्यालयमा भएको वन्दुक आतंकमा बालबालिका मारिएको विषयमा बोल्दा पनि आँसु झारेका थिए। संसारभरका मिडियामा यो विषयले प्राथमिकता पाएको थियो। त्यसैगरी, रोनाल्ड रेगन, जर्ज डव्ल्यु बुस , बिल क्लिन्टन पनि सार्वजनिक रूपमै रुने कार्यकारीहरूमध्ये पर्दछन् । उनीहरू रोएकै कारण मर्दबाट झरेर नामर्द भएनन् । बरु जुन सवालमा उनीहरूले आँसु झारे, सो सवालमा व्यापक जनमतको सिर्जना गरे र अर्कोतर्फ आफू सामान्य मानव भएको सन्देश समेत दिए ।
जिउँ जीन्दगी खुलेर हाँसो जतिकै सत्य हो आँसु पनि। किनकि हरेकका जीवनमा जसरी हाँस्नका लागि हजार कारणहरू हुन्छन्, रुवाउने क्षणहरू पनि त्यत्तिकै हुन्छन् । अझ रुवाइको गहिराइ हाँसोकोभन्दा तीव्र प्रभावी हुन्छ।
मानवको लागि हाँसो र आँसु दुबै उतिकै सत्य हुन् भने यो सत्यतालाई स्वीकार गर्नमा के को आपत्ति ? जब तिम्रो मनमा कुनै चोट पर्छ, मन खिन्न हुन्छ, दुख लाग्छ भने तिमीले त्यसलाई अभिव्यक्त गर्न र आँसु बगाउन किन नहुने ? पितृसत्ताले मलजल गरेको यो दोहोरो मापदण्डमा हामी
पुरुष कति पिल्सिइरहने ?लोग्नेमान्छेहरू ! तिमी आफ्ना संवेगहरू जति खुलेर अभिव्यक्त गर्छौ, त्यति अर्थपूर्ण जीन्दगी बाँचिरहेका हुन्छौ । मनमा लागेको कुरा मनमै गुम्स्याएर बाचेको जीन्दगी केबल कुण्ठाको जीन्दगी हो । त्यसले तिमीलाई कहिल्यै खुसी दिँदैन । बरु अभिव्यक्त गर्दा क्षणिक अप्ठेरो वा सरम लाग्छ भने त्यसलाई सामना गर्ने हिम्मत निकाल । यसरी हिम्मत निकाल्नु चाँही मर्दपनको खाट्टी पहिचान हो ।
(लेखक सामाजिक मामला, प्रकोप जोखिम न्युनीकरण, सञ्चार जस्ता विषयमा कलम चलाउँछन् । )