च्यातिएको टोपीबाट छुस्स निक्लेको घुम्रे कपाल। ज्यानमा मैलो सर्ट अनि सुरूवाल। त्यो पनि मिलाएर लगाउने फुर्सद नभएको।
फाट्न लागेका जुत्ता, काँधमा छड्के झोला र झोलामा बाँसुरी। मण्डला नाटकघरमा प्रदर्शनरत नाटक 'झिम्के मामा' का मुख्य पात्र झिम्के उनै हुन्।
देउराली गाउँका लागि झिम्के क्षत्री हुन्, पालुङतिरका बस्नेतका छोरा। समाजले स्विकार्दो हो त खुलेआम आफू 'दलित' भएको बताउँथे होला। आफ्नो पहिचान लुकाउनु उनको बाध्यता हो।
झिम्केको कथा–व्यथा नयाँ होइन। हाम्रो समाजमा लामो समयदेखि देख्दै, पढ्दै, सुन्दै आएकै हो।
उनी भान्जाहरूका लागि मात्र होइन, गाउँकै लागि प्यारा छन्। उनी देउराली आएदेखि गाउँ विकास भएको छ। धारा, मन्दिर, बाटो र पक्की पुल बनेको छ। गाउँलाई मर्दापर्दाको सहारा भएका छन्।
चार वर्षअघि टिकारामलाई रगत दिएर झिम्केले सहयोग गरेका थिए। त्यही बेलाबाट उनी टिकारामकी श्रीमतीका भाइ (माइती) बनी उनकै घरमा बस्दै छन्।
झिम्केले बेलाबखत बजाउने बाँसुरीको धुन गाउँलेलाई थाहा छ। चन्दालाई पनि खुबै मनपर्छ। एकपटक उनले झिम्केलाई भनेकी पनि छिन्, 'तिमीले बजाएको बाँसुरी सुनिरहूँ लाग्छ।'
सकारात्मक ऊर्जा दिदै बाँसुरीको धूनमा सुरू भएको नाटक पात्र झिम्केको वास्तविकता रहस्योद्घाटनसँगै शंखको धूनमा परिणत हुन्छ। उसले आफैंले बनाएको मन्दिरमा प्राण त्याग्छन्। झिम्केको मृत्युमा एउटा बाहुनले बजाएको शंखको धून जातीय विभेद भत्काउने सांकेतिक धूनका रुपमा बुझ्न सकिन्छ।
समाजको यथार्थ चित्रण गर्न खोजेको नाटकले जातीय विभेद अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ। दुर्गाप्रसाद पाण्डेको कथालाई निर्देशक प्रदीपकुमार चौधरीले मञ्चन गरेका हुन्।
यो समाजका अनेकौं झिम्केको कथा हो। जातले मात्र नभई धर्म, वर्ण, भाषा लगायत विविध कारणले समाजमा थुप्रै झिम्के छन्। नाटक हेरिरहँदा तपाईंले ती पात्रमा आफू वा आफ्नो समाज देख्नुहोला!
कर्मले जति नै माथि पुगे पनि समाजले ती पात्रलाई झिम्के बनाइरहेको छ। अनि उनीहरू हाकाहाकी आफ्नो परिचय बताउन डराउँछन्। कर्मबाट आफ्नो भाग्य बदल्न खोज्छन्, सकिरहेका छैनन्।
नाटक हेर्न पुगेका दर्शक पात्रका संवाद र दृश्यले मज्जाले खित्का छाडेर हाँस्छन्। सँगै समाजको तितो यथार्थले मन भाँडिन्छ। गाउँको परिवेश झल्काउन बनाइएको सेट आकर्षक छ। पात्रहरूको संवादमा प्राकृतिक लवज पाइन्छ। बच्चाहरूको ठाडो बोली, जिस्काउने भाका, एकैछिन आएका बटुवासँग पनि मिठो संवाद, प्रायः गाउँमा पाइने विशेषता हो।
नाटकमा जातीय विभेदलाई मूल कथाका रूपमा देखाइए पनि अन्तरजातीय प्रेमलाई समाजले अझै स्विकार्न नसकिरहेको अवस्था पनि चित्रण छ। त्यसैगरी, पछिल्लो समय गाउँका धेरै युवा विदेशिने विषय समेट्न खोजेको छ। यी कुरा समस्याका रूपमा नाटकमा उठे पनि मूल कथा र पात्रमा केन्द्रित रहँदा ओझेल परेका छन्।
'झिम्के मामा' ले उठाउन खाेजेकाे जातीय विभेदकाे कथा नाटकघरमा मञ्चन भइरहेका हुन्छन्। त्यस्ता घटनालाई फरक किसिमले देखाउनु निर्देशकीय हिसाबले चुनौती नै हो। तर पनि दर्शक अडाइराख्नु नाटकको बलियाे पक्ष हाे।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी