द कन्भरसेसन– ४४
यो संवादको सुरूआत चीनमा भयो।
करिब एक महिनाअघि म एउटा कार्यक्रममा भाग लिन चीनको सेन्जेन गएको थिएँ। भ्रमण टोलीमा हरिवंश आचार्य पनि सँगै थिए।
देशका एक नामी हास्यव्यंग्य कलाकारसँग साताभरि बिहानदेखि बेलुकीसम्म हिँड्दा, घुम्दा, बस्दा र गफिँदा मैले उनी र उनका सहयात्री मदनकृष्ण श्रेष्ठबारे धेरै नौला नौला कुरा जान्ने मौका पाएँ।
उनीहरूले पञ्चायती व्यवस्थाको प्रतिबन्धित अवस्थामा राजनीतिक व्यंग्यले भरिपूर्ण प्रहसनहरू कसरी रचना गरे? ती व्यंग्य पछाडि लुकेको यथार्थ के थियो? ती प्रहसन मञ्चन गर्दा के–कस्ता अवरोध झेल्नुपर्यो? आफ्नो हास्यव्यंग्य यात्राका यस्ता विभिन्न पक्ष खुलेर सुनाएका थिए हरिवंशले।
सबभन्दा ठूलो कुरा त, त्यही यात्रामा मैले थाहा पाएँ — मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य; जसको जोडीलाई हामी प्रेमपूर्वक 'मह' भनेर सम्बोधन गर्छौं, उनीहरूको सहयात्राले वैशाख १४ गते ४५ वर्ष पूरा गर्दैछ।
यो थाहा पाउनेबित्तिकै मैले हरिवंशलाई भनेँ, 'दाइ तपाईंहरू दुई जनाको ४५ वर्षीय यात्राबारे म भिडिओ कुराकानी गर्न चाहन्छु। काठमाडौं गएपछि तपाईंहरूलाई सेतोपाटी स्टुडिओमा निम्ता गर्छु। समय मिलाउन सक्नुहुन्छ?'
हरिवंशले एकदमै हार्दिकताका साथ जबाफ दिए, 'भइहाल्छ नि भाइ।'
काठमाडौं फर्केपछि मैले फेरि उनीसँग सम्पर्क गरेँ। मदनकृष्णसँग कुरा गर्ने र समय मिलाउने काम हरिवंशले नै गरे।
यसरी चीनको सेन्जेनमा जन्मेको यो संवादको आइडियाले ललितपुरको सेतोपाटी स्टुडिओमा मूर्तरूप लियो।
म मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका हास्यव्यंग्य प्रहसनहरू क्यासेट प्लेयरमा सुन्दै हुर्केको पुस्ता हुँ।
मलाई याद छ — त्यति बेला मदनकृष्ण र हरिवंशका प्रहसन सुन्नेलाई पनि प्रहरीले समात्छ भन्ने हल्ला थियो। त्यसैले हाम्रो घरमा झ्यालढोका थुनेर प्रहसनको क्यासेट सुन्ने गरिन्थ्यो। सुन्दा सुन्दै कसैले ढोका ढकढकायो भने पहिला क्यासेट बन्द हुन्थ्यो, अनि बल्ल ढोका खुल्थ्यो।
२०४६ को राजनीतिक परिवर्तनपछि महले सामाजिक विषयवस्तुका टेलिभिजन सिरियल खुब बनाए। खोलामुनिको जग्गा धितो राखेर बैंक लुट्ने प्रकरणदेखि अन्तरजातीय विवाहलाई समेत रसिलो ढंगमा प्रस्तुत गरे। त्यो यस्तो समय थियो, जब साँझ ८ बजेको समाचारपछि नेपाल टेलिभिजनमा महको सिरियल आउने दिन मान्छेहरू पसल पनि छिट्टै बन्द गर्थे। काममा गएकाहरू छिट्टै घर फर्कन्थे। सडकधरि सुनसान हुन्थ्यो।
मलाई त्यो समय सुनेका प्रहसन र टेलिसिरियलका एक–एक प्रसंग, पात्र र कतिपय संवादधरि अहिलेसम्म कन्ठ छ।
उदाहरणका लागि —
'अंशबन्डा' भन्ने प्रहसनमा एक जना व्यक्ति आफ्नो दाइ हो कि भाइ हो नछुट्टिएको जुम्ल्याहाविरूद्ध मुद्दा ठोक्न वकिलको अफिस आएको हुन्छ।
वकिलले उसलाई के विषयमा मुद्दा हाल्ने भनेर सोध्छ।
जबाफमा त्यो 'दाइ हो कि भाइ हो' ले भन्छ, 'नेपाली वर्णमालाबाट 'अ' भन्ने अक्षर झिकिपाऊँ।'
वकिलले छक्क पर्दै सोध्छ, 'वर्णमालाबाट 'अ' भन्ने अक्षर झिक्यो भने अक्षरलाई के भन्ने, क्षर भन्ने?'
त्यसपछि त्यो व्यक्तिले 'अ' भन्ने अक्षर झिकिपाऊँ भनेर मुद्दा ठोक्नुको कारण जसरी व्याख्या गर्छ, त्यो एक वाक्यबाट तत्कालीन पञ्चायती व्यवस्थाको दुरावस्था छर्लंग हुन्छ।
यति मात्र होइन, त्यो व्यक्तिले आफ्नो दाइ हो कि भाइ हो नछुट्टिएको जुम्ल्याहासँगको अंशबन्डामा कस्तो अन्याय भोगेको थियो भन्नेले पनि ३० वर्षको पञ्चायती कालखण्ड उजागर गर्छ। ऊ र उसको जुम्ल्याहाबीच सम्पत्ति कसरी भागबन्डा गरियो भन्ने वृत्तान्तले तत्कालीन समयमा शासक र जनताबीचको सामाजिक, आर्थिक र राजनीतिक खाडल झल्काएको छ।
सेतोपाटी कन्भरसेसनको यो संवादमा मदनकृष्ण र हरिवंशले यसबारे खुलेर वर्णन गरेका छन्। तपाईंहरू यो प्रहसन युट्युबमा सुन्न पनि सक्नुहुन्छ।
अर्को उदाहरण लिऊँ, 'यमलोक' को।
यो प्रहसन नेपालबाट मरेर यमलोक पुगेको व्यक्ति र यमलोकको द्वारपाले बीचको संवादमा आधारित छ।
नेपालबाट यमलोक पुगेको व्यक्तिलाई द्वारपालेले भन्छ, 'अस्ति पनि नेपालबाट धेरै मान्छे मरेर आएका थिए।'
यो सुनेर त्यो व्यक्तिले सोध्छ, 'कस्ति अस्ति?'
द्वारपाले भन्छ, 'हिजो छाडे अस्ति?'
'कस्तो हिजो छाडे अस्ति भनेको?'
यमलोकको द्वारपाले भन्छ, 'यहाँको हिजोको त्यहाँ पोहोर, यहाँको अस्तिको त्यहाँ परार। छत्तीस साल, छत्तीस साल।'
प्रहसनको यो खण्डले २०३६ सालको राजनीतिक आन्दोलनलाई बुझाउन खोजेको छ।
यति मात्र होइन, नेपालबाट मरेर गएको व्यक्तिले आफू 'सूर्यग्रहण' लागेर मरेको बताउँछ। यो सांकेतिक रूपमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापामाथि लक्षित छ।
सेतोपाटी कन्भरेससनमा मदकृष्ण र हरिवंशले यसबारे पनि विस्तृत चर्चा गरेका छन्। तपाईंहरू 'यमलोक' प्रहसन पनि युट्युबमा सुन्न सक्नुहुन्छ।
त्यस्तै, 'प्यारालाइसिस' भन्ने प्रहसनमा उनीहरूले देशलाई प्यारालाइसिस (पक्षघात) रोग लागेको छ भन्दै त्यसलाई निको पार्न एन्टि–प्यारालाइसिस किटाणुहरू जम्मा गर्न आह्वान गरेका छन्। यो पनि तत्कालीन व्यवस्थाले जन्माएको राजनीतिक बेथितिविरूद्ध लक्षित छ।
आफ्नो प्रहसनको रचना र त्यसले झल्काउन खोजेको समयसँग जोडिएका यस्ता थुप्रै रोचक प्रसंग मदनकृष्ण र हरिवंशले यो संवादमा बाँडेका छन्।
ती प्रहसन सम्झिँदा मलाई एउटा कुरा झल्झली मनमा आइरहन्छ — पञ्चायती व्यवस्थाका लाख अवगुण भए पनि त्यसले नेपाली समाजलाई एउटा गुण लगाएर गएको छ; हामीलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यजस्ता हास्यव्यंग्य जोडी दिएको छ।
आजभन्दा ४५ वर्षअघि उनीहरूको जोडी बन्नमा, यो जोडीले एक–से–एक उत्कृष्ट हास्यव्यंग्य सिर्जना गर्नमा र त्यसले आजसम्म निरन्तरता पाइरहनुमा त्यति बेलाको विषम राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको ठूलो हात छ भन्ने मलाई लाग्छ।
मैले संवादका क्रममा यो कुरा पनि झिकेको थिएँ। यसमा उनीहरूले आफ्नो मत राखेका छन्।

महको मुख्य विशेषता के भने, आजभन्दा ३० वर्षअघि रचना गरिएका उनीहरूका प्रहसन अहिले पनि उत्तिकै समय–सान्दर्भिक छन्। पात्र फरक होलान्, परिवेश उही छ। व्यवस्था फरक होला, बेथिति उही छ। समय फरक होला, समस्या उही छ।
यस सन्दर्भमा म 'लन्डन एयरपोर्ट' प्रहसनको एउटा प्रसंग सम्झन्छु, जसमा नेपालबाट बेलायत पुगेको व्यक्ति त्यहाँको अध्यागमन अधिकारीलाई 'डेमोक्रेसी' भनेको के हो भनेर सोध्छ।
जबाफमा बेलायतको अध्यागमन अधिकारी भन्छ, 'डेमोक्रेसी भनेको यस्तो चिज हो, जुन जसको हातमा पर्यो, त्यस्तै हुन्छ। राम्रो मान्छेको हातमा पर्यो भने राम्रो हुन्छ, बाँदरको हातमा पर्यो भने बाँदरजस्तै हुन्छ।'
यही प्रसंग सम्झँदै हरिवंशले भने, 'अहिले हाम्रो डेमोक्रेसी पनि त्यस्तै भएको छ।'
हामीले यो संवादमा प्रहसनका गम्भीर कुरा मात्र गरेका छैनौं, प्रशस्त हाँसोठट्टा पनि गरेका छौं। पैंतालीस वर्षको सहयात्रामा उनीहरूको व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध र त्यो सम्बन्धका विभिन्न आयामबारे कुरा गरेका छौं। कुराकानी क्रममा उनीहरू कहिले गम्भीर भएका छन्, कहिले खुलेर हाँसेका छन्, हँसाएका छन्। विभिन्न भावमा आफ्नो ४५ वर्षीय सहयात्राका रोचक किस्सा सुनाएका छन्।
'४५ वर्षमा त मान्छेले पढाइ सकेर, जागिर खाएर, बिहेबारी गरेर, छोराछोरी पाएर, उनीहरूको बिहेबारी पनि सकिसकेको हुन्छ,' हरिवंशले महको ४५ वर्षीय यात्रालाई मान्छेको जीवनसँग जोडे।
त्यही बेला उनले एक्कासि मेरो उमेर सोधे।
अचानक आएको यो प्रश्नले मलाई एउटा 'मिम' याद गरायो, जसमा भनिएको छ — ३० कटेपछि मान्छेलाई आफ्नो उमेर ठ्याक्कै सम्झन गाह्रो हुन्छ। कहिले २७ जस्तो लाग्छ, कहिले २९ जस्तो लाग्छ। तर ३० चाहिँ पुगेकै छैन कि जस्तो भइरहन्छ।
मलाई पनि ठ्याक्कै त्यस्तै भयो।
अकमाउँदै जबाफ दिएँ, 'कहिले ४५ वर्ष पुगेँ जस्तो लाग्छ, कहिले पुगेको छैन जस्तो लाग्छ। सानैदेखि तपाईंहरूका प्रहसन सुन्दै हुर्केकाले बेला बेला बूढो भइयो कि जस्तो पनि लाग्छ।'
यसमा मदनकृष्णले थपे, 'तपाईं त हाम्रै समकालीन हो कि क्या हो?'
छिन छिनमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा उनीहरूको दोस्ती र सहकार्यले ४५ वसन्त कसरी पार्यो? उनीहरूको सम्बन्धमा त्यस्तो के तत्व छ, जसले दुवैलाई आजसम्म जोडेर राख्यो?
'मिलेर काम गर्दा जे पनि राम्रो हुन्छ। मिलेर काम नगर्दा नै देश बिग्रेको हो। यहाँ खाने काम मिलेर गर्छन्, अरू काममा मिल्दैनन्,' मदनले भने, 'पैसाको पछाडि लाग्नु हुँदैन, त्यसले पछि परिन्छ। कामको पछाडि लाग्यो भने सहकार्य बलियो हुन्छ।'
मैले सोधेँ, 'सम्बन्ध टिकाउ राख्ने त्यस्तो कुनै ग्लू टाइपको चिज त छैन नि?'
जबाफमा हरिवंशले भने, 'हामीलाई टुक्रिनुपर्ने कुरै केही भएन। त्यसैले जुट्ने बाहेक फुट्ने कुरा त हामीले सोच्दै सोचेनौं। हाम्रो पद लाभको पद होइन। काम गर्यो भने दुवैलाई लाभ हुन्छ, गरेन भने दुवैलाई लाभ हुँदैन। धेरै मान्छे लाभको पदमा गएपछि फुटेको देखिन्छ।'
मदनले बीचैमा थपे, 'लाभको पदमा गएपछि भाग पनि बढी खोज्छ नि त!'
त्यसैमा हरिवंशले अगाडि भने, 'फुट्यो भने हामीलाई फाइदा हुँदैन। सन्देश पनि राम्रो जाँदैन। हाम्रो अस्तित्व नै हराउँछ। यत्रो वर्ष नछुट्टिनुको एउटा कारण हाम्रो सफलता पनि हो। दुई जना मिलेर काम गर्दा जुन सफलता हामीले पायौं, त्यसले पनि हामीलाई छुट्टिन दिएन। असफल भएको भए हामी छुट्टिन्थ्यौं होला। दाइ अब तपाईं पसल खोल्नुस्, म पनि गाउँ गएर खेती गर्छु भन्थ्यौं होला। त्यस्तो अवस्था नै आएन।'
उनीहरूको 'नङ र मासुको सम्बन्ध' बारे मैले सोधेँ, 'तपाईंहरू कहिलेकाहीँ एक्लै कतै जाँदा मान्छेले अर्को साथी खोई त भनेर सोध्छन् कि सोध्दैनन्?'
जबाफमा हरिवंशले भोजमा एक्लै जाँदाको प्रसंग सुनाए, 'मान्छेहरू मलाई एक्लै देख्यो भने 'मदनकृष्णजी खोई त' भनेर सोध्छन्। मलाई धेरै बेलिविस्तार लगाइरहन मन लाग्दैन, अनि उ त्यहीँ हुनुहुन्छ भनेर पर कतै देखाइदिन्छु। उनीहरू त्यतै खोज्न जान्छन् र नदेखेपछि फेरि फर्केर आउँछन्। अनि म 'ट्वाइलेट जानुभयो कि' भनेर भन्छु। यस्तो त सधैं भइरहन्छ। मान्छेहरू मलाई देखेपछि मदन दाइ पनि वरपर कतै हुनुहोला भनेर खोज्दै बस्छन्।'
यस्तो अवस्थामा मदनकृष्णले जबाफ दिने शैली भने फरक रहेछ।
कसैले 'हरिवंशजी खोई त' भनेर सोधे, मदन भन्छन्, 'मसँगै छ नि, हेर्नू न, ऊ मैभित्र त छ।'
'अस्ति भर्खर म एउटा फिल्मको सुटिङमा चुलाचुली गएको थिएँ। त्यहाँ हरेक दिन चार–पाँच जनाले 'अनि साथी खोई नि' भनेर सोधखोज गरिरहे,' उनले भने, 'मैले सबैलाई यही जबाफ दिएँ।'
उनले केही दिनअघि मात्र बज्रबाराही जाँदाको प्रसंग पनि सुनाए।
त्यो बेला उनी एक्लै थिए। एक जना महिला आएर हरिवंशलाई खोजिछन्।
मदनले आफूसँगै भएका अर्का व्यक्तिलाई 'यी यहीँ त छन् नि' भनेर देखाइदिए।
ती महिलाले तिनै व्यक्तिलाई नमस्ते गरिन् र सँगै उभिएर फोटो पनि खिचाइन्।
'यस्तो घटना धेरै हुन्छ,' उनले हाँस्दै भने, 'मान्छेहरू मसँग जो छ, उसैलाई हरिवंश ठान्छ।'

दुई जना अलग–अलग व्यक्तिको परिचय यति गहिरोसँग गाँसिनु आफैमा एउटा आश्चर्यको विषय हो। त्यसमाथि अहिलेको संसारमा जहाँ सबैलाई आफ्नो एक्लो नाम बनाउनुछ, आफ्नो छुट्टै परिचय बनाउनुछ, निजत्वको भावनाले बलियोसँग जरा गाडेको छ; यस्तो समय मदनकृष्ण र हरिवंश अलग भएर पनि एक जिन्दगी बाँचिरहेका छन्। एक जनाको नाम लिँदा अर्कोको नाम जोडिएरै आउँछ।
उनीहरू नेपालको कला क्षेत्रले पाएका दुई यस्ता व्यक्ति हुन्, जसको व्यक्तित्व एक छ। उनीहरूका नाम दुइटा छन्, परिचय एक छ। उनीहरूका मुटु दुइटा छन्, त्यो मुटुको ढुकढुकी एक छ।
यसरी दुई व्यक्ति एक भएर बाँच्दा उनीहरूलाई कस्तो लाग्दो हो?
मेरो यो प्रश्नमा हरिवंशले भने, 'रमाइलो लाग्छ नि, हामी त्यो ठाउँमा पुग्न सक्यौं भनेर आनन्द लाग्छ। हामीले कमाएको अरू भौतिक चिजभन्दा यो महत्त्वपूर्ण हो। भौतिक चिज त मासिएर जान्छ, यो मासिएर जाँदैन। हामी मरेर गएपछि पनि नयाँ पुस्ताले यस्ता पनि मान्छे रहेछन् भनेर सम्झिरहन्छन्।'
'तपाईं एकअर्कासँग यति नजिक हुनुहुन्छ, तर कोही मान्छे तपाईंहरूसँग एकअर्काको कुरा काट्छन् कि काट्दैनन्?'
मदनले भने, 'मिलाई मिलाई कुरा काट्छन्। कहिलेकाहीँ त हामी पनि एकअर्काको कुरा काट्छौं। हरिवंश नहुँदा उसको कुरा गर्नु भनेको काट्नु त हो नि!'
'तपाईंहरू के भनेर एकअर्काको कुरा काट्नुहुन्छ त?'
'हरि धेरै बोल्छ है भनेर कुरा काट्छु,' मदनले भने, 'जति कुरा काटे पनि आखिरमा म उसको राम्रै कुरा गर्छु। काटेको कुरालाई त्यसले न्युट्रल बनाउँछ।'
हरिवंशले भने मदनकृष्णको कुरा काट्नुपर्ने विषय नै केही नभएको बताए।
यो संवादमा हरिवंशले काठमाडौंमा पटक पटक घर सर्दाको प्रसंग पनि सुनाएका छन्। उनले अहिलेसम्म १५ ठाउँमा घर सरेको किस्सा सुनाउँदा मदनले भनेका थिए, '१५ होइन १६, एउटा त पाठेघर छँदैछ नि!'
कुराकानीमा उनीहरूको परिवारको प्रसंग पनि उठ्यो। जसरी आमजनताको नजरमा उनीहरू दुई भएर पनि एक छन्, छोराछोरी र परिवारले यो जोडीलाई कसरी लिन्छ?
मेरो यो खुल्दुली मेट्दै हरिवंशले भने, 'अहिले मैले गाडीमा मदन दाइका लागि एउटा कार्ड लिएर आएको छु। त्यो कार्ड मेरो ससुरालीबाट आएको हो। त्यसमा मदन दाइको नामको अगाडि ज्वाईं लेखिएको छ। मेरो ससुरालीका लागि जति म ज्वाईं हुँ, उहाँ पनि त्यति नै ज्वाईं हो।'
कुराकानी सकिएपछि उनले सेतोपाटीको आँगनमै उभिएर त्यो कार्ड मदनकृष्णको हातमा थमाएका थिए।
यही प्रसंगमा मदनकृष्णले पनि रोचक घटना सुनाए।
उनका अनुसार हरिवंशका छोरा बेला बेला उनलाई भेट्न गइरहन्छन्। के खानुहुन्छ भनेर सोध्छन्। नाइँ भने पनि जबर्जस्ती खुवाइरहन्छन्।
मैले मह जोडीलाई यो पनि सोधेँ, 'आफ्नो लामो सहयात्रामा तपाईंहरूले कहिलेकाहीँ एकअर्काको चित्त दुखाउनुभयो होला। कहिले भन्नैपर्ने कुनै कुरा एकअर्काबाट लुकाउनुभयो होला। मनमा गुम्साएर राखेको त्यस्तो कुनै पुरानो कुरा छ भने यहाँ भन्न सक्नुहुन्छ। कुनै कुरामा एकअर्कासँग माफी माग्नुछ भने त्यो पनि माग्न सक्नुहुन्छ।'
उनीहरूले जबाफमा जे भने, त्यसले पनि यो जोडी यति लामो समय मजबुत रहनुको राज खोल्छ।
संवादको आखिरीमा हामीले मदनकृष्ण र हरिवंशका नयाँ फिल्मको कुरा गर्यौं। मदनकृष्णले भर्खर सुटिङ सकिएको तुलसी घिमिरे निर्देशित 'पहाड' फिल्मको कुरा गरे भने हरिवंशले शुक्रबारबाट प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित 'भूठान' फिल्मको कुरा सुनाए।
'भूठान' मा हरिवंशले तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका भुटानी शरणार्थीको भूमिका निर्वाह गरेका छन्, जसलाई अन्तिम सास फेर्नुअघि एकचोटि भए पनि भुटानको माटो टेक्ने धोको छ।
हेर्नुहोस्, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको भिडिओ कुराकानी, सेतोपाटी कन्भरसेसनमा —