भविष्यमा के बन्ने?
छरछिमेकले सोध्दा होस् वा स्कुलमा शिक्षकले सोध्दा, अर्जुन सापकोटाको जबाफ कहिल्यै फेरिएन।
उनी सधैं उही जबाफ दिन्थे — गायक।
नवलपुरका उनी सानैदेखि गाउँथे। घरभित्र गुनगुनाउने उनी बिस्तारै गाउँटोल हुँदै जिल्लाका कार्यक्रममा गाउन थाले। रेडियोमा संगीतकै कार्यक्रम चलाए।
आफ्नो गाउँठाउँमा गायकका रूपमा एक किसिमको चिनारी बनाए। अनि, सांगीतिक यात्राको व्यावसायिक उडान सुरू गरे।
दस वर्षअघिदेखि लोकदोहोरी गायन क्षेत्रमा लागेका उनलाई सुरूआतमा एक हिसाबले चिनाउने गीत बन्यो 'वनकी चरी'।
पाँच वर्षअघि देवी घर्तीसँगको स्वरमा सार्वजनिक यो गीतबाट अर्जुन थेरथोर श्रोता, दर्शकमाझ चिनिए। त्यसयता उनका थुप्रै गीत रूचाइएका छन्।
'पछ्यौरी लिसियो', 'दुई दुना चार', 'फुल्यो गुराँस', 'डाँडैको टुनी', 'बस्यौ अलक्कै' जस्ता उनका गीत युट्युबमा करोड पटकभन्दा बढी हेरिएका छन्। दुई महिनाअघि सार्वजनिक 'दुःख साटम्ला' पनि दर्शक, श्रोताले मनपराएका छन्।
'एकदमै खुसी छु। दर्शक, श्रोताको माया र साथले यहाँसम्म आइपुगेँ,' सेतोपाटीसँग उनले खुसी साट्दै भने, 'आफूले चाहेको क्षेत्रमा यो खालको माया पाउँदा छुट्टै आनन्द लाग्दो रहेछ।'
सफलताको यात्रामा रहेका अर्जुनको व्यस्तता यस वर्ष मेला, महोत्सवमा बढ्दो छ। अब स्वदेशका चार वटा महोत्सव सकेर उनी यही पुस १४ गते सांगीतिक कार्यक्रमकै सिलसिलामा जापान जाँदैछन्।
उनलाई केही वर्ष अगाडिसम्म बाहिर हिँड्न त्यति जाँगर चल्दैन थियो। स्टुडिओमा बढी समय दिन पाइयोस् भन्ने लाग्थ्यो।
जब महोत्सवमा हिँड्न थाले, श्रोता, दर्शकलाई भेट्दाको क्षण, उनीहरूको मायाले छुट्टै अनूभूति हुन थाल्यो।
'हिजोआज लाग्छ, स्टुडिओमा हामी परीक्षा दिन्छौं, त्यसको नतिजा महोत्सवमा हेर्न पाइन्छ,' उनले भने।
अर्जुन पारिवारिक माहोल र हौसलाले नै आफू सांगीतिक क्षेत्रमा लागेको बताउँछन्।
उनक हजुरबुवा पण्डित थिए। भजन गाउँथे। बुबा पनि गीत लेख्थे, गाउँथे। उनका अंकल पनि सांगीतिक क्षेत्रमै छन्। त्यसैले अर्जुनको हुर्काइ नै संगीतमय वातावरणमा भयो। त्यही माहोलले उनलाई संगीतप्रति आकर्षित गर्यो। परिवारले पनि प्रेरित गर्यो।
अहिले अर्जुनका हरेक गीतका पहिलो श्रोता नै आमाबुबा र त्यसपछि बहिनी र भाइ हुन्।
'बुबाममी एउटा उमेर समूहको हुनुभयो। म अर्को उमेरको भएँ। मेरो बहिनी र भाइ एउटा उमेरका छन्। फरक उमेर समूह भएकाले परिवारभित्र सबैले सजिलै गुनगुनाउन सक्ने र राम्रो मान्ने गीत भयो भने श्रोता, दर्शकलाई मन पर्न सक्छ भन्ने लाग्छ,' उनले भने।
गीतबारे आमाबुबाले कहिलेकाहीँ सुझाव समेत दिन्छन्।
श्रोता, दर्शकले कस्ता गीत रूचाउँछन्, उनीहरूको रूचि के हो भन्ने ठ्याक्कै बुझ्न त गाह्रो छ। तैपनि गीत चलेका आधारमा अनुमान लाउन सकिने उनी बताउँछन्।
त्यस्तै कमाइको दायरा पनि फराकिलो भएको छ। पहिले युट्युबबाट जति आम्दानी भयो, चित्त बुझाउनुपर्थ्यो। अहिले अडिओ प्लेटफर्मबाट पनि राम्रो कमाउन सकिन्छ।
'रिल्स, टिकटक लगायतमा प्रयोग भएको मेरो अडिओबाट पनि आम्दानी भइरहेको हुन्छ,' अर्जुनले भने, 'प्रविधि बुझेको, मेहनत गर्ने सर्जकलाई अहिले सबै हिसाबले राम्रो भएजस्तो लाग्छ।'
अर्जुन गीत लेख्छन्, संगीत भर्छन्। आफ्नासँगै बाहिरी गीतको भिडिओमा समेत अभिनय गर्छन्। उनी केही नयाँ गीतको तयारी पनि गरिरहेका छन्।
उनले यो क्षेत्रबाहेक अरू विकल्प सोचेका छैनन्। सधैं यही क्षेत्रमा टिकिरहन पाइओस् भन्ने उनको सपना छ।
'श्रोता, दर्शकको माया पनि त पुगेको छैन। अझ धेरै गीतहरू ल्याउनुछ,' अर्जुन भन्छन्, 'बन्न त जो, जे पनि बन्न सक्ला। तर स्वीकार गर्ने तरिकाले बन्न मेहनत गर्नुपर्छ। त्यसकै यात्रामा छु।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी