पछिल्लो समय नेपाली फिल्मले लगातार दर्शकको साथ पाइरहेका छन्। पछिल्लो डेढ महिनामा मात्रै ६ वटा फिल्मले राम्रो व्यापार गरे। कमेडी, सामाजिक कथादेखि एक्सन फिल्मलाई पनि दर्शकले उत्तिकै रूचाए।
असोज ३ गते रिलिज फिल्म 'खुस्मा' बक्स अफिसमा सफल रह्यो। त्यसपछि असोज १७ गते रिलिज भएको 'बेहुली फ्रम मेघौली' ले पनि दर्शकको साथ पायो।
असोज २४ गते (फूलपाती) मा तीनवटा फिल्म रिलिज भए। तीमध्ये दुइटा '१२ गाउँ' र 'छक्का पञ्जा ५' ले आक्रामक व्यापार गरे।
अर्को फिल्म 'ज्वाइँ साब' को व्यापार पनि सुखद रह्यो।
त्यस्तै तिहारमा प्रदर्शनमा आएको फिल्म 'पूर्ण बहादुरको सारंगी' ले निकै राम्रो व्यापार गरिरहेको छ। यो फिल्मले बलिउडका बहुप्रतिक्षित फिल्महरू 'सिंघम अगेन' र 'भूल भुलैया ३' लाई पनि शोमा पछि पार्दै आकर्षक कमाइ गरिरहेको हो।
यी ६ वटा नेपाली फिल्मले डेढ महिना अवधिमा निकै लोभलाग्दो कमाइ गरेका छन्। हालसम्म करिब ६५ करोड रूपैयाँभन्दा माथिको व्यापार भएको छ।
धिरज मगर र उपासना सिंह ठकुरी अभिनीत फिल्म खुस्माले ६ करोड रूपैयाँमाथि कमाइ गरेको निर्देशक अशोक थापा मगरले बताए।
त्यस्तै बेहुली फ्रम मेघौलीले सिनेमा हलहरूबाट ४ करोड रूपैयाँ हाराहारी कमाएको अभिनेता एवं निर्माता निश्चल बस्नेतले जानकारी दिए। प्रदर्शनकै क्रममा हलबाट उतारिएको यो फिल्म अहिले ओटिटी प्लेटफर्ममा आइसकेको छ।
विराज भट्टका बाबु-छोरा (समीर) को फिल्म '१२ गाउँ' ले तीन सातामा २३ करोड ५० लाख रूपैयाँ कमाइ गरेको वितरक गोविन्द शाहीको दाबी छ।
दीपकराज गिरी र दीपाश्री निरौलाको 'छक्का पञ्जा ५' को कमाइ २० करोड रूपैयाँ हाराहारी पुगेको अनुमान छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीका अनुसार फिल्मले तेस्रो शनिबारसम्म १८ करोड ५० लाख रूपैयाँ कमाएको थियो।
'त्यसयताको कलेक्सन रिपोर्ट आउँन बाँकी छ। २० करोड हाराहारी पुगेको हाम्रो अनुमान छ,' राठीले भने।
जितु नेपाल र नीति शाह अभिनीत फिल्म ज्वाइँ साबले ५ करोड रूपैयाँभन्दा बढी कमाएको निर्देशक वसन्त निरौलाले बताए।
'पाँच करोडदेखि सवा पाँच करोडको बीचमा छ। केही हलमा फेरि लगाउने कुरा भएकाले अझ बढ्न सक्छ,' निरौलाले भने।
'१२ गाउँ' र 'छक्का पञ्जा ५' अझै प्रदर्शन भइरहेकाले यी फिल्मको कमाइ अझ बढ्ने देखिन्छ।
त्यस्तै यति बेला दर्शकको भरपूर साथ पाइरहेको फिल्म पूर्ण बहादुरको सारंगीले पाँच दिनमा ४ करोड ८७ लाख रूपैयाँ कमाएको छ। वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले सोमबारसम्म यति कमाइ गरेको हो।
गत बिहीबार रिलिज फिल्मको व्यापार शनिबारदेखि हवात्तै बढेको थियो। अहिले यो फिल्म राम्रो शो र उच्च अकुपेन्सीमा चलिरहेकाले आकर्षक व्यापार गर्ने देखिन्छ।
हाल नेपालमा फिल्महरूको कमाइ (ग्रस कलेक्सन) बारे निर्माता र वितरकहरूले जानकारी दिँदै आएका छन्। चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक नगर्दा निर्माता र वितरकको दाबीमाथि भने प्रश्न उठ्दै आएको छ। फिल्मले हलबाट मात्र नभई विदेशमा प्रदर्शन गर्न दिएर र डिजिटल प्लेटफर्मलाई दिएर पनि कमाइ गर्दै आएका छन्।
सिनेमा हल सञ्चालक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन यसपालि दसैं र तिहारमा सिनेमा हलहरू नेपाली फिल्ममय बनेको बताउँछन्। नेपाली फिल्मले लगातार माया पाइरहनु उद्योगका लागि एकदमै सुखद र गौरवको कुरा भएको उनले बताए।
'१२ गाउँ एक्सन फिल्म चलेपछि अब त्यसको लहर आउँछ कि भन्ने थियो। अहिले सोसल ड्रामा पूर्ण बहादुरको सारंगीले एकदमै राम्रो गर्यो,' महर्जनले भने, 'लगातार यसरी, त्यो पनि अलग अलग विधाका फिल्म चलेको विरलै पाइन्छ। राम्रो कथा र कन्सेप्ट भयो भने जुनसुकै जनराको फिल्म पनि चल्छ र लगातार आउँदा पनि चल्छ भन्ने समेत पुष्टि भएको छ।'