फुर्सदमा सिनेमा
हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मन पर्छ भन्ने थाहा हुँदैन। तर रहस्यमयी र थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।
राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
अझ कुनै कुनै फिल्म यस्ता हुन्छन्, जसमा एउटाभन्दा धेरै उपकथा हुन्छन्। मुख्य पात्रसँग जोडिएर भाग भागमा आउने कथाहरूले थप रोचक बनाउँछन्।
रहस्यमयी र थ्रिलर विधामा दक्षिण भारतीय फिल्महरू पनि अग्रपंक्तिमा छन्। सामान्य अभिनय, सिनेमाटोग्राफी र कम बजेटमा बनेका भए पनि यो विधाका दक्षिण भारतीय फिल्महरू दमदार कथा पस्किन सफल छन्।
आज हामीले यस्तै ५ फिल्म सिफारिस गरेका छौं जुन युट्युबमा सहजै हेर्न सकिन्छ।
→ रंगीतरंग
भारत, उटीमा बस्ने गौतम सुवर्ण चर्चित उपन्यासकार हुन्। तर उनलाई उनका पाठकले चिन्दैनन्। किनकि उनी 'अनाश्कु' (अनजान) नामबाट उपन्यास लेख्छन्।
आफूलाई पत्रकार भनेर चिनाउने सन्ध्यालाई भने किन हो, ती व्यक्तिलाई चिनेजस्तो लाग्छ। अझ गौतमको पछिल्लो उपन्यासको नाम 'रंगीतरंग' सुनेपछि उनी झनै व्याकुल हुन्छिन्। उनी आफ्ना साथी पाण्डुको सहयोगमा गौतमलाई खोज्न हिँड्छिन्।
सुरूमा उनी गौतमका प्रकाशककहाँ पुग्छिन्। प्रकाशकले गौतमसँग पोस्टबक्समार्फत् मात्र कुराकानी हुने भएकाले आफूले पनि नचिनेको बताउँछन्। सन्ध्या निराश हुन्छिन्। तर उनी झुट बोलेरै भए पनि गौतमको पोस्टबक्स नम्बर फुत्काउन सफल हुन्छिन्।
उता गौतम आफ्नी इन्दुका साथमा सामान्य जीवन बिताइरहेका हुन्छन्। इन्दु गर्भवती हुन्छिन् र प्रायः बिरामी परिरहन्छिन्। गौतमका चिनेजानेकाले इन्दुलाई भेट्न खोजे पनि सकिरहेका हुँदैनन्।
इन्दु र गौतमको जीवन प्रेमिल हुन्छ। गौतमको उपन्यासका लागि इन्दु आवरण चित्र बनाउँछिन्। गौतमलाई इन्दुको साथ र सहयोग प्यारो हुन्छ।
एकदिन इन्दु अचानक भयंकर सपना देखेर तर्सिन्छिन्। सपनामा उनले बारम्बार दुर्घटना भएको देखिरहन्छिन्। उनले यो सपनाबाट मुक्ति पाउन गौतमलाई आफ्नो पुर्ख्यौली घर कामरोत्तु जाऊँ भन्छिन्।
दुवै जना कामारोत्तु पुग्छन्। त्यहाँ पुगेदेखि नै उनीहरूको जीवनमा अचम्मलाग्दा घटना हुन थाल्छन्।
गाउँको घर नपुग्दै जंगलमा गौतम र इन्दु झन्डै ठूलो दुर्घटमा पर्छन्। जंगलमा गोली चल्छ। पानी तान्ने बेला इन्दु इनारमा हुत्तिन्छिन्। उनीहरू बल्लबल्ल आफूलाई जोगाउँछन्।
गौतमको चिनजान एक गाडी चालक र उनको घर सफाइ गर्ने महिलासँग हुन्छ। यी दुवैको व्यवहार असामान्य हुन्छ।
उनले गाउँकै कालिंगा नामक व्यक्तिसँग दोस्ती बढाउँछन्। कालिंगा गाउँमा हुलाक चलाउँछन्। त्यस्तै गाउँकै स्कुलका हेडमास्टर शंकरसँग गौतमको चिनजान हुन्छ। यी दुई जनासँग गौतमले गाउँमा भएका अजिब घटनाबारे सोधपुछ गर्छन्। उनीहरूले गाउँमा चर्चित एउटा कहानी सुनाउँछन्।
गौतमले छानबिन गर्ने क्रममा उनीमाथि एक जनाले गोली चलाउँछन्। उनलाई केही हुँदैन तर आफूलाई नचिन्ने यो गाउँमा कसले आक्रमण गर्यो भनेर उनी झनै अचम्म मान्छन्।
त्यही बेला सन्ध्या गौतमलाई खोज्दै कामारोत्तुसम्म आइपुगेकी हुन्छिन्। उनी कालिंगासँग गौतमबारे सोधपुछ गर्छिन्। तर कालिंगाले जानकारी दिँदैनन्। उनले गौतमलाई उनका बारेमा जानकारी दिने बाचा भने गर्छन्।
गाउँमा पनि इन्दुलाई भयानक सपनाहरूले छाड्दैन। उनी त विपनामै अनेक कुरा देख्न थाल्छिन्। यी अनुभवले उनको जीवन जोखिममा पार्छ। यही क्रममा एकदिन उनी बेपत्ता हुन्छिन्।
गौतम आफ्नी श्रीमती हराएको भन्दै प्रहरीकहाँ पुग्छन्। प्रहरीले खोजबिन गरेर उनलाई जे भन्छन्, त्यो सुनेर गौतम चकित खान्छन्। उनलाई पत्याउनै मुश्किल पर्छ।
यही बेला उनको भेट सन्ध्यासँग हुन्छ। उनीहरूको भेटपछि गौतम र इन्दुको जीवनका यस्ता पाना खुल्छन् जसबारे गौतम आफैं अनभिज्ञ हुन्छन्।
लामो समयदेखि गौतमलाई खोजिरहेकी सन्ध्या आखिर को हुन्?
इन्दु कहाँ गइन्? प्रहरीले गौतमलाई उनका बारेमा के भन्छ? के उनको भेट होला?
गौतममाथि गोली चलाउने को हो? के कालिंगा र शंकरले सुनाएको कथासँग गौतमको जीवनमा भइरहेको घटना जोडिन्छ?
दर्शकको मनमा आउने यी सबै प्रश्नको जवाफ दिन्छ कन्नड फिल्म 'रंगीतरंग' ले।
नामजस्तै यो फिल्ममा अनेक तरंग आउँछन्। यो रहस्यमयी र थ्रिलर फिल्म हो। यसको कथाले दर्शकलाई बाँधेर राख्छ र हरेक मोडमा धुकचुक बनाइराख्छ। फिल्म जति अन्तिमतिर पुग्छ, रहस्यका पाना उति खुल्दै जान्छन्। फिल्मको अन्त्यससम्मै यो क्रम चलिरहन्छ। यसले सुन्दर र प्रभावकारी तरिकाले नाटकीय र अपत्यारिलो कथा भनेको छ।
रंगीतरंग समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाउन सफल फिल्म हो। यो कम बजेटको उत्कृष्ट फिल्मका रूपमा दर्ज भएको छ।
अनुप भण्डारीको निर्देशनमा बनेको यो पहिलो फिल्मले डेढ दर्जन अवार्ड जितेको छ। सन् २०१५ मा रिलिज भएको यो फिल्मलाई अस्करमा समेत पठाइएको थियो। छनौट भने भएन।
→ थीरन
एक प्रहरीले कुनै अपराधी पक्रन कतिसम्म मेहनत गर्ला? कहिलेसम्म ऊ एउटै अपराधीको पछि लाग्न सक्ला? यस क्रममा उसले के के गुमाउनुपर्ला? के ऊ आफ्नो दौडमा सफल होला? उसको त्यागको सम्मान र कदर गरिएला?
तमिल फिल्म 'थीरन' ले यिनै प्रश्नको जवाफ दिन्छ।
यो फिल्म प्रहरी कार्यालयको दृश्यबाट सुरू हुन्छ। फाइलहरू डिजिटल गर्ने क्रममा एक प्रहरी अधिकृतले एउटा मुद्दाको फाइल भेट्छन्। त्यो देखेर उनी चकित खान्छन् र त्यो मुद्दा सम्हालेका प्रहरीलाई फोन गर्छन्।
डिएसपी थीरनले फोनमा ती प्रहरीलाई उक्त घटनाको विस्तार लाउँछन्। फिल्म पुग्छ सन् १९९५ मा।
भर्खरै डिएसपी बनेका थीरन र उनको परिवार दंग हुन्छ। उनका बुवा पनि प्रहरी हुन्छन् तर उनको निधन भइसकेको हुन्छ।थीरनको घरमा आमा र बहिनी हुन्छन्। घर आएका बेला छिमेकी युवतीसँग थीरनको प्रेम बस्छ र बिहे हुन्छ।
थीरन तगडा प्रहरी हुन्छन्। उनी देशका विभिन्न सहरमा आफ्नो कामले चिनिन थाल्छन्। नियम खासै नमान्ने र अपराधीलाई नछाड्ने प्रहरीको छवि बनाएका उनी विभिन्न ठाउँमा सरूवा भइरहन्छन्।
त्यही क्रममा उनी यस्तो गाउँमा पुग्छन् जहाँ आतंकको बेग्लै रूप हुन्छ, डकैती।
यो डकैतीमा डाँकाहरूले धनसम्पत्ति लुटपाट मात्र गर्दैनन्, घरका मान्छेको वीभत्स हत्या पनि गर्छन्। बच्चा होस् वा पाको, कसैलाई छाड्दैनन्।
ती यस्ता डाँका हुन्छन् जसबारे कसैलाई थाहा हुँदैन। उनीहरू रातमा कुनै छायाजस्तो आउँछन्, छायाजस्तै बिलाउँछन्। उनीहरूको आतंकको छायाले गाउँलेहरूलाई हरेक दिन तर्साइरहेको हुन्छ। सातो लिइरहेको हुन्छ।
उनीहरू एक गाउँमा मात्र हुँदैनन्, देशका विभिन्न राज्यमा मुसाझैं घुसेर आतंक मच्चाइरहेका हुन्छन्।
प्रहरीले ती डाँकुहरूको खिलाफ कुनै प्रमाण भेट्छन्, न अरू खोजिनिती गर्ने हिम्मत राख्छन्।
यस्तै स्थितिमा पुगेका हुन्छन् थीरन त्यो गाउँमा।
यो सबै देखेसुनेपछि उनी ती डाँका समूहलाई पक्रिने योजना बनाउँछन्। तर यो सबै उनले सोचेजस्तो सजिलो हुँदैन। यो यात्रामा उनले धेरै दुःख पाउँछन्, धेरै कुरा गुमाउँछन्। उनको बाटोमा चारैतिर अँध्यारो मात्र हुन्छ।
ती डाँका समूहबारे उनले धेरै अध्ययन र खोज गर्छन्। यस क्रममा उनलाई त्यो समूहको थुप्रै रहस्य थाहा हुन्छ। उनीहरूले यो काम किन गरे, उनीहरूको तागत र सीप किन खास छ, यसको पछाडि रोचक कथा हुन्छ। यो कथा धेरै दशक पुरानो हो।
यही इतिहासको कथा र आफ्नो भूतकालको कथा थीरन वर्तमानमा सुनाइरहेका हुन्छन्। वर्षौं त्यो समयसँग सिँघौरी खेलेका थीरनको जीवनले कहाँनिर गएर आराम पाउँछ, यसका लागि फिल्म हेर्नुहोला।
राम्रो कथा, एक्सन र थ्रीलरको मिश्रण हो थीरन। आधा दर्जनभन्दा धेरै अवार्ड जितेको यो फिल्मले समीक्षकहरूबाट निकै प्रशंसा पाएको थियो।
→ वाथी
फिल्मको कथा अभिराम नामका विद्यार्थीबाट सुरू हुन्छ, जो इञ्जिनियरिङ प्रवेश परीक्षाको तयारी गरिरहेका छन्।
एक दिन उनले आफ्ना हजुरबुवाको पुरानो भिडिओ पसलमा एउटा टेप भेट्छन्। त्यो भिडिओ टेप हेरेर उनी र उनका साथीहरू तीनछक खान्छन्।
उनीहरू त्यो टेपमा भएको कुरा के कसो हो भनेर बुझ्न खोजबिनमा लाग्छन्। त्यही क्रममा उनीहरूको भेट एएस मूर्तिसँग हुन्छ, जसले अभिराम र उनका साथीहरूलाई त्यो भिडिओको रहस्य र कथा बताउँछन्।
यहीँबाट सुरू हुन्छ भिडिओमा देखिएका शिक्षक बालुको रहस्यमयी कथा।
बालु पढाउन, सिकाउन र बुझाउनमा मात्र अब्बल हुँदैनन्, उनी आफ्ना विद्यार्थीका लागि गुन्डादेखि व्यापारी र राज्य प्रणालीसँग समेत लड्न र भिड्न तयार हुन्छन्। गरिब विद्यार्थीहरूका लागि त उनी शिक्षक मात्र होइनन्, वास्तवमै गुरू हुन्।
कसैले पनि पढ्ने अवसर नगुमाओस् भनेर नै बालु आफ्ना कयौं चाहना र रहर मारेर शिक्षक बनेका हुन्। उनी तीक्ष्ण र बुद्धिमान हुनुका साथै अरू पेसामा पाएका अनेक अवसर त्यागेर उनले शिक्षण रोजेका हुन्छन्। यो कथा यिनै बालुको लडाइँको हो।
हामी कुरा गर्दैछौं फिल्म 'सर' को, जसले एक मनकारी, अब्बल र साहसी शिक्षक विद्यार्थीको भविष्यका लागि कसरी मरिमेट्छ भन्ने कथा भन्छ।
गम्भीर र सन्देशमूलक कथामा बनेको यो फिल्मको प्रस्तुति पनि उत्तिकै रोचक र मनोरञ्जनात्मक छ। फिल्मले हँसाउँछ, रूवाउँछ र रमाइलो गराउँछ। यसलाई बलियो सन्देश दिने र दर्शकलाई निराश नबनाउने फिल्म भन्न सकिन्छ।
तमिल र तेलेगू भाषामा बनाइएको यो फिल्मको खास नाम 'वाथी' हो। यसको प्रमुख भूमिकामा छन् धनुष। तमिल फिल्ममा जमेका धनुषको यो पहिलो तेलेगू फिल्म हो।
धनुषसँगै फिल्ममा संयुक्ताको मुख्य भूमिका छ।
→ अपरेसन जाभा
एन्थोनी र विनय दुई साथी हुन्छन्। इञ्जिनियरिङ पढेर सकेका उनीहरू जागिर खोजिरहेका हुन्छन्। यही क्रममा उनीहरू एक दिन कोचीको साइबर सेल प्रहरीकहाँ पुग्छन् र एउटा समाधान भइसकेको मुद्दाबारे नयाँ खुलासा गर्छन्।
प्रहरीले सुरूमा उनीहरूको कुरा पत्याउँदैनन्। बन्द भइसकेको मुद्दा भनेर पन्छाउन खोज्छन्। एन्थोनी र विनय हार मान्दैनन् र आफूलाई सही सावित गर्न लागि पर्छन्।
आखिरमा उनीहरूले त्यो चर्चित मुद्दाको जरो केलाउँछन् र वास्तविक अपराधीसम्म पुग्छन्।
उनीहरूको कामबाट साइबर सेलका हाकिम प्रभावित हुन्छन्। उनीहरूलाई अस्थायी रूपमा काम गर्न बोलाउँछन्। जागिर नपाइरहेका बेला साइबर सेलमा काम गर्न पाउँदा एन्थोनी र विनय दुवै दंग पर्छन्।
उनीहरूले काम थाल्छन्। तर साइबर सेलमा सबैले उनीहरूलाई मनपराउँदैनन्। केही व्यक्तिले उनीहरूलाई हेप्छन् र उडाउँछन्।
यसका बाबजुद उनीहरू धैर्य भएर काम गर्छन्।
अनुसन्धान गर्ने क्रममा उनीहरूले सूचना र प्रविधिको माध्यमबाट भइरहेका भयानक अपराधहरूको सामना गर्छन्। सामान्य मानेर सर्वसाधारणले प्रयोग गरिरहेका प्रविधिहरू अपराधीहरूले कसरी दुरूपयोग गरिरहेका छन् भन्ने उनीहरूले देख्छन्।
यही क्रममा एक दिन यस्तो घटना आइपर्छ जुन उनीहरूकै जीवनसँग जोडिएको हुन्छ।
त्यो घटना के हुन्छ? एन्थोनी र विनयले त्यसलाई कसरी समाधान गर्छन्?
प्रहरी साइबर सेलमा काम गरिरहेका उनीहरूको भविष्य के हुन्छ?
यसका लागि फिल्म 'अपरेसन जाभा' हेर्नुहोला।
फिल्म अपरेसन जाभाले बेरोजगारी समस्यालाई पनि बलियोसँग उठाएको छ। लाखौं युवाहरू बेरोजगार हुँदा उनीहरूको जीवनमा कस्तो असर परिरहेको छ भन्ने फिल्मले देखाउन खोजेको छ। त्यस्तै कम पैसामा काम गर्नेहरूको दैनिक जीवन र भविष्यको बाटो कति कठिन हुन्छ भन्ने पनि यसले देखाएको छ।
बलियो सामाजिक सन्देशसहित केही कमेडी, केही रोमान्स, केही ड्रामा मिसिएको राम्रो थ्रिलर फिल्म हो जाभा अपरेसन।
→ अथिरनः प्यारका कर्म
यो फिल्मको कथा एक घरबाट सुरू हुन्छ जहाँ चार जना व्यक्तिको मृत्यु भएको हुन्छ।
एक दिन लक्ष्मी आफ्नो दाइको घरमा आउँछिन्। त्यहाँ उनले आफ्ना तीन जना दाइ र भाउजूको मृत्यु भएको देख्छिन्। छेउमै हुन्छिन् नित्या।
उनी हातमा धागोको टुक्रा खेल्दै बसिरहेकी हुन्छिन्। उनको मानसिक अवस्था ठीक हुँदैन। यस्तो अवस्थामा उनी नै हत्यारा ठहरिन्छिन्।
लक्ष्मीले नित्यालाई एक मानसिक अस्पतालमा छाड्छिन्। त्यसपछि फिल्मको कथा ५ वर्षपछि धकेलिएको छ। मनोचिकित्सक डा. कन्नन नायर एक मानसिक अस्पतालमा निरीक्षण गर्न आएका हुन्छन्। नित्या त्यहीँ हुन्छिन्।
यो अस्पताल घना जंगलको बीचमा हुन्छ। अस्पतालमा केही बिरामी, केयरटेकर रेनुका र डाक्टर बेन्जामिन बस्छन्। बेन्जामिन त्यहाँको डाक्टरसँगै मालिक पनि हुन्।
नायरले अस्पतालका सबै बिरामी अवलोकन गरेपछि डाक्टर बेन्जामिनमाथि प्रश्न गर्छन्। बेन्जामिनको उपचार विधि ठीक नभएको उनी बताउँछन्। उनको रेकर्डमा पाँच जना बिरामी हुन्छन् जसमा नित्यालाई सामेल गरिएको हुँदैन।
तर उनले त्यहाँ अर्का बिरामी पनि भएको थाहा पाउँछन्।
नित्या एउटा बन्द कोठामा हुन्छिन्। बेन्जामिनले नित्यालाई आफ्नी छोरी भनेर चिनाउँछन्। तर नित्या उनकी छोरी नभएको प्रमाण डा. नायरको हात पर्छ। यी प्रमाण जम्मा गर्दै गर्दा उनीमाथि हत्याको प्रयास भइरहन्छ।
नित्याले आफ्नो विगत बिर्सिसकेकी हुन्छिन्। अरू बिरामीले नित्यालाई अस्पतालबाट लैजानू भनेर डा. नायरलाई अनुरोध गर्छन्।
आखिरमा नित्याप्रति उनीहरूले किन दयाभाव देखाएका हुन्छन्?
के डा. नायर नित्यालाई त्यहाँबाट लैजान सफल हुन्छन्?
नित्याले हत्या गरेका चार जनाको सत्यकथा के हुन्छ?
यसका लागि फिल्म अथिरनः प्यारका कर्म हेर्नुहोला।
सन् २०१९ मा प्रदर्शन भएको यो फिल्मलाई केही समीक्षकले ५ मा ४ स्टार रेटिङ दिएका थिए। केहीले फिल्मको प्रस्तुति र निर्माणमा आलोचना गरे पनि कथावस्तुमा यसले प्रशंसा पाएको थियो। साइकोलोजिकल थ्रिलर कथा रूचाउने दर्शकलाई अथिरनले निराश पार्दैन।
फिल्ममा साई पल्लवी, फहद फासिल, अतुल कुल्कर्णी, रेन्जी पानिकेर लगायत कलाकारको अभिनय छ।
फिल्म हेर्न watch on youtube मा क्लिक गर्नुहोस्।