दसैंमा कलाकारहरू थप व्यस्त हुन्छन्। विशेष गरी गायक गायिकालाई देशविदेशमा आयोजित दसैं विशेष कार्यक्रममा भ्याइनभ्याइ हुने गर्छ। यसर्थ दसैं कलाकारका लागि थप कमाइ गर्ने अवसर समेत मानिन्छ। फिल्म, सिरियल लगायत क्षेत्रका कतिपय कलाकारलाई पनि दसैंमा समेत कामको चटारो नै हुन्छ।
कतिपय कार्यक्रम र अन्य व्यस्तताले घर जान पाउँदैनन्। कतिपयले जसरी पनि परिवारकै साथ दसैं मनाउने योजना बनाएका हुन्छन्। हामीले यहाँ केही कलाकारलाई दसैं कहाँ र कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका छौं।
♦ कमल खत्रीको काठमाडौंमा पहिलो दसैं
गायक कमल खत्रीले यसपालिको दसैं काठमाडौंमा मनाउँदैछन्।
काठमाडौंमा उनको पहिलो दसैं अनुभव हुनेछ। दसैंअघि भने उनी कार्यक्रमको सिलसिलामा विभिन्न जिल्लामा पुगिरहेका छन्।
'अहिले सर्लाही आएको छु। यसपालि बुबाआमालाई पनि काठमाडौंमा बोलाएको छु,' उनले भने, 'काठमाडौंमा आफन्तहरू पनि हुनुहुन्छ। मान्यजनको हातबाट टीका लगाउने, साथीभाइसँग जमघट गर्ने, नयाँ गीतको तयारी गर्ने योजना छ।'
अरू बेला जति टाढा भए पनि एक ठाउँमा भेला हुने, मीठो मसिनो पकाउने–खाने, मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिने नै दसैंको विशेषता भन्ने लाग्छ।
विगतका कतिपय वर्ष उनी दसैंमा सांगीतिक कार्यक्रमको सिलसिलामा विदेशमा हुन्थे। त्यस बेला घर परिवारलाई धेरै 'मिस' गरेको उनले बताए।
♦ एलिनाको बिहेपछिको पहिलो दसैं
गायिका एलिना चौहानका लागि यो दसैं थप विशेष छ। कारण, यो उनको विवाहपछिको पहिलो दसैं हो।
'उदयपुर, सर्लाहीको कार्यक्रम सकेर बिहीबार बागलुङ जाँदैछु,' एलिनाले भनिन्, 'बिहेपछिको पहिलो दसैं, श्रीमान अस्ट्रेलियामा हुनुभएकाले कस्तो–कस्तो लागिरहेको छ। तर उत्साहित नै छु।'
बागलुङमा टीका लगाएर उनी झापा फर्किने छिन्। त्यहाँ आसपासका सांगीतिक कार्यक्रममा प्रस्तुति समेत दिनेछिन्। उनले टीकाको दिनका लागि भने विगतदेखि नै सांगीतिक कार्यक्रम लिने गरेकी छैनन्। यसपालि पनि लिएकी छैनन्।
कार्यक्रममा दौडधुप गर्नुपर्ने हुँदा दसैंको खास मज्जा लिन नपाउने गरेको उनी बताउँछिन्।
अहिले परिवार, आफन्तसँगको भेटघाट, टीका ग्रहण र आशीर्वाद लिने कुरामा खुसी लागेपछि बाल्यकालमा नयाँ लुगा किनिदिँदा र दक्षिण गन्दा धेरै मज्जा हुने उनी स्मरण गर्छिन्।
एलिना पिङकी पनि सोखिन हुन्। तर हिजोआज पिङ खेल्ने अवसर धेरै कम मिल्ने गरेको छ। उनी दसैंमा रमाइलोका लागि तास पनि खेल्छिन्।
'दसैंमा रमाइलो लाग्ने तास खेल्न पनि हो। यसपालि पनि योजना छ। भाइहरूसँग खेल्छु। परिवारसँग रमाइलोका लागि खेल्ने हो,' उनले भनिन्।
♦ प्रकाश दुतराजको दसैं कोरियामा
गायक प्रकाश दुतराजको यसपालिको दसैं कोरियामा बित्ने भएको छ। त्यहाँ आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी बिहीबार त्यसतर्फ जानेछन्।
'गत वर्ष घर म्याग्दीमै मनाएको थिएँ। यो पटक विदेशमा हुने भएँ,' कोरिया जानुअघि उनले भने।
उनी यसअघि पनि विदेशमा दसैं मनाएको बताउँदै नेपालमा जस्तो रमाइलो भने नहुने बताउँछन्।
प्रकाश एक महिनाको युरोप टुर सकेर गत साता मात्रै नेपाल फर्किएका थिए। र, दसैंको अवसर पारेर आफ्नो नयाँ गीत 'रेशम' सार्वजनिक गरे।
उनको दसैं कोरियामा संगीतमय भएर बित्नेछ। त्यहाँ आउँदो शुक्रबारदेखि आइतबारसम्म आयोजित बहुसांस्कृतिक महोत्सवमा नेपालसहित एक दर्जन देशका कलाकारहरूको प्रस्तुति तय छ।
♦ सनिशालाई दोहोरो उमंग
म्युजिक भिडिओ हुँदै फिल्ममा डेब्यु गरेकी अभिनेत्री सनिशा भट्टराईलाई यति बेला दसैंको मात्र उमंग छैन। उनको पहिलो फिल्म '१२ गाउँ' फूलपातिदेखि रिलिज हुँदैछ।
अर्को फिल्म 'नरसिंहाः अवतार' को पहिलो चरणको छायांकन भर्खर सकेकी छन्।
यसर्थ उनीसँग दोहोरो उमंग छ।
उनी खास दसैंको उमंग भने पोखरा पुगेपछि मात्रै आउने बताउँछिन्। पोखरा उनको घर हो।
'फूलपातिको दिन बेलुका जाँदैछु। मलाई त पोखरा पुगेपछि बल्ल दसैंको भाइब्स आउँछ,' उनले भन्छिन्, 'त्यहाँ पुगेपछि गाउँ गाउँ खालको भाइब्स आउने भएकाले छुट्टै रमाइलो लाग्छ। हावापानी, मानिसहरूको आवतजावतले पनि दसैंको भाइब्स दिन्छ।'
उनलाई दसैं एकदमै मनपर्ने चार्ड हो। परिवार, मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन सबैभन्दा मनपर्ने उनी बताउँछिन्। साथै विगतका दसैंमा गाउँतिर घुम्न निस्किने, पिङ खेल्ने, दसैं मेला हेर्न जाने गरेको उनी बताउँछिन्।
यसपालि भने उनी दसैं मनाएर केही दिनमै काठमाडौं फर्किनुपर्नेछ।
'केही दिन हल भिजिटमा हिडँने योजना छ। कात्तिक १ गतेदेखि फेरि नरसिंहा अवतारको दोस्रो चरणको सुटिङ हुँदैछ,' उनले भनिन्, 'जे होस् यति बेला एकदमै खुसी लागिरहेको छ।'
♦ सिरियल स्टक खिचेर गोरखा जाँदै मरिचमान श्रेष्ठ
हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले गृहजिल्ला गोरखामा दसैं मनाउनेछन्। 'हल्का रमाइलो, जुठे र राधाकृष्ण' गरी एकसाथ तीनवटा सिरियलमा काम गरिरहेका उनी नवमीका दिन घर जानेछन्।
'जति नै व्यस्त भए पनि दसैंमा घरै पुगौं भन्ने हुन्छ,' उनले भने, 'बच्चा बेलाको जस्तो रमाइलो त अहिले हुने कुरा भएन। तर बुबाआमा, आफन्त, पुराना साथीभाइसँग धेरै पछि भेट हुने हुँदा खास लाग्छ।'
उनले सिरियलको केही भाग स्टक खिचिसकेका छन्।
दसैं टीकाको केही दिनपछि उनी कार्यक्रमका लागि दुबई जानेछन्। केही वर्ष पहिलेसम्म दसैंमा देश-विदेशमा धेरै कार्यक्रम गरे पनि पछिल्ला वर्ष नगरेको उनले बताए।