पर्दा पछाडिको हिरो
उनी जोडिएका एकपछि अर्को गीतले चर्चा पाएका छन्। पछिल्लो डेढ वर्षयताको कुरा गर्दा 'सकम्बरी' निकै घन्कियो। यसपछि 'दमाई महाराज, जाले रूमाल फाट्यो, दुई पाइला, मुटु कटक्कै' लगायत गीतहरू रूचाइए।
पाँच महिनाअघि सार्वजनिक 'बुझिनँ मैले' ले बजार ततायो। फिल्म 'बोक्सीको घर' मा समावेश यो गीतको कम्पन अझै सेलाएको छैन।
यी सबै गीतका संगीत संयोजक (एरेन्जर) हुन् सुदीप सागर।
सुदीप जोडिएका गीतहरू यसअघि पनि चलेका थिए। तर सकम्बरीले उनको कामलाई धेरै दर्शक-श्रोतासम्म पुर्यायो।
'मलाई नचिने पनि म जोडिएको काम धेरै मानिससम्म पुग्यो। यसबाट छुट्टै खालको सन्तुष्टि पाएको छु,' सुदीप भन्छन्।
दुई वर्षअघि गायक प्रकाश सपूतले सुदीपलाई पहिलोपटक फोन गरेका थिए। सांगीतिक क्षेत्रमा उचाइमा रहेका प्रकाशले फोन गर्दा उनी उत्साहित नहुने कुरै थिएन।
'सुदीपजी एउटा सहकार्य गर्नुपर्नेछ। कतिबेला अफिस आऊँ,' प्रकाशले भनेका कुरा उनी अझै सम्झिन्छन्।
साँझपख आइपुगेका प्रकाशले त्यस बेला चामलको विज्ञापनमा संगीत संयोजन गर्नुपर्ने कुरा राखे। सुदीपले तयार गरे। काम सकियो।
त्यसको केही महिनासम्म उनीहरूबीच कुराकानी भएन।
एक दिन साँझपख फेरि प्रकाशले फोन गरे। यसपटक उनले गीतमा सहकार्य गर्न भने। 'पर पर छु' बोलको त्यो गीत व्यावसायिक थिएन, महिनावारी सचेतना सम्बन्धी थियो।
यही कामपछि सुदीपले प्रकाशको 'सकम्बरी' मा एरेन्जमेन्टको काम गरे।
गीतले निकै चर्चा पायो। यसपछि प्रकाशका अधिकांश गीत सुदीपले नै संगीतले सजाएका छन्।
पर्दामा नदेखिने तर नभइ नहुने व्यक्ति हुन् संगीत संयोजक अर्थात् एरेन्जर। र, सुदीप यही काममा जमेका व्यक्ति हुन्।
गीतकारले शब्द तयार गरेपछि त्यो संगीतकारकहाँ पुग्छ। संगीतकारले लय, धुन वा संगीतको खाका तयार पारेपछि गीतको डमी एरेन्जरसम्म आइपुग्छ।
सुदीपका अनुसार त्यसमा कस्तो कस्तो संगीत मिलाउने र कस्तो बाजा प्रयोग गर्ने भनेर डिजाइन गर्ने काम एरेन्जरको हुन्छ। सोही डिजाइनमा रहेर गीत स्टुडिओमा रेकर्ड हुन्छ। कतिपयको सन्दर्भमा सर्जकले गीतको अवधारणा वा भाव सुनाएपछि एरेन्जरले सोहीअनुसार काम गर्छन्। कतिपयले भने एरेन्जरकै जिम्मामा छाडिदिन्छन्।
'गीत सुनेर त्यसलाई कसरी सिँगार्ने भन्ने हाम्रो काम हो। अहिले त एरेन्जरको भूमिका अझ अहम छ। एरेन्जरकै डिजाइन अनुसार स्टुडिओमा वाद्यवाधकहरूले बाजा बजाउने हो,' सुदीपले भने, 'उहाँहरूलाई निम्त्याउनेसम्मको काम पनि एरेन्जरले गरिरहेका हुन्छन्। रेकर्डिङसम्मै समय छुट्याउनुपर्छ।'
गीतको अडिओ बन्न गीतकार, संगीतकार र गायकहरू गरेर मुख्यतः तीन पक्ष चाहिन्छ। यी तीन पक्ष जोड्ने पुल पनि म्युजिक एरेन्जर नै हुन्छन्। र, आफूले चाहेको क्षेत्रमा यसरी जमेर काम गर्न पाउँदा खुसी लाग्ने उनी बताउँछन्।
'अझ आफू जोडिएका काम रूचाइँदा त्योभन्दा धेरै खुसी लाग्छ,' उनले भने।
अर्घाखाँचीमा जन्मे-हुर्केका उनी घरमा सांगीतिक वातावरण भएकाले आफू यो क्षेत्रमा होमिएको बताउँछन्।
'मेरो अंकल बसन्त श्रीसागरले भारतमा क्लासिकल म्युजिक सिक्नुभएको थियो। गीत पनि रेकर्डिङ गराउनुभएको थियो। बेला बेला घर आउँदा गीत-संगीतकै कुरा हुन्थ्यो। घरमा हार्मोनियम थियो, अंकलले गितार ल्याइदिनुभएको थियो। यस्तै माहोलले पनि यो क्षेत्रमा सानैदेखि रूचि जाग्यो,' उनले भने।
वाद्यवादनसँगै रेडियोमा गुञ्जिने गीतले उनलाई तान्थ्यो। ती गीत कसरी बन्छन् र बज्छन् होला भन्ने लाग्थ्यो। गीत निर्माणमै धेरै जिज्ञासा भएकाले उनी एरेन्जरको नाम कण्ठै पार्थे।
एसएलसी दिएर उनी संगीतमै संघर्ष गर्न भन्दै काठमाडौं आए। नाताले अंकल पर्ने जीवन परियारले उनलाई संगीतकार बिबी अनुरागीको स्टुडिओ लगे। केही गीत गाएका जीवनको बिबीसँग राम्रो चिनजान थियो। बिबीले सुदीपलाई सुझाव दिँदै एरेन्जर बन्न संगीत पढ्न र काम सिक्न आवश्यक भएको बताए।
त्यसपछि सुदीप संगीत गुरू कैलाश राई र गुरूदेव कामतकहाँ पुगे। धेरथोर सिके पनि। यसबीच उनको जीवनमा केही उतारचढाव आए। तर संगीत संयोजक बन्न दृढ सुदीपले आफ्नो काम अगाडि बढाउँदै लगे।
सबभन्दा सुरूमा उनले आफ्ना साथी गायक विजय सुनामको गीत एरेन्ज गरे। त्यो गीत चलेन।
'यहाँ काम पाउनै गाह्रो थियो। त्यसैले बीचमा केही समय त म काठमाडौं छाडेर हिँडेको थिएँ,' उनले भने, 'तर तनमन सबै संगीतमा भएपछि काठमाडौं बाहिर बसिरहन सकिनँ। फेरि काठमाडौं आएर संघर्ष थालेँ।'
उनी काम खोज्दै स्टुडिओदेखि दोहोरी साँझसम्म धाए।
केही रेकर्डिङ स्टुडिओसँग जोडिएर काम गरेकाल बिस्तारै एकाध गीतमा एरेन्जमेन्टको काम पाए। सुरूआतमा शिव परियारको 'तिम्रो संसार उज्यालो भो', कृष्ण रेउलेको 'आज गाउँमा बिजुली' जस्ता गीतले एक खालको चर्चा पाएका थिए। समयसँगै उनले थुप्रै आधुनिक, लोकदोहोरी गीतमा काम गरे। फिल्मका पनि केही गीत सिँगारे। तर एकाध मात्रै चले।
'ओए साइँली', 'पानको पत्ता', 'फूली नाकैमा', 'फुल्यो गुराँस' जस्ता गीत तिनै रूचाइएका मध्येका हुन् जसमा सुदीपले काम गरेका छन्। 'दुई पाइला', 'बैनैज्यु' जस्ता गीत पनि पछिल्लो समय रूचाइए।
सुदीप गीतको भाव बुझेर त्यसलाई राम्रो बनाउन नयाँ नयाँ प्रयोग गर्न रूचाउँछन्। त्यस्ता प्रयोग रूचाइएको पनि उनको अनुभव छ।
यसरी पर्दा पछाडि बसेर काम गर्ने सुदीपले सबै विधाका गरेर सात सयभन्दा बढी गीतमा काम गरिसके। संगीतकार सन्तोष श्रेष्ठ, गोविन्द मधुर आचार्य, महेश खड्का, सुरेश अधिकारी, शम्भुजित बास्कोटा, बसन्त सापकोटा लगायतसँग जोडिएर काम गरेको अनुभव उनीसँग छ।
उनले प्रकाश सपूतको नयाँ फिल्म 'वसन्त' को गीतमा पनि संगीत संयोजन गरेका छन्।
'एरेन्जर र उसको कामको पहिचान सर्जकले गर्ने हो। यस अर्थमा म एकदमै खुसी छु,' सुदीप भन्छन्, 'आउँदा दिनमा पनि फरक खालका सिर्जनामा जोडिएर काम गर्न पाइयोस्। नयाँ नयाँ प्रयोग गर्न पाइयोस्!'