बबरमहलस्थिल आर्ट काउन्सिलमा कलाकार अमृत कार्की भनिरहेका छन्ः
तिमी मलाई देऊ –
म तिमीलाई मुक्त गरिदिन्छु
अमेरिकास्थित ‘द रूबिन’ म्युजियमको आयोजनामा तयार यस प्रदर्शनी कलामा कलाकार अमृत दर्शकहरूलाई आफ्नो शीरमाथिको जलधारीमा पानी हाल्न आग्रह गरिरहेका छन्। हरेक दिन फरक रंगमा हुने उक्त पानी जलधारीबाट टपकिँदै टाउको हुँदै उनको शरीरमा बग्छ।
‘दर्शकहरूले कलाकारको शरीरमार्फत आफ्नो दिमाग र मन सफा अनि चिन्तामुक्त राख्न सक्छन्,’ यस प्रदर्शनीबारे रूबिन म्युजियमले व्याख्या गरेको छ, ‘कलाकारले आफ्नो शरीर, समय र स्वासलाई क्यान्भास जसरी प्रयोगमा ल्याएका छन्, जसमा हरेक दिन नयाँ कला बन्छ। रंगीन पानी जब उनको लुगामा धब्बा जसरी बस्छ, त्यसले दर्शकहरूलाई हरेक दिन दिमागले बोक्ने बोझको स्मरण गराउँछ। उनको शरीर हुँदै एउटा बाटामा जम्मा भएको पानीले दर्शकहरूको सबै नराम्रा विकार लिएर कलाकारले स्वतन्त्र बनाएको संकेत गर्छ।’
एउटा भित्तामा कलाकारले अघिल्लो दिन लगाएको लुगा राखिएको छ, जुन सेतो, पहेँलो, हरियो लगायत रंगमा देख्न सकिन्छ। यसले मानिसभित्रको सांसारिक बोझलाई संकेत गर्छ।
कलाकार अमृतको कपाल लामो छ, जसलाई उनले गुजुल्टो बनाएका छन्। कुनै ध्यानीझैं जलधारीमुनि बसिरहेका उनलाई देख्दा भगवान शिवको झल्को हामीलाई आउन सक्छ। रूबिन म्युजियमले पनि यो कलालाई नेपाली परम्परामा हुने सांस्कृतिक अनुष्ठान र शिव लिंगबाट प्रभावित भएको बताएको छ।
‘यो अशुद्धतालाई पखाल्ने र परमात्मामा समर्पण गर्ने प्रतीक हो,’ अमृतको कला वर्णन गर्दै रूबिनले बताएको छ।
कलाकार अमृतले भनेका छन्, ‘ध्यानले हामीलाई केहीबाट केही नहुन वा केही नभएकोबाट केही हुन मद्धत गर्छ। ध्यानको प्रक्रियाले मानिसलाई शून्यवादतिर धकेल्छ। बौद्ध र हिन्दु धर्मको दर्शन पनि त्यही हो।’
मंगलबारदेखि सुरू भएको यो प्रदर्शनी शनिबारसम्म चल्नेछ। पाँच दिनको यस प्रदर्शनीका हरेक गतिविधि भिडिओमा रेकर्ड छ, जसलाई रूबिन म्युजियममा सेप्टेम्बर १९ देखि प्रदर्शन गरिएको छ भने अक्टोबर ६ सम्म देखाइनेछ। यो प्रदर्शनी रूबिनको ‘रिइम्याजिनः हिमालयन आर्ट नाउ’ को हिस्सा हो।
तस्बिरहरू: