गीतको कथा
पछिल्लो समय एउटा लोकदोहोरी गीत निकै चर्चामा छ। थुप्रैले यो गीतमा टिकटक, फेसबुक रिल्स बनाएका छन्। गीत युट्युबको ग्लोबल ट्रेन्डिङमै पर्यो। यसकारण पनि गीतको चर्चा अझै चुलियो।
गीतले भन्छ –
निधारमै टीकी टलक्कै
सुन्तली नानीको मुहार झलक्कै
कश्मिरे पछ्यौरी दार्जलिङको रेल
लाम साइँली पिरती दुई दिन बाँचुञ्जेल...
बाबुकृष्ण परियार र दिपिका बयाम्बुको स्वर रहेको गीत सार्वजनिक हुनासाथ चर्चामा आएको भने होइन।
यो गीत रिलिज भएको ८ महिना पुगिसकेको छ। सुरूआतमा नचलेको गीत पछि भाइरल भएको हो।
'सुरूमा गीत चलेन। जब श्रोता-दर्शकले मन पराएर गीतमा टिकटक र रिल्स बनाउन थाले, ती भिडिओ क्लिप हिट हुन थाले। अनि गीतको चर्चा बढ्दै गयो,' गायक बाबुकृष्णले भने।
रिलिजको ६ महिनासम्म दुई लाख पनि भ्युज नपाएको भिडिओ अहिलेसम्म दुई करोड २७ लाखभन्दा धेरै पटक हेरिसकिएको छ। बुधबार यो भिडिओ युट्युब ग्लोबल ट्रेन्डिङको ९४ नम्बरमा छ। जानकारहरूका अनुसार ग्लोबल ट्रेन्डिङमा पर्न गीत धेरै देशका दर्शकले हेर्नुपर्ने हुन्छ।
'यसरी नै हो हाम्रो दायरा फराकिलो हुँदै जाने,' गीत ग्लोबल ट्रेन्डिङमा परेपछि गायक प्रकाश सपूतले यसको भिडिओ आफ्नो फेसबुकमा सेयर गर्दै प्रशंसा गरेका छन्।
चर्चित कलाकारहरूले समेत गीतमाथि भिडिओ क्लिपहरू बनाएका छन्।
गीतको सरल शब्द, संगीत, स्वरसँगै ग्रामीण परिवेशमा तयार गरिएको भिडिओ समेत रूचाइएको छ।
कश्मिरे पछ्यौरीका सर्जक हुन् निश्चल दवाडी। यसको संगीत पनि उनकै हो। गायक समेत रहेका उनले यसअघि आफ्नो शब्द, संगीत र स्वरमा 'सोल्टी बजार', 'गोर्खे खुकुरी' जस्ता गीत दिइसकेका छन्।
कश्मिरे पछ्यौरीको भिडिओ मौसम हिमालीको कथा एवं निर्देशनमा बनेको हो। भिडिओमा गायक बाबुकृष्णका साथमा मोडल केपिना गोतामेको अभिनय छ।
यो भिडिओ चित्लाङमा दुई दिन लगाएर खिचिएको थियो।
सर्जक निश्चल, गायक बाबुकृष्ण पछिल्लो समय एउटै टिममा रहेर काम गर्दै आएका छन्। टिममा अर्का सर्जक सुरज लामिछाने पनि छन्।
उनीहरूले त्रिशूल ब्राण्ड नामको कम्पनी खोलेर सहकार्य सुरू गरेका हुन्। यसबाट पहिलो गीत 'भिर माहुरी' ल्याएका थिए, जसमा निश्चलको शब्द र सुरजको संगीत थियो। स्वर वसन्त थापा र शान्तिश्री परियारको थियो।
यो गीत चल्यो।
त्यसपछि निश्चलको शब्द, संगीत र स्वरमा चलेको गीत हो, 'सोल्टी बजारमा'।
उनले बाबुकृष्णसँग 'सत्तादाउ' बोलको गीतमा पनि सहकार्य गरे। यी दुईले दिपिका बयाम्बुको 'बन्धकी' बोलको गीतका लागि पनि सहकार्य गरे। यसपछि निश्चल र शान्तिश्री परियारको स्वरमा सार्वजनिक 'गोर्खे खुकुरी' निकै चल्यो।
अहिले निश्चल र बाबुकृष्णको सहकार्य रहेको कश्मिरे पछ्यौरीले मन जितिरहेको छ।
'हामी तीन जना सरसल्लाह गरेर काम गर्छौं। नयाँ गीत गर्ने तयारी हुँदा ८/१० वटामध्ये बाबुकृष्णजीलाई कश्मिरे पछ्यौरी मनपर्यो,' निश्चलले भने, 'गोर्खे खुकुरी र यो एकै समयमा तयार भएका गीत हुन्।'
तनहुँका निश्चल २०६७ सालदेखि व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा छन्। तर उनका गीतहरू कम छन्। किनभने, उनी गीत लेख्न हतार गर्दैनन्। उनका अनुसार कुनै यस्तो माहोलमा गीत बन्छ वा एउटा खाका बनिसकेपछि पूर्ण हुन्छ भन्ने पनि हुँदैन।
'कश्मिरे पछ्यौरी लेख्दा शब्दसँगै मेलोडीलाई पनि समय दिएँ। यो धेरै बसाइमा बनेको हो,' उनले भने, 'पहिले गाउँबाट काम गर्न भारतको कश्मिर जानेहरू प्रशस्तै थिए। त्यहाँबाट फर्किँदा पछ्यौरी ल्याउँथे। त्यही परिवेशमा गीत लेखेको हुँ।'
उनी राम्रो गर्नुपर्छ भन्ने मान्यता राखेर काम गर्छन्। मेहनतले गरेको काम सफल हुन्छ भन्ने आशा हुनु स्वाभाविक हो। कश्मिरे पछ्यौरीमा पनि केही आशा उनलाई पक्कै थियो। तर अहिले जुन सफलता यो गीतले पाएको छ, यो भने सोचेभन्दा धेरै भएको उनी बताउँछन्।
'ग्लोबल ट्रेन्डिङमा नेपाली गीत परेको सुनिएको थिएन। आफ्नै गीतबाट त्यो अनुभव लिन पाउँदा छुट्टै खुसी लागिरहेको छ,' उनले भने।
यो गीत रूचाइनुमा यसको सरल शब्द र संगीतसँगै एरेन्ज, स्वर र भिडिओ पक्षको ठूलो भूमिका रहेको निश्चलले बताए।
गीतका गायक एवं मोडल बाबुकृष्ण पनि सोचेभन्दा धेरै माया पाइरहँदा खुसी लागेको बताउँछन्। यसरी गीत मन पराइनुमा पूरै टिमको मेहनतलाई उनी श्रेय दिन्छन्।
बागलुङका बाबुकृष्ण एक दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा छन्। यसबीच थुप्रै गीतमा काम गरे। केही रूचाइए। धेरैले निराश बनाए। तर उनले संघर्ष र साधना गर्न छाडेनन्।
यसअघि उनको स्वरमा 'चौका दाउ' बोलको गीत निकै चलेको थियो। उनको संगीत पनि रहेको सो गीतमा महिला आवाज शान्तिश्री परियारको थियो। त्यसपछि बाबुकृष्णलाई ठूलो चर्चा दिलाएको गीत यहि कश्मिरे पछ्यौरी हो।
केही दिनअघि उनी बागलुङ गएका थिए। त्यस क्रममा केही समय पोखरामा पनि बिताए। यात्रा क्रममा गाडीमा आफ्नै गीत बजिरह्यो। यात्रुले गीतबारे प्रशंसा गरेको समेत सुने।
त्यो क्षण सुनाए, 'मलाई चिन्ने कुरा थिएन। तर मसँग मामा हुनुहुन्थ्यो, उहाँले चाहिँ यो गीत गाउने मेरो भान्जा हो भन्नुभयो। उहाँलाई भन्न मन भएर भन्नुभयो होला। अनि त सबै जनाले प्रशंसा गर्नुभयो। अझ राम्रो गर्न शुभकामना दिनुभयो,' बाबुकृष्णले सुनाए।
श्रोता-दर्शकले देखाएको माया र यो सफलताले आगामी दिनमा अझ राम्रो काम गर्न ऊर्जा मिलेको उनी बताउँछन्।