गुड फ्राइडे सिनेमा
दाहिने आँखामा प्रेम, देब्रे आँखामा आँसु — 'महानती' फिल्मभित्र फिल्मकै छायांकन भइरहेको छ।
निर्देशक अभिनेत्री सावित्रीका आँखामा यसरी नै प्रेम र आँसु चित्रण गर्न चाहन्छन्। ग्लिसरिन प्रयोग गरेर अभिनेत्रीको देब्रे आँखामा मात्र आँसु देखाउन सके दृश्य गज्जबको हुन्थ्यो भन्ने सोच्छन्।
त्यही बेला सेटमा भएको ग्लिसरिनको बोतल फुटेको खबर आउँछ। निर्देशक रिसले मुर्मुरिँदै छायांकनको काम अर्को दिनलाई सार्ने निर्णय गर्छन्।
अभिनेत्री सावित्री भने आफू ग्लिसरिनबिनै आँखामा आँसु ल्याउन सक्ने दाबी गर्छिन्। निर्देशक उनलाई देब्रे आँखामा मात्र आँसु चाहिने भएकाले धेरै टेक लिनुपर्छ, भोलि गरौंला भन्छन्। सावित्री आफूमाथि विश्वास गर्न आग्रह गर्छिन्। उनको हठ देखेर आजित निर्देशक आखिरमा मान्छन्।
जब सावित्री ग्लिसरिनबिना एक टेकमा दृश्य दिन सफल हुन्छिन्, निर्देशक भन्छन्, 'आउने दस पिँढीसम्म जब तेलुगू फिल्म इन्डस्ट्रीमा अभिनेत्रीको नाम लिइन्छ, तिम्रो मात्र नाम लिइने छ।'
यो दृश्य 'महानती' फिल्मको एउटा अंश हो। नाग अश्विनद्वारा निर्देशित महानती तेलुगू र तमिल फिल्मकी सफल अभिनेत्री सावित्रीको जीवनमा आधारित छ।
सावित्री सन् १९५० र ६० दशकमा तेलुगू र तमिल भाषाका फिल्ममा एकछत्र राज गर्न सफल अभिनेत्री हुन्। उनलाई दक्षिण भारतीय सिनेमा जगतकी पहिलो महिला सुपरस्टार भनिन्छ। महानतीको अर्थ महान अभिनेत्री भन्ने हुन्छ।
सावित्रीको स्टारडम यस्तो थियो, उनीसँग काम गर्न त्यस बेलाका सफल निर्माता, अभिनेता, निर्देशकहरू पालो कुरेर बस्थे। उनी आफ्नो समयकी सबभन्दा महँगो पारिश्रमिक लिने कलाकार थिइन्।
बाल्यकालदेखि नै जिद्दी र स्वाभिमानी सावित्रीलाई एक दिन गाउँमा नृत्य सिकाउने गुरूले 'तैंले नाच्न सक्दिनस्' भनेका हुन्छन्। त्यही इखले उनी स्वअभ्यासबाट नाच्न सिक्छिन् र नाचेरै नाम कमाउँछिन्। मानिसहरू पैसा तिरेरै उनको उत्कृष्ट हाउभाउसहितको नाच हेर्न आउँछन्। यही पृष्ठभूमिले उनलाई फिल्म क्षेत्रसँग जोड्छ। सामान्य परिवारकी सावित्री बिस्तारै फिल्ममा पनि सफलताको उत्कर्षमा पुग्छिन्।
सन् १९५२ को तेलुगू फिल्म 'पेली चेसी चोडो' उनको मुख्य भूमिका भएको पहिलो फिल्म थियो। त्यसपछि 'माया बजार, देवदासु, पासामलार, पाभा मन्निप्पु, चिभाराकु, आराधना, काथिरून्द कंगाल' आदि उनका चर्चित र सफल फिल्म हुन्।
सावित्रीको निजी प्रेम र वैवाहिक सम्बन्ध पनि त्यस बेला चर्चाको विषय बनेको थियो। उनको सफल जीवनप्रति त मानिसहरू आकर्षित थिएन नै, सँगसँगै गरिबलाई सहयोग गर्ने उनको उदार स्वभावले पनि धेरैको मन जितेको थियो।
सावित्रीले आफ्नो समयका चर्चित अभिनेता जेमिनी गणेशनसँग गोप्य विवाह गरेकी थिइन्। गणेशन सावित्रीलाई भेट्नुअघि नै विवाहित र दुई सन्तानका बुबा थिए।
महानतीमा सावित्रीको कला र निजी जीवनका अनेक उतारचढाव चित्रण गरिएको छ।
बक्स अफिसमा 'महानती' वर्षकै सफल फिल्ममा दरिएको थियो।
सन् २०१८ मा फिल्म सार्वजनिक भएपछि 'महानती' का रूपमा चर्चित अभिनेत्री सावित्रीको जीवनका लुकेका र बिर्सिएका अनेक पाटाबारे बहस भएका थिए। फिल्मको सफलता पनि यही हो।
हेर्नुस् फिल्मः