सुनिशा बजगाईँले केही नाटक, म्युजिक भिडिओ र छोटा फिल्ममा काम गरेकी थिइन्। एकाध फिचर फिल्म खेलिसकेकी थिइन्। कलेज नेपालका कथानक भिडिओहरूबाट पनि एक खालका दर्शक कमाइसकेकी थिइन्।
उनलाई धेरै दर्शकमाझ चिनाउने माध्यम भने सिरियल बन्यो।
एक वर्षअघि कलाकार बालकृष्ण ओलीले उनलाई अकस्मात 'सीता' सिरियल खेल्ने प्रस्ताव गरेका थिए।
'महिलाको कथा हुनेछ। नारीको पीडा हुनेछ। तिमी काम गर्छौ भनेर सोध्नुभयो,' सुनिशाले भनिन्, 'राम्रो छ भने गर्छु भनेँ।'
थिएटर, फिल्ममा काम गरिसकेका कतिपय कलाकार सिरियल भनेपछि नाक खुम्च्याउँछन्। सुनिशाले त्यसरी छुट्ट्याइनन्।
सिरियलको कथा तयार भयो। सुनिशा सीताको भूमिकामा देखिइन्। उनले यो भूमिकाबाट ठूलो अपेक्षा राखेकी थिइनन्। धेरैले मन पराउलान् भन्ने पनि सोचिनन्।
जब 'सीता' प्रसारणमा आउन थाल्यो, छोटो समयमै धेरै दर्शक कमायो। सुनिशाको अभिनय धेरैले रूचाए। उनलाई चिन्नेहरू बढे।
यसपछि सुनिशालाई लाग्यो — अभिनय मात्र गरेर नहुने रहेछ!
'मैले कसैको जीवन बोलिरहेको रहेछु भन्ने महसुस भयो,' उनले भनिन्, 'त्यसैले अभिनयसँगै, पात्रमा भिज्न र त्यसलाई न्याय गर्न सक्नुपर्ने रहेछ भन्ने भयो।'
सीता सिरियल प्रसारणमा आउन थालेको दस महिना मात्र भयो। छोटो समयमै यसले सहरदेखि गाउँका दर्शकसम्म लोकप्रियता कमाएको छ। यसका प्रत्येक भाग युट्युबमा ३० लाखभन्दा बढीले हेरेका छन्।
सिरियल यसरी रूचाइनुमा यसको विषयवस्तु मुख्य मान्छिन् सुनिशा।
'यसको कथावस्तु सामान्य छ। हामीले सुनिरहेको, कतिपयले भोगिरहेको कुरा भएकैले धेरैले छिटो रिलेट गर्नुभयो भन्ने लाग्छ,' उनले भनिन्।
अहिले सीताबाट धेरैको नजरमा परेकी सुनिशाको अभिनय मोह सानैदेखिको हो।
उनी सुनसरीको झुम्कामा जन्मे, हुर्केकी हुन्। बुबा सरकारी स्कुलका हेडमास्टर थिए। आमा गृहिणी।
स्कुल पढ्दा सुनिशा रेडक्रसका कार्यक्रममा हिँड्थिन्। सचेतनामूलक नाटकमा अभिनय गर्थिन्। नाटकमा कसैको प्रेमिका भएर अभिनय गर्ने व्यक्ति नै मुख्य पात्र हो भन्ने उनलाई लाग्थ्यो।
'म सानी भएकाले प्रायः बहिनीको भूमिकामा अभिनय गर्नुपर्थ्यो,' उनले हाँस्दै सुनाइन्, 'सिनियर दिदीहरू प्रेमिकाको भूमिकामा खेल्नुहुन्थ्यो। मलाई भने म कहिले गर्लफ्रेन्ड भएर खेल्ने होला, अनि बल्ल कलाकार हुन्छु होला भन्ने लाग्थ्यो।'
सुनिशालाई टेलिभिजनमा देखिने मोह थियो। भए सिरियल खेल्ने, नभए समाचारवाचक बन्ने सोच्थिन्। ऐना हेर्दै अभिनय अभ्यास गर्ने उनलाई नाच्न पनि रूचि थियो। एसएलसी दिएपछि उनी नर्सिङ तयारीका लागि काठमाडौं आइन्। उनलाई यो आफ्नो क्षेत्र होइन भन्ने लाग्थ्यो। जागिरमा पनि रूचि थिएन।
एकदिन उनी एउटा आश्रममा पुगेकी थिइन्। त्यहीँ उनलाई मोडल सनम कठायतले अकस्मात म्युजिक भिडिओ खेल्ने प्रस्ताव गरे।
सुनिशाले बुबालाई सोधिन्। अनुमति पाएपछि अञ्जु पन्तको 'यो जिन्दगी तिमीलाई' को भिडिओमा मोडलिङ गरिन्। त्यसपछि सत्य-स्वरूपराज आचार्यको गीतमा पनि खेलिन्। केही समयपछि उनलाई फिल्म खेल्ने प्रस्ताव आए।
स्क्रिप्ट दिँदा उनलाई विभिन्न आश्वासन पनि दिइन्थ्यो — फलानो हिरोको हात समातेर रेड कार्पेटमा तिम्रो इन्ट्री हुनेछ। थुप्रै मिडियाहरू हुनेछन्।
'स्क्रिप्ट पानापाना कन्ठ पारेकी थिएँ। उहाँहरूको गफले मैले सपना देख्न सिकेकी थिएँ। फिल्मको माहोलबारे केही कुरा बुझ्ने मौका समेत पाएकी थिएँ,' उनले भनिन्।
एकदिन उनकी साथीले नाटक हेर्न जाऔं भनिन्। स्कुल छँदा नाटक खेलेकी सुनिशा खुसी हुँदै मण्डला थिएटर पुगिन्।
'नाटकले मलाई एकदमै आकर्षित गर्यो। त्यसपछि त मैले केही पनि जानेकी रहिनछु, फिल्म गर्ने बेला भएको रहेनछ भन्ने भयो,' सुनिशाले भनिन्, 'धेरै सिक्न, बुझ्न बाँकी रहेछ भन्ने लाग्यो र फिल्म खेलिनँ।'
उनी नाट्यकर्मी सुनील पोखरेलसँग अभिनय प्रशिक्षण लिन थालिन्। आफूलाई निखार्दै गइन्। नाटकप्रतिको सन्तुष्टिले उनले लगातार पाँच वर्षसम्म थिएटर छाड्न सकिनन्।
यसबीच उनले म्युजिक भिडिओ र छोटा फिल्महरूमा काम गरिन्।
सुनिशाले अभिनय गरेको पहिलो फिचर फिल्म 'इन्टु मिन्टु लण्डनमा' हो। त्यसपछि 'हरि', 'प्रसाद' हुँदै 'पासो' मा अभिनय गरिन्। कलेज नेपालले प्रस्तुत गर्ने कथानक भिडिओहरूमा अभिनय गरेर एक हिसाबले पहिचान बनाइसकेकी थिइन्।
त्यही बीच बालकृष्ण ओलीले 'सीता' सिरियलका लागि प्रस्ताव गरेका थिए।
'यो सिरियलबाट अथाह माया पाएँ। सुनील पोखरेलले धैर्य र निरन्तरता हुनुपर्छ भन्नुहुन्थ्यो। पहिले त यो भनेको के रहेछ भन्ने लाग्थ्यो,' सुनिशाले भनिन्, 'भोग्दै गएपछि मैले जे गरिरहेकी छु, त्यही रहेछ भन्ने लाग्यो। मैले धैर्य गरेँ। अभिनयलाई निरन्तरता दिएँ।'
सुनिशा हँसमुख, मिजासिली र बोलिरहने स्वभावकी छन्। सीताको भूमिका ठीक उल्टो छ — हाँसो हराएकी, दुःखी र पीडित।
फरक स्वभावको भूमिका निर्वाह गर्दाको रमाइलो अनुभव उनले सुनाइन्, 'सुटिङ सेटमा गाउँका आमाहरू आउनुहुन्छ। त्यहाँ म हाँसिरहेकी, जिस्किरहेकी हुन्छु। म हाँस्दा उहाँहरूलाई अचम्म लाग्ने रहेछ। सीता हाँस्दी पनि रहिछ, हाँस्दा कति राम्रो देखिँदो रहेछ भन्नुहुन्छ। पछि भिडिओमा देख्दा पत्याउनुहुन्न होला भनेर आजकाल त्यस्तो माहोलमा चुप लागेर बसिरहेकी हुन्छु।'
यो सिरियलमा काम गरेपछि सुनिशाको नाम सीता पनि भएको छ। कहिलेकाहीँ त अरू कसैलाई सीता भनेर बोलाउँदा आफू झुक्किने गरेको उनी बताउँछिन्।
सुनिशाले काम सुरू गर्दा युट्युब अहिलेजस्तो सर्वसुलभ थिएन। म्युजिक भिडिओ, छोटा फिल्ममा काम गरिरहे पनि परिवारले त्यो देख्दैन थियो। सोहीकारण कहिलेकाहीँ गुनासो पनि हुन्थ्यो। अहिले भने परिवार खुसी भएको उनले बताइन्।
'देखिने काम आएपछि परिवारलाई पनि ढुक्क हुने रहेछ,' सुनिशाले भनिन्, 'अहिले त बाबाममीलाई अरूले पनि भन्नुहुन्छ छोरीलाई देख्यौं भनेर। उहाँहरू पनि कुरेर सिरियल हेर्नुहुन्छ, प्रतिक्रिया दिनुहुन्छ।'
उनका आमाबुबालाई सिरियलमा सबभन्दा मनपर्ने कलाकार सीताका ससुरा बनेका राजु भूजु र नन्द बनेकी समिया कार्की हुन्।
'उहाँहरूले सिरियलमा मलाई माया गर्नुहुन्छ रे! मलाई जोगाउनुहुन्छ रे! बाबुआमालाई आफ्नो बच्चालाई जसले जोगायो त्यो मनपर्ने रहेछ,' सुनिशाले भनिन्।
सुनिशाको पेसामा मात्र होइन, बैवाहिक जीवनमा पनि सिरियलले प्रभाव पारेको छ।
उनलाई 'तितो सत्य' सिरियल खुब मनपर्थ्यो। नछुटाइ हेर्थिन्। त्यसमा दीपकराज गिरी र दीपाश्री निरौलाका छोराको भूमिकामा देखिन्थे बालकलाकार राज आचार्य। सुनिशालाई सबभन्दा धेरै मनपर्ने कलाकार राज नै थिए।
'ठूली भएपछि काठमाडौं गएर कलाकार बन्छु, मसँग जोडी मिल्ने राज मात्र हुन्छ होला, उसैसँग मेरो बिहे हुन्छ होला भन्ने लाग्थ्यो,' सुनिशाले हाँस्दै सुनाइन्।
राजको गीत रिलिजको बेलामा पहिलोपटक आफूहरूबीच कुरा भएको सुनिशा सम्झिन्छिन्। उनीहरूले दुई वर्षअघि बिहे गरेका हुन्।
'मैले सानो हुँदा सोचेको कुरा पछि घरमा सुनाउँदा माहोल हाँसोमय भएको थियो,' उनले भनिन्।
सुनिशाले अब अभिनयलाई नै करिअरका रूपमा अगाडि बढाउने सोचेकी छन्।
भन्छिन्, 'यो गर्दिनँ, त्यो गर्दिनँ भन्ने छैन। जे काम हो, त्यो राम्रो हुनुपर्यो। सधैंभरि यसैगरी अभिनयमा रमाउन मन छ।'