शुक्रबार मात्रै 'रावायण' फिल्मको टिजर सार्वजनिक गरियो। सुदर्शन थापाले निर्देशन गरेको फिल्मको टिजरमा एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ। यसबाट यो फिल्म एक्सनप्रधान बनेको अनुमान गर्न सकिन्छ।
यसअघि एक्सनलाई प्राथमिकता दिँदै 'आउट लः दफा २१९' को टिजर सार्वजनिक गरिएको थियो। यसमा अभिनेता सुशील श्रेष्ठका एक्सन दृश्यहरू समावेश छन्।
'रावायण' भदौ २१ र 'आउट लः दफा २१९' असोज ३ मा रिलिज हुने तय भएको छ।
गत महिना एक्सनप्रधान फिल्म 'दान्भी' रिलिज भएको थियो। यसमा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन दृश्य दिएकी थिइन्। फिल्मले राम्रो व्यापार गर्न नसके पनि चर्चा पाएको थियो।
त्यस्तै सौगात मल्ल र नाजिर हुसेनको मुख्य भूमिका रहेको 'अगस्त्य' मा पनि प्रशस्त एक्सन दृश्य थिए।
कुनै बेला नेपालमा अधिकांश फिल्म एक्सनप्रधान बन्थे। अरू विधाका फिल्ममा पनि एक्सन दृश्य हुन्थ्यो नै। यस्तो लाग्थ्यो, एक्सनबिना फिल्म बन्दैन!
पछिल्लो एक दशकमा भने एक्सन फिल्म कम हुँदै गए। कमेडी, प्रेम, परिवार, समाजको कथा बोकेका फिल्म धेरै बने। एक्सन दृश्यबिनाका फिल्म दर्शकको रोजाइमा पनि परे। यो क्रम जारी नै छ।
तैपनि यसबीच बिस्तारै एक्सन फिल्म बन्न थालेका छन्। अरू विधाका फिल्ममा पनि फाटफुट एक्सन दृश्यले प्रवेश पाएका छन्।
यति बेला छायांकन भइरहेका र निर्माण तयारीमा रहेका केही फिल्म यसका उदाहरण हुन्।
एक्सन अभिनेताका रूपमा परिचय बनाएका विराज भट्टको फिल्म '१२ गाउँ' एक्सनप्रधान फिल्म हो। यसमा दक्षिण भारतीय फिल्मका एक्सन कोरियोग्राफरले काम गरेका छन्। केही दिनमा टिजर आउने तयारी रहेको यो फिल्म दसैंमा रिलिज हुनेछ।
त्यस्तै सन्तोष सेनको निर्माण एवं निर्देशनको 'बलिदान' पनि एक्सनप्रधान हो। यसको छायांकन केही दिनमै सुरू गर्ने तयारी छ। यसको एक्सन कोरियोग्राफीमा दक्षिण भारत र नेपालका द्वन्द्व निर्देशकले सहकार्य गर्दैछन्।
प्रदीप खड्काको शीर्ष भूमिका रहने फिल्म 'पिताम्बर' मा एक्सनका दृश्य समावेश हुनेछन्। अभिनेत्री रेखा थापाले एक्सन जनरामा 'काली २' बनाउने तयारी छ। नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म 'ह्रस्व दीर्घ' मा पनि एक्सन दृश्य समेटिएको बताइएको छ। द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म भएकाले पनि यसमा एक्सनलाई प्राथमिकता दिइएको अनुमान छ। यो फिल्म असोजमा प्रदर्शनमा आउनेछ।
निर्देशक दिवाकर भट्टराईले एक्सन-थ्रिलर जनरामा नयाँ फिल्म बनाउने तयारी गरेका छन्। यो फिल्मका लागि अभिनेता राजेश हमाललाई प्रस्ताव गरिएको छ।
अभिनेत्री प्रियंका कार्कीले पनि एक्सन-थ्रिलर फिल्म बनाउने तयारी रहेको बताएकी छन्।
गत वर्ष एक्सन फिल्म 'अगस्त्य: च्याप्टर-१' बनाएका निर्देशक सौरभ चौधरीले एड्भेन्चर एक्सन फिल्म 'कर्मा' घोषणा गरेका छन्।
यसरी हेर्दा अब एक दर्जन हाराहारी एक्सन फिल्म आउने लगभग निश्चित छ। यसले नेपालमा फेरि एक्सनप्रधान फिल्मले प्राथमिकता पाउन थालेको देखिएको छ।
डेढ दशकभन्दा लामो समयदेखि द्वन्द्व निर्देशनमा सक्रिय हिमाल केसी यसमा सहमत छन्।
'अहिले लेखक, निर्माता, निर्देशकहरू गीत, कमेडी, एक्सन सबैमा ध्यान दिएर फिल्म बनाउने सोचमा छन्,' केसीले भने, 'बीचमा एक्सन फिल्म धेरै कम भयो। अन्य जनराका फिल्ममा पनि एक्सन दृश्य समावेश नहुँदा केही समय म खाली बस्नुपरेको थियो।'
अहिले उनी एकपछि अर्को फिल्ममा काम गरिरहेका छन्। 'वर एन्ड बधु' को काम भर्खरै सकेका उनले 'होस्टेल ३', 'लेबर', 'मायाका रंगहरू' र 'बलिदान' मा काम गर्ने तयारी छ।
पछिल्लो समय विश्वव्यापी रूपमा एक्सन फिल्मको माहोल देखिएको र नेपाली निर्माता, निर्देशकहरू पनि त्यसमा आकर्षित भएको उनी बताउँछन्। विशेषगरी भारतीय एक्सन फिल्मले नेपालमा राम्रो व्यापार गरेकाले नेपाली निर्माता-निर्देशकहरू यसमा आकर्षित भएको उनको बुझाइ छ।
उनका अनुसार एक्सन दृश्यका लागि कलाकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। एक्सनमा कहलिएका शिव श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगाना, रेखा थापाका फिल्म कम हुन थालेसँगै एक्सन दृश्य हराउँदै गएको थियो। पछिल्लो दशकमा उदाएका कलाकार फरक विधामा जमेकाले पनि एक्सन फिल्म कम बनेको उनलाई लाग्छ।
'नयाँ कलाकारले फरक पहिचान बनाउनुभयो। जस्तै दयाहाङजीलाई पूरा एक्सन फिल्ममा प्रस्तुत गर्दा दर्शकले पनि रूचाउनु हुन्न जस्तो लाग्छ। किनकि दर्शकले उहाँलाई साधारण र रियालिस्टिक पात्रमा देख्दै आउनुभएको छ,' सयभन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका केसीले भने, 'प्रेम कथाबाट पहिचान बनाएकालाई पनि त्यस्तै हो। कलाकारले आफूलाई सुरूमा जसरी चिनायो, दर्शकले त्यहीअनुसार नै रूचाउँछन्।'
यस्ता कलाकारले समयसँगै फरक फरक विधाका फिल्ममा काम गर्न थालेकाले दर्शकको स्वीकार्यता बढ्दै जाने देखिन्छ।
तर पहिले र अहिलेको फिल्मी एक्सन धेरै फरक भएको उनी बताउँछन्।
'बलिदान' मा दक्षिण भारतीय द्वन्द्व निर्देशकसँग सहकार्य गरेर एक्सन कोरियोग्राफी गरिरहेका केसी भन्छन्, 'यो फिल्मले नयाँ ट्रेन्ड सेट पनि गर्छ भन्ने आत्मविश्वास छ।'
निर्देशक सौरभ चौधरी एक्सन आफूलाई मनपर्ने विधा भएकाले आफ्ना फिल्ममा प्राथमिकता दिइरहेको बताउँछन्। आफ्ना नयाँ फिल्म 'कर्मा' र 'अगस्त्य: च्याप्टर २' मा फरक खालको एक्सन पस्किने तयारी उनको छ।
'मैले जे कथा भनिरहेको छु, त्यो एक्सनबाटै ल्याउँदा राम्रो हुन्छ,' उनले भने।
नेपालमा एक्सन फिल्म बनाउँदा खर्च भने सामान्यको तुलनामा डेढ गुणा बढ्ने र दर्शक पनि कम हुँदा जोखिम रहेको उनी बताउँछन्। तर विदेशी एक्सन फिल्मले नेपाली बजारमा राम्रो कमाइ गरिरहेकाले सम्भावना पनि बढेको उनले बताए।
'हामीले दर्शकको अपेक्षा पूरा गर्नुपर्छ। अहिले दर्शकले घरघरमा बसेर विदेशी फिल्म हेरिरहेका हुन्छन्। त्यस्ता दर्शकलाई नेपाली एक्सन फिल्म फिक्का लाग्नुभएन। दर्शकको अपेक्षा अनुसार राम्रो एक्सन फिल्म ल्याउन सकियो भने सम्भावना छ,' चौधरीले भने।
एक्सन अभिनेताका रूपमा स्थापित विराज भट्ट बीचको समयमा एक्सन फिल्म कम बन्नुमा मुख्यतया दुइटा कारण औंल्याउँछन्।
पहिलो, कुनै एक खालको फिल्म चल्यो भने त्यसकै पछाडि दौडिने प्रवृत्ति।
अर्को, एक्सनलाई सुहाउने कलाकारहरू नआउनु।
'कुनै फिल्मले राम्रो व्यापार गर्यो भने चल्छ भनेर बीसवटा त्यस्तै फिल्म बनाउने लहर हुन्छ। समस्या यो हो,' भट्टले भने, 'अनि अरूमा विधामा जमेका राम्रा कलाकार भए पनि एक्सनका लागि सोच्दा निर्मातालाई उपयुक्त नलाग्न सक्छ।'
उनका अनुसार एक्सन अरूभन्दा जटिल भएकाले राम्रो तयारी चाहिन्छ। दुई-तीनवटा 'फाइट सिन' राख्दैमा एक्सन फिल्म मानिँदैन र त्यसले दर्शकको मन पनि जित्न सक्दैन। मुख्य कुरा, विषयवस्तु बलियो हुनुपर्छ। कथामा जस्तै एक्सनमा पनि दर्शक पात्रसँग जोडिनुपर्छ र यसमै मेहनत गर्नुपर्ने उनी बताउँछन्।
आफूले निर्माण गरेको फिल्म '१२ गाउँ' को कथावस्तुमा विशेष मेहनत गरिएको र आइरहेभन्दा फरक एक्सन पस्किएको उनको भनाइ छ।
बीचमा आएका केही एक्सन फिल्म नचल्नुमा विषयवस्तुमै मेहनत नपुगेको अनुमान उनी गर्छन्।
'एक्सन फिल्मको बजार त सधैं रहन्छ,' उनले भने, 'विदेशी एक्सन फिल्मले नेपाली बजारबाट करोडौं रूपैयाँ कमाउनुले नै क्रेज देखिन्छ। दर्शकले राम्रो नेपाली एक्सन फिल्म नपाएर विदेशी फिल्मबाट मनोरञ्जन लिइरहेका छन्। त्यसैले हरेक विधाका फिल्म बन्नुपर्छ। एक्सन विधा बिना फिल्म उद्योग पूर्ण हुँदैन।'