गुड फ्राइडे सिनेमा
इरानी फिल्म हेरेपछि धेरैले भनेका छन्, लेखेका छन् — आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू!
आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छन्।
यस्तै फिल्म बनाउने निर्देशक हुन् असगर फरहादी।
फरहादी इरानी सिनेमामा मात्र नभएर, विश्व सिनेमामै प्रभावशाली निर्देशक मानिन्छन्। सन् २०१२ मा टाइम म्यागजिनले उनलाई संसारकै १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको थियो। यही साल फरहादीलाई फ्रान्सले 'लिजन अफ अनर' ले सम्मानित गरेको थियो। यो फ्रान्सको उच्च स्तरको सम्मानमध्ये एक हो।
फरहादीका फिल्महरू मानव केन्द्रित हुन्छन्। उनी मान्छेहरूका सम्बन्ध, विशेषगरी परिवारभित्रका कथा र द्वन्द्व पस्किन्छन्। उनका फिल्मका प्रशंसक संसारभर छन्।
फरहादीले सन् २००३ मा 'डान्सिङ इन द डस्ट' फिल्मबाट डेब्यु गरेका थिए। यसपछि उनले 'द ब्युटिफुल सिटी' र 'फायरवर्क्स वेन्सडे' फिल्म बनाए। उनले अझ धेरै चर्चा पाएको भने उनको चौथो फिल्म 'अबाउट एली' बाट हो। यही फिल्मबाट उनले बर्लिन फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड पाए। यसपछि उनका फिल्म 'अ सेपरेसन' र 'द सेल्सम्यान' ले अस्कर नै जिते।
फरहादीका अरू फिल्म 'द पास्ट', 'एभ्रिबडी नोज' र 'हिरो' पनि उत्तिकै चर्चित छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले फरहादीको 'अबाउट एली' सिफारिस गरेका छौं। यो फिल्मलाई इरानी समीक्षकहरूले इतिहासकै चौथो ठूलो महान र उत्कृष्ट फिल्मका रूपमा दर्ज गरेका थिए। यसले दुई दर्जन हाराहारी अवार्ड पाएको छ।
फिल्मको कथा विश्वविद्यालयमा सँगै कानुन पढेका साथीहरू तीन दिनको छुट्टीमा घुम्न गएपछि सुरू हुन्छ। यो भ्रमण शेपिडेहले आयोजना गरेकी हुन्। उनी, उनका श्रीमान अमिर र उनीहरूकी सानी छोरीसहित आठ/दस जना क्यास्पियन सागर गएका हुन्छन्।
शेपिडेहले उनकी छोरीको किन्डरगार्टेन शिक्षक एलीलाई पनि साथ लैजान्छिन्। शेपिडेहको उद्देश्य एलीलाई जर्मनीबाट आएका उनका साथी अहमदसँग परिचय गराउनु हुन्छ। अहमद डिभोर्सी हुन्छन्।
तर उनीहरूले बुक गरेको समुद्री किनारको घरमा उनीहरू बस्न पाउँदैनन्। त्यसैले उनीहरू सुनसान समुद्र किनारको घरमा बस्छन्। शेपिडेहले सो घरकी महिलालाई एली र अहमदको सम्बन्धबारे झुट बोल्छिन्। उनीहरूको बिहे भएको र हनिमुनमा रहेको भन्छिन्।
अनि यसैबीच एली हराउँछिन्।
उनी कहाँ गइन्, कसैलाई थाहा हुँदैन।
प्रहरी र शेपिडेहको समूह एलीलाई खोजिरहन्छ। यो क्रममा समूहका सदस्यहरूबीच विवाद पनि सुरू हुन्छ। उनीहरू एली हराउनुको दोष एकअर्कामाथि थोपर्छन्।
यहीबीच केही रहस्यहरू उजागर हुन्छन्।
ती रहस्य के हुन्छन्?
सबै कुरा ठीकठाक चलिरहेका बेला एली कसरी हराइन्?
के उनी फेला पर्लिन्?
वा, अरू नै केही हुन्छ।
यसका लागि फिल्म हेर्नुहोला जुन अंग्रेजी सबटाइटलमा उपलब्ध छ।